
हरिप्रसाद बरालसँग मेरो परिचय भएको समय धेरै लामो भएको छैन । संवत् २०७५ साल मार्गमा प्रकाशित मेरो पुस्तक सिकाउने शैलीले हरिप्रसाद बराल र मेरो परिचय गराएको हो । विराटनगरमा शिक्षण पेसा र साहित्य लेखनमा लामो समय बिताएका बरालसँग चिनजान भएपछि मैले उनका “उद्घोषभित्रका फूलहरू” (निबन्ध समालोचना), “पुस्तकहरूको माझैमाझ”, “काव्यिक बिम्बको फूलबारी” र “प्रतीकवाद” पुस्तक पढ्ने अवसर पाएको थिएँ । उनका संवत् २०८० मा प्रकाशित “चेतनाको विराट् यात्रा” आत्मपरक निबन्ध पढ्ने मौका मिलेपछि आफ्नो अनुभूतिअनुसार समीक्षा गर्ने जमर्को गरेको छु ।
आत्मपरक निबन्ध भन्नाले लेखकले आफ्ना अनुभूति, भावना, स्मृति, आत्मसङ्घर्ष, जीवनदृष्टि र निजी चिन्तनलाई केन्द्रमा राखी लेखिने निबन्धलाई बुझिन्छ। यसमा वस्तुभन्दा ‘म’ प्रधान हुन्छ। आत्मपरक निबन्धमा ‘म’ को प्रधानता हुन्छ । यसमा लेखक स्वयं केन्द्रमा हुन्छ । आत्मपरक निबन्ध लेखकको आत्मकथा होइन, बरु आत्मअनुभूति हो । यस्तो आत्मानुभूति भावनात्मक हुन्छ । यसमा दुख, सुख, पीडा, मोह, द्वन्द्व हुन्छ‚ तर्कभन्दा अनुभूति प्रधान हुन्छ । आत्मपरक निबन्धमा लेखकले प्रथम पुरुष शैलीमा अनुभव र अनुभूतिको यथार्थ वर्णन गर्छ । लेखकले म पात्रका रूपमा घटनाको वर्णन मात्र गर्दैन आफूलाई घटनासँग सम्बन्धित पनि बनाउँछ । आफ्ना अनुभव र अनुभूतिसँगै पाठकलाई पनि हिँडाउँछ । लक्ष्मीप्रसाद देवकोटाका अनुसार जहाँ लेखकको आत्मा बोल्छ, त्यहीँ आत्मपरक निबन्ध जन्मिन्छ । उनका अनुसार आत्मपरक निबन्ध मनको उद्गार हो । इन्द्रबहादुर राईका अनुसार आत्मपरक निबन्धमा लेखकको आफ्नै चेतनाको प्रयोगशाला हुन्छ। राईका भनाइमा यस्ता निबन्ध आत्मपरीक्षण बन्छ । केशवराज पिंडालीका अनुसार आत्मपरक निबन्ध गम्भीर विषयलाई पनि आत्मीय बनाउने विधा हो । पिँडालीले आत्मपरक निबन्धलाई सरल भाषामा गहिरो अनुभूति मानेका छन् ।
आत्मपरक निबन्धमा आत्मसंवाद हुने गर्छ‚ लेखक आफैंसँग कुरा गर्छ प्रश्न–उत्तर शैलीमा । यस किसिमका निबन्धका मुख्य विशेषता भाषिक सरलता हो । निबन्धको भाषा बोलिचाली नजिकको भाषा नजिक हुन्छ । भाषा आलङ्कारिक पनि हुन सक्छ तर बोझिलो होइन । आत्मपरक निबन्धमा चिन्तनशीलता गहिरो रूपमा हुने गर्छ । जीवन, समाज, अस्तित्वमाथि प्रश्न गर्ने गर्छ दार्शनिक स्पर्शका साथ । यस किसिमका निबन्धमा संरचनात्मक स्वतन्त्रता हुने गर्छ । विचार र लेखनको शैली भावअनुसार बग्ने गर्छ । आत्मपरक निबन्ध लेखकको आत्माको ऐना हो । यो पाठकको अनुभवसँग जोड्ने सेतु पनिहो ।
धनकुटा जिल्लाको साविकको कुरुले तेनुपामा संवत् २०२२ मा जन्मेका हरिप्रसाद बराल हाल विराटनगर महानगरपालिका वडा १२ बसेर साहित्य साधना गरिरहेका छन् । पेसाका रूपमा शिक्षण पेसा अपनाएका बरालले “उद्घोषभित्रका फूलहरू” २०६८ (निबन्ध-समालोचना)‚ “पुस्तकहरूको माझैमाझ” २०७८ (आत्मपरक निबन्ध) “काव्यिक बिम्बको फूलबारी” २०७८ (कविता सङ्ग्रह)‚ “प्रतीकवाद” २०७९ (समालोचना) जस्ता पुस्तकहरू प्रकाशित गरेका छन् । बरालका विगत दुई दशक यता थुप्रै फुटकर लेखहरू विभिन्न पत्रपत्रिका तथा पुस्तक प्रकाशित छन् । संवत् २०८० मा बरालले “चेतनाको विराट् यात्रा” शीर्षकमा आत्मपरक निबन्धको कृति प्रकाशित गरेका छन् । मैले पढेको बरालको आत्मपरक निबन्ध हो यो ।
“पुस्तकहरूका माझैमाझ” बरालको आत्मपरक निबन्धको अनौठो कृति हो । अनौठो यस अर्थमा छ कि यो पुस्तक नै एउटा शीर्षकमा लेखिएको छ । निबन्धको पुस्तक नै एउटा निबन्धमा केन्द्रित छ । यसलाई आत्मपरक–समालोचनात्मक निबन्ध भन्दा पनि हुन्छ । पुस्तक–केन्द्रित चिन्तन र लेखक, पाठक र पुस्तकबीचको सम्बन्ध यसका विषयवस्तु हुन् । यस कृतिमा बरालले आफूले पढेका पुस्तकहरू ती पुस्तकहरूले बनाएको चेतना अध्ययन–जीवनका अनुभवलाई आत्मपरक शैलीमा प्रस्तुत गरेका छन् । यो जीवनको समालोचना मात्र होइन, पाठकीय आत्मपरक निबन्ध हो। पुस्तकमार्फत जीवन बुझ्ने प्रयास हो । यस कृतिमा पुस्तक र पाठकबीचको आत्मीय सम्बन्ध आत्मपरक शैलीमा प्रस्तुत गरिएको छ । पाठकीय चेतनाको गहिरो चित्रण‚ आत्मपरक निबन्धको शालीन उदाहरण हो पुस्तकहरूका माझैमाझ । यो एकपाठकको आत्मकथा होइन, पाठकीय चेतनाको यात्रा हो ।
