पुस्तक समीक्षा

लेखक परिचय
वि.सं. २००३ साल चैत ८ गते कास्की, पोखरा–२२ पुम्दीभुम्दीस्थित ठूलिविणीमा जन्मनुभएका । शोभाकर बराल नेपाली शिक्षाक्षेत्रका समर्पित, अनुशासित र कर्मनिष्ठ व्यक्तित्व हुन् ।३७ वर्षको शिक्षण सेवामा श्री लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापकका रूपमा उल्लेखनीय योगदान दिँदै वि.सं. २०६३ मा सेवाबाट निवृत्त हुनुभयो । शिक्षा मात्र नभई समाजसेवा र सांस्कृतिक कार्यमा पनि सक्रिय रहँदै उहाँ लीलावती छात्रवृत्ति कोष, सन्तानेश्वर महादेव मन्दिर, भुवनेश्वरीदेवी माई मन्दिर, लक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन समिति, आदर्श ज्येष्ठ नागरिक मञ्च, स्रष्टा समाज पुम्दीभुम्दी र राष्ट्रिय परोपकार महासङ्घमा संलग्न रहनुभएको छ ।
दीर्घ सेवाको कदरस्वरूप उहाँले राष्ट्रिय शिक्षा दिवसमा विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ। भारत, चीन, जापान र दक्षिण कोरिया भ्रमणले उहाँलाई समृद्ध सांस्कृतिक तथा शैक्षिक अनुभव दिन पुगेको छ। सेवानिवृत्त जीवनमा उहाँले कलमलाई साथी बनाएर आफ्नो अनुभूति र अनुभवलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । प्रकाशित कृतिहरूमा मैले टेकेको धरती (२०७९), पौराणिक आदर्श नारीहरू (२०८१) र भर्खरको पुम्दीभुम्दीदेखि देजन सहरसम्म रहेका छन् ।
पुम्दीभुम्दीदेखि देजन सहरसम्म दक्षिण कोरियाको दोस्रो भ्रमण (वि.सं. २०८१ जेठ ६–साउन ५) मा आधारित यात्रा संस्मरण हो, जसमा यात्रा अवधिमा देखिएका, भोगिएका र सुनेका यथार्थहरू इमान्दारीपूर्वक कलमबद्ध गरिएको छ र कतिपय स्थानमा नेपाल र कोरियाको विकास तुलनाले लेखकको यथार्थपरक दृष्टि झल्काउँछ । पुस्तक २९ शीर्षकमा विभाजित छ; प्रारम्भिक भागमा चिरञ्जीवी बरालद्वारा लिखित भूमिका (पृ. ७–१०) र डा. खगराज बरालको विश्लेषणात्मक लेख (पृ. ११–१४) समावेश छ, त्यसपछि लेखकका व्यक्तिगत विचारहरू (पृ. १५–१७) र मूल यात्रा–वृतान्त (पृ. २१–१६७) विस्तारपूर्वक प्रस्तुत गरिएको छ । अन्त्यतिर (पृ. १६८–१७६) कैद गरिएका तस्बिरहरूले कृतिलाई दृश्यात्मक रूपमा सशक्त बनाएका छन् ।
प्रारम्भिक सन्दर्भ
लेखक शोभाकर बराल आफ्नो छोराबुहारीको आग्रहमा दोस्रोपटक कोरिया भ्रमणमा निस्किए, जहाँ विशेष गरी माहिला छोराले लेखनको प्रेरणा दिँदै भने, “बा, यसपटकको यात्राको सम्पूर्ण विवरण लेख्नुहोस् ।” त्यस अनुरोध र आफ्नै लेखन झुकावले गर्दा उनले यात्रा अवधिभर देखिएका, भोगिएका र महसुस गरेका विषयहरू नोट गर्दै एकै कृतिमा समेट्न सफल भए ।

यात्रा निरन्तरता र अवलोकन
दोस्रो कोरिया यात्रा लेखकका लागि साधारण भ्रमणभन्दा धेरै जटिल प्रक्रियाबाट सुरु भएको थियो । पहिलोपटक उनी छोराको दीक्षान्त समारोहको खुसीमा कोरिया गएका थिए भने, दोस्रोपटक २०८१ सालमा छोराबुहारीसँग भेटघाट र केही दिन रमाइलो घुमफिर गर्ने उद्देश्यले कोरिया जाने योजना बनेको थियो । तर यात्रा सुरु हुनुअघि नै उनले अनपेक्षित चुनौतीहरूको सामना गर्नुपर्यो; पासपोर्ट हराएर दुःख, नयाँ नाता प्रमाणित गर्ने कागजात तयार पार्नु, नागरिकता अनुवाद गर्नु, अनि ती सबै कागजात मिलाएर भिसाको तयारी गर्नु। अनलाइन भिसा आवेदन भर्न खोज्दा साइटले पालैपालो त्रुटि देखाउने, पालो मिलाउन नसक्ने र फेरि–फेरि प्रयास गर्दा पनि समय नपाउने जस्ता समस्याले उनको धैर्यता बारम्बार परीक्षण गर्यो ।
अन्ततः निरन्तर प्रयासपछि मात्र उनले भिसा आवेदन दिन समय सुरक्षित गर्न सके, तर चुनौती त्यत्तिमै सकिएन । दूतावासमा फाराम बुझाउन गएपछि पर्खाइ कक्षमा बसेर आफ्नो पालो कहिले आउला भनेर प्रतीक्षा गर्नु, त्यहाँका कर्मचारीहरूको औपचारिक तर कडिकडाउ व्यवहार सामना गर्नु, कागजात पुनः जाँचिनु यी सबैले उनको दोस्रो यात्रा प्रक्रियालाई तनावपूर्ण तर स्मरणीय बनाइदियो। यद्यपि अन्तिममा भिसा स्वीकृत भएपछि भने सबै कठिनाइहरूपछि आउने राहत र खुसीले उनको मन हल्का बनायो, किनकि कोरियामा छोराबुहारीसँग बिताउन पाइने समय नै उनका लागि सबैभन्दा ठूलो प्रेरणा थियो ।
बराल २०८१ जेठ ६ गते राति ११:४५ बजे काठमाडौँबाट कोरिया उडान भर्दै नयाँ यात्रा अनुभूतिको थालनी गर्छन् । विमानमा उनले विशेष शाहाकारी भोजन अर्डर गरे पनि मात्र चिसा फलफूल आएकाले निराशा व्यक्त गर्छन्, तर यात्रामा पाइने तातोपानीमा चोभेर खाने सम्झेर आफूलाई सान्त्वना दिने उपाय अपनाउँछन् । हवाई यात्राको बिचमै हङकङ विमानस्थलमा अवतरण हुँदा उनले त्यहाँको सफाइ, व्यवस्था, समयअनुशासन र आधुनिक पूर्वाधारको प्रशंसा गर्दै आफ्नै देशको विमानस्थलसँग तुलना गर्छन्, जसले उनको मनमा हल्का तिक्तता र सुधारको आकांक्षा दुवै जगाउँछ । इन्छन विमानस्थलमा अवतरण गरेपछि उनी पहिलोपटक भेट्टिने यात्रुहरूको भीड, अध्यागमन काउन्टरमा लाग्ने लामो लाइन र कडा सुरक्षा जाँचका बिच आफ्नो धैर्य सम्हाल्दै अघि बढ्छन् । अन्ततः सबै औपचारिकता पूरा गरी आगमन गेटबाट बाहिर निस्किँदा छोराको मुस्कानसहितको प्रतीक्षा देख्दा उनको थकान एकैपटक हराउँछ। धेरै दिनपछि परदेशी भूमिमा परिवारको साथ भेटिएको त्यो क्षण उनले हृदयस्पर्शी रूपमा प्रस्तुत गरेका छन् ।
एक शुक्रबारका दिन, लेखक शोभाकर बराल नेपाली चेली मञ्जु गुरुङ र उनका श्रीमान्ले स्नेहपूर्वक सञ्चालन गरेको देजन सहरको “सगरमाथा रेस्टुरेन्ट ”मा पुग्छन् । रेस्टुरेन्टमा पस्दा नै नेपाली स्वाद, नेपाली मुस्कान र नेपालीपनको आत्मियता उनको मनमा गहिरो छापले छुन्छ ।भोजन र भेटघाटको त्यो क्षणमा उनी अनुभव गर्छन्— परदेशको बिचमा
पनि आफ्नोपनको गन्ध कति नजिक रहन्छ । नेपाली चेलीले चलाएको रेस्टुरेन्ट भएकाले त्यहाँ पुग्ने जो सुकैले पनि आफ्नो घरको जस्तो न्यानो वात्सल्य पाउँछन् । त्यो भेटपछि बराल देजनको चिल्ड्रेन पार्कतर्फ लाग्छन् । शनिबार र आइतबारको सार्वजनिक बिदामा नेपालीहरू त्यहाँ जुटेर भेटघाट, रमाइलो र सामूहिक भोजन गर्ने परम्परा उनले आत्मियतापूर्वक वर्णन गर्छन् । बालबालिकाको हाँसो, परिवारको उल्लास र मित्रताको वासना मिसिएको त्यो वातावरणले उनलाई पोखराको हावासँग मिल्दोजुल्दो आत्मीयता दिन्छ ।
उनको यात्रा त्यत्तिमै रोकिन्न । गुलाफको फूलबारीमा पाइला राख्दै उनले थरिथरिका रङीचङ्गी गुलाफहरू, बालबालिकाका खेलौना र रमाइलो गर्न आएका परिवारहरूको झलमल दृश्यलाई कविताजस्तै वर्णन गर्छन् । पोखरीमा हाँस र माछा खेल्दै गर्छन्, मानिसहरू माछालाई चारो खुवाउँदै रमाउँछ । त्यो दृश्य उनलाई शान्त र आनन्दमय संसारको झिल्को झैँ लाग्छ ।
देजन सहर साँझपख झिलिमिली र रङ्गीन बन्छ। रेल स्टेसन नजिकैको स्काइ रोड देख्दा उनी अचम्मित हुन्छन् । संसारकै चौथो ठूलो एलईडी स्क्रिन झिलिमिली चम्किरहेको छ, जहाँ सहरका समाचार, विज्ञापन र मनोरञ्जन एकैसाथ प्रवाहित भइरहेका छन् ।सहरको आधुनिकता र प्रविधिको चमत्कार देख्दा उनी मन्त्रमुग्ध बन्छन्। यात्राको अर्को दिन, बराल तातोपानी (हट स्प पुग्छन् । उनी पनि स्थानीय परम्पराअनुसार गोडा तातोपानीमा डुबाउँछन् । त्यस क्षणमा उनलाई नेपालका म्याग्दी र मुस्ताङका तातोपानीहरूको सम्झना आउँछ । देजनको यो प्राकृतिक तातोपानी सातौँ शताब्दीदेखि अस्तित्वमा रहेछ भन्ने थाहा पाउँदा उनी चकित हुन्छन् ।खनिज र रासायनिक तत्व मिसिएको यो पानीले विभिन्न रोग निको पार्ने विश्वास अझै जीवित छ ।
अर्को दिन उनले कोरियाका पुराना घर र दरबारहरू अवलोकन गर्छन्।सफा, आकर्षक र ऐतिहासिक मूल्यले ओतप्रोत ती स्थलहरू सरकारकै संरक्षणमा रहेछन् । इतिहास, संस्कृति र पर्यटनलाई जोडेर राज्यले राजस्वसमेत आर्जन गरेको देख्दा उनी लोभिँदै भन्छन् “हाम्रो देशमा पनि यदि यस्तै दृष्टिकोण र व्यवस्थापन हुन्थ्यो भने, परम्परा र प्रगतिलाई सँगै उभ्याउन सकिन्थ्यो ।”
देजन सहरको विशाल साइन्स म्युजियममा प्रवेश गर्दै लेखक शोभाकर बराल विज्ञान र मानव सभ्यताको गहिरो संसारमा पुग्छन् । त्यहाँ उनले जीवनको उत्पत्ति र विकासक्रमदेखि लिएर आधुनिक विज्ञान तथा प्रविधिको अद्भुत नमुना अवलोकन गर्छन् । युद्धका समयमा प्रयोग गरिएका हतियार, पुराना सञ्चारका साधन र वैज्ञानिक अनुसन्धानका उपकरण देख्दा उनको मन ज्ञान, कौतूहल र इतिहासप्रतिको सम्मानले एकैसाथ भरिन्छ ।
त्यसपछि उनले ‘स्टार फिल्ड’ नामक भव्य सपिङ मल भ्रमण गर्छन जसले देजन सहरको आधुनिकता झल्काउँछ । यो भवन जमिनमाथि आठ तला र जमिनमुनि आठ तला फैलिएको रहेछ । सफा शौचालय, पिउने पानीको सहज सुविधा, र व्यवस्थित सेवा प्रवाहले उनलाई आकर्षित गर्छ । उनी लेख्छन्— “कोरियामा यस्ता विशाल व्यापारिक केन्द्रहरू निजी क्षेत्रकै दक्ष व्यवस्थापनमा सञ्चालन भइरहेका छन्, जसले राज्यको बोझ घटाएको छ र जनताको सहजता बढाएको छ।”
