हराइरहेकी ८४ वर्षीया नान्सीको खोजीमा एफबीआई मैदानमा: १८ हजारभन्दा बढी टिपोट प्राप्त , ५०,००० डलर पुरस्कारको घोषणा

इनेप्लिज २०८२ माघ ३० गते ११:४६ मा प्रकाशित

अमेरिकाको एरिजोना राज्यमा ८४ वर्षीया वृद्धा नान्सी गुथ्री हराएको घटनाले अहिले ठुलो रूप लिएको छ। अमेरिकी जाँचबुझ निकाय एफबीआई र स्थानीय प्रहरीले उनको खोजीका लागि अहिले नान्सीको घर वरिपरिका सडकहरूमा व्यापक खोजतलास गरिरहेका छन्।

प्रहरीका अनुसार यो मुद्धामा अहिलेसम्म जनताबाट १८,००० भन्दा बढी जानकारी प्राप्त भइसकेका छन्। विशेषगरी, नान्सीको घरको ढोकामा जडान गरिएको ढोके अङ्कीयचित्रक अर्थात् ‘डोरबेल क्यामेरा’ मा एक सशस्त्र (हतियार बोकेको) व्यक्तिले क्यामेरा(अङ्कीयचित्रक) बिगार्न खोजेको श्रब्यदृश्य (भिडियो) सार्वजनिक भएपछि, थप ४,००० नयाँ जानकारीहरू आएका छन्। यसले अनुसन्धानमा नयाँ मोड ल्याएको छ।

अहिले सयौँको संख्यामा जासुस र गुप्तचरहरू यो घटना सुल्झाउन खटिएका छन्। नान्सीलाई सुरक्षित फेला पार्न मद्दत गर्ने व्यक्तिलाई ५०,००० डलर पुरस्कार दिने घोषणा समेत गरिएको छ।

प्रहरीले सवारी चालकहरूलाई अनुसन्धान भइरहेका ठाउँमा होसियारीपूर्वक गाडी चलाउन र कानुनको पालना गर्न आग्रह गरेको छ। अधिकारीहरूले जनताको सहयोगप्रति धन्यवाद दिँदै खोजतलास अझै कडा पारिने बताएका छन्।

प्रतिक्रिया