मुस्लिम ब्रदरहुडका समूहहरूलाई आतंकवादी घोषणा गर्ने ट्रम्पको कदम

इनेप्लिज २०८२ मंसिर १० गते १२:१७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद इस्लामी आन्दोलन मुस्लिम ब्रदरहुड(मुसलमान भाइचारा)का मध्यपूर्वमा रहेका केही समूहहरूलाई आतंकवादी संगठन घोषणा गर्ने प्रक्रिया सुरु गरेका छन्।

सोमबार एक कार्यकारी आदेश जारी गर्दै ट्रम्पले आफ्ना अधिकारीहरूलाई इजिप्ट, लेबनान, जोर्डन वा अन्य ठाउँका मुस्लिम ब्रदरहुडका शाखाहरूलाई विदेशी आतंकवादी संगठन घोषणा गर्न सकिन्छ कि भनेर अध्ययन गर्न निर्देशन दिएका छन्।

उनले विदेशसचिव मार्को रुबियो र बित्तिय सचिवस्कट बेसेन्टलाई ३० दिनभित्र प्रतिवेदन बुझाउन र त्यसको ४५ दिनपछि आवश्यक कारबाही गर्न समय दिएका छन्।

ट्रम्पको आदेशमा भनिएको छ कि यी समूहहरूले “हिंसा, अस्थिरता फैलाउने अभियानमा संलग्न हुने वा सहयोग गर्ने” काम गरिरहेका छन्। ह्वाइट हाउसले आरोप लगाए अनुसार लेबनानी शाखाको सैन्य समूहले अक्टोबर ७, २०२३को आतंकवादी हमलापछि इजरायलमा रकेट हान्न सहयोग गरेको थियो।

साथै, जोर्डनको शाखाका सदस्यहरूले पनि हमास (जो आफैं मुस्लिम ब्रदरहुडको एउटा समूह हो) लाई लामो समयदेखि आर्थिक सहयोग गर्दै आएका छन्।

यदि यी समूहहरूलाई औपचारिक रूपमा आतंकवादी घोषणा गरियो भने, अमेरिकी कानुन अनुसार जानीजानी उनीहरूलाई आर्थिक वा अन्य कुनै सहयोग पुर्‍याउन गैरकानुनी हुनेछ। यस्तो घोषणाले समूहका सदस्यहरूलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउन र अमेरिकी बैंकहरूमा रहेको उनीहरूको पैसा रोक्का गर्न पनि सकिन्छ।

लगभग १०० वर्षअघि इजिप्टमा स्थापना भएको मुस्लिम ब्रदरहुड मध्यपूर्वको एक प्रभावशाली राजनीतिक आन्दोलन हो, जसलाई इजिप्ट, जोर्डन लगायतका धेरै देशमा प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया