डिसीमा सैनिकमाथि गोली चलाउने व्यक्ति अमेरिकाभित्रै ‘कट्टरपन्थी’ बनेको खुलासा, ट्रम्पले सबै विदेशीको कडा जाँच गर्ने

इनेप्लिज २०८२ मंसिर १६ गते १:१० मा प्रकाशित

अमेरिकी गृह सुरक्षा बिभागकी सचिव क्रिस्टी नोएमले राष्ट्रिय सुरक्षा दलका जवानहरुलाई गोली चलाउने व्यक्ति अमेरिकाभित्रै ‘कट्टरपन्थी’ बनेको हुनसक्ने बताएकी छन्।

गत हप्ता, उक्त घटनाका संदिग्ध एक अफगान नागरिक रहेको पुष्टि भएको थियो। एनबीसी न्यूजका अनुसार संदिग्ध रहमानुल्लाह लकनवाललाई यही वर्ष शरण दिइएको थियो। अर्थात् अमेरिकामा शरणार्थीको बनेका थिए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनापछि ‘तेस्रो विश्वका देशहरू’ बाट हुने आप्रवासनलाई ‘स्थायी रूपमा रोक्ने’ घोषणा गरेका थिए।

सचिव नोएमले आइतबार एबिसीन्यूजसँग दिइएको छुट्टै एक अन्तर्वार्तामा लकनवाल अमेरिका आएपछि कट्टरपन्थी बनेको दाबी गरिन । उनले अगाडी भनिन् ,लकनवालले आफ्नो गृह समुदायका मानिसहरूमार्फत यहाँ आएपछि यस्तो विचार अपनाएको हुनसक्छ। लकनवाल, जसले अफगानिस्तानमा अमेरिकी सेनासँग काम गरेका थिए, उनी सन् २०२१ मा अमेरिका आएका थिए तर उनलाई ट्रम्प प्रशासनको पालामा अप्रिलमा शरण दिइएको थियो।

राष्ट्रिय सुरक्षा दलका सदस्य सारा बेकस्ट्रमको मृत्यु भएको छ भने अर्का सदस्य एन्ड्रयू वुल्फ अझै अस्पतालमा उपचाररत छन्। लकनवाललाई प्रथम-श्रेणीको हत्या को आरोप लगाइने भएको छ।

शरणाका लागि जाँच प्रक्रियाको विषयमा ट्रम्प प्रशासन र विपक्षी दलबीच आरोप-प्रत्यारोप देखिएको छ। नोएमले शरणार्थीको जाँच प्रक्रिया बाइडेन प्रशासनले ‘पूरै छाडेको’ दाबी गरिन्, तर सिनेटका सदस्य मार्क केली (डेमोक्र्याट) ले ट्रम्प प्रशासनले “सबै कुरामा जो बाइडेनलाई दोष लगाउने” गरेको भन्दै त्यसलाई ‘हास्यास्पद’बताए।

ट्रम्प प्रशासनले यो घटनापछि शरणार्थीको निवेदन सम्बन्धी सबै निर्णयहरू रोकेको छ। सचिव नोएमले नयाँ र कडा मापदण्ड अनुसार पुरानो कामको चाप हटाई सबैको जाँच गरिसकेपछि मात्र शरणार्थी प्रक्रिया सुरु हुने बताइन्।

उनले भनिन्, “यस देशमा रहेका व्यक्तिहरूलाई हाम्रो (ट्रम्प) मापदण्ड अनुसार जाँच गरिनुपर्छ र देशमा बस्न योग्य नभएकाहरूलाई तत्काल देश निकाला गरिनेछ।”

यस विषयमा सिनेटर केलीले “पछिल्लो प्रशासनमा पनि केही जाँच त भएको देखिन्छ” तर शरण दिनु अघि पर्याप्त जाँच नगरिएको हुन सक्ने बताए।

प्रतिक्रिया