देउवा पक्षले कारबाही गरेपछि गगन थापासँग अनलाइनखबरको अन्तर्वार्ता

इनेप्लिज २०८२ माघ १ गते ११:२७ मा प्रकाशित

गगनजी, भर्खरै तपाईं लगायतका नेताहरूलाई देउवा पक्षले सानेपामा बसेर कारबाही गरेको छ। यसबारे तपाईंको प्रारम्भिक प्रतिक्रिया के छ?

नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन भृकुटीमण्डपमा भइरहेको छ। पार्टीको महाधिवेशनभन्दा माथि कोही पनि हुँदैन, त्यसैले अधिवेशन चलिरहेको बेलामा त्यहाँ जो छ, त्यो नै केन्द्रीय समिति हो। दोस्रो कुरा, हामी विगत दुई-तीन दिनदेखि लगातार संवादमार्फत कुनै समझदारी गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेका थियौँ। अहिले म तपाईंसँग टेलिफोनमा कुरा गरिरहँदा पनि हामी उहाँहरूसँग दोहोरो संवादमै थियौँ र छौं। यहाँ साथीहरू निर्णयका लागि आतुर हुँदाहुँदै पनि हामीले निर्वाचनको कार्यतालिका पछाडि धकेलेर केही सहमति हुन्छ कि भनेर अन्तिमसम्म प्रयास गरेकै हो।

तर कारबाहीको कुरा त आयो नि?

हामीले के पाइरहेका छौँ भने, यो सबै घटनाक्रमलाई एउटा ‘न्यारेटिभ’ (भाष्य) बनाउने कुरामा मात्र ध्यान दिइयो। समस्या सुल्झाउनु भन्दा पनि कहिले ‘प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो’ भन्ने त कहिले ‘टिकट बाँडफाँट’का कुरा गर्ने गरियो। यी सबै कुराहरू यसरी प्रस्तुत गरियो, मानौँ हामी कुनै पदका निम्ति अत्यन्तै आतुर छौँ। तर वास्तविकता त्यस्तो थिएन र छैन पनि।

हाम्रो जम्मा एउटा अडान थियो- सभापतिज्यूको नेतृत्वमा नेपाली कांग्रेस पार्टी आगामी निर्वाचनमा जान सक्दैन। सभापतिज्यू फेरि डडेल्धुराबाट चुनाव लड्ने, तर हामी चुनावमा जाँदै गर्दा सभापतिले हस्ताक्षर गरे पनि नगरे पनि आम मतदाताले के सोचेर कांग्रेसलाई मत दिने? यदि मतदाताले कांग्रेसलाई मत दिए भने, त्यसको अधिकतम् सफलता त फेरि पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने अवस्था हो। त्यसैले हामीले ‘प्रधानमन्त्रीको उम्मेदवार’को विकल्प खोजौँ भनेका हौँ। उहाँहरूले प्रचार गरेजस्तो गगन थापालाई नै प्रधानमन्त्री बनाउनुपर्छ हामीले कहिल्यै भनेनौँ। उम्मेदवार जो भए पनि हुन्छ, तर सभापतिज्यू चाहिँ हुनुहुँदैन भन्ने हाम्रो कुरा हो।

कम्तिमा भदौ २३ र २४ गतेपछि मतदाताकोमा आउँदा हामी यति चाहिँ बदलिएर आएका छौं है भन्न सक्नुपर्‍यो ।

तपाईंहरूको मुख्य माग चाहिँ के थियो त?

हाम्रो चाहना त सभापतिले पद छोडिदिए हुन्थ्यो भन्ने नै हो। उहाँ पूर्ण रूपमा राजीनामा दिएर अलग भइदिएको भए हुन्थ्यो, नभए कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग भइदिएको भए हुन्थ्यो। त्यसो भएको भए २८ गते सबैभन्दा बढी जयजयकार गर्ने हामी नै हुने थियौँ। तर हिजोदेखि आजसम्मको प्रयासमा कहिले उहाँले हामीलाई ६०–४० को भागबन्डाको कुरामा अल्झाउनुभयो, कहिले अरू कुरामा। लगातार यस्तै कुरा भइराखेकाले यो अप्रिय स्थिति आएको हो। अब हामी आफ्नो विशेष अधिवेशनको प्रक्रियामा अगाडि बढ्छौँ, अलमलिनु पर्ने अवस्था छैन।

हाम्रो मनोनयनको चरण सकिएको छ। अहिले निर्वाचन समिति नामावली प्रकाशित गर्ने चरणमा छ। पार्टीभित्र समझदारी बन्ला कि भनेर नै हामीले समय सार्दै लगेका हौँ। अब प्रक्रिया रोकिँदैन।

जसरी तपाईं र महामन्त्री विश्वप्रकाश शर्मा लगायतलाई कारबाही गरिएको छ, के तपाईंहरू पनि विशेष महाधिवेशनबाट उहाँहरूलाई कुनै कारबाही वा त्यस्तै घोषणा गर्दै हुनुहुन्छ?

हामी त्यसो गर्दैनौँ। हाम्रो विशेष अधिवेशनको बन्द सत्र सकिसक्यो। अब त विशेष अधिवेशनले निर्णय गर्ने मात्र हो। हामी निर्वाचनको प्रक्रियामा प्रवेश गरिसकेका छौँ र सोहीअनुसार निर्णय अगाडि बढ्छ।

यसको अर्थ, देउवा पक्षसँग सहमतिको सम्भावना अब सकिएको हो?

हामी त विशेष अधिवेशनबाटै निर्णय गरेर अगाडि जान्छौं। व्यक्तिगत रूपमा हाम्रो अरू कुनै कुरा छैन।

कुनै बेला शेरबहादुर देउवालाई पार्टी विभाजनको ‘कलंक’ लागेको थियो। कतै यो कदमले तपाईंलाई पनि त्यस्तै कलंक लाग्ला भन्ने संकोच लागेको छैन?

हेर्नुस्, हामीले विधिवत् रूपमा विशेष अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु गरेका हौँ। यसबाट नयाँ नेतृत्व चयन हुन्छ र त्यो नै नेपाली कांग्रेस हो। निर्वाचन आयोगले पनि यत्तिको न्यूनतम कानुनी कुराहरू हेर्छ नै। त्यसैले हामीले गरेको काम विभाजन होइन, पार्टीभित्रको वैधानिक बाटोलाई अवलम्बन गरेको हो। हामी यसैलाई निरन्तर अगाडि बढाउँछौँ।

निर्वाचन आयोगमा वैधानिकताका लागि कहिले अपिल गर्नुहुन्छ? उम्मेदवारी दर्ताका लागि त समय निकै कम छ।

आज हाम्रो निर्वाचन प्रक्रिया सकिएपछि हामी पार्टीको तर्फबाट निर्वाचन आयोगलाई गराउनुपर्ने सम्पूर्ण जानकारी र विवरणहरू गराइहाल्छौँ।

अबको कदम के हुन्छ? के आजै नेतृत्व घोषणा हुन्छ? 

अहिलेलाई हामी विशेष अधिवेशनको प्रक्रिया टुङ्ग्याउँछौँ। 

रुख चिन्ह र चारतारे झण्डामा तपाईंहरूको दाबी रहन्छ?

जहाँसम्म चिन्हको कुरा छ, यो चिन्हभन्दा पनि माथिको कुरा हो। नेपाली कांग्रेस नै हामी हौँ, किनकि कांग्रेसको अधिवेशन भइरहेको छ। त्यसैले हाम्रो दाबी स्वाभाविक रहन्छ।

शेरबहादुर देउवासँग अन्तिममा कुन विन्दुमा कुरा मिलेन? सभापति पदकै विषय हो कि अरू केही?

यो कुनै प्राविधिक कुरा मात्र होइन, यो एउटा ‘फन्डामेन्टल’ (आधारभूत) विषयमा थियो। हामीले शेरबहादुर देउवाजीलाई नेपाली कांग्रेसको औपचारिक नेतृत्वबाट अलग रहन आग्रह गरेका हौँ। उहाँले “म अहिले पद छोड्दिनँ, वैशाखमा अधिवेशन हुन्छ” भन्नुभयो। तर त्यही नियमित अधिवेशनको पर्खाइभन्दा सुधारको आवश्यकता ठुलो भएर नै विशेष महाधिवेशनको माग गरिएको हो।

वैशाखसम्म पर्खिन किन नसकिएको त?

हामीले पर्खिन नसकेको होइन, यो देश र समाजले पर्खन सकेन। कांग्रेसका आम शुभेच्छुकहरू पर्खन सक्ने अवस्थामा थिएनन्। नभए त नेपालमा भदौ २३ र २४ गतेका यी घटनाक्रमहरू हुनै हुँदैनथे। समाजले संसदको ५ वर्षको अवधि पर्खन सकेन । कांग्रेस-एमाले गठबन्धन पर्खन सकेन । त्यहो होइन र ?

अनलाइनखबर बाट देउवा पक्षले कारबाही गरेपछि गगन थापासँग अनलाइनखबरको अन्तर्वार्ता – Online Khabar

प्रतिक्रिया