जर्जियामा ट्रम्पविरुद्धको चुनावी हस्तक्षेप मुद्दा खारेज

इनेप्लिज २०८२ मंसिर ११ गते २३:५१ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यको फुल्टन काउन्टीमा राष्ट्रपति डोनाल्ड ट्रम्प् र अन्यमाथि लगाइएको चुनावी नतिजा उल्टाउने प्रयाससम्बन्धी मुद्दा खारेज भएको छ। यो मुद्दा हेर्नका लागि नियुक्त भएका नयाँ सरकारी वकिलले मुद्दा अगाडि नबढाउने सिफारिस गरेपछि अदालतले यसलाई खारेज गरेको हो।

मुद्दाको जिम्मेवारी लिएका पिट स्कन्दलाकिसले आफ्नो ‘व्यावसायिक निर्णय’ भन्दै यो मुद्दालाई पूर्ण रूपमा अगाडि बढाएमा अरू पाँचदेखि दश वर्षलाग्ने बताए।
उनले यति लामो समय लगाएर मुद्दा चलाउँदा जर्जियाका नागरिकहरूको हित नहुने ठहर गरे।

यो मुद्दा पहिलेकी सरकारी वकिल फानी विलिसले हेर्दै आएकी थिइन्। तर, उनीमाथि आफ्ना सहकर्मीसँगको सम्बन्धबारे प्रश्न उठेकाले उनलाई यो मुद्दाबाट अयोग्य घोषणा गरिएको थियो। स्कन्दलाकिसले अन्य कसैलाई यो जिम्मा दिन नसकेपछि आफैँले हेरेका थिए।

स्कन्दलाकिसको सिफारिस आएको केही मिनेटमै, फुल्टन काउन्टीका न्यायाधीश स्कट म्याकएफी मुद्दा खारेज गर्ने आदेश दिए।

के थियो यो मुद्दा ?

ट्रम्प र अन्य १८ जनाले सन् २०२० को राष्ट्रपतीय चुनावको नतिजा जर्जियामा उल्टाउने प्रयास गरेको आरोपमा अगस्त २०२३ मा सबै आरोपहरू अस्वीकार गर्दै ‘नट गिल्टी’ अर्थात् दोषी होइन भनेका थिए।

यो मुद्दा ट्रम्पले जर्जियाका राज्य सचिव ब्राड राफेन्सपर्जर लाई दूरवार्ता (फोन) गरेर आफूलाई जित्नका लागि आवश्यक मतहरु खोज्न भनेको घटनासँग जोडिएको थियो।मुद्दामा उनीहरूले राज्य नेताहरूलाई दबाब दिएको, चुनाव कर्मचारीलाई दुःख दिएको र चुनाव चोरी भएको झूटा दाबीहरू फैलाएको आरोप लगाइएको थियो।

मुद्दा खारेज भएपछि ट्रम्पले सामाजिक सञ्जालमा खुशी व्यक्त गर्दै यसलाई ‘विच हन्ट’ (राजनीतिक प्रतिशोधको खोजी) भन्दै आलोचना गरेका छन्।

*सरकारी वकिल स्कन्दलाकिसले यो मुद्दा फुल्टन काउन्टीको अदालतमा नभई सङ्घीय सरकारले हेर्नुपर्ने बताएका छन्। उनका अनुसार यो कथित आपराधिक कार्यको योजना जर्जियामा नभई वासिङ्टन डी.सी.मा बनेको थियो।

यो खारेजीसँगै, सन् २०२० को चुनावपछि ट्रम्पले सामना गरिरहेका दुई प्रमुख चुनावी हस्तक्षेपका मुद्दाहरूको अन्त्य भएको छ। यसअघि ज्याक स्मिथले चलाएको सङ्घीय मुद्दा पनि बहालवाला राष्ट्रपतिको अभियोजनसम्बन्धी नीतिअनुसार खारेज भइसकेको थियो।

प्रतिक्रिया