यात्राको क्रममा बराल गाई फार्म पनि पुग्छन् । त्यहाँ उनले गाई दुहुने मेसिन, कृत्रिम गर्भाधान, गोबर व्यवस्थापन, र कार्यस्थलमा व्यस्त नेपाली कामदारको अनुभव प्रत्यक्ष देख्छन् ।
कोरियाको इन्जिनियरिङ क्षमता, दक्षता र यातायात प्रणालीको प्रभावकारिताले उनी अचम्मित बन्छन्। सानो देशले पनि अनुशासन र परिश्रमबाट कसरी विकासको शिखर छोएको रहेछ भन्ने अनुभूति उनलाई गहिरो लाग्छ ।
त्यहीँ कतै उनको मन जन्मथलो पुम्दीभुम्दीतर्फ डुल्छ । उनी आफ्ना शिक्षक र प्रेरणाका स्रोत स्वर्गीय खेमराज पौडेलप्रति श्रद्धा अर्पण गर्छन् । उहाँकै मार्गदर्शन र शिक्षाबाट आफूले जीवनको बाटो पाएको सम्झिँदै बराल लेख्छन् “गाउँका गुरुहरूले दिएको शिक्षा नै जीवनको बाटो देखाउने दियो बनेको रहेछ ।”

पुस्तकको अन्त्यतिर उनले गाउँकै पात्र खोपीका कान्छाबालाई केन्द्र बनाएर विवाहसम्बन्धी रमाइलो सवाई प्रस्तुत गर्छन्, जसले उनको साहित्यिक रसिकता झल्काउँछः
सुन हे सुन सबै, म केही भन्छु,
खोपीका कान्छाबाको सवाई कहन्छु।
बिहानै उठी सधैँ पँधेरामा नुहाउँथे ।
एक डेढ घण्टा समय त जप ध्यानमा बिताउँथे ।।
विवाह गर्नेमा दुई भाइले चासो राखेनन् ।
देश विदेश गर्नेमा जेठा कहिल्यै थाकेनन् ।।
यसरी, विभिन्न स्थानको भ्रमण, आफ्ना सन्तान र अन्य नेपाली समुदायसँगको भेटघाटपछि लेखक नेपाल फर्किन्छन् । दुई महिनाको बसाइमा सडक, पार्क, बगैंचा, वनस्पति सङ्ग्रहालय, कोइला उत्खनन, विज्ञान संग्रहालय, पशु–पक्षीका कङ्काल, समुद्री मार्ग, ताल–तलैया, टापु, पुराना घर, वृक्षारोपण, भूसंरक्षण र सडक सौन्दर्यीकरणजस्ता विविध अनुभवहरू टिपोट गरिएका छन् । पुस्तकले केवल व्यक्तिगत यात्रा वर्णन मात्र होइन, कोरियाको विकास, व्यवस्थापन र जीवनशैलीको अध्ययन प्रस्तुत गर्दै नेपालमा लागू गर्न नसकेको अनुभवसमेत व्यक्त गर्छ । साथै, जीवनसङ्गिनी सँगै यात्रा गर्न नपाएको दु:खले लेखकको व्यक्तिगत संवेदना र यात्राको एकान्तता झल्काउँछ । दक्षिण कोरिया प्रस्थानदेखि फर्केर त्रिभुवन विमानस्थल अवतरणसम्मका सम्पूर्ण अनुभव अत्यन्त जीवन्त शैलीमा प्रस्तुत छन् । पुस्तकले कोरियामा रहेका नेपाली समुदाय, जीवनशैली, सभ्यता, शिक्षा र सुशासनसँगै नेपालसँगको तुलना गर्दै पाठकमा भविष्यप्रतिको सकारात्मक दृष्टि जगाउँछ ।
भाषा, शैली
बरालको लेखन शैली सरल, भावनात्मक र पाठकसँग बोल्ने खालको छ । पुस्तकमा क्लिष्ट शब्दावली छैन; सामान्य नेपाली भाषा बुझ्ने जो सुकैले पनि यस कृतिलाई बोधसहित पढ्न र आनन्द लिन सक्छ । कुनै पनि यात्रालाई जस्ताको तस्तो रूपमै लिपिबद्ध गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो, पुस्तक प्रकाशनका क्रममा शुद्धि–अशुद्धिको पक्षमा पर्याप्त ध्यान दिएको देखिन्छ तथापि कतिपय स्थानमा केही त्रुटिहरू बाँकी रहेका देखिन्छन्; जस्तै, पृष्ठ ७ को १४ औँ लाइनमा ‘बरालले बाट सुरु भएको वाक्य मिलान आवश्यक प्रतीत हुन्छ; पृष्ठ ११ मा ‘साहित्यका शब्दमा ‘का अधिक पाइएको छ; पृष्ठ १२ को १० औँ लाइनमा ