इलिनोइको नर्थवेस्टर्न विश्वविद्यालयले ट्रम्प प्रशासनलाई ७५ मिलियन डलर भुक्तानी गर्ने , संघिय कोष पुनर्स्थापना हुने

इनेप्लिज २०८२ मंसिर १४ गते २२:४९ मा प्रकाशित

नर्थवेस्टर्न विश्वविद्यालयले अमेरिकी सरकार अर्थात् ट्रम्प प्रशासनसँग ७५ मिलियन डलर तिर्ने सम्झौता गरेको छ । यो सम्झौता संगै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रोक्दै आएको संघिय अनुसन्धान र अनुदान फेरि खुल्ने भएको छ।

नर्थवेस्टर्न विश्वविद्यालय अमेरिकाको इलिनोइ राज्यको एभान्सटन शहरमा रहेको एक निजी अनुसन्धान विश्वविद्यालय हो। यो सन् १८५१ मा स्थापना भएको हो, र यो इलिनोइ राज्यमा सबैभन्दा पुरानो मान्यता प्राप्त विश्वविद्यालय मानिन्छ।

ट्रम्प प्रशासनले यहूदीविरोधी घटनाहरू रोक्न विश्वविद्यालयले पर्याप्त कदम नचालेको भन्दै ७९० मिलियन डलरको संघिय अनुदान रोकिदिएको थियो। यसको असरले विश्वविद्यालयमा कर्मचारी कटौती हुँदै पूर्व अध्यक्ष माइकल शिलले पनि राजीनामा दिएका थिए।

शुक्रबार राति घोषणा गरिएको सम्झौता अनुसार विश्वविद्यालयले तीन वर्षभित्र अमेरिकी ट्रेजरी (वित्तीय )लाई रकम बुझाउनेछ। साथै नर्थवेस्टर्नले २०२४ अप्रिलमा क्याम्पसमा प्यालेसटाइन समर्थकआन्दोलन रोक्न गरेको डियरिङ्ग मिडो सम्झौतामात्र पनि रद्द गर्नुपर्नेछ।

वार्ताका क्रममा कार्यवाहक अध्यक्ष हेनरी बाइननले भने, “हामीले कदापि नियुक्ति, भर्ना वा पाठ्यक्रममा बाहिरी नियन्त्रण स्वीकार गरेका छैनौँ।”

सम्झौतामा विश्वविद्यालयले भेदभाव–विरुद्धका संघीय कानुन पालना गर्ने, अन्तर्राष्ट्रिय विद्यार्थीलाई हाताभित्रका खुला बहसका नियमबारे प्रशिक्षण दिने, र शीर्षक ९ अनुसार महिलाका लागि सुरक्षित बसोबास तथा छुट्टै खेलकुद र सुविधा उपलब्ध गराउने उल्लेख छ।

शिक्षासचिव लिन्डा म्याकमोनका अनुसार यो सम्झौता बिश्वबिद्यालयको परिसरमा उत्पीडन र भेदभाव रोक्न महत्वपूर्ण कदम हो। अन्य प्रतिष्ठित विश्वविद्यालयजस्तै कोलम्बिया, ब्राउन र कोर्नेल पनि यस्तै कारणले संघीय सम्झौतामा पुगेका छन् । तर हार्वर्डसँग वार्ता अझै जारी छ।

प्रतिक्रिया