
म एउटा चार लाइनको कविता लेख्न बस्छु, पहिलो लाइन ठीकै जस्तो लाग्छ, दोस्रो लेख्दै जाँदा मन भतभती पोल्छ, तेस्रोमा शब्द सुक्छन्, चौथोमा भने चित्त नै बुझ्दैन, मेट्छु र फेरी सुरु गर्छु । एउटा सानो कविता पुरा गर्नै नसक्ने म जस्ता साधारण पाठकले जब ‘पासपोर्ट’ जस्तो किताब देखे, मनभित्र एउटै कुरा आयो- यत्रो ठूलो किताब का लेखक प्रेम सङ्ग्रौला दाईले कति श्रम, कति धड्कन र कति धेरै रातको निद्रा त्याग्नुपरेको होला! यही आदरभावले यी शब्दहरू सुरु गर्छु ।
‘पासपोर्ट’ को आवरण हेर्दा नै मन गहक्किन्छ, लाइनमा उभिएका थकित र आतुर मुहारहरू, पछाडिबाट उड्दै गरेको जहाज, देशको पासपोर्ट ठूलो भएर अगाडि ठडिएजस्तै देखिने, यी सबैले एउटा सामूहिक सत्य बन्छन । हामी नेपालीहरू जीवन बदल्न जन्मभूमिबाट टाढा जान बाध्य छौ, अनि त्यो यात्राको ढोका ‘पासपोर्ट’ नामक रातो कागजले खोलेर दिन्छ ।
प्रेम सङ्ग्रौला दाईको, यो कृति पासपोर्टलाई कागजको पुस्तक होइन, मानिसको सम्पूर्ण संघर्षको प्रतीक बनेकोछ । पुस्तकलाई पढ्दै जाँदा थाहा हुन्छ, पासपोर्ट कसैका हातमा केवल यात्रा कागज हो तर धेरै नेपालीका हातमा दालभात, स्याहार, भविष्य, ऋण तिर्ने उपाय, अनि घर बनाउने एकमात्र सम्भावना हो ।

लेखकले प्रवासी जीवनलाई भड्किलो वर्णनले होइन, भुइँ छुँदै हिँड्ने यथार्थ बाट खोपेर प्रस्तुत गर्नुभएकोछ । कतै विदेश उड्नुअघि घरभित्र आमाले बिसौनीमा राखिदिएको टीका र पैसा, कतै विमानस्थलको चिसो काउन्टरमा आखाँ भिजाउँदै ‘अर्का वर्ष फर्कन्छु’ भन्ने वाचा; कतै रोजगार लिने देश पुगेपछि रातभर पसिना बगाई कमाएको तलबले घरमा खुशी ल्याउने छटपटी, यी सबै विषय पुस्तकका मूल धड्कन हुन ।
यो पुस्तक कुनै एक पात्रको कथा होइन; यहाँ असंख्य अनाम र वास्तविक नेपालीहरूका अनुहारहरू मिसिएको छ । कतै गाउँका खेतबारीबाट दौडिएर पासपोर्ट बनाउने युवक, कतै अन्तिमपटक छोरीलाई समाएर रोएकी आमा, कतै घुम्टोभित्रै सुट्केस राखेर कतार-दुबई उड्न तम्सिएकी युवती, कतै कति ऋण तिर्ने भनेर दौडधुपमा परेको बाबु …….

