विश्व अकुपंचर दिवस भव्यताका साथ सम्पन्न

इनेप्लिज २०८२ मंसिर ८ गते ६:४७ मा प्रकाशित

सावित्री ढुंगाना
नेपालमा चौथो विश्व अकुपंचर दिवस २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको अग्रसरतामा २०७९ देखि मनाउन थालिएको अकुपंचर दिवसलाई यसपटक पनि निरन्तरता दिइएको थियो ।


नेपालमा आइतबार चौथो विश्व अकुपंचर दिवस मनाइँयो जसको उद्घाटन प्रतिनिधि सभाका सभामुख सम्मानीय देवराज घिमिरेज्यूले गर्नुभएको थियो । चीनमा नोभेम्बर १६ देखि २२ सम्म एकहप्ता मनाइने अकुपंचर दिवस नेपालमा भने नोभेम्बर २२ का दिन मनाउने गरिएको छ । विगतमा सरकारी स्तरबाट मात्र कार्यक्रम आयोजना हुँदै आएकोमा यसपटक यसलाई व्यापक बनाउने हेतुले निजी क्षेत्रबाट विशेष कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रम DECC को अमन हल त्रिप्रेश्वरमा सम्पन्न भएको थियो । त्यस कार्यक्रममा चाईनाबाट आउनु भएका अतिथिज्युहरुले चाइनिज मेडिसिन तथा अकुपंचर मोक्सिब्युसनको महत्वका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा चाइनिज मेडिसिन तथा अकुपंचर मोक्सिब्युसनका सम्बन्धमा प्रकासित स्मारिका प्रतिनिधि सभाका सभामुख सम्मानीय देवराज घिमिरेज्यू विमोचन गर्नुभएको थियो । कार्यक्रमको बारेमा जानकारी समारोह समिति संयोजक अकु. सुर्दशन बस्नेतज्यूले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन ओ.सि.एस. बिजिनेस सोलुसन प्रा. लि.ले गरेको कुरा ओ.सि.एस. बिजिनेस सोलुसन प्रा. लि. का सुरेश श्रेष्ठज्यूले जानकारी दिनुभयो ।


अकुपंचरिस्टहरुका दुईवटा संगठन चाइनिज मेडिसिन डाक्टर्स सोसाइटी र नेपाल अकुपंचर मोक्सिब्युसन तथा अकुपे्रसर संघले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमको उद्देश्य अकुपंचरप्रतिको आम अवधारणालाई बृहत् बनाउनु हो ।
अकुपंचर पाँच हजार वर्ष अघिदेखि चीनमा अभ्यास हुँदै आएको परम्परागत उपचार पद्धतिको एउटा भाग हो । शरीरका विशेष विन्दु, जसलाई अकुप्वाइन्टस् भनिन्छ, ती विशेष विन्दुहरुमा विशेष प्रकारका सियो (filliform needle) ले घोचेर उपचार गरिने पद्धति नै अकुपंचर हो । यो औषधिविहीन उपचारपद्धति हो ।
विशेषगरी क्यान्सर, संक्रमण, भाँचिएको अवस्थाबाहेक अधिकांश रोगमा अकुपंचर प्रयोग भएको पाइन्छ । पेट, आँखा, हाडजोर्नी, ब्लडपे्रसर, मुटुलगायत सबै खालका समस्यामा यो पद्धतिको सफल प्रयोग भएको छ । तथापि, हाडजोर्नी एवं नसाका रोगहरु र सबै प्रकारका दुखाइको उपचारमा यो पद्धति थप प्रभावकारी देखिएको छ ।
नेपालमा पनि हाडजोर्नी र नसासम्बन्धी रोगहरुमा नै बढी प्रयोग भइरहेको छ । कतिपय क्लिनिकहरु पेटका समस्या (chronic gastritis), माइगे्रन, पिनासलगायतको उपचारमा पनि सफल भएका छन् । यसको सफलता दर ८० प्रतिशतभन्दा माथि छ । बिनाऔषधि गरिने उपचार (drugless therapy) मा कतिपय दुखाइसँग सम्बन्धित रोगमा त अकुपंचरलाई सबैभन्दा राम्रो उपचार पद्धतिको रुपमा लिइएको छ । अकुपंचर अत्यन्तै कम साइड इफेक्ट हुने उपचार पद्धति हो ।
नेपालमा आधिकारिक रुपमा कहिलेबाट सुरु भयो भन्ने यकिन जानकारी छैन । कोदारी राजमार्ग निर्माणसँगै नेपालमा अकुपंचर भित्रिएको मानिन्छ । कोदारी राजमार्ग निर्माणका क्रममा चिनियाँ प्राविधिकसँगै उनीहरुको उपचारका लागि अकुपंचरिस्ट पनि नेपाल पठाइन्थ्यो । नेपालमा औपचारिक रुपमा भने २०३१ सालबाट अकुपंचर पद्धतिबाट उपचार सुरु भएको हो ।


नेपलमा २०८१ सालसम्मको तथ्यांकअनुसार नेपालमा १८५ जना अकुपंचरिस्ट छन् । तीमध्ये नेपाल हेल्थ प्रोफेसनल काउन्सिल (एनएपिसी)मा १६५ जना र नेपाल आयुर्वेद मेडिकल काउन्सिल (एनएएमसीमा २) जना दर्ता भएका छन् ।

प्रतिक्रिया