“न्याउली” कथा सङ्ग्रह पुस्तक समीक्षा

इनेप्लिज २०८२ पुष २७ गते १३:४० मा प्रकाशित

पुस्तक समीक्षा

डा.खगराज बरालद्वारा लिखित न्याउली कथा सङ्ग्रहका कथाहरू एकपछि अर्को पढ्दै गर्दा किताब नै पढेर सिध्याउने कौतुहलता अझ सशक्त भयो । परिणामत: दुई दिनमा किताब पढेर सिध्याएँ । चराचुरुङ्गी बारेका सातवटा र अन्य तीन विषय गरी १० वटा कथाहरू सिर्जना गर्दा लेखकले लामो समयसम्मको अध्ययन, अनुसन्धान, अनुभव र कलाकारिताको संयोजन गरी पुस्तक तयार गरेका रहेछन् । पुस्तकले सहर र गाउँ, हजुरबुवा हजुरआमा र नातिनातिनी बिचको अन्तरसम्बन्धलाई उजागर र प्रवर्द्धन गर्ने काम गरेको छ । सानो परिवारमा सीमित हुँदै गइरहेको हाम्रो सामाजिक संरचनालाई संयुक्त परिवारका दूरगामी फाइदा र प्रयासहरू सन्तान दरसन्तानसम्म पुर्‍याउने लेखकको आशय प्रशंसनीय छ ।

कागले आफ्नो गुँडको सुरक्षा कसरी गर्छ भन्नेबारे नातिलाई प्रत्यक्ष ज्ञान दिनका लागि कागको गुँड भएको रुख चढेको उदाहरणसमेत नातिप्रतिको अपार माया र विशुद्ध निष्ठा थियो भन्ने लाग्दछ । वसन्त ऋतुमा काफल पाक्यो काफल पाक्यो कुक्कु ‘को हो’ ‘को हो’ भन्ने आवाज सुनेर चकित परेका नातिलाई कोइली जातिको चरासँग परिचित गराई उसले बोल्ने भाषा र अर्थका बारेमा पनि हजुरबुवाले हरतरहबाट जानकारी दिने प्रयास गरर्का छन् । गौथलीको जीवन निर्वाह र परिश्रमका बारेमा यावत जानकारी गराउन सफल भएका छन् । यसैगरी तोप, न्याउलीलगायत धेरै चराचुरुङ्गीहरूका बारेमा नातिनातिनीहरूले जानकारी पाउन सकेका छन् सहर र गाउँ बिचको आवतजावतबाट ।

बालबालिकाहरूका लागि अझ महत्त्वपूर्ण विषय लेखन कार्य बनेको छ । म पनि कुनै समय एउटा शिक्षक, प्रिन्सिपल भएको नाताले यी नातिनातिनीहरूले तयार गरेको प्रतिवेदन लेखन हेर्ने खुल्दुली भने लागिरहेको छ ।विश्वस्त छु, ती प्रतिवेदनहरू अवश्य पनि उच्चस्तरका थिए । र‚ यस्ता प्रतिवेदनहरू उच्च स्तरका हुनुपर्छ भन्ने मेरो विश्वास बढ्नुमा एकत उनीहरूले विषयवस्तु, घटना परिघटनालाई प्रत्यक्ष रूपमा अवलोकन गर्न पाएका छन् – प्रतिवेदन लेखन कार्यका लागि, निबन्ध तयार गर्नका लागि यथेस्ट खुराक पाएका छन्, गाउँको भ्रमण र बसाइबाट भने अर्कोतर्फ प्रतिवेदन तयार गर्न उनीहरू आतुर देखिएका छन् ।

कटुवालबाले समाजमा गरेको योगदान, माले गोरुसँगको सम्बन्ध, वादविवादबाट सिक्नुपर्ने विषयवस्तुका बारेमा पनि पुस्तकमा यथेष्ट जानकारी रहेको देखिन्छ । लेखकको सृजनशीलताको प्रतिफल समाजसम्म पुग्न सक्ने आँकलन गर्दै पुस्तक पठनीय रहेको मेरो विश्लेषण रहेको छ । यो पुस्तक बालबालिका, विद्यार्थी, शिक्षक, अभिभावक तथा अनुसन्धानकर्ताहरूका लागि त्यत्तिकै उपयोगी हुनेछ । शिक्षा बुक्स प्रकाशक रहेको यो पुस्तक हालै अर्थात् २०८२ मङ्सिर महिनामा प्रकाशित भएको थियो ।

-डा. विष्णुबहादुर जी.सी.

प्रतिक्रिया