प्रेम संग्रौला दाईले, यी पात्रहरूलाई अतिरञ्जनाबिना, सजिलो तर गहिरो शैलीमा उभ्याउनुभएको छ । कथामा उनीहरूले आफ्ना नाम भन्दा बढी देशको यथार्थ बोकेका छन भन्ने दर्साउनुभएकोछ । लेखकको शैलीमा एउटा विशेषता छ, हुवाले आफू लेखक हुँ भनेर देखाउँनुहुदैन । बरु आफू पनि उही लाइनमा उभिएको एउटा साधारण मानिस हुँ जस्तो लेख्नुहुन्छ ।
उहाँको भाषा न त अत्यधिक साहित्यिक छ, न त अत्यन्तै सरल । तर प्रत्येक पंक्तिमा मानिसको अन्तर्मन, समाजको संरचना र मुलुकको पीडा मिसिएको देखिन्छ । वाक्यहरू टुक्रिदा टुक्रिदै पनि अर्थ जोडिन्छ; कथन सीधा भएरपनि भित्र गहिरो चोट बोकेको हुन्छ । यही कारण ‘पासपोर्ट’ केवल पढ्ने पुस्तक होइन, अनुभव गर्ने अनुभव बनेकोछ ।
किताबको अध्याय संरचना पाठकलाई विदेश जाने प्रक्रियाबाट, पासपोर्ट, मेडिकल, टिकट, भिसा, बिदाइ, विदेशको वास्तविकता, कमाइ, घर फर्कने आशा हुँदै, फेरि त्यसै यान्त्रिक चक्रमा फसिएको जीवनतर्फ तान्छ । कहिले कथाले झस्काउँछ, कहिले दुखाइको च्यात्तिएको पाना देखाउँछ, कहिले गर्व दिलाउँछ, “हाम्रो सीप, हाम्रो श्रम, हाम्रो पसिना संसारभर छरिएको छ” भनेर देखाउॅंछ ।

थीमको ताजगी र गहिराइ, प्रवासी नेपाली समाजको मुख्य धड्कन हो, प्रेम संग्रौला दाईले, यो धड्कनलाई असाधारण कुशलताले पक्डिनुभएकोछ । मानवीयतमा, कुनै पात्र ठूलो बनाइदिदैनन, न कुनै घटना अतिरञ्जित । सबै कुरा धरातलमा, माटोको गन्धमा आधारित रहन्छ । सामाजिक विश्लेषण, पासपोर्ट केवल पासपोर्ट होइन, हुवा भनुहुन्छ, “यो भनेको हामीलाई उजाड्दै लगेको एउटा आधिकारिक चिठ्ठी पनि हो ।
म समीक्षक त हैन, समीक्षकका रूपमा हेर्दा केही ठाउँमा पुस्तक भावनामा धेरै डुब्छ । कहिलेकाही तथ्य–आधार वा संरचनागत विश्लेषण अपेक्षाकृत कम देखिन्छ, विशेषगरी, श्रम नीतिका जटिल पक्ष, सरकार/एजेन्ट प्रणालीका दोष, कम्पनी–श्रमिक सम्बन्धका ठोस तथ्याङ्कहरू, तर यो कमजोरी भन्दा बढी लेखकीय उद्देश्यको सीमा जस्तो लाग्छ, लेखक शोधकर्ता हुनुहुन्न, हुवा अनुभवका कथाकार हुनुहुन्छ, भन्ने म लाई लाग्छ । त्यसैले पाठकले यसलाई तथ्य–प्रति–तथ्य होइन, भाव–प्रति–भाव को पुस्तकको रूपमा बुझ्दा यसको मूल्य प्रस्ट हुनेछ ।
‘पासपोर्ट’ पढिसकेपछि मनमा एउटा तीखो अनुभूति बस्छ, हाम्रो देशले आफ्ना नागरिकलाई सपनाका लागि घरबाट धकेलेको छ, तर त्यही नागरिकले विदेशमै बसेर देशलाई चलाइदिएको छ । प्रेम संग्रौला दाईको कलमले यिनै विरोधाभासलाई नरम र प्रखर दुवै स्वरले चित्रण गर्नुभएकोछ । उहाँले पाठकलाई भावुक पनि बनाउँनुहुन्छ, चिमोट्नुहुन्छ पनि, अनि अन्त्यमा भनुहुन्छ, “हामी नेपालीहरूको पासपोर्टमा छाप देशले होइन, परिस्थितिले लगाउँछ ।
अन्तयमा म भन्छु, प्रेम संग्रौला दाईको, यो कृति मनले महसुस गर्ने, आँखा भिजाउने, तर बुद्धिले सोच्न बाध्य पार्ने पुस्तक बनेको छ, सबैले पढेर अनुभुति गर्न सक्नुहुनेछ ।
इनेप्लिजको तर्फबाट लेखक प्रेम संग्रौला दाई तथा समालोचक दाइ बिजय बगाले भाई प्रति धेरै आभार !!
प्रतिक्रिया