
अमेरिकाको फ्लोरिडा राज्यमा बसोबास गर्ने अजय सत्यालले २२० पटक रक्तदान गरेर एक असाधारण कीर्तिमान कायम गरेका छन् । ७१ वर्षको उमेरमा पनि जीवन बचाउने यो पवित्र कार्यमा उनको निरन्तर सक्रियताले संसारभरका नेपालीहरूलाई गौरव महसुस गराएको छ।
अजय सत्याल, जो अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष समेत हुन् , ईश्वरप्रति कृतज्ञता व्यक्त गर्दै उनले भने , “धेरैको ज्यान बचाउन पाएकोमा म आफैंलाई धन्यवाद दिन्छु।”
सत्यालको जीवनको यात्रा पनि निकै प्रेरणादायक छ। नेपालमा उनि नेपाल सरकारको वन विभागमा प्रभागीय वन अधिकारीको रूपमा सेवा समेत गर्ने मौका पाए । पछि अमेरिकाको बसाई सराई पछि फ्लोरिडा वातावरण संरक्षण विभागमा वातावरण प्रशासकको रूपमा कार्यरत समेत थिए ।
नेपालको जंगल र वातावरणको सेवा गरेर अमेरिकासम्म आइपुग्दा पनि उनको परोपकारको भावना कत्ति पनि कम भएको छैन। उनको रक्तदानको यो संख्या (२२० पटक) केवल एक आँकडा मात्र नभएर मानवताको सेवा, सामाजिक दायित्व र सयौँको जीवनप्रतिको अतुलनीय प्रतिबद्धताको ज्वलन्त प्रमाण हो।
राम राज ओलीले सामाजिक सञ्जालमा सत्यालको प्रशंसा गर्दै यस्तो लेखेका छन् :
“दाजू अजय सत्यालले २२० पटक रक्तदान गरी सक्नुभएको समाचारले मनमा असाध्यै प्रसन्नता र गर्वको भावना जाग्यो। तपाईले दिएको रक्तले सयौँको जीवनमा नयाँ उज्यालो ल्याएको छ। तपाईको यो निस्वार्थ सेवा र उदारताले हामी सबैलाई प्रेरणा दिंदैछ कि छोटो जीवनमा पनि ठुला र महान् कार्य गर्न सकिन्छ।”
उनको यो अनुकरणीय उदाहरणले युवा पुस्ता र सम्पूर्ण नेपाली समुदायलाई ‘दान परमो धर्मः’ भन्ने सन्देश दिएको छ ।
ईनेप्लिज परिवारको तर्फबाट बधाई तथा शुभकामना !
प्रतिक्रिया