ब्रुसलीसँग द वे अफ द ड्र्यागन चलचित्रमा अहम भूमिका निर्वाह गरेका कलाकार चक नोरिसको ८६ वर्षको उमेरमा निधन

इनेप्लिज २०८२ चैत ७ गते १०:५८ मा प्रकाशित

प्रख्यात मार्सल आर्ट्स(युद्धकला) खेलाडी र हलिउडका चर्चित अभिनेता चक नोरिसको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत यो दुःखद खबर सार्वजनिक गरेको हो।

सिबिएसन्यूजका अनुसार चक नोरिसको निधन अचानक भए पनि उनी अन्तिम समयमा परिवारको साथमा र शान्त अवस्थामा रहेको जानकारी दिइएको छ। परिवारले उनको मृत्युको खास कारण भने गोप्य राख्न चाहेको छ। “संसारका लागि उनी एक महान कलाकार र शक्तिका प्रतीक थिए, तर हाम्रा लागि उनी एक प्यारा पति, बुबा र हजुरबुबा थिए,” परिवारले लेखेको छ।

सन् १९४० मा जन्मिएका कार्लोस रे नोरिस (चक नोरिस) ले अमेरिकी वायुसेनामा काम गर्दा कोरियामा मार्सल आर्ट्स (युद्ध कला)(सिक्न सुरु गरेका थिए। उनी मार्सल आर्ट्सका ६ पटकका ‘अनडिभिटेड’ (कहिल्यै नहारेका) विश्व बिजेता (च्याम्पियन) हुन्। उनले आफ्नै छुट्टै मार्सल आर्ट्स(युद्धकला)को शैली पनि सुरु गरेका थिए, जसबाट संसारभरका हजारौँ मानिसले कालो फित्ता (ब्ल्याक बेल्ट) पाएका छन्।

चक नोरिसले सन् १९७२ मा प्रसिद्ध ब्रुस लीसँग ‘द वे अफ द ड्र्यागन’ चलचित्रमा काम गरेपछि निकै चर्चा कमाए। उनले जहिले पनि पर्दामा एउटा ‘आदर्श नायक’ को छवि बनाउन चाहेका थिए। सन् १९९० को दशकमा ‘वाकर, टेक्सस रेन्जर’ नामको धारावाहिक कार्यक्रमबाट उनी घर-घरमा चिनिए।

पछिल्लो समयमा सामाजिक संजाल (अन्तर्जाल)मा उनीमाथि बनाइएका रमाइला चुट्किला तथा व्यङ्ग्यात्मक चित्र/श्रब्यदृश्य (मीम)हरुका कारण उनी युवा पुस्तामाझ पनि निकै लोकप्रिय थिए। उनलाई ‘असम्भव काम पनि गर्न सक्ने साहसी व्यक्ति’ को रूपमा मानिसहरूले सम्झने गर्छन्।

नोरिसले दुई पटक विवाह गरेका थिए र उनका पाँचजना सन्तान छन्।

प्रतिक्रिया