हरिप्रसाद बराल वास्तवमा कुशल कवि हुन् । कवि हुनुका अलवा उनी निबन्धकार हुन् । त्यसका साथै उनी समालोचक पनि हुन् । पेसागत रूपमा उनी नेपाली भाषाका कुशल शिक्षक पनि हुन् । साहित्य अध्ययन र पेसामा भोगेका अनुभूतिमा चिन्तन मिसाएर बरालले निबन्धमार्फत आफ्ना भावना पाठकसमक्ष ल्याउन सफल निबन्धकार पनि हुन् । नेपाली निबन्धमा आत्मपरक निबन्धलाई सैद्धान्तिक र व्यावहारिक दुवै रूपमा सुदृढ बनाउने व्यक्त्व पनि हुन् ।
हरिप्रसाद बरालले आत्मपरक निबन्धलाई भावुक लेखन मात्र नभई गम्भीर बौद्धिक विधाको रूपमा स्थापित गरेका छन् । उनले आत्मपरक निबन्धलाई अनुभूति र चिन्तनबिचको सन्तुलनमा ल्याएका छन् । बरालका आत्मपरक निबन्धहरूमा व्यक्ति र समाजको द्वन्द्व‚ शिक्षण जीवनका अनुभूति‚ चेतना, मूल्य र आत्मसङ्घर्ष‚ बौद्धिक इमानदारी र निजी अनुभवलाई सार्वजनिक अनुभूति बनाउने क्षमता पाइन्छ । निबन्धकार हरिप्रसाद बरालले आत्मपरक निबन्धलाई भावुक लेखनबाट चिन्तनशील साहित्यमा उचालेका छन् ।
बरालको भाषा सरल, स्पष्ट र आत्मीय छ । ठाउँ ठाउँमा व्यङ्ग्यका साथै कतिपय ठाउँमा करुणाको संयोजन पनि छ । कतिपय अवस्थामा त बरालको जीवनदर्शन र आत्मस्वीकृति पनि देखिन्छ । उनको शैलीमा शिक्षकको अनुभव र साहित्यकारको संवेदनाको समिश्रण पाइन्छ ।
बरालका निबन्धमा न भावुकता पाइन्छ न त अतिरञ्जना नै । न जटिल दार्शनिक बोझ छ न त बुझ्नलाई कठिनाइ । उनका निबन्ध आत्मसंवाद जस्तै लाग्छन् । बरालको आत्मपरक निबन्धमा भावना छन् यी भावना उडन्ते छैनन् नियन्त्रणमा छन् । विचार अटसमटस गरेर आएछन् तर त्यस्ता विचारहरू शुष्क भएर आएका छैनन् । यही विचारको सन्तुलनले उनलाई आत्मपरक निबन्धको सफल लेखक बनाएको छ । उनका आत्मपरक निबन्धहरू न त आत्मकथा हुन् न भावुक डायरी । बरु उनका निबन्ध बौद्धिक आत्मस्वीकृति हुन् ।
“चेतनाको विराट् यात्रा” आत्मपरक निबन्धको सङ्ग्रह हो । यस निबन्ध सङ्ग्रहमा धेरै निबन्ध छैनन्‚ मात्र छ वटा निबन्ध छन् । छ वटा निबन्धबाट सिङ्गो पुस्तक बनेको छ १३८ पृष्ठको । छ वटा निबन्धमा चार वटा व्यक्तित्वका बारेमा लेखिएका मा तीन वटा निबन्ध स्वर्गीय व्यक्तित्वका सम्बन्धमा लेखिएका छन्ः पिताजी पं. माधवप्रसाद बराल, राष्ट्रकवि माधवप्रसाद घिमिरे र भाषाविद् बालकृष्ण पोखरेल । अर्को एक जना जीवित व्यक्ति हुन् सपना यादव, लेखकको विद्यार्थी ।
लेखकले आफूमा निबन्ध लेखकको भोक लक्ष्मीप्रसाद देवकोटा‚ शङ्कर लामिछाने‚ बालकृष्ण पोखरेल‚ तारानाथ शर्मा मोदनाथ प्रश्रित‚ श्यामप्रसाद शर्मा जस्ता दिग्गज व्यक्तिका निबन्ध पढेपछि जागेको उल्लेख गरेका छन् लेखकीय भनाइमा । यस सङ्ग्रहको उल्लेखनीय विषय के छ भने निबन्धकार बरालले आफूले लेखेको निबन्ध सङ्ग्रहका लागि बाहिरबाट भूमिका लेखाएका छैनन्‚ लेखक स्वयम्ले लेखकीय भनाइमार्फत भूमिका लेखेका छन् । लेखकले भूमिकाको शीर्षकबाटै निबन्धलाई परिभाषित गरेका छन्: ‘आफूलाई पूर्ण रूपमा पोख्नु नै निबन्ध रहेछ ।’ यो लेखक स्वयम्ले लेखेको यो भूमिका पनि एक
किसिमको आत्मपरक निबन्ध नै हो भन्नुपर्ने हुन्छ‚ किनभने यसमा आत्मपरक निबन्धका सबै तत्त्व विद्यमान छन् ।
भूमिकाले निबन्धको साङ्गोपाङ्गो परिचय दिनुका साथै नेपाली निबन्ध लेखनको परम्परालाई सङ्क्षिप्तमा उल्लेख गरेका छन् लेखकले । लेखकले बेलायती निबन्धकार सर टामस ब्राउन‚ लियो टालस्टाय“ चाल्स ल्याम्ब‚ जान बुलमैन‚ भाल्से ल्याम्ब जस्ता पश्चिमी निबन्धकारका नामसहित विशेषता उल्लेख गर्दै निबन्ध पूर्व र पश्चिमा उत्ति नै लोकप्रिय विधा भएको जानकारी पस्कन्छन् ।
यस निबन्ध सङ्ग्रहमा छ वटा निबन्ध रहेका छन् । संरचनागत रूपमा हेर्दा सबै निबन्धको क्षेत्रफल र आयतन समान छैनन् । कुनै अति लामा छन्‚ कुनै अति छोटा । कुनै निबन्ध १५ पृष्ठका छन्‚ कुनै २९ पृष्ठका कुनै ४३ पृष्ठका छन्‚ कुनै ३७ पृष्ठका । लेखनधर्मिताभित्रको क्रम र लेख्ने आदत शीर्षकका निबन्ध सबैभन्दा छोटा छन् मात्र ७/७ पृष्ठका । सङ्ग्रहभित्रका निबन्धहरूको शब्द सन्तुलनमा असन्तुलन छ‚ लम्बाइमा असमानता छ ।
यस निबन्ध सङ्ग्रहको पहिलो निबन्ध हो “आँसु छचल्किएर पोखिन्छ” । यो निबन्ध “वनिता” मा २०६३ भदौ असोजमा प्रकाशित लेखलाई संशोधनसहित साभार गरिएको रहेछ । यस निबन्धको विषयवस्तु लेखकका पिताजी पं. माधवप्रसाद बरालसँग सम्बन्धित रहेको छ । लेखकले पिताको मृत्युपश्चात उहाँको स्मृतिमा लेखेका हुन् । पिताजीको जीवनको अन्तिम समयमा उहाँसँग बिताएका क्षणहरूलाई निकै मर्मस्पर्श किसिमले व्यक्त गरिएको छ । पिताजीसँगका विगतका अनुभवसँग पिताजीले गर्नुभएको योगदानलाई मिसाएर स्मरण गरिएको छ ।
पिताजी सबैका लागि आदरणीय र श्रद्धायोग्य नै हुन्छन् । लेखकले पिताजी गुमाएका पाठकहरूका लागि निकै भावुक बनाउँछन् । यस निबन्धमा ऐँठन‚ घाव‚ लल्याक लुलुक्‚ निस्तो‚ हुन्डरी‚ स्युँरेको‚ थैथै‚ थलामा‚ थलो‚ अन्धमुष्टि‚ बयली‚ साउती‚ कटेरो‚ पटाङ्गिनी जस्ता झर्रा शब्दहरूको उपयोग गरेर निबन्धलाई मन छुने बनाएका छन् लेखकले ।
मानिस विवेकले महान् बन्छ भन्ने कुरा लेखकलाई पिताजीले अपनाएको आदर्श थियो भन्दै लेखकले भन्छन्: मानिस मानवताले‚ उसमा भएको विवेकले महान् हुन्छ (पृ. ४) । सोचे झै जिन्दगी रैनछ भन्ने गीत जस्तै निबन्धकार भन्छन्: हामी जीवनलाई यस्तो पो हुनुपर्छ भन्दै खाका कोरेर हिँड्छ तर खाकामा कसैको पनि जीवन अटाउँदो रहेनछ (पृ. ६) ।
निबन्धकार बरालले जीवनसँग क्रुर भएर सम्झौता नगरी कोही पनि बाँच्न सक्दैन भन्ने विचार यसरी प्रकट गरेका छन्: सिद्धान्त र व्यवहारमा देखा पर्ने फरक कतै पनि मिल्ने ठाउँ नपाउँदो रहेछ । आदर्श वास्तवमा कति सुन्दर हुन्छ‚ कति लोभलाग्दो हुन्छ‚ कति रहरलाग्दो हुन्छ‚ सुमसुम्याउन मन लाग्छ तर यथार्थ कति कठोर हुँदो रहेछ‚ कति भयावह र डरलाग्दो हुँदो रहेछ (पृ. ६) ।
बाउ भनेको बाउ हो । छोराछोरीका लागि बाउ जति महान् सक्षम र ठुलो अरू हुन सक्दैन । यो आम नेपालीको छोराछोरीको विश्वास हो । पिताजीको मृत्युपछि आफ्नो शिरबाट टोपी खसेको अनुभव बाँड्दै निबन्धकार लेख्छन्: आफ्ना छोराछोरीका निम्ति बाबु भनेको सिङ्गो र खुला आकाश हो‚ छोराछोरीका निम्ति संसारमा सबैभन्दा शक्तिशाली कुरा यदि कुनै छ भने त्यो हो बाबु (पृ. ८) ।
भावनात्मक माया र प्रेम त निहित स्वार्थमा केन्द्रित हुन्छ । माया र प्रेममा कर्तव्यबोध महत्त्वपूर्ण हुन्छ । आफ्नो भनेको आफ्नै हुन्छ । घरका मानिसभन्दा नजिकको अरू हुन सक्दैन । निबन्धकार भन्छन्: अरूले टाढाबाट भुक्नु र घरकाले खट्नुमा धेरै फरक पर्न जान्छ (पृ. ११) ।
यस निबन्ध सङ्ग्रहको दोस्रो निबन्ध हो “चेतनाको आकाशमा राष्ट्रकविलाई राखेर” । यस निबन्धमा लेखक आफूले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई हेर्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । प्रस्तुतीकरणको ढाँचा आत्मालाप जस्तो छ । कवि घिमिरेलाई पटकपटक कविवर भन्दै उनीसँग भेटेर गरिएका कुराकानी पस्केका छन् । गोलोक प्रस्थान गरिसकेका कवि घिमिरेप्रति आफ्ना भावना प्रस्तुत गर्दै निबन्धकार बराल कविमा कवितामार्फत संवेदना उमार्न सक्ने क्षमता हुन्छ भन्ने प्रसङ्गमा घिमिरेकै ‘गौरी’ र ‘राजेश्वरी’ खण्डकाव्य‚ कवि शिरोमणि लेखनाथ पौड्यालको ‘तरुणतपसी’ र कवि भूपीको ‘हामी’ कवितालाई सम्झन्छन् । अनि सम्झन्छन् वैरागी काइँलालाई पनि ।
कवि घिमिरेका विभिन्न सिर्जनाको दृष्टान्त दिँदै आफू कवि घिमिरेको अनुयायी र प्रशंसक भएको उल्लेख गर्दै सफल कवि पाठकको हृदयबाट कहिल्यै टाढा जाँदैनन् भन्दै लेख्छन् सफल कविहरू पाठकको हृदयबाट कहिल्यै पनि टाढा जाँदैनन् भिन्न भिन्न कालमा भिन्न भिन्न कविले एउटै सत्य लेखिदिन्छन् (पृ. २२) । वर्तमान कवितामा आत्मदर्शन नभएर आत्मप्रदर्शन भएकामा निबन्धकार सन्तुष्ट छैनन् । कवि घिमिरेको ‘चारु चर्चा’ कृतिमा लेखिएका अंश ‘आजको न्यानोमा म
भोलिलाई खोज्छु’ भन्ने प्रसङ्ग निकालेर ‘आज राम्ररी पढियो भने भोलि राम्रो जागिर पाइएला भन्ने आशामा हामी बाँधिएका छौँ’ (पृ. २३) भनी आफ्नो पुस्ताको वास्तविकता ओकलेका छन् निबन्धकारले ।
कवि हुनुका नाताले राष्ट्रकविप्रति असीम श्रद्धाभाव राख्छन् । निबन्धकार स्वयम् कवि पनि हुन्, अझ दैनिक कवि । उनी दैनिक कविता लेख्छन् । कविता लेख्नु उनको आदत नै भएको छ, नशा नै भएको छ । यसै प्रसंगलाई उल्लेख गर्दै लेख्छन्ः कविता दशहजार भन्दा बढी लेखिए, नलेख्दा सास फेर्न गाह्रो भएझैँ लाग्छ (पृ. २५) । लेखक बरालले आफू स्नातक पढ्दा राष्ट्रकविको “राजेश्वरी” र “पापिनी आमा” खण्डकाव्य स्मरण गर्दै “पापिनी आमा” को बहुचर्चित श्लोक पनि उल्लेख गरेका छन् यसरी‚ “ढुंगाको काँप फोरेर पनि उम्रन्छ पीपल सिर्जना शक्ति कहिल्यै पनि हुँदैन विफल” (पृ. ३०) ।
कविवर घिमिरेको भनाइ उल्लेख गर्दै बराल लेख्छन्, “कुनै पनि मूर्ति आफ्ना देशबासीको अनुहारमा नढालिकन आफ्नो बन्न सक्दैन । त्यसले दिव्यताबोध प्रदान गर्न सक्दैन, पूर्वतिर बिउँझिएको मान्छेलाई पश्चिम सुन्दर लाग्दैन (पृ. ३३) ।”
कविवर घिमिरेको चारु चर्चामा पढेको अंश यसरी उल्लेख गरेका छन् निबन्धकारले, “जहाँ प्रतिभा बरालिन्छ, त्यहाँ राष्ट्रले गतिमयता प्राप्त गर्न सक्दैन ।” यसै भनाइलाई विश्लेषण गर्दै निबन्धकार एक निष्कर्षमा पुग्छन् र लेख्छन्, “लाग्छ आज राष्ट्र बनाउँछु भन्नेहरूसित यति प्रतिभा थिएन भने भ्रष्टाचारका चौसठ्ठी कलामा कुशल खेलाडी कसरी बन्थे ?” (पृ. ३८) । देशमा व्याप्त भ्रष्टाचार हुनुको कारण प्रतिभा बरालिएर नै हो भन्ने लेखकको ठम्याइ छ ।
निबन्धकार बराल बिम्ब र प्रतीक प्रयोग गर्ने कवि हुन् । उनले प्रतीकवाद नामको पुस्तक पनि लेखेका छन् । उनी प्रतीकको सुन्दर संसारमा यात्रा गर्न चाहन्छन् र प्रतीकको सुन्दर पोखरीमा पौडी खेल्न चाहन्छन् । यसै प्रसङ्गमा निबन्धकार लेख्छन्ः “यहाँ सम्पत्तिको सगरमाथा अग्ल्याएर गीत गाउने छन्, यहाँ अहङ्कारको गीत गाएर सगरमाथा होच्याउने छन्, कविता जो जसरी जहाँबाट अग्लेको भए पनि म आफूलाई साहित्यको सगरमाथाको चुचुरो चुम्न नपाएर पनि यसको शिखर देख्दा पनि त्यहीँ पुगेको अनुभव गर्दागर्दै उत्तीर्णाङ्क ल्याउन पल्केको छु” (पृ. ३९) ।
ओशो रजनीशको विचार उल्लेख गर्दै निबन्धकार कविवरलाई भन्छन्, “विज्ञान आफैँ वरदान हो, उपयुक्त ढङ्गले प्रयोग गर्दै सगरमाथा पुगिन्छ । उल्टो भए मरुभूमिको तातो बालुवामा डामिनुपर्छ होइन र !” निबन्धकारले आफूले आर्जन गरेका ज्ञानलाई स्वर्गीय भएका राष्ट्रकवि माधव घिमिरेसँग कुरा गरे झै आफ्ना विचार पस्केका छन् ।
यस निबन्धमा लेखकमा पर्याप्त आलोचनात्मक चेत देखिन्छ । पोखराका माधव वियोगीले नेपाली साहित्यको छन्दशिरोमणि बनाएर महाकाव्यिक नायक बनाएकामा सहमत छैनन् निबन्धकार । शिरोमणि भनेपछि उभन्दा माथि कोही हुनु हुँदैन भनेर लेखकको दावी गर्दै लेख्छन्, “शिरोमणिलाई अर्काले कदापि
उछिन्न सक्दैन” (पृ. ४२) । वर्तमान समयमा कविवर घिमिरेभन्दा बढी छन्द खेलाउने र रमाउने व्यक्ति पनि छन् भन्छन् निबन्धकार ।
राष्ट्रकविलाई फरक शैलीका राजनीतिक दर्शनमा नाँच्नेहरूले दरबारिया कवि भनेको विषयमा निबन्धकार असहमति प्रकट गर्छन् र यस किसिमका भनाइप्रति कटाक्ष गर्दै भन्छन्, “हिमालय पर्वतजस्तो अग्लो व्यक्तित्त्वलाई दरबारिया फिता लगाएर नापो लिने काम” पृ. ४३) ।
निबन्ध सङ्ग्रहभित्रको तेस्रो निबन्ध हो “बालकृष्ण पोखरेलदेखि हरिप्रसाद बरालसम्म” । यस निबन्धमा बालकृष्ण गुरु र हरिप्रसाद चेलाका रूपमा रहेका छन् । चेला हरिप्रसाद बराल लेखक स्वयम् नै हुन् । नेपालका प्रकाण्ड भाषाविद् बालकृष्ण पोखरेलको ज्यादै नजिकको चेलो हुने अवसर निबन्धकार बराललाई मिलेको छ । बालकृष्ण पोखरेलको सानिध्यतामा बसेर सिक्ने अवसर निकै कम नेपालीलाई मात्र प्राप्त छ । बरालभित्र कवित्व, समालोचकीय दृष्टि र निबन्धचेत बालकृष्ण पोखरेलको सानिध्यताले परिष्कृत भएको कुरा यस निबन्धको अध्ययनबाट पुष्टि हुन्छ । यति गहिरो सम्बन्ध गुरुचेलाको तब टुट्यो जब बालकृष्ण पोखरेलले यस धरालाई छोड्नुभयो ।
गुरुको अवशानपछि भोग्नु परेको रिक्ततालाई पूरा गर्न हरिप्रसाद बरालले “बालकृष्ण पोखरेलदेखि हरिप्रसाद बरालसम्म” निबन्ध नै लेख्नुपर्यो । आयतनको हिसाबले पनि निबन्धसङ्ग्रहभित्रको सबैभन्दा लामो निबन्ध हो, ४३ पृष्ठको । निबन्ध लामो छ, एकै बसाइमा पूरा गर्न नसकिन पनि सक्छ, केही समयको अन्तराल लिएर पढ्नुपर्छ, पढ्न धैर्य गर्नैपर्छ । निबन्ध पढ्दा पट्यार भने लाग्दैन । अनुच्छेद ज्यादै लामा छन्, पाठकलाई विश्राम गर्ने अवसर नै मिल्दैन ।
बालकृष्ण पोखरेललाई प्राज्ञ, प्राध्यापक, भाषाशास्त्री, खसमनीषी, कथाकार, उपन्यासकार, कवि, समालोचक, निबन्धकार, कोशकार, वैयाकरण आदिका रूपमा अरूले जस्तै आफूले पनि चिनेको कुरा निबन्धकारले उल्लेख गरेका छन् । बहुभाषाविद्का रूपमा पनि चिनिने पोखरेलले ९८ वटा पुस्तक लेखेका कुरा उल्लेख गर्दै निबन्धकार बरालले पोखरेललाई झर्रोवादी आन्दोलनका शिखरपुरुष, विश्वका अन्य भाषा र नेपाली भाषामा फरक, भारोपेली भाषाका अध्येताका साथै खस जातिको इतिहास जस्ता चर्चित पुस्तकका लेखकका रूपमा चिनेको पनि उठाएका छन् । पोखरेलको “कलेजस्तरका निबन्धै निबन्ध” कृति पढेपछि आफूमा राष्ट्रवादको स्वाद मिलेको भन्छन् निबन्धकार ।
बालकृष्ण पोखरेल गुरुको प्रिय शिष्य बनेका बराल आफू शिक्षक हुनुको नाताले गुरुले कर्तव्य बोध गराएको प्रसङ्ग यसरी उल्लेख गर्छन् :
नेपाली शिक्षकले आफ्ना प्यारा छात्रछात्रालाई शिक्षा दिँदा जागिर खाएको मात्र सम्झनुहुँदैन । तिनीहरूको हृदयमा तिमीले राष्ट्रप्रति वफादार बन्ने सद्भावको बिउ रोप्नुपर्छ, देश दुखेको बेलामा संवेदनशील भएर रुने कला सिकाउनुपर्छ, देशको सेवा आफ्नो ठाउँबाट कसरी गर्नुपर्छ, त्यो कुरा सिकाउनुपर्छ अनि नेपाल सबैको साझा फूलबारी हो भन्ने आदर्शलाई तिनका हृदयमा तिमीले रोपिदियौ भने भोलि तिनीहरू पक्कै पनि टायर बाल्ने छैनन्, जे मन लाग्यो त्यो गर्ने छैनन्, उदण्ड
पात्रका रूपमा आफूलाई उभ्याउने छैनन् । कुविचारले भरिएका नायकको पछि लागेर तिनले आफ्ना भविष्यमा कालो धब्बा पोख्ने काम गरेका हुने छैनन् (पृ. ४६ र ४७) ।
प्रा. डा. दयाराम श्रेष्ठ नेपाली विषयका धुरन्धर विद्वान् हुन् । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पनि थिए । नेपाली विषयमा विद्यावारिधि । “नेपाली राष्ट्रिय झण्डा” कृतिका लागि २०५३ सालमा मदन पुरस्कारबाट सम्मानित व्यक्ति । दयाराम श्रेष्ठले उपनाम ‘सम्भव’ किन राखे भन्ने सम्बन्धमा मैले पनि कहीँ कतै यसको अपुष्ट जानकारी पाएको थिएँ, तर त्यो जानकारीमा आधिकारिकता भने थिएन । दयाराम श्रेष्ठले विद्यावारिधि गर्ने सन्दर्भमा कुनै वरिष्ठ प्राध्यापकलाई सुपरिवेक्षकका लागि अनुरोध गर्दा “तपाईँले विद्यावारिधि पूरा गर्न सक्नुहुन्न, तपाईँको विद्यावारिधि असम्भव” भने रे । यस भनाइले श्रेष्ठलाई निकै चोट पुर्यायो र श्रेष्ठले सम्भव बनाउने सङ्कल्प गरे रे, अनि आफ्नो उपनाम ‘सम्भव’ राखे रे । मैले सुनेको यही थियो । मैले हरिप्रसाद बरालको निबन्ध “बालकृष्ण पोखरेलदेखि हरिप्रसाद बरालसम्म” पढेपछि आधिकारिक जानकारी पाए जस्तो लाग्यो । यस सम्बन्धमा बालकृष्ण गुरुले कुरैकुरामा बराललाई बताइएको कुरा निबन्धमा यसरी लेखेका छन्:
“दयाराम श्रेष्ठले किन उपनाम ‘सम्भव’ राखे ? तिमीलाई थाहा छैन होला । उनी सूर्यविक्रम ज्ञवालीलाई शोधनिर्देशक बनाएर आफू शोधार्थी भएका थिए । पछि ज्ञवालीलाई भेट्न जाँदा सागको मुठो लिएर गएछन् । ज्ञवाली ‘तँ मलाई घुस खुवाउन आ’को ?’ भनेर रिसाएछन् । ‘तैँले पी.एच.डी. गर्न सक्दैनस् । यस्ता घुसको पोको बोकेर हिँड्नेहरूका लागि पी.एच.डी. असम्भव हुन्छ । तेरा लागि पनि अब पी.एच.डी. असम्भव भयो । गइहाल् यहाँबाट तुरुन्त ।’ त्यसपछि दयाराम श्रेष्ठ बालकृष्ण गुरुका आश्रममा पुगेछन् । “तिमी चिन्तन नगर दयाराम, अब म जसरी पनि तिमीलाई पी.एच.डी. गराउँछु । आजदेखि तिमीले आफ्नो नामका अगाडि सम्भव लेख्न कहिल्यै नभूल है” (पृ. ५२) ।
मैले सुनेको कुरा र हरिप्रसाद बरालले निबन्धमा उल्लेख गरेका कुरामा कतिपय कुरा नमिले पनि दयाराम श्रेष्ठको उपनाम ‘सम्भव’ राखिदिने बालकृष्ण पोखरेल गुरु भएको कुरा स्पष्ट भयो र मैले मेरो जानकारीलाई सम्पादन पनि गरेँ र बचत गरेँ । मैले यो निबन्ध पढेपछि यो थप उपलब्धि पनि हासिल गरेँ, मेरो जानकारीलाई अद्यावधिक पनि गरेँ ।
यो निबन्ध अध्ययन गर्दा बालकृष्ण पोखरेलका बारेमा निकै जानकारी मिल्दछ । निबन्धकार बरालले यस निबन्धमार्फत बालकृष्ण पोखरेलका सम्बन्धमा पाठकलाई रमाइला तथा नवीन जानकारी दिएका छन् ।
निबन्ध सङ्ग्रहको चौथो निबन्ध हो “सपना‚ यति मात्र भनेँ ल” ! निबन्धमा सपना नामकी शिष्यलाई गुरु निबन्धकारले विभिन्न दृष्टान्तहरु दिँदै चेतनाको द्वार खोलिदिएका छन् र जीवनको सही मार्ग देखाएका छन् । यो निबन्ध पढ्दै जाँदा संस्कृतको श्लोक याद आउँछ गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥; गुरु उर्जा हो वा व्यक्ति हो उसले व्यक्तिलाई सही र गलतको पहिचान गराउँछ र जीवनको सही मार्गमा डोर्याउँछ ।
निबन्धभित्र गुरु र शिष्यको सम्बन्ध झल्किन्छ । गुरु शब्दको अर्थ निकै गहिरो र अर्थपूर्ण छ । हिन्दू र पूर्वीय दर्शनमा यसलाई केवल शिक्षक को रूपमा मात्र नहेरिएर एक आध्यात्मिक पथप्रदर्शकको रूपमा लिइन्छ । संस्कृतमा गुको अर्थ हुन्छ अन्धकार (अज्ञानता) र रु को अर्थ हुन्छ निरोधक वा हटाउने (प्रकाश) । यस निबन्धमा निबन्धकार हरिप्रसाद बराल पक्का गुरु बनेका छन् । जसरी गुरुले शिष्यको मनबाट अज्ञानताको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश छरिदिन्छ त्यसरी नै हरिप्रसाद बरालले शिष्य सपना यादवका मनबाट अज्ञानताको अन्धकारलाई हटाउन अधिक प्रयत्न यस निबन्धमा गरेका छन् । लेखक शिक्षा गुरु हुन् उनले सांसारिक ज्ञान‚ सिप‚ प्रवृत्ति र साक्षरता प्रदान गरेका छन् । उनी दीक्षा गुरु पनि हुन्‚ उनले सद्मार्गमा लाग्न शिष्यलाई मार्गनिर्देशन गरेका छन् । साथै‚ उनी सद्गुरु पनि हुन्‚ उनले आत्मज्ञानको बाटो देखाउने प्रयास गरेका छन् ।
श्रीमद्भगवत गीतामा श्रीकृष्णले अर्जुनलाई ज्ञान दिए जस्तै गुरु हरिप्रसाद बरालले शिष्य सपनालाई जीवन र जगत्का सम्बन्धमा ज्ञान दिएका छन् । विद्यालय तहकी छात्रा सपनाको अध्ययन क्षमता, विलक्षण प्रतिभा, शालिनता, जिज्ञासुपन, तीक्ष्ण मस्तिष्क, सहयोगी भावना, पठनसंस्कृतिप्रतिको झुकावका कारण भविष्यमा सक्षम र सफल व्यक्तित्व बन्न सक्ने आँकलन निबन्धकारमा छ । त्यसैले शिष्य सपनालाई भन्छन्‚ “गोपनीय शक्ति नभएको मान्छे जीवनको हरेक मोडमा असफल हुन्छ । उसको व्यक्तित्व नै पातालमा भासिन्छ (पृ. ८९) ।”
ज्ञान हासिल गर्न साधना चाहिन्छ, धैर्य चाहिन्छ, लगनशीलता चाहिन्छ, त्याग चाहिन्छ भन्दै निबन्धकार बरालले शिष्य सपनालाई भन्छन्‚ “ज्ञानका लागि ह्वुएनसाङ हुनुपर्ने रहेछ । उनी प्रसिद्ध बौद्ध भिक्षु चिनियाँ यात्री हुन्, सन् ६२९ मा उनी सबै कुरा छाडेर ज्ञानप्राप्तिका लागि भारत आएका थिए (पृ. ९०) ।”
देशको अवस्था बिग्रँदै गएकामा चिन्ता व्यक्त गर्दै लेखकले सपनालाई चिन्तनको ढोका खोल्दै जानु भन्दै लेख्छन्‚ “आज देश भ्रष्टहरूको चङ्गुलमा छ, अन्याय र अत्याचार बढ्दै गएको छ, न्याय मारेका छन्, सत्ताको ठेकेदारले (पृ. ९०) ।”
‘सपना, यत्ति मात्र भनेँ ल !’ निबन्ध पढ्दा लाग्छ कुनै गुरुकुलबाट शिक्षित र दीक्षित भएर गृहस्थीका लागि घर फर्केको शिष्यलाई गुरुले दिएको दीक्षान्त आशीर्वाद हो । लेखक शिष्यलाई आशीर्वचन दिँदै लेख्छन्‚ “हाँस्न सिक‚ मुस्कुराउन सिक‚ कसैको हृदयमा चोट नपुर्याऊ‚ सक्छ्यौ भने अरूको पुछ्ने कुरामा आफ्नो थोरै समय भए पनि खर्च गर” (पृ ११३) । लेखकले पैसालाई स्वीकार तर पैसाको दास नबन भन्दै शिष्यलाई ज्ञान दिँदै भन्छन्‚ “पैसाको अनिवार्यलाई स्वीकार गर सम्मान गर तर त्यसको दास भएर आफूभित्रको मानवतालाई नकुच्याऊ नदर्फर्याऊ” (पृ. १२३) ।
