लघुकथाः सीआईडी

मित्र उराठी गौतम अमरपुर –गुल्मी, हालःतिलोत्तमा -२,रुपन्देही २०८२ फागुन ६ गते २२:३२ मा प्रकाशित

अचानक बाटो मोड्यो र लाग्यो ग्रामीण बस्तीतिर। हुस्सु र कुहिरोले ढपक्कै ढाक्ने र अत्यधिक चिसोको कारणले आजकल ऊ बिहानी घुमाइ गर्दैनथ्यो।त्यसैले साँझको घुमाइको लागि निस्किएको थियो।

मुख्य बजारतिर बढि भिडभाड र कोलाहल हुन्थ्यो।दुई पाङ्ग्रे, चार पाङ्ग्रेको अधिक चापले गर्दा साँझको घुमाइ त्यता उपयुक्त थिएन।यही सोचेर उसले आज फरक बाटो रोजेको थियो।

बाटो किनारमा हरियाली खेत,आँपका बगैँचाले आँखालाई आनन्द दिइरहेको थियो।मन प्रफुल्ल थियो।

अगाडि बढ्दै जाँदा बस्ती नजिकै पुग्यो।बाटोको दुबै किनारमा गोबरबाट बनाएका गुइँठा र पराल सुकाइएको थियो।सडक किनारमै गाईबस्तु बाँधिएका थिए।गाईबस्तुका छेउछाउ पराल, भुसा बालेर धुँवादार थियो बस्ती। नौलो ठाउँ भएकोले बिस्तारै बिस्तारै दायाँबायाँ नियाल्दै हिँड्दै थियो ऊ।

अगाडि एउटा सानो चोक आयो।चोकमा अलिकबेर उभियो।यताउता घर, पसलका भित्ताहरुमा टाँगिएका साइनवोर्डहरु पढ्यो।चारैतर्फ नियाल्यो।

गम्लङ्ग ज्याकेट, आँखामा कालो चस्मा, टाउकोमा छातेटोपी, मुखमा मास्क लगाएको थियो।

अलिक फरक हुलियामा अपरिचित व्यक्ति देखेर होला, सबैका नजर उसैपट्टी फर्किएका थिए।न कसैले उसलाई केही सोध्यो, न ऊ कसैसँग बोल्यो।

ऊ चुपचाप चोकबाट अगाडि निस्कियो।उसका नजर र पाउहरु अगाडि बढ्दै थिए।कानले झट्ट पछाडितिरको आवाज सुन्यो।

“को मान्छे हो यो ? किन घुम्दै छ हाम्रो गाउँमा ?” कसैको प्रश्न थियो।

“चुनावको बेला छ। सीआईडी होला !”

प्रतिक्रिया