राष्ट्रपति डोनाल्ड ट्रम्प–नेतन्याहू भेटवार्ता: इरानसँग सम्झौता नभए कडा कदम चाल्ने चेतावनी

इनेप्लिज २०८२ माघ ३० गते १:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिउँसो आफ्नो सामाजिक सञ्जालमार्फत इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भएको भेटबारे महत्त्वपूर्ण जानकारी दिएका छन्। उनले यो बैठक “धेरै राम्रो र सफल” भएको बताउँदै अमेरिका र इजरायलबीचको सम्बन्ध अझै बलियो बन्दै गएको बताए।

ट्रम्पका अनुसार दुई देशबीच कुनै अन्तिम निर्णय भने भएको छैन। तर उनले इरानसँगको वार्ता जारी राख्न जोड दिएका छन्। यदि इरानले सम्झौता गर्न चाहन्छ भने त्यो सबैभन्दा राम्रो विकल्प हुने उनले नेतन्याहूलाई बताएका छन्। तर सम्झौता नभए के हुने भन्ने विषयमा भविष्यले नै निर्णय गर्ने उनको भनाइ छ।

राष्ट्रपति ट्रम्पले विगत सम्झाउँदै भने, “पछिल्लो पटक इरानले सम्झौता नगर्ने निर्णय गर्दा माध्यरात्री प्रहार ‘मिडनाइट ह्यामर’ नामक कडा कारबाही भोग्नुपरेको थियो ।” यसपटक इरान अझ जिम्मेवार र समझदार हुने अपेक्षा उनले व्यक्त गरेका छन्।

यसैगरी, बैठकमा गाजा क्षेत्र र समग्र मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको थियो। ट्रम्पले गाजामा ठूलो प्रगति भइरहेको र क्षेत्र शान्तितर्फ अघि बढिरहेको दाबी गरे। उनले “मध्यपूर्वमा वास्तवमै शान्ति सम्भव छ” भन्दै सकारात्मक सन्देश दिएका छन्।

अन्त्यमा उनले सबैलाई ध्यान दिन आग्रह गर्दै धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया