
वासिङ्टन डीसी । अमेरिकी ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डिएचएस) अर्थात् अमेरिकी गृह बिभाग बन्द भएको (शटडाउन) तीन हप्ताभन्दा बढी भइसकेको छ।
यसैबीच, शनिबार विमानस्थलमा जाँच गर्ने ‘टीएसए’ अर्थात् ‘विमानस्थल जाँच केन्द्रका अधिकारीहरू ठूलो संख्यामा काममा नआएपछि देशभरका विमानस्थलमा यात्रीहरूको लामो लाम लागेको छ।
गत शनिबार मात्रै ३,२५० भन्दा बढी सुरक्षा अधिकारीहरूले बिदा लिएका थिए । यो संख्या काममा आउनुपर्ने कुल कर्मचारीको साढे ११ प्रतिशतभन्दा बढी हो। तीन हप्तादेखि तलब नपाएका कारण धेरै कर्मचारीहरूले “कल-आउट” (बिदा) गरेका हुन्। यसले गर्दा न्युयोर्क, ह्युस्टन र एटलान्टा जस्ता ठूला शहरका विमानस्थलमा यात्रीहरूले सुरक्षा जाँचका लागि ४ घण्टासम्म कुर्नुपरेको छ।

ह्युस्टनको हबी विमानस्थलमा त झण्डै आधा (४७ प्रतिशत) कर्मचारी काममा आएनन्। बाल्टिमोर-वासिङ्टन विमानस्थलमा पनि २० प्रतिशतभन्दा बढी कर्मचारी अनुपस्थित रहे।
बढ्दो भिडलाई व्यवस्थित गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले एक नयाँ घोषणा गरेका छन् । यदि विपक्षी डेमोक्र्याट दलले बजेट पारित गर्न सहमति जनाएन भने, सोमबारदेखि विमानस्थलमा ‘आइस’ (अध्यागमन विभागका सुरक्षाकर्मी ) परिचालन गरिने उनले बताएका छन् । यातायात मन्त्री शन डफीका अनुसार यी सुरक्षाकर्मीहरूले पंक्ति व्यवस्थापन गर्ने र सुरक्षामा सघाउनेछन्।
तर, यो योजनाको कडा विरोध भइरहेको छ। सुरक्षाकर्मीहरूको संघका अध्यक्ष एभरेट केलीले भने , “आइस सुरक्षाकर्मीहरू विमानस्थलको विशेष सुरक्षाका लागि तालिमप्राप्त छैनन्। विस्फोटक पदार्थ र हतियार पहिचान गर्न महिनौँको तालिम चाहिन्छ। तालिम नभएका व्यक्तिलाई राख्दा सुरक्षामा झन् खतरा बढ्छ।”
एबिसीन्यूजका अनुसार अहिलेको मुख्य समस्या राजनीतिक खिचातानी हो। डेमोक्र्याटहरूले सीमा सुरक्षा र अध्यागमन नीतिमा सुधार नभएसम्म बजेट पारित नगर्ने अडान लिएका छन्। जसका कारण हजारौँ कर्मचारीले बिना तलब काम गरिरहनु परेको छ र सर्वसाधारण यात्रीहरूले सास्ती भोगिरहेका छन्।
प्रतिक्रिया