झापा–५ मा फेरि बालेनको धमाकेदार प्रवेश, घरदैलो अभियान तिब्र

विजय थापा २०८२ फागुन १० गते १:२१ मा प्रकाशित

नेपालको राजनीतिमा अहिले नयाँ ऊर्जा, नयाँ आशा र नयाँ आन्दोलनको लहर चलेको छ। वर्षौंदेखि जरा गाडेर बसेको पुरानो राजनीतिक शैलीविरुद्ध जनताले विकल्प खोजिरहेका बेला स्वतन्त्र र साहसी नेतृत्वका रूपमा रास्वपाका वरिष्ठ नेता बालेन शाह फेरि एकपटक झापा–५ मा देखिएका छन्।

धनगढी र सुर्खेतमा सफल चुनावी अभियान सकेपछि बालेन अहिले झापा ५ अन्तर्गतको दमकमा घरदैलो कार्यक्रमलाई तीब्र बनाइरहेका छन्। बिहानैदेखि साँझसम्म उनी टोल–टोल पुगेर मतदाता, युवा, किसान, व्यापारी र वृद्धवृद्धासँग प्रत्यक्ष भेटघाट गर्दै समस्या सुन्दै र समाधानको प्रतिबद्धता जनाउँदै हिँडिरहेका छन्।

वरिष्ठ नेता बालेन शाह कुनै ‘कच्चा खेलाडी’ होइनन्, बरु उनी त नेपाली राजनीतिको त्यो बुद्धिचालका गुरू हुन् जसको हरेक चालले पुराना दलका दिग्गजहरूको निद्रा हराम गरिदिएको छ।

आज उनी झापा क्षेत्र नम्बर ५ मा पुग्दा त्यहाँको भूगोल मात्र होइन, नेपाली जनताको मनोविज्ञान नै बदलिएको छ।

बालेन झापा ५ मा केवल चुनाव लड्न गएका होइनन्, उनी त दशकौ देखि नेपाली राजनीतिमा जरा गाडेर बसेको ‘अधिनायकवाद’ लाई चुनौती दिन र अपदस्त पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउन गएका हुन्। काठमाडौँको एमाले र कांग्रेसको ‘अभेद्य गढ’ भत्काएर केशव स्थापितजस्ता हस्तीलाई लज्जास्पद हार चखाएका बालेनको शब्दकोशमा ‘हार’ भन्ने शब्दै छैन।

दमकका सडकहरूमा बालेन पुगेपछि दृश्य नै बदलिएको छ। सयौँ होइन, हजारौँ मानिसहरू उनको एक झलक हेर्न र हात मिलाउन लाइनमा देखिन्छन्। उनको लोकप्रियता हेर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वा भारत प्रधानमन्त्री नरेन्द्र मोदीका र्‍यालीजस्तै उत्साह झल्किन्छ। तर बालेनको शैली फरक छ—भाषणभन्दा बढी काम, नाराभन्दा बढी व्यवहार।

रास्वपासँग आवद्ध उनको अभियानले पुराना दलहरूलाई दबाबमा पारेको छ। स्थानीय बासिन्दा भन्छन्, “उनी नेताभन्दा बढी छिमेकीजस्तै लाग्छन्।” यही आत्मीयताले उनलाई जनताको मनमा विशेष स्थान दिएको छ।

युवा पुस्ता परिवर्तनको प्रतीकका रूपमा बालेनलाई हेर्छ भने वृद्ध पुस्ताले इमान्दार ,संक्षम,योग्य ,निडर नेताको रूपमा विश्वास गरेका छन्। सामाजिक सञ्जालमा व्यापक भइरहेका श्रब्यदृश्य (भिडिओ )र तस्बिरहरूले दमकमा उत्साहको लहर स्पष्ट देखाउँछ।

बालेनसँगै रास्वपाका सभापति रबि लामिछानेको सक्रियताले अभियान अझ सशक्त बनेको छ। एकातिर बालेनको कार्यशैली, अर्कोतिर रविको ओजस्वी भाषण—यो संयोजनले मतदातामा नयाँ भरोसा जगाएको छ।

अबको निर्वाचन केवल मत हाल्ने प्रक्रिया मात्र होइन, ३५ बर्ष सम्मको भ्रष्टाचार, कुशासन र निराशाविरुद्ध जनताको फैसला बन्ने देखिन्छ। झापाको दमकबाट उठेको यो परिवर्तनको आवाज देशभर फैलिँदैछ।

बालेन शाहको अभियान अब सामान्य राजनीति होइन, परिवर्तनको आन्दोलन बनिसकेको छ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया