नेपाली साहित्यको उन्नयनमा उपन्यास लेखन कार्यशाला हुने

सुरेन उप्रेती २०८२ माघ ९ गते १०:५६ मा प्रकाशित

भाषा, साहित्य, संस्कृति र सम्पदा भनेका हाम्रा पहिचान हुन । संस्कृति र सम्पदा भित्र सभ्यता लुकेको हुन्छ । मानव सभ्यता र उद्गमका चरणहरूको इतिहासलाई साहित्यले सङ्ग्रहित गरेर राखेको हुन्छ । त्यसैले त हामी आज चारहजार वर्ष भन्दा पहिलाका बौद्धिक कालिन सभ्यताहरूलाई पढ्न र जान्न पाइरहेका छौँ । यदि तात्कालीन साहित्यका सर्जकहरूले श्रुति साहित्यलाई लेखेर सङ्ग्रहित नगरेको भए ती कुराहरू हामीले थाहा पाउने थिएनौँ । ती सबै लोप भएर जाने थिए । साहित्यलाई समाजको ऐना पनि भनिन्छ । समाज कुन अवस्थामा छ र मानिसहरूले कस्ता अवस्थाहरू झेलिरहेका छन् भन्ने कुरा साहित्यले प्रतिविम्बत गर्दछ ।
साहित्यले समाजका घटना र परिघटनाहरूलाई पठन योग्य र श्रवण योग्य बनाएर सङ्ग्रहित गर्दछ । साहित्यले तात्कालिन समयका खराब पक्षलाई सुधारका लागि र जनचेतनाका लागि अहम् भूमिका खेल्छ । साँच्ची नै भन्ने हो भने साहित्य भनेको कुनै पनि खेलको रेफ्री हो । जसले जनता र शासक बिचमा रहेर सही गलत छुट्याउने कार्य गर्दछ । गलत कार्यलाई पँहेलो कार्ड र रातो कार्ड दिएर खेलबाट नै निष्कासन गर्ने काम गर्दछ । समाजलाई सचेत गराउँदै परिवर्तन गराउने कार्य समेत गर्दछ । यदि समाजका विकृति र विसङ्गतिहरू चिर्दै सतहमार्गमा र उन्नतिको पथमा डोर्‍याउन सक्छ भने त्यो नै वास्तविक साहित्य हो । गुणगान र प्रशस्तिमा मात्र लेखिन्छ भने त्यो त भक्ति गाथामात्रै हो । साहित्यको मर्मलाई त्यसले समेट्न सकेको हुँदैन ।

मानिसलाई आकृति र अनुहारको रंगले मात्र उसको पहिचान दिन सक्दैन । युरोपमा धेरै देशका मानिसहरू उस्तै देखिने गर्दछन् । साउथ एशिया र दक्षिण अमेरिकाका मानिसहरू पनि उस्तै देखिने गर्दछन् । जापान, कोरिया, चाइना, भियतनाम, कम्बोडियाका मानिसहरू उस्तै उस्तै देखिन्छन् । जमैका र अफ्रिकाका मानिसहरू बाहिरी आवरणमा उस्तै देखिन्छन । तर यी सबै मानिसहरूलाई फरक पहिचान दिने भनेको उनीहरूले बोल्ने भाषा, भाषाको लबज, संस्कृति साहित्य, र सभ्यताहरूले हो । हाम्रो पहिचानका कवच भनेका हाम्रा भाषा साहित्य र संस्कृति हुन् । सभ्यताहरू हुन । यिनीहरूको संरक्षण सम्वर्द्धन र उन्नयनलाई साहित्यकारहरूले निरन्तर लाग्नु पर्दछ । अझ आफ्नो मातृभूमि भन्दा बाहिर पुगे पछि यसको जिम्मेवारी धेरै गुणा बढेर जान्छ । अन्य भाषाभाषीहरूसँग मिसिँदा समुन्द्रमा मिसिएको एक हिमनदी जस्तै बन्न सक्छ । त्यसैले पनि हिमनदीको पहिचान कायम राख्न र जोगाउन नदीको अग्रभागमा बहनेहरूले आफुलाई समर्पित गरेर समुन्द्रको नूनिलो पानी भन्दा पृथक पना प्रष्ट्याउन सक्नु पर्दछ ।

यिनै प्रयासमा समाहित हुँदै वाङ्गमय विमर्श तथा साहित्य सम्वाद कार्यक्रमको थालनी भएको हो । यसले प्रवासमा रहेर नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनमा लाग्नु हुने साहित्यि संस्थाका अग्रजहरूसंग विमर्श शुरू गरेको छ । उहाँहरूले नेतृत्व गर्दाको अनुभव उहाँहरूका विचार, त्याग र उहाँहरूले देखेका सपनाहरूलाई अनुज पुस्ता र संगठनका सारथीहरूसँग पुर्याउने प्रयाश हो यो । यसले नव प्रतिभा र लेखनमा लाग्न प्रयासरत तर प्रशिक्षणको अभावमा आफ्नो लेखन यात्रालाई व्यवस्थित गर्न नसकेर कलम थन्क्याएर बस्नु भएका सर्जकहरूलाई लेखनका आधारभूत तत्वहरूलाई प्रशिक्षण गर्ने सोच अगाडि सारेको छ ।
नव प्रतिभाहरूलाई उत्प्रेरणा र प्रोत्शाहन प्रदान गर्नका लागि उपन्यास लेखन कार्यशाला गर्न लागेको हो । यस प्रशिक्षणमा नेपाली उपन्यासको क्षेत्रमा उज्वल नक्षेत्रको रूपमा चम्किनु भएका यूवा सर्जक साहित्यकार डाक्टर नीलम कार्की निहारिकाको योगदान रहनेछ । उहाँको नाम नेपाली साहित्यमा राष्ट्रिय तथा अन्तर्राष्टिय रूपमा स्थापित भै सकेका छ । कवि, कथाकार, र उपन्यास बिधामा उहाँका सिर्जनाहरू प्रकाशित छन् । उहाँको चर्चित उपन्यास योगमायाले मदनपुरस्कार प्राप्त गरेको छ । उहाँका चीरहरण, योगमाया, द्रौपदी अवशेष, जस्ता चर्चित उपन्यासहरू पाठकका प्रिय पठन सामाग्री बनेका छन् । नीलम कार्की निहारिकाले उपन्यास लेखन प्रशिक्षणमा योगदान दिनु हुने छ । यो कार्यशाला जूमको माध्यमबाट हुनेछ । कार्यशालामा अमेरिका, क्यानडा, नेपाल र यूरोपका बिभिन्न देशका स्रस्टाहरू जोडिनु हुने छ । उपन्यास लेखन कार्यशालाको मिति र समय चाँडै प्रकाशित हुनेछ ।

सुरेन उप्रेती

साहित्यकार/कवि

प्रतिक्रिया