
राष्ट्रपिता श्री ५ महाराजधिराज त्रिभुवन वीर विक्रम शाहदेव सरकारले नेपाली जनताको साथ लिएर स्थापना गरि बक्सेको ७६ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा २०८२ फागुन ६ गते श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट समस्त देशवासीको नाममा बक्सेको सन्देशबाट सम्पूर्ण देश–बिदेशमा रहेका नागरिकहरु उत्साहित भइ स्वागत गरिरहेका बेला राजनीतिक दलका केही व्यक्तिहरुबाट आइरहेका अभिव्यक्ति तथा गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । श्री ५ महाराजाधिराज सरकारको अभिभावकत्वमा सार्वभौम रहेको देश र जनताको बीचमा भ्रमित दुरी बढाउने तथा इतिहासमै धावा बोल्ने दुस्प्रयासका यस्ता गतिविधि आपत्तिजनक हुन् र यसको जति निन्दा गरे पनि कम हुन्छ भन्ने हाम्रो ठम्याइ छ ।
श्री ५ महाराजधिराजले सम्बोधन मार्फत देशको जटिल अवस्थाप्रति गम्भीर चासो र चिन्ता जाहेर गर्दै देशमा उत्पन्न विषम परिस्थितिपछि हुन लागेको निर्वाचनको लागि वर्तमान समय उपयुक्त नभएको तर्फ ध्यानाकर्षण गराइ बक्सेको घाम जस्तै छर्लङ्ग छ । कथित व्यवस्था परिवर्तनका नाममा श्री ५ र जनताको बीचमा सिर्जना गरिएको परिस्थितिबाट अवस्था अनियन्त्रित हुँदै जाँदा गएको भदौ २३ र २४ गते देश जलेको वास्तविकताको नजरअन्दाज नगर्न हामी सम्बन्धित सबैलाई चेतावनी दिन चाहान्छौं । देश गम्भीर भूराजनीतिक चेपेटामा परिरहेको वर्तमान अवस्थामा श्री ५ बाट बक्सेको चासो र चिन्ताप्रति जिम्मेबार भएर सोच्न हामी सबैमा आग्रह गर्दछौं । यतिबेला हामीले लिने निर्णयले जनता र समग्र देशको भाग्य र भविष्य निर्माण गर्ने कुरामा दुइमत छैन । राजा र जनताको अविछिन्न सम्बन्धबाट मात्र देशको सार्वभौमिकताको रक्षा गर्न सकिने हुँदा श्री ५ महाराजाधिराज सरकारको सदिक्षा र देशको चिन्तासहितको सन्देशलाई आत्मसात गरी फागुन २१ गते हुने भनिएको निर्वाचनभन्दा अगावै देशको समस्याको दीर्घकालिन समाधानको लागि अग्रसर हुन सम्पूर्ण देशभक्त नागरिकहरुमा आव्हान गर्दै राष्ट्रिय सहमतिका साथ सम्पूर्ण नेपाली जनताले अपनत्व लिई सहभागिता जनाउने निर्वाचनबाट चुनिने सरकारले मात्र विकास, स्थायित्व र दिगो शान्ति स्थापित गर्ने हुँदा त्यसतर्फ सचेत रहन हामी आग्रह गर्दछौं ।
अनिश्चितताको चक्रव्युहमा देश जल्नुपर्ने वर्तमान अवस्थाका सुत्रधारहरुको अकर्मण्यताप्रति हुने हरेक प्रश्नहरु निषेध गरी राष्ट्रवादी सोच र चिन्तन भएका दुर्गा प्रसाईं लगायतका अभियान्ताहरुमाथि गरिएको पटक–पटकको अनावश्यक धरपकड र थुनछेकबाट मानवाधिकार र नागरिक सर्वोच्च्ताको गम्भीर उल्लंघन भएको हुँदा यसरी अन्यायपूर्ण तरिकाले थुनिएका सबैलाई तत्काल रिहा गर्न ध्यानाकर्षण गराउँदछौं ।
‘जय पशुपति नाथ’
प्रवक्ता
शेरबहादुर वली
ऊँकार शक्ति नेपाल

प्रतिक्रिया