ताना शर्माको घनघस्याको उकालो काट्दा नियात्रामा बैतडीतिर ‘बाटामा गाड पडन्छ’ भन्ने वाक्य मैले पढेको थिएँ । निबन्धकारले बैतडेली उखान भनेर ‘बाटामा गाड पल्टन्छ’ भनी लेखेका छन (पृ. ९५) । ताना शर्माको नियात्रामा यात्रीले पाटन वा यस्तै ठाउँ जाने बाटो सोध्दा एक जना महिलाले ‘बाटामा गाड पडन्छ’ भनेर स्थानीय भाषामा भनेको र त्यसको अर्थ बाटामा खोला पर्छ भन्ने हुन्थ्यो । बैतडेली भाषामा गाडको अर्थ खोला हुन्छ । तर, निबन्धकारले यसलाई बैतडेली उखान भनेका छन्, यसमा निबन्धकार अलमलमा परेको देखिन्छ । हामी जुन तरिकाले औसत रूपमा बाँचेका छौँ, कुकुर पनि औसत रूपमा बाँचेकै हुन्छ, औसत जीवन भनेको बाँच्नु मात्रै हो र सरल जीवन भनेको मूल्य र मान्यताले जीवनलाई सिँगारेपछि प्राप्ति हुने प्रतिफल हो (पृ. १०६) ।
सत्य र तथ्यमा फरक छ भन्दै निबन्धकार बराल लेख्छन्, “सत्य र तथ्य फरक कुरा हुन् किनकि तथ्य आँखा अगाडि हुन्छ, सत्यले कुनै पनि घटनाका सम्भावना खोजेर अन्तिमसम्म पुर्याउन सक्छ” (पृ. १०८) ।
निबन्धकारले आफ्नी शिष्यलाई श्रीमद्भागवत्को दशम् स्कन्ध पढ्नु सुझाएका छन् । यस्तै, काँडाघारीका फूलहरू, नारी बन्धन र मुक्ति, कृष्ण, ऋग्वेद, नेहरुज लेटर, तेस्रो विकल्प, आठौँ आदत जस्ता प्रसिद्ध पुस्तक पढ्न सुझाएका छन् सपनालाई । प्रसिद्ध पुस्तकहरूको अध्ययनले व्यक्तित्व र व्यवहारमा परिवर्तन ल्याउँछ भन्ने निबन्धकारको अटल विश्वास छ ।
लेखकले शिष्यलाई वेदव्यासले महाभारत, अठार पुराण आदि लेखेपछि अठार पुराणको सारका रूपमा दुई श्लोक व्यक्त गरेका कुरा सम्झाएका छन् । लेखक भन्छन्‚ “धर्म कमाउनु छ भने अरूको सेवा गर‚ पाप गर्नु छ भने अरूलाई दुःख देऊ” (पृ. ११२) । लेखकका यी हरफ पढ्दा वेदव्यासले १८ पुराणको निकालेको निचोडसँग तुलना गर्न पुगिन्छ । वेदव्यासले लेखका थिएः “अष्टादशपुराणेषु व्यासस्य वचनद्वयम् । परोपकार: पुण्याय पापाय परपीडनम् ।” यसको अर्थ हुने रहेछः यसको अर्थ हुने रहेछः ‘अरूको उपकार (भलाइ) गर्नु नै पुण्य हो र अरूलाई पीडा वा कष्ट दिनु नै पाप हो।’
निबन्धकारले धर्म फरक फरक हुन्छ तर अध्यात्म एउटै हुन्छ भनेका छन् (पृ. ११३) । धर्म र अध्यात्म निश्चय नै फरक कुरा हुन् ।
निबन्धकारले शिक्षकको एक गल्ती उल्लेख गरेका छन् जुन वाक्य पढ्दा रमाइलो लाग्छ । प्राय मानिसलाई आफूले कुन थेगो प्रयोग गर्छु र कति पटक दोहोर्याउँछु भन्ने कुरा याद भने हुँदैन । लेखक आफैँ शिक्षक हुन् उनले शिक्षकले बारम्बार थेगो दोहोर्याउनु दोष हो भन्दै लेख्छन्‚ “शिक्षकको एउटा गल्ती बारम्बार थेगो दोहोर्याउनु पनि हो” पृ. ११६) । लेखकले शिक्षकमा अन्य गल्ती पनि हुन्छन् भनेर स्वीकारेका छन् ।

निबन्धकार बराल शब्द चयनमा निकै सचेत छन्‚ सतर्क छन् । उनी झर्रा शब्द प्रयोगमा माहिर छन् । बिम्ब र प्रतीक प्रयोगमा त उस्ताज नै हुन् उनी । ‘सपना, यत्ति मात्र भनेँ ल !’ शीर्षकको निबन्धमा थुप्रै रोचक पदावली प्रयोग गरेका छन्‚ यस्ता पदावलीले निबन्धलाई चोटिलो बनाएको छ । यस्ता पदावलीहरू हुन्: ज्ञानको खेती‚ आलोचनाको तिर‚ अस्तित्वको गोडमेल‚ दिमागका कुबेर‚ चेतनाको बाटो‚ जीवनरूपी गाडी‚ मेमोरीले खिपेर‚ अङ्कगणितको खैजडी बजाएर‚ शोषणको गोमन सर्प‚ स्वाभिमानको
आकाश‚ नयाँ विचारको फ्याक्ट्री‚ कृष्णचेताको बिरुवा‚ ज्ञानको भोक‚ सद्भावकी कुबेर‚ अहङ्काररूपी राक्षस‚ चेतनाका टुसा‚ विचारको फोक्सो‚ तर्कको बत्ती‚ अहङ्कारको थोत्रो‚ कागज अहङ्कारको हिमाल‚ विचारको थोत्रो ट्याक्टर‚ विचारमा पोखरीको पानी‚ अहङ्कारको हिमाल‚ टाउकामा बासी विचार‚ कञ्जुसीको पहाड चढ्न पल्केका ।
