ह्वाइट हाउस नजिकै दुई राष्ट्रिय सुरक्षाकर्मी माथी गोली प्रहार ,ट्रम्पद्वारा आक्रमणकारीलाई ‘पशु’भन्दै कडा निन्दा

इनेप्लिज २०८२ मंसिर ११ गते २३:२९ मा प्रकाशित

अमेरिकाको राजधानी वासिङ्टनडिसी स्थित ह्वाइट हाउस नजिकै राष्ट्रिय सुरक्षाकर्मी (नेशनल गार्ड)का दुई जवानहरूलाई गोली प्रहार गरिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको बताईएको छ ।

बुधबार दिउँसो भएको यो हमलामा संलग्न व्यक्ति (आक्रमणकारी) पक्राउ परेका छन् भने उनी पनि घाइते भएका छन्।

यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणकारीलाई ‘पशु’ भन्दै कडा निन्दा गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा भने “जसले यी दुई राष्ट्रिय सैनिक जवानलाई गोली हान्यो, त्यो पशुले ठूलो मूल्य चुकाउनुपर्नेछ।”

उनले अमेरिकी सेना र कानून लागू गर्ने निकायको प्रशंसा गर्दै भने “यी साँच्चै महान् मानिसहरू हुन् !”

अमेरिकी तल्लो सदनका सभामुख माइक जोन्सनले आक्रमणकारी पक्राउ परेको पुष्टि गरेका छन् । उनले सबै अमेरिकीलाई घाइते जवानहरू र उनीहरूका परिवारको लागि प्रार्थना गर्न आग्रह गरेका छन् । जोन्सनले राष्ट्रिय सुरक्षाकर्मीले राजधानीलाई सुरक्षित बनाउन गरेको ‘वीरतापूर्ण’ कामको लागि धन्यवाद दिएका छन् । उनले थप ५०० राष्ट्रिय सुरक्षाकर्मीको लागि आदेश दिएका छन् ।

गोली लागेका दुवै सैनिक जवान वेस्ट भर्जिनिया राज्यका हुन्। सुरुमा वेस्ट भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसिले जवानहरूको मृत्यु भएको खबर दिएका थिए तर पछि एफबीआईका निर्देशक काश पटेल र वासिङ्टनका नगर प्रमुखले यो खबर सच्याउँदै उनीहरू गम्भीर अवस्थामा अस्पतालमा रहेको जानकारी दिएका छन् ।

महानगरीय प्रहरी विभाका एक अधिकारी जेफरी क्यारोलका अनुसार, यी जवानहरू ह्वाइट हाउस नजिकै गस्तीमा थिए। आक्रमणकारी अचानक आए बन्दुक तेर्स्याए र सिधै जवानहरूलाई गोली हाने ।

यो एक निशाना बनाएर गरिएको हमला भएको प्रहरीको भनाइ छ। नजिकै रहेका अन्य सुरक्षाकर्मी (गार्ड)हरूले तुरुन्तै आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया