
साहित्यका अविश्रान्त यात्री हुन् डा. घनश्याम न्यौपाने परिश्रमी । नेपाली र हिन्दी साहित्यमा सुप्रतिष्ठित नाम परिश्रमी गजलका लागि विशेष परिचित व्यक्तित्व हुन् । हाइकु, मुक्तक, कविता, खण्डकाव्य, कथा, एकाङ्की, नाटक, समीक्षा, समालोचना आदि करिब सबै विधा र उपविधामा सिद्धहस्त डा. परिश्रमीले पाठ्यपुस्तक पनि लेखेका छन् । अधिकांश साहित्यिक विधाको सैद्धान्तिक स्वरूपको आधिकारिक परिचर्चाकार परिश्रमीका विधागत सैद्धान्तिक पुस्तकहरु पनि प्रकाशित छन् । मुख्यतः नेपाली गजललाई पहिलो औपचारिक सैद्धान्तिक स्वरूप प्रदान गर्ने समालोचक तथा सिद्धान्तकार र प्रतिष्ठित गजलगोसमेत रहेका परिश्रमीले गजलमा अनेकौँ प्रयोग गरेका छन् । नेपाली गजललाई उच्च प्रतिष्ठा प्रदान गर्ने अन्तर्राष्ट्रिय व्यक्तित्व परिश्रमीका बालगजल र चित्रगजलका साथै हिन्दीका पनि गजल कृतिहरु प्रकाशित छन् ।
गजलकारहरुको संख्या र गजलको गुणस्तर बढ्दै जाँदा नेपाली गजलमा पछिल्लो दशकमा बहरबद्ध गजलबारे निकै बहस भइरहेको छ । बहरबिना पनि गजल हुन्छ र बहरबिना गजल हुनै सक्दैन तथा बहर पनि यस्तो हुन्छ र यस्तो त बहर हुँदैहुँदैन भन्ने किसिमका तर्क र बहसले नेपालीय गजल तातेको छ । गजलको तातो राप र तापबाट कतिपय यस्ता पनि सर्जकहरु छन् जो पहिले राम्रा गजलगोमा गनिएको थिए र पछि पन्छिएका छन् भने कतिपय गजलगोलाई बहरको मान्यता र स्वरुपप्रति चासो बढेको छ । बहरप्रिय कतिपय आलोचकहरुले लेखेको गजल पनि अर्को बहरबद्ध गजलका बहसकारले गजलै भएन भनी आलोचना हुन थाल्दा बहरबद्ध गजलको एउटा मानक ग्रन्थको आवश्यकता नेपाली गजलको क्षेत्रमा रहेकै वेला डा. परिश्रमीको ‘बहर र गजल’ नामक कृति आएको हो ।
२०७९ को बुद्धपूर्णिमाका दिन शब्दार्थ प्रकाशन काठमाडौँले प्रकाशन गरेको ‘बहर र गजल’ युगको आवश्यकता भएको ऐतिहासिक कृति हो । आवरण पृष्ठमै ‘तीस दिनको अभ्यास र ज्ञानका लागि’ भनेर लेखिएको अभिव्यक्तिले जतिसुकै अभ्यस्तलाई पनि ज्ञानका लागि उपयुक्त हुने भनी सम्भवतः विद्वानहरुबिच तत्कालीन परिवेशमा भइरहेको विवादलाई पनि संकेत गरिएको छ । गजल सिक्नेहरुका लागि त यो कृति विशिष्ट मूल्यको रहेको छ नै । कृतिले गजलप्रति उत्सुकहरुको जिज्ञासालाई क्रमशः शान्त पार्ने काम त गरेको छ नै, साथै सिक्नेहरुले पनि सिक्ने काइदासमेत यसबाट सिक्न सक्छन् । गजलको क्षेत्रमा यो कृति सिर्जना, समीक्षा वा पाठ्यपुस्तक सबै दृष्टिकोणले विशिष्ट रहेको छ ।
सिकाउनका लागि अनेक सिद्धान्त प्रचलनमा छन् । तीमध्ये दुई मुख्य छन् ः आगमन विधि र निगमन विधि । यस कृतिमा आगमन विधि अपनाइएको छ । आगमन विधिमा पहिले उदाहरण दिइन्छ, त्यसलाई बुझाउने काम हुन्छ अनि सिकारुले विस्तारै सिद्धान्त बुझ्दछन् । यस विधिमा अभ्यासको पनि ठुलो महत्व हुन्छ । अभ्यास गर्दै सिक्ने र सिकेको कुराको आधारमा मूल्याङ्कन पनि गरिने हुन्छ । यस कृतिमा पनि पहिले गजल दिइएको छ, गजलको बारेमा बुझाइएको छ, गजल लेख्न अभ्यास गराइएको छ र सम्पूर्ण क्रियाकलापसित सम्बन्धित प्रश्नहरु सोधिएका छन् । गजलको उदाहरणबाट सैद्धान्तिक मान्यता सिकाउँदै लैजाने यो कृति आधुनिक शिक्षा प्रणालीको आधारमा लेखिएको छ । कृति सिर्जनमा डा. परिश्रमीको प्राध्यापकीय व्यक्तित्वले प्रभाव पारेको स्पष्ट देखिन्छ ।
गजलको परिचय, गजलको विषय, गजलका बाहिरी तत्वहरु (सेर, मिसरा ए उला, मिसरा ए सानी), काफिया (हमकाफिया १, हमकाफिया २ र हमकाफिया ३), रदिफ र काफिया, मतला, मक्ता र तखल्लुस, बहरको परिचय र उदाहरण, रुक्न÷मर्कान÷गण आदिको चर्चा, मुफरद बहर र उदाहरण १, मुफरद बहर र उदाहरण २, मुफरद बहर र उदाहरण ३, मुक्कब बहर र प्रकार, मुरक्कब बहर र प्रकारका केही उदाहरण, मुजाहिफ बहर जिहाफ, मुजाहिफ बहर र उदाहरण १, मुजाहिफ बहर र उदाहरण २, मुजाहिफ बहर र उदाहरण ३, मुजाहिफ बहर र उदाहरण ४, मीर बहरको परिचय, मीर बहरका उदाहरण, जगलका आन्तरिक तत्व तथा गुणहरु, गजलका दोषहरुको निरुपण, बहरमा लचकता १, बहरमा लचकता २, बहरमा लचकता ३, बहरको प्रयोग गरेर स्तरीय गजल कसरी लेख्ने ?, बहरमा गजल लेख्न बस्दा के के गर्ने, केही मतला र बहरको अवलोकन तथा अतिरिक्त ज्ञान शीर्षकमा कृतिलाई तीस दिनको कोर्स बनाइएको छ । साथै परिशिष्ट लेखको रूपमा ‘नेपाली गजलमा बहरको प्रयोग’ अनुसन्धानमूलक÷समालोचनात्मक सिर्जना रहेको छ । कृतिको अन्त्यमा सन्दर्भ सूची र कृतिकारको व्यक्तिगत परिचयात्मक विवरण दिइएको छ । डा. परिश्रमीको बारेमा जान्न चाहने तथा साहित्यिक जीवनी लेख्न चाहनेका लागि कृतिको अन्त्यमा दिइएको परिचय अत्यन्त उपयोगी देखिन्छ ।
कृतिमा हरेक दिनको लागि एक पाठ पुग्ने गरी छुट्याइएको छ । गजल कहिल्यै नलेखेका तथा सिक्न चाहनेका लागि अति सरल तरिकाले बुझाइएको प्रस्तुत कृतिको चौबिसौँ दिनमा जस्तोसुकै गजलगोले पनि नपढी सुख छैन । यसमा ‘गजलका दोषहरूको निरूपण’ रहेको छ । गजलमा अस्पष्टता, अपूर्णता, दुरूहता, असम्बद्धता, कुरूपता, अश्लीलता, विक्षेप (अनुचित, अनपेक्षित र अव्यावहारिक शब्दरूको प्रयोग), अनावश्यकता, पुनरावृत्ति, भर्ती (बहर मिलाउनका लागि अनावश्यक रूपमा जबर्जस्ती शब्दको प्रयोग), शब्दसङ्कोच, शाब्दिक कठोरता, अनादरता, उल्झाव, काफियाभग्नता, तकाबुला (मतलामा बाहेक अन्य सेरहरुका उला मिसराको अन्तमा सानी मिसराको अन्तको ध्वनि र मात्रासँग समानता), इतसाल (अगाडिको शब्दको अन्तिम वर्ण र पछाडिको शब्दको आरम्भको वर्ण एउटै ध्वनिको हुनु) का साथै कफियामा लेखिने प्रमुख दोषहरुलाई पनि उदाहरणसहित स्पष्ट पारिएको छ । देशका ठुला गजलकारहरुको गजलमा पनि दोषहरु रहेको देखाउँदै कसरी गजललाई सम्भव भएसम्म दोषमुक्त बनाउन सकिन्छ भन्नेतर्फ यो कृति अध्येता तथा सर्जकहरुका लागि विशिष्ट महत्वको बन्न पुगेको छ ।
गजलको विशाल अध्ययन र अपार अनुभवको सरल पुस्तक हो । पृष्ठमा धेरै संख्यामा नभए पनि यस पुस्तकमा सबै किसिमका कैयौँ उदाहरण दिँदा सटिक मिलाइएको अवस्थालाई हेर्दा गजलको अध्ययनमा नै उमेर खर्चेका डा. परिश्रमीबाटै यस प्रकारको कृति सम्भव हुन सक्छ भन्ने स्पष्ट हुन्छ । सयौँ गजलका सेरहरु परेको यस कृतिमा ती सेर (गजल)का सर्जकहरुको नाम र प्रकाशित कृतिको पनि जानकारी पाउन सकिन्छ । एक किसिमले भन्ने हो भने यस कृतिलाई गागरमा सागर अर्थात् गजलज्ञानको सङ्क्षिप्त सागर भन्न सकिन्छ । गजल सिक्ने र सिकाउने तथा गजलको अध्ययन र अनुसन्धान गर्ने तथा गजलको सैद्धान्तिक समालोचना गर्ने सबै किसिमका पाठकका लागि यो कृति मूल्यवान रहेको छ । यसलाई सम्भव भएसम्म कम आलोच्य बनाउने प्रयास गरिएको छ । गजलको क्षेत्रमा देखा परेको विवादलाई साम्य बनाउने किसिमको कृति रहेको छ । यस कृतिको भौतिक मूल्य जति रहेको छ, त्यसभन्दा कैयौँ गुना मूल्यवान यो कृति आफैँमा गजल सिद्धान्तको एक आधिकारिक कृति पनि बन्न पुगेको छ ।

पत्रकार/लेखक
प्रतिक्रिया