क्यालिफोर्नियाको पारिवारिक भोजमा अन्धाधुन्ध गोलाबारी , ४ जनाको मृत्यु,१० घाइते

इनेप्लिज २०८२ मंसिर १५ गते ११:१२ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको स्टकटन शहरमा शनिबार साँझ एक भोज कक्षमा भएको गोलाबारीमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

सान जोआकिन काउन्टी शेरिफ कार्यालयका अनुसार यो घटना साँझ ६ बजेभन्दा केही समयअघि लुसाइल एभिन्यू(मार्ग)को १९०० भवन समूह (ब्लक )नजिक भएको थियो।

शेरिफ कार्यालयकी सार्वजनिक सूचना अधिकारी हीदर ब्रेन्टले पत्रकारहरूलाई बताए अनुसार गोली चल्दा मानिसहरू एक पारिवारिक जमघटको लागि भोज कक्षमा भेला भएका थिए। उनले यस घटनालाई “अकल्पनीय” भएको बताइन् ।

एबिसीन्यूजका अनुसार गोली लागेर घाइते हुनेहरूमा साना नानीहरूदेखि वयस्कसम्मका मानिसहरू रहेका छन्। घाइतेहरूको अवस्थाबारे कुनै नयाँ जानकारी दिइएको छैन, तर केहीलाई अस्पताल भर्ना गरिएको छ।

अधिकारीहरूले अहिले प्रारम्भिक अनुसन्धानबाट यो आक्रमण निशाना बनाएर गरिएको हुन सक्ने सङ्केत पाएका छन्। यद्यपि, प्रहरीले अहिलेसम्म कुनै पनि शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको छैन। ब्रेन्टले भनिन् , “हाम्रो पहिलो प्राथमिकता अहिले घटनाका दोषीलाई पहिचान गर्नु हो।”

स्टकटन शहरकी नगर प्रमुख क्रिस्टिना फुगाजीले थ्याङ्क्सगिभिङ(धन्यबाद दिवस) छुट्टी सकिएको केही दिनमै यस्तो घटना हुनु दुःखद रहेको बताएकी छिन् । उनले अगाडी भनिन् , “परिवारहरू अहिले आफ्नो प्रियजन बाँच्ने प्रार्थना गर्दै अस्पतालमा होइन, एकसाथ घरमा हुनुपर्थ्यो।”

यस घटनाको अनुसन्धानमा एफबीआई तथा एटिएफजस्ता ठूला सरकारी निकायहरूले पनि सहयोग गरिरहेका छन्।

प्रतिक्रिया