
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस विरुद्धको युद्ध अन्त्य गर्न अमेरिकाले अघि सारेको शान्ति प्रस्तावबारे प्रतिक्रिया दिने क्रममा युक्रेन अब मर्यादा गुमाउने वा प्रमुख साझेदार गुमाउने जोखिम—दुवै सम्भावनासँग जुध्न बाध्य भएको शुक्रवार बताएका छन् ।
यो हाम्रो इतिहासका सबैभन्दा कठिन क्षणमध्ये एक हो,उनले राष्ट्रका नाममा गरिएको श्रव्यदृश्य(भिडियो) सम्बोधनमा भने।
अहिले युक्रेनमाथिको दबाब अत्यन्त तीव्र छ। अब हामी अत्यन्तै गाह्रो विकल्पको सामना गरिरहेका छौँ—या त आफ्नो सम्मान गुमाउने कि एक महत्वपूर्ण साझेदार गुमाउने जोखिम उठाउने।” उनले थपे ।
जेलेन्स्कीले अमेरिकासहित सबै साझेदारहरूसँग शान्त र रचनात्मक रूपमा काम गर्ने प्रतिबद्धता जनाए।
यसअघि उनले जर्मनी,फ्रान्स र बेलायतका नेतासँग दूरवार्ता(टेलिफोन )संवाद गरेका थिए। ती नेताहरूले निरन्तर समर्थनको आश्वासन दिएको उनले बताए। यता युरोपेली अधिकारीहरूलाई अमेरिकी शान्ति प्रस्तावले अनायासै चकित पारेको थियो ।
एपिका अनुसार अमेरिकी योजनामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका दीर्घकालीन मागहरू विशेष गरी युक्रेनी भूभागका केही भाग त्याग्ने जस्ता सामेल रहेको बताइएको छ, जबकि युक्रेनका लागि सुरक्षा प्रत्याभूती (ग्यारेन्टी )भने सीमित देखिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई असन्तुष्ट पार्न नचाहेको युरोपेली र युक्रेनी पक्षका प्रतिक्रियाहरू सावधानीपूर्वक शब्दमा व्यक्त गरिएका थिए।
उनीहरूले अमेरिकी मध्यस्थता प्रयासको प्रशंसा गर्दै संयमित प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया