
‘बौद्धिक कोमलता नै कविता हो’ भन्ने नेपाली वाङ्मयका महान स्रष्टा बालकृष्ण सम कवितामा नाटक लेख्छन्, नाटकमा दर्शन दिन्छन् र मानिसका चेतनालाई निख्खारमा पु¥याउछन् । तथ्य र तर्कभित्र जीवनका सुख समृद्धि खोज्ने उनको प्रतिभाले बैज्ञानिक चेत राख्छ । उनी बहुआयामिक स्रष्टा हुन् । विचार चिन्तननै सिर्जनाको आत्मा हो, शिल्पले त्यसलाई सुन्दर मात्र बनाउने हो भन्ने निकर्ष उनका रचनाबाट जोकुनैले पाउन सक्छ । कविता, नाटक, कथा, निबन्ध, चित्रकारिता, अभिनय, पत्रकारितामा विशिष्ठ स्थान राखेका समका सबै सिर्जना बौद्धिकताका उत्कृष्ठ अभिव्यक्ति हुन् । ईशोपनिषद्बाट चिन्तन प्रेरणा लिएका समका कृतिहरु आफैमा चिन्तनका पुञ्ज हुन् । उनको चिन्तनलाई उनकै कविताबाट बुझ्न सकिन्छ ः
‘छैन जीवित आफैमा कुनै जीवन केवल
जीव चैतन्यमात्रै हो भेद जीवन मृत्युमा ।
छैन सुन्दर आफैमा कुनै सौन्दर्य केवल
सौन्दर्य चेतना मात्रै छ सुन्दर यथार्थमा
जव चैतन्य देखिन्छ प्रत्येक परमाणुमा
मृत्युको स्थानमा मुक्ति भेटिन्छ तव ज्ञानमा ।’ (नमस्कार, नमस्कार संसार)
जीवन चेतना हो, ज्ञान हो । चैतन्य शून्यमा सबै जड हो भन्ने उनको दृष्टिकोण वैदिक दर्शनमा आधारित छ । उनको जीवनवादी सोच वैदिक दर्शन, एकत्ववादी चिन्तन र चैतन्य ज्ञानमा आधारित छ । बालकृष्ण सम भन्ने वित्तिकै हामी सबैको अगि आउने विम्ब भनेको दर्शन, बौद्धिकता र विचारको पुञ्ज हो । पाठक तथा समालोचकबाट नाट्य सम्राट र नेपालका शेक्सपियर भनिएका सम नाटक मात्र लेख्दैनन्, महाकाव्य (चिसो चुल्हो), खण्डकाव्य (आगो र पानी), दार्शनिक चिन्तन (नियमित आकस्मिकता), आत्मकथा (मेरो कविताको आरधना), कविता (माइ एक्प्रेसन आफ्टर डेथ, समका कविता) र विभिन्न विषय क्षेत्रमा नाटकहरु लेखेका छन् । विषय र विधा जे भएपनि समको रचनाको सार भनेको दर्शन हो, जीवनप्रतिको गहिरो चिन्तन हो । कही आख्यानीकरण गरेर त कही भावाभिव्यक्तिमा त कही सम्वाद–श्लोकमा सम चेतनाको ज्योति छर्छन् र दर्शनको दृष्टिकोण दिन्छन् ।
समका कृतिमा पाइने चिन्तन भौतिकवादी छ, चेतनायुक्त छ । कुनै कुरालाई चेतना भन्न, आस्था राख्न र समर्थन गर्न समका लागि तर्क र प्रमाण चाहिन्छ । त्यसैले मूर्त कुरा र जैवनिक सत्यलाई उनी साधना बनाउछन् । उनको ‘म पनि द्यौता मान्छु’ कविता उनको लेखनी, दर्शन र कलाकर्मको सारको रुपमा सबैथोक बताउन सक्षम छ ः
‘म पनि द्यौता मान्छु जोगी
म पनि द्योता भन्छु
तर तिम्रो र मेरो द्योतामा
आकाश पृथ्वीको भिन्नता छ ।
तिमी उसलाई आँखा चिम्लदा
अमूर्त चिन्तनको बदलामा देख्छौ
म उसलाई आँखा उघार्दा
प्रत्येक मानिसको प्रियदर्शनमा देख्छु
अवश्य मेरा तीन अरब द्यौतामा
अष्पष्टता छ, धमिलोपन छ, विकार छ
म त्यही हटाउन कविता लेख्छु
अझ कविता दर्शन देऊ भन्छु
देवत्व नै कवितालङ्कार मान्छु ।
सत्यता भाव, शिवत्व ध्वनि
भीनसको प्रतिमा जस्तै नाङ्गो
यथार्थ रससौन्दर्य ।’ (म पनि द्यौता मान्छु)
उनका शब्द–संवादमा सामान्य अर्थ मात्र हुँदैन, जति गहिरियो त्यति गहिराई पाइन्छ । उनका कृतिले गहन अध्ययन र निमग्नताको माग गर्छन् । दृष्टान्तमा लिन सकिन्छ कि उनको कविताभिव्यक्ति जो उनको निवासको ढोकाबाट भित्र पस्ने सवैले मनन गर्थे, जसले आगन्तुकलाई स्वागत मात्र गर्दैनथ्यो, कुनै चिन्तनशालामा आएको हो कि भन्ने महशुस समेत गराउथ्यो ः
‘यो कुनै बास हो मेरो नित्य जीवन मार्गको
कतैतिर म हिड्ने छु स्वप्न पूरा भएपछि ।’
जीवन दर्शन अध्यात्मवादी हो, नास्तिक हो । तर केन्द्रमा मानवता छ । यही प्रभाव सबैजसो रचनामा पाइन्छ । फ्रेडरिक नित्जेले ईश्वरको मृत्युको घोषणा गरेपछि मानवतावादी चिन्तन र अस्तित्वमाथि एउटा छुट्टै प्रभावधाराबाट साहित्य सिर्जनाहरु प्रभावित भए । स्वर्ग र नर्क जे भने पनि पृथ्वी नै हो, मानिस स्वयम् नै यस पृथ्वीको स्वामी हो, अरु केही होइन । कर्मले मानिस देवता वा दुस्कर्मले राक्षस बनाइदिन्छ । नित्जेको चिन्तन र समको दर्शन उस्तै लाग्छन् । उनको ‘स्वर्ग र देवता’ कविताले मानवीय श्रेष्ठताको पुष्टि गर्छ, सत्कर्मको मानिस देवता हो । ‘नियमित आकस्मिकता’ मा नियमित चाँही अध्यात्मिकता र अकास्मिकता चाँहि भौतिकवाद हो । प्रह्लाद नाटकमा प्रह्लाद भक्तिको सामान्य बयान मात्र छैन भौतिकवाद र अध्यात्मवादको, ज्ञान र विज्ञानको प्रस्तुति छ । सम मानव स्वभाव र विज्ञानलाई एकै नजरमा राखेर भन्दछन् ः
‘अगाडि एकको शून्य अज्ञान र असत्य हो
पछाडि एकको शून्य जति जोड्यो अनन्त छ त्यो ।
असङ्ख्य सत्य हो सोही हो विज्ञान अनन्त छ
बड्छ त्यो जति जोडिन्छ जानी जानी नसक्नु छ ।
एउटा विन्दु जान्नाले तृष्णाव सागर बढ्दछ ।
ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ । (प्रह्लाद)
नियमित अकास्मिकता भनौ कि प्रह्लाद वा अन्य कृति, समको दर्शन समन्वयवादी छ । ज्ञान र विज्ञानको समन्वय, भौतिकवाद र अध्यात्मबीचको समन्वय, मन र मस्तिष्कको समन्वय । ‘आगो र पानी’ समन्वयवादी दर्शनको घोषणा हो । भारतीय महाकवि जयशंकर प्रसादको कामायनी जस्तै यसले समन्वयवादको मात्र वकालत गर्दछ । कामायनीका मनु जस्तै आगो र पानीमा जङ्गली छ, जसले संयोजकको भूमिका लिन्छ । उता श्रद्धा र इदा जस्तै यता आगो र पानी छ, दुवै विपरीत छन् तर सन्तुलित संयोजनमा ध्येयिक गन्तव्य पूरा हुन्छ ।
आगो र पानी चाल्र्स डार्विनको विकासबाद, लुइस मोर्गानको क्रुरता, बर्बरता र सभ्यताको मानवशास्त्र र युभल नोह हरारीको मानव जातीको इतिहास (स्यापिएन्स) को साझा स्वरुप हो । समका अनुसार सृष्टिका आधार आगो र पानी हुन् तर आगो र पानी आफैमा सङ्घर्षरत छन्, दुईबीच सम्मिलन र सांयोगिकता पनि छ । परिणामतः जीव सृष्टि भयो । पछिल्लो सृष्टि आफैमा सर्वश्रेष्ठ कहलियो र आपसमा संघर्ष, बर्बरता र क्रूरता पनि देखायो । आगो र पानीको सृष्टि मानिसले आगो र पानीको उपयोगमा सभ्यता निर्माण र विनिर्माण गरिरहेको छ, सिर्जना र ध्वंश देखाएको छ । खण्डकाव्य प्रतीकीय र प्रत्यक्ष रुपमा आगो र पानीको बर्णन गर्दछ ।
आगो र पानीमा युद्धमार्फत विनास, पराक्रम मार्फत निर्माण अनि विकास र प्रकृतिको उल्लेख छ । आगो क्रान्ति र पानी शान्तिको प्रतीक हुन् । जंगली मुखपात्र हो, जसका माध्यमबाट सम दर्शनको पोर्रा छुटाउछन् । आगो र पानीले धर्म, दर्शन, राजनीति, भौतिकता, अध्यात्म, मानवता, विग्रह, विचारको चिन्तनप्रवाहलाई बौद्धिक लेपनमा प्रस्तुत गर्दछ । समलोचक तारानाथ शर्मा आगो र पानीलाई कलात्मक अभिव्यञ्जना, भावको गहिरोपन शैलीको सुललीतता, विषय बस्तुको सुन्दर र काव्यात्मक प्रतिपालन अनि लयको आकर्षण पद्यकारितामा भन्दा गद्यकारितामा छर्लङ्ग हुन्छ भन्ने पुष्टि गरेको भन्दछन् ।
आगो र पानी माक्र्सेली वर्गीय समाजको बर्गसंघर्षको अभिव्यक्ति पनि हो । साम्यवादी शासनशैलीको विरोधमा कवि भन्छन्ः
‘त्यसरी आगो सल्केको होला
शक्तिको खाँडो जाग्यो–दुर्बलले आफ्नो नाडी छामी
शक्तिमानको पूजा ग¥यो
ईश्वर जन्मायो
लुटाहा विजेता शासकको प्रासादमा
स्वर्ग जन्मायो;
विजित शासित रागीको झुप्रामा
नरक जन्मायो ।’
आगो र पानी समाज व्यवस्थाप्रति व्यङ्ग्य बाण पनि गर्छ ।
‘करोडौ मानिस बौद्ध भय,
तर बौद्धत्व बुद्धसितै म¥यो
करोडौ मानिस क्रिश्चियन भए
तर क्राइष्टको क्रिस्चियनपन पनि
क्राइष्टसितै म¥यो ।
म¥यो यो गाँधीबाद
गाँधीसितै म¥यो ।’
आगो र पानी स्वतन्त्रता र नैसर्गिक स्वायत्तताको बेजोड पक्षपाती छ । यस अर्थमा राजनैतिक दर्शनलाई पनि यसले अँगालेको छ ।
‘हामी संग्रामसित त्यति डराउँदैनौं
तर अधिनायकतासित डराउँछौ ।
हामी मृत्यसित डराउँदैनौ
हामी बन्धनसित डराउँछौ ।
त्यही मानवता ल्याउनलाई
मानव उठिकन अघि बढोस् ।’
कवि सम लाक्ष्यणिक शब्दावली पनि प्रयोग गर्छन्, सरल हुन्छन् फेरि बौद्धिकतामा पुग्छन् तर दर्शन छाड्दैनन् । मानवीय सभ्यता र समुन्नतिका लागि ज्ञान विज्ञान, निर्माण विनिर्माण र ध्वंश रचनात्मकताको सन्तुलन खोज्छन् । आगो र पानी ज्ञान र विज्ञान, अध्यात्मक र भौतिकता, तर्क र हार्दिकताका विम्ब हुन् । आगो र पानीमध्ये एकको अति सभ्यताको खति हो । त्यसैले समन्वयवादी चिन्तन गर्दैभन्दछन् ः
‘आगो पानीको झगडामा हामी
अशान्ति मात्रै देख्छौं
आगो आगोमा मृत्यु देख्छौ
पानी पानीमा मसानको शान्ति
पानीको रस र आगाको आँचमा
मात्र जीवन टुकटुक गर्छ ।’
महान स्रष्टा बालकृण समका रचनामा पाइने विचारचेत र मानवतावादी दर्शन समकालीन स्रष्टामा विश्वस्तरमा दाजिन पुग्छन् । उनका जीवनवादी दर्शन कालजयी छन्, न कि तत्कालीन समाजको मात्र प्रतिनिधित्व गर्दछन् । गहन बौद्धिकता र गहिरो चिन्तनले ती सँधै सान्दर्भिक रहन्छन् । शिल्प भन्दा विचारको गहिराई, शब्द शब्दभित्रका अर्थ र अभिव्यक्तिको गहन अर्थबत्ताले बालकृष्ण समका आगो र पानी मात्र होइन, अरु रचनाहरु पनि दर्शनका सार हुन् । उनका विचार दर्शनको मनन समाजलेत्यति गरिसकेको छैन, न विश्वमञ्चमा विमर्शको विषय बन्ने मौका नै पाएको छ । अझ दुखको कुरा समकालीन नेपाली समाजमा उनको विचारधारलाई पछ्याउने, अरु समृद्ध बनाउने स्रष्टाहरुको पनि खाँचो छ । –
@maianligopi_
प्रतिक्रिया