यस निबन्ध सङ्ग्रहको पाँचौँ निबन्ध हो “लेखनधर्मिताभित्रको क्रम” । यी निबन्ध अभिनवप्रभा वर्ष २ अङ्क ७ मा प्रकाशित भएको रहेछ । सात पृष्ठमा लेखिएको यो निबन्धमा साहित्य र यसको प्रभावका सम्बन्धमा विविध दृष्टान्त दिँदै आफ्नो विचार पस्केका छन् लेखकले ।
यस निबन्ध सङ्ग्रहको छैटौँ तथा अन्तिम निबन्ध हो “लेख्ने आदत” । यो पनि सात पृष्ठमा समेटिएको छ । पुस्तक पढ्दा निदाउनेप्रति व्यङ्ग्य गर्दै निबन्धकार लेख्छन्, “कतिपय रचना पढ्न थालेपछि निद्रा लाग्छ । तिनमा औषधिको मात्र रहेछ भनेर सिद्ध हुनु नै निद्रा लाग्नु हो । निद्रा नलाग्दा यस्ता कृति किन नपढेको होला भन्ने पनि लाग्छ” (पृ. १३५) । यस निबन्धमा लेखक बरालले चोटिला झर्रा शब्द उपयोग गरेका छन् । यस्ता शब्दहरूले निबन्धहरूको पठनलाई रसिलो बनाएका छन् । स्युँरेको, साउती, घँुयेत्रा, झट्टी, ठुग्न, काँचाकचिला, हुर्रा, कच्याककुचुक, ङ्याक्दै, पल्टन, गर्ल्यामगुर्लुम, चैतेहुण्डरी, फेरो एषणा यस निबन्धमा प्रयोग भएका झर्रा शब्दहरू हुन् ।
निबन्धकार हरिप्रसाद बराल आलोचनात्मक भाषा प्रयोग गर्छन् । उनको आलोचनात्मक भाषा न आक्रामक छ‚ न आत्मरक्षात्मक छ‚ न त सत्तामुखी । उनको भाषा त जीवन र जगत् अध्ययन गर्न पाठकका लागि टर्चलाइट हो । बरालको भाषा ‘म’ केन्द्रमा छ, तर आत्मप्रदर्शन छैन । भावनात्मक मात्र होइन, चिन्तनशील आत्मपरकता छ । लेखकले निश्चित निष्कर्ष दिनुभन्दा प्रश्नप्रधान भाषामा आफ्ना विचार दिएका छन् । उनका लेखनमा आलोचना पनि छ‚ आत्मआलोचना पनि । बरालका निबन्ध, समालोचना र वैचारिक लेखहरू भित्र आत्मपरक निबन्धीय प्रवृत्ति बलियो रूपमा उपस्थित छ। उनी आत्मपरक निबन्धकार मात्र होइनन् समालोचक–निबन्धकार हुन् । आत्मपरकता उहाँको शैलीगत आयाम हो । आक्रमण होइन, विश्लेषण उनको मूल दृष्टि हो । बरालको लेखनमा धार भाषिक विनम्रता र बौद्धिक सावधानी छ ।
पुस्तकमा भाषा सम्पादनमा केही त्रुटि पनि देखिएका छन् । लेखकले “चेतनाको आकाशमा राष्ट्रकविलाई राखेर” निबन्धमा पृष्ठ ३० मा “राजेश्वरी” खण्डकाव्यको बहुचर्चित श्लोक “ढुंगाको काँप फोरेर पनि उम्रन्छ पीपल सिर्जना शक्ति कहिल्यै पनि हुँदैन विपल” (पृ. ३०) उल्लेख गरेका छन् । वास्तवमा यो श्लोक ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल हुनुपर्ने हो । अनि‚ ‘विपल’ नभै ‘विफल’ हुनुपर्ने हो । यस्तै‚ “बालकृष्णदेखि हरिप्रसाद बरालसम्म” शीर्षकको निबन्धमा पृष्ठ ३० मा लेखकले “कुविचारले भरिएका नायकको पछि लागेर तिनले आफ्नो भविष्यमा कालो धब्बा पोख्ने काम गरेका छैनन् ।” यसमा “कालो धब्बा पोख्ने” नभई “कालो धब्बा पोत्ने” हुनुपर्ने हो ।
“चेतनाको विराट् यात्रा” एक वैचारिक तथा समालोचनात्मक निबन्ध सँगालो हो । यसमा दर्शन, साहित्य र चेतनाको अध्ययन भेटिन्छ । यसमा सरल भाषामा गहिरो बौद्धिकता छ‚ मानवीय चेतनाको विकास‚ साहित्य र चेतनाको सम्बन्ध‚ आधुनिक मानिसको बौद्धिक यात्रामाथि चिन्तन गरिएको छ । यस पुस्तकमा चेतना र विचार भरिभराउ छ । यस निबन्ध सङ्ग्रहलाई बौद्धिक–आत्मपरक निबन्ध भन्न सकिन्छ । यस कृतिमा मानवीय चेतनाको विकासलाई वैचारिक र समालोचनात्मक दृष्टिले विश्लेषण गरिएको छ । बरालका कतिपय निबन्धमा आफ्नो अध्ययन–अनुभव‚ आलोचकको आत्मसङ्घर्ष‚ शैक्षिक
जीवनको दृष्टि स्पष्ट आत्मपरक रूपमा आउँछन् । उनका लेखनीमा आत्मपरकता सैद्धान्तिक आत्मसंवादका रूपमा छ ।
निबन्धका पाठकका लागि “चेतनाको विराट् यात्रा” एक पठनीय कृति हो । पाठकले आफूले मात्र नपढेर पठनसंस्कृति प्रवर्धनका लागि अरूलाई पनि पढ्न दिने र पढ्नका लागि अभिप्रेरित गराउने पुस्तक हो यो । सरल भाषामा लेखिएको यो कृति पठनीय छ सङ्ग्रहनीय छ । निबन्धका अनुच्छेद अलि लामा लामा भएकाले पाठकले विश्राम लिन पाउँदैनन्‚ आगामी लेखनमा छोटा छोटा अनुच्छेदको अपेक्षा गरिन्छ।
कृति: “चेतनाको विराट् यात्रा”
विधा: निबन्ध
लेखक: हरिप्रसाद बराल
प्रकाशक : लेखक स्वयम्
संस्करण: पहिलो २०८०
पृष्ठ: १३८
मूल्य: रू. ३००/-
खगराज बराल‚ पिएचडी पोखरा‚ कास्की‚ नेपाल ।

प्रतिक्रिया