
राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा मारिएका साउदी पत्रकार जमाल खशोग्गीको हत्यासम्बन्धी प्रश्नलाई ‘रिस पोख्दै’ पन्छाएका छन्। गत नोभेम्बर १८ मंगलबारका दिन ह्वाइट हाउसमा साउदी अरबका युवराजसँगको भेटघाटमा उनले खशोग्गीलाई ‘अत्यन्तै विवादास्पद’ व्यक्ति भन्दै धेरै मानिसले उनलाई मन नपराएको दाबी गरे।
साउदी अरबका युवराज मोहम्मद बिन सलमान ह्वाइट हाउस भ्रमणमा रहेका बेला ट्रम्पले यो विषय युवराजलाई लाजमर्दो बनाउन मात्र उठाइएको बताए। सीआईएले युवराज सलमानले नै हत्याको आदेश दिएको हुनसक्ने अनुमान गरे पनि, ट्रम्पले युवराजलाई बचाउ गर्दै, “उनलाई यस बारेमा केही थाहा थिएन”भने।
सात वर्षभन्दा बढी समयपछि युवराज सलमानलाई ह्वाइट हाउसमा राजकीय भ्रमण सरहको भव्य स्वागत गरियो। उनको स्वागतमा सैन्य सङ्गीत मण्डली बजाइयो, अश्वारोही (घोडामा सवार) टोलीले सुरक्षा प्रदानगर्यो र एफ-३५ लडाकु विमानहरू पनि माथिबाट उडान गराइएको थियो।
ट्रम्पले युवराज सलमानको मानव अधिकार अभिलेखको समेत प्रशंसा गरे। उनले पत्रकारले हत्याबारे प्रश्न गर्दा आपत्ति जनाउँदै, “हाम्रो पाहुनालाई त्यस्तो प्रश्न सोधेर लाजमर्दो बनाउनु पर्दैन,”भने।
मृतक पत्रकार खशोग्गीकी श्रीमती हनान एलाटर खशोग्गीले ट्रम्पको टिप्पणीमा दुःख व्यक्त गर्दै, “विवादित भएकै कारण हत्या गर्न पाउनु न्याय होइन। जमाल साहसी र राम्रो मानिस थिए,” उनले भनिन्।
प्रतिक्रिया