मेरिल्याण्डमा नेपाली नयाँ वर्ष २०८३ को उल्लास: मेरिल्याण्ड नेपाली मेडिकल सोसाइटीले विशेष कार्यक्रम गर्ने

इनेप्लिज २०८२ चैत १६ गते १०:५३ मा प्रकाशित

मेरिल्याण्डमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको साझा संस्था मेरिल्याण्ड नेपाली मेडिकल सोसाइटीले नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा विशेष ‘शुभकामना आदानप्रदान एवं भेटघाट’ कार्यक्रम आयोजना गर्ने भएको छ। आउँदो अप्रिल ११, २०२६ (शनिबार)का दिन बाल्टिमोरस्थित ‘बम्बे नाइट’ (मा यो कार्यक्रम हुनेछ।

कार्यक्रममा कार्यबाहक नेपाली राजदूत शरदराज आरण ,अमेरिकी सिनेटर कार्लस ज्याक्सन लगायत अन्य स्थानीय संघ-संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहनेछ। कार्यक्रमलाई अझै रोचक बनाउन ‘इनास मेरिल्याण्ड’ का कलाकारहरूले आकर्षक सांस्कृतिक प्रस्तुतिहरू दिनेछन्।

नेपाली मूलका स्वास्थ्यकर्मीहरूबीच चिनजान बढाउने, एक-अर्कालाई सहयोग गर्ने र भ्रातृत्व विकास गर्ने उद्देश्यले सन् २०२५ मा यो संस्था स्थापना भएको हो। एमएनमेएसले स्थापनाकालदेखि नै विभिन्न संस्थाहरूसँग मिलेर समुदायको हितमा काम गर्दै आएको छ।

यसले विशेषगरी नि:शुल्क स्वास्थ्य सेवा र घुम्ती शिविर सञ्चालन गर्ने, समय-समयमा खोप कार्यक्रमहरू आयोजना गर्ने र मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने जस्ता प्रशंसनीय कार्यहरू गर्दै आएको छ।

“स्वस्थ समुदायका लागि एकजुट” भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम साँझ ५ बजेदेखि राति ९ बजेसम्म चल्नेछ। कार्यक्रममा सहभागी हुनका लागि ३५ डलर शुल्क तोकिएको छ। आयोजकले सम्पूर्ण नेपाली समुदाय र विशेषगरी स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तित्वहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रिया