पाठकिय दृष्टीमा : “शून्यबाट सुरु कथा संग्रह र कथाकार रश्मि भट्ट”

इनेप्लिज २०८२ फागुन ३ गते २१:०८ मा प्रकाशित

लक्ष्मी श्रेष्ठ
किताबको दराजमा धेरै श्रष्टाहरुका सृजनाहरु म तिर हेर्दै मुसक्क मुस्काउँदै मलाई जिस्काईरहेझैं आभास हुन्छ। काम-घर परिवार, सामाजिक उत्तरदायित्व बहन गर्दै मुढ चल्दा आफ्ना मनका खुलदुलीहरु पनि छताछुल्ल पारेर पोख्नै पर्यो। आँखा झिमिक्क गर्न नभ्याउँदै दिन खर्लप्पै बितिसक्छ।

तै-तै झोलामा एउटा श्रष्टाको सृजना बोकेर हिंड्ने बानी परेकोले ट्रेनमा काममा आउँदा-जाँदा सिट पाईए पनि नपाईए पनि ढोकामा अडेस लगाएर होस् या ट्रेनको डण्डा एउटा हातले समातेर अर्कों हातमा पुस्तक पल्टाउँदै पढ्ने बानी परिसकेकोछ।

यसपाली भने साहित्यकार एबं समालोचक रश्मी भट्ट दिदीले अ ने सा स नयाँ कार्य समितीको पहिलो कार्यक्रम २०२६ जनवरी ११ तारीखमा उहाँको पहिलो कथा संग्रह “ शून्यबाट सुरु” उपहार स्वरुप मेरो हातमा थमाउँदै “ बहिनी यो संग्रह पढेर दुई शब्द लेख्नुस है पैंचो नै सही” भन्नुभएपछि मैले उहाँको वचन टार्न सकिन।

साहित्यकार रश्मी भट्ट दिदीलाई मैले एउटा कार्यक्रममा भेटेकी थिएँ त्यसबेला उहाँले एउटा कृतिको समिक्षा गर्नुभएको देखेर हाम्रा दिदी-बहिनीहरु सृजना गर्ने मात्रै हैन कृतिको समिक्षा गर्न सक्ने बौद्धीक क्षमता भएका पनि रहेछन् है भनेर फुरुंग परेकी थिएँ। पछि साथी नदिया र मैले उहाँलाई ज्याक्सन हाईट्सको दिल्ली हाईटमा भेट्यौं। कुरा कानी गर्यौं सदभाव साट्यौं।

मेरो पहिलो कविता संग्रह “ ढुकढुकीमा सुन्दरीजल र नदियाको “नदिया लहर” पनि उहाँलाई उपहार दियौं। मेरो कविता संग्रह पढीसकेर समीक्षा गरेर मलाई पठाउनु भयो। दिदीको यो गहन समिक्षालाई म मा मात्र सिमीत नराखी पत्रिकामा छापिदिनपाए धेरै पाठकहरुले रश्मी दिदीको कामलाई हेर्न र पढ्ने अबसर पाउँथे भन्ने कुराले मनमा हुटहुटी चलाईरह्यो।

यो सन्. २०१९ जनवरीको कुरा हो, एउटा कार्यक्रममा जाँदा “ विश्व सन्देशका” प्रधान सम्पादक रोशन ढुंगाना ज्युलाई उक्त समिक्षा छापिदिन अनुरोध गरें। उहाँले सहजताका साथ “ दिदी म योगेश आदी जी लाई भनिदिन्छु तपाईंले उहाँसंग सम्पर्क गर्नुस्” भनेर हौसला दिनुभयो। विश्व सन्देशका सम्पादक योगेश आदी दाईलाई सम्पर्क गरें। केही ब्यबहारीक कुराहरु मिलाउनु पर्ने भएकोले रश्मी दिदी र योगेश दाईलाई कनेक्ट गरिदिएँ। बिश्व सन्देशमा रश्मी दिदीले बडो मेहनतका साथ लेख्नुभएको “ ढुकढुकीमा सुन्दरीजल” को समिक्षा छापियो। दिदीको काम पत्रिका मार्फ़त धेरै पाठकहरुको माझमा पुर्याउन पाउँदा मलाई धेरै खुसी लाग्यो।

त्यसपछि मेरो दोस्रो कृति कविता संग्रह “ तिम्रो सम्झना” मा उहाँको भूमिका कविता संग्रह कृतिमा नै छापिदिने ठुलो ईच्छा लाग्यो। बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैंनी दाईलाई शुभकामना लेखिदिन अनुरोध गर्दा “ बहिनी भूमिनै लेखिदिन्छु” भन्नुहुँदा पनि दिदीलाई भूमिका लेखाउने मेरो तिब्र ईच्छालाई नै मैले प्राथमिकता दिएँ।

यसरी मेरो चौथो कृति कथा संग्रह “ खुला जेल” को पनि कृति लोकार्पणको दिन समिक्षा गर्नु भएर मेरो साहित्यिक यात्रामा रश्मि दिदीले ठुलो गुण लगाउनु भएकोछ।

साहित्यकार एबं समिक्षक रश्मि भट्टको चौथो कृति “शून्यबाट सुरु” शिर्षक कथा संग्रह अन्तराष्ट्रिय नेपाली साहित्य समाज, वाशिंगटन डि सी बाट प्रकाशित भएकोछ। यसको डिजाईन र सम्पादन बहुप्रतिभाशाली रमेश दाहाल ज्युले गर्नु भएकोछ।

कृति स्व. बुवा रोहिणीदेव भट्टमा समर्पण गरिएको छ। कृतिको मुल्य ने. रु. ४५० र बिदेशमा १० डलर राखिएको छ। यसको पहिलो संस्करण बि. सं. २०८१ मा १००० प्रति छापिएकोछ यसको बितरक र मुद्रक Epress प्राईभेट लिमिटेड रहेकोछ। ई-मेलः info@express. Com. Np फोन नं. 01-4117800 उल्लेख गरिएको छ।

अ ने सा स का निबर्तमान अध्यक्ष गोवर्धन पूजाले कृतिमा प्रकाशकिय लेख्नुभएको छ। कथाकार रश्मि भट्टले लेखकको कुरामा “ आफुलाई आशिर्बाद सहयोग र सद्भाव राख्ने आफ्नी आमा र सम्पूर्णमा धन्यबाद र आभार पनि ब्यक्त गर्नुभएको छ।यसको साथ-साथै सबै कुराको दिन आउँछ, धैर्य गर्न सक्नुपर्छ भन्ने कुरा उल्लेख गर्दै आफ्नो प्राण रहंदासम्म निरन्तर सृजनामा आफ्नो जीवन बिताउँदै सृजनामा नै रम्न पाउँ भनेर सुन्दर ईच्छा ब्यक्त गर्नु भएकोछ।

यस कथा संग्रहमा बिभिन्न शिर्षकमा जम्मा १९ वटा कथाहरु समावेश गरिएको छ। कथाको शिर्षक नै शून्यबाट सुरु भएकोले पाठकले यो कथा संग्रह हातमा पर्ने बित्तिकै यस भित्र पक्कै पनि संसारका जो कोही पनि चाहे जुनसुकै देशबाट कुनैपनि उद्देश्यले यो पाताल देशमा आउँछ उसले शून्यबाट नै आफ्नो जीवन सुरु गर्नुपर्छ भन्ने आभाष दिन्छ। अझ म त भन्छु आप्रबासीहरुले आफ्नो भविष्य र सम्पूर्ण सपना नै २ वटा बाकस भित्र कोचेर आएका हुन्छन।

संग्रह भित्रका प्रायजसो कथाहरु “म” प्रथम पुरुषमा लेखिएको हुँदा कथा पढ्दै -जाँदा पाठकहरुलाई कता-कता कतै यो कथाकार स्वयं यस कथाका पात्र त हैनन्? या त कथाकारको जीवनमा घटेको वा कथाकारले आफैंले अनुभव गरेर लेखिएको घट्ना र बिषय बस्तु त हैन भन्ने झस्का दिन्छ। तर एउटा कथाकारले अरुका जीवनमा घटेका, देखेका घट्ना र बिषयबस्तुहरुलाई पनि टपक्क टिपेर आफ्नो साँचोमा ढालेर लेख्न सक्नु एउटा सफल कथाकारको सबल पक्ष लाग्छ मलाई।

“ एकाकार” शिर्षक कथामा नेपालमा माओवादी द्वन्दकालमा माओवादीहरुले “म” पात्रको एउटै भाईलाई मरे-बाँचेको केही अत्तो पत्तो नहुनेगरी बेपत्ता पारिदिएको कथाले पाठकको सुकोमल भावनालाई चिथोरेर छिया-छिया पारिदिन्छ।

यो कथाका केही बिषयबस्तु अर्को कथामा पनि समेटिएको पाउँदा साँच्चै कथाकार स्वयं यो पीडाबाट गुज्रिएकी त हैनन् भन्ने एउटा प्रश्नले मेरो मन मस्तिष्कमा बारम्बार घोचिरह्यो। लक्ष्मी, यो माओवादी जन आन्दोलनमा घटेको या कथाकारको कल्पना शक्तिको एउटा उपज मात्र हो भनि फेरी आफ्नो मनलाई आफैंले सम्झाएँ।

यस कथा संग्रहभित्र एउटा आप्रवासीले अमेरीकामा स्थापित हुन के कस्ता समस्याहरुसंग जुध्नुपर्छ। स्वाबलम्बि बन्न के कस्ता संघर्षहरुको सामना गर्नुपर्छ। यहाँ कामको कति महत्व छ? ब्रेड,बटर र सेल्टरको लागि एउटा आप्रवासीले कति पापड बेल्नुपर्छ भन्ने कुराहरुलाई कथाकारले कथा मार्फ़त राम्ररी प्रष्ट पार्नुभएकोछ।

यो अमेरीका भन्ने मुलुकमा काममा समयको तालमेल अलिकति मात्रै पनि तलमाथि हुन पुग्दा एंउटा कामदारले कामबाटै हात धुनुपर्ने जस्ता कटु सत्यलाई सरल ढंगमा ब्यक्त गरेर समयको महत्वबारे जागरुक गराउने शिक्षा पनि दिन खोज्नु भएकोछ।

यसको साथ-साथै कथाकारले अमेरीका आउने आप्रवासीहरुले अँग्रेजी भाषा राम्रोसंग बोल्न नजान्दा धेरै समस्याहरुको सामना गर्नुपर्ने भएकोले आप्रबासीहरुलाई अँग्रेजी भाषा पनि सिकेर आएमा जीवन सहज हुन पुग्ने सुझाव पनि दिन खोज्नु भएकोछ।

साँच्चै नै साहित्य सृजना र साहित्यको खुराकले दिन सक्ने आत्म सन्तुष्टि र खुसी अरु कुनै पनि भौतिक बस्तुबाट प्राप्त हुन सक्दैन भन्ने गहन कुरा संग्रहको पहिलो कथा “अनुत्पादक” पढ्दा महशुस गर्न सकिन्छ। जुन कुरा मैले आफैंले अनुभव गरेको सत्य कुरा हो।

समग्रमा भन्नुपर्दा कथाकार रश्मि भट्टले समाजमा घटिसकेका र हाल घटीरहेका समसामयिक बिषयबस्तु, यथार्थ र बास्तबिकताहरुलाई आफ्नो कल्पना शक्तिबाट यस कथाको माध्यमबाट पाठकहरुको माझमा पुर्याउने सह्राहनिय ठोस कदम चाल्नुभएकोछ । यो नै यस कथा संग्रहको शसक्त पक्ष हो भन्ने मलाई लागेकोछ।यसको लागि कथाकार रश्मि भट्टलाई धेरै धेरै बधाई र कृतिको अपार सफलताको कामना गर्दछु।

कथाकार रश्मि भट्टको “ शून्यबाट सुरु” यथार्थ र बास्तबिकताको धरातलमा टेकेर लेखिएको यो सुन्दर कथा संग्रहले नेपाली साहित्यको फाँटमा एउटा सग्लो ईंटा थप्ने काम गरेकोछ भन्ने मेरो बुझाई छ।

स्वदेश होस् या प्रबास एउटा महिलाले घर-परिवार, काम, सामाजिक उत्तरदायित्व सबै पुरा गरेर परिवारबाट चोरेको थोरै समयलाई सदुपयोग गरी साहित्य सृजना गर्छे। त्यो सृजनाले नेपाली साहित्य र नेपाली अर्थतन्त्रलाई थोरै मात्रामा भएपनि टेवा पुर्याउने काम गर्दछ। यो साँच्चै नै एउटा स्तुत्य कार्य हो।

यसरी नै दिदीको कलमले यहाँले सोचे जस्तै, चाहे जस्तै कथा, कविता, लघुकथा, मुक्तक, उपन्यास जस्ता साहित्यका सबै बिधामा कलम चलाउँदै निरन्तर अघि बढ्दै सफलताका हर ऋंखलाहरु छुँदै अघि बढीरहोस्। यो बहिनीको हृदयदेखिको यही शुभकामना!

लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्युयोर्क, यु. एस. ए.

प्रतिक्रिया