
अमेरिकाको मेरिल्याण्ड राज्यस्थित रकभिल शहरमा रहेको ‘थोमस एस. उटन उच्च माध्यमिक बिद्यालयमा सोमबार दिउँसो एक विद्यार्थीले अर्का विद्यार्थीमाथि गोली चलाएका छन्। दिउँसो करिब २:१५ बजे बिद्यालयको गल्ली (हलवे) मा एक विद्यार्थी घाइते अवस्थामा भेटिएका थिए।
घटनालगत्तै मोन्टगोमेरी काउन्टी प्रहरीले सक्रियता देखायो र बिद्यालय नजिकैबाट एक संदिग्ध विद्यार्थीलाई पक्राउ गर्यो। प्रहरीले एउटा कालो गाडीबाट तीनजनालाई नियन्त्रणमा लिएको दृश्य पनि देखिएको थियो, तर तीमध्ये मुख्य आरोपी को हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।
एनबिसी४ का अनुसार गोली चलेपछि बिद्यालयलाई दुई घण्टाभन्दा बढी समयसम्म ‘लकडाउन’ अर्थात् बन्दाबन्दी (भित्रै थुनेर सुरक्षित राखिएको) गरिएको थियो। आफ्ना छोराछोरीको सुरक्षालाई लिएर बिद्यालय बाहिर अभिभावकहरू निकै चिन्तित देखिन्थे। एक आमाले भनिन्, “मेरो छोरा सुरक्षित भएकोमा खुसी छु, तर गोली लाग्ने विद्यार्थीको अवस्था सम्झिँदा निकै दुःख लागेको छ।”
विद्यार्थीहरूलाई सुरक्षित रूपमा आमाबुबासँग भेटाउन नजिकैको रोबर्ट फ्रस्ट बिद्यालयमा बसमार्फत लगिएको थियो। बिद्यालयप्रशासनले अभिभावकहरूलाई घुम्तीयन्त्र ( मोबाइल) मार्फत मा सन्देश पठाएर जानकारी दिएको थियो। घाइते विद्यार्थीलाई तत्काल अस्पताल पुर्याइएको छ। प्रहरीले घटनाको कारणबारे सोधपुछ गरिरहेको छ ।
प्रतिक्रिया