जर्मनीद्वारा अमेरिकी स्वास्थ्य सचिवको आरोप अस्वीकार

इनेप्लिज २०८२ पुष २७ गते १३:०५ मा प्रकाशित

जर्मनी सरकारले अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जुनियरले लगाएका आरोपहरूलाई कडा शब्दमा अस्वीकार गरेको छ। केनेडीले जर्मनीले कोरोना महामारीको बेला मानिसहरूको स्वास्थ्यसम्बन्धी स्वतन्त्र निर्णय गर्न नदिएको र चिकित्सकहरूलाई खोप नलगाएको कारण सजाय दिएको दाबी गरेका थिए।

जर्मनीकी स्वास्थ्य मन्त्री नीना वार्केनले यी आरोपहरू पूर्ण रूपमा गलत र आधारहीन भएको बताइन्। उनले भनिन्, “कोरोना महामारीको समयमा जर्मनीमा चिकित्सकलाई खोप दिनैपर्ने कुनै बाध्यता थिएन। जसले खोप दिन चाहेनन्, उनीहरूलाई सजाय दिइएन।”

केनेडीले आफ्नो श्रब्यदृश्य (भिडियो) सन्देशमा हजारौं चिकित्सक र बिरामीहरूलाई मुखावरण (मास्क) र खोप छुटको प्रमाणपत्र दिएको कारण कानुनी कारबाही भइरहेको दाबी गरेका थिए। तर वार्केनले स्पष्ट पार्दै भनिन् केवल झुटा कागजात बनाउने, नक्कली खोप प्रमाणपत्र दिने जस्ता अपराधमा मात्र कारबाही गरिएको हो।

उनले थपिन्, “जर्मनीमा बिरामीहरूलाई आफूले चाहेको उपचार रोज्ने पूर्ण अधिकार छ।”

पूर्व जर्मन स्वास्थ्य मन्त्री कार्ल लाउटरबाखले पनि केनेडीलाई जवाफ दिँदै भने, “पहिले आफ्नै देशको स्वास्थ्य समस्यामा ध्यान दिनुहोस्।” उनले जर्मनीमा अदालत स्वतन्त्र रहेको र सरकारले चिकित्सकलाई अन्याय नगरेको बताए।

कोरोना बेला धेरैजसो जर्मन नागरिकहरूले खोप लगाएका थिए, तर केही समूहले विरोध पनि गरेका थिए।

प्रतिक्रिया