
डि एम भी (वाशिंङ्गटन डिसी –म्यारिल्याण्ड –भर्जिनिया ), अमेरिका — रंगहरूको महान पर्व होली यस वर्ष अमेरिकाको डि एम भी क्षेत्रमा अत्यन्त उत्साह, उमंग र सांस्कृतिक माहोलका साथ भव्य रूपमा मनाइएको छ। कार्यक्रमको आयोजना Association of Nepali Terai in America (ANTA) द्वारा गरिएको थियो, जहाँ म्यारिल्यान्ड, भर्जिनिया र वाशिङ्टन डीसीबाट सयौं नेपाली तथा विभिन्न समुदायका सहभागीहरू उपस्थित भई रंग, संगीत, नृत्य तथा परम्परागत नेपाली खानासँगै पर्वको आनन्द लिएका थिए।
कार्यक्रममा बोल्दै एन्टाका अध्यक्ष मोहन कुमार यादवले बिदेशमा बसोबास गर्ने नेपाली समुदायका लागि यस्ता सांस्कृतिक पर्वहरूको महत्व अत्यन्त ठूलो रहेको बताउनुभयो। उहाँका अनुसार होली केवल नाचगान वा रंग खेल्ने पर्व मात्र नभई हाम्रो मौलिक संस्कृति, धर्म, परम्परा र सामाजिक एकताको प्रतीक हो।
उहाँले भन्नुभयो कि विदेशमा बस्ने नेपालीहरूले आफ्नो संस्कृति जोगाएर भविष्यका पुस्तामा हस्तान्तरण गर्नु अत्यन्त आवश्यक छ। त्यसैले नेपालमा जस्तै यहाँ पनि ढोल, मृदंग, झाल, मञ्जिरा बजाउँदै होरी गीत गाउने, नाच्ने तथा परम्परागत शैलीमा होली मनाउने प्रयास गरिएको छ, ताकि हाम्रो संस्कृतिको वास्तविक स्वरूप जीवित रहोस्।
यस वर्षको कार्यक्रम अन्तर्राष्ट्रिय महिला दिवससँग पनि संयोग परेको अवसरमा अध्यक्ष यादवले आफ्नो सम्बोधनमा महिला सम्मान र महिला सशक्तिकरणको विषयलाई विशेष रूपमा उठाउनुभयो। उहाँले महिलाहरू समाजको आधार स्तम्भ भएको बताउँदै महिलाहरूको सम्मान, समानता र सशक्तिकरणका लागि समुदायले सधैं साथ दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार महिलाहरूले परिवार, समाज र संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
कार्यक्रममा विभिन्न संघसंस्थाका स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। साथै Nepali American Cultural Center (NACC) का बोर्ड अफ ट्रस्टी कमिटीका अध्यक्ष अरुण रुपाखेती तथा सचिव पुरुष सुवेदी पनि कार्यक्रममा सहभागी हुनुभएको थियो। उहाँहरूले ANTA ले विदेशमा नेपाली तराई समुदायको धर्म, संस्कृति र परम्परा जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो।
इनेप्लिजका प्रधान सम्पादक विश्व राज थापाको पनि उपस्थिती थियो ।त्यसैगरी समुदायका अगुवा हरि कृष्ण पुडासैनी र प्रो मेदिनी अधिकारीको पनि कार्यक्रममा सहभागिता रहेको थियो। एनआरएन भर्जिनिया च्याप्टर महिला उपाध्यक्ष रीना पण्डित, एनआरएन भर्जिनिया च्याप्टरका पुर्ब अध्यक्ष बिशाल कार्की,एनआरएन भर्जिनिया च्याप्टरका पुर्ब उपाध्यक्ष अर्जुनध्वज खड्काको पनि उपस्थिती थियो ।
कार्यक्रममा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति विशेष आकर्षण बनेको थियो। नवीन केसी र उनको टोलीले उत्कृष्ट सांस्कृतिक प्रस्तुति दिँदै सहभागीहरूलाई नाचगान र उत्सवमा रमाउन प्रेरित गरेका थिए।
कार्यक्रमको सफलताका लागि आयोजकहरूले म्यारिल्यान्ड, भर्जिनिया र डीसीबाट आउनुभएका सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै स्वयंसेवकहरू राजु गुप्ता, सुधीर यादव लगायत एन्टाका सम्पूर्ण सदस्यहरूको समर्पण र सहयोगलाई विशेष धन्यवाद दिइएको छ।
अन्त्यमा एन्टाका अध्यक्ष मोहन कुमार यादवले सबै सहभागी, कलाकार तथा स्वयंसेवकहरूलाई धन्यवाद दिँदै आफ्नो सांस्कृतिक सन्देश दिनुभयो:
“I am not a singer. I am not a writer. I am Mohan Kumar Yadav — a cultural promoter. Jogira Sa Ra Ra Ra!”
एन्टाले अमेरिकामा बसोबास गर्ने नेपाली तराई समुदायको भाषा, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्न होली, छठ, जितिया, सामाचकेवा, राम–जानकी विवाह पञ्चमी लगायत विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।
प्रतिक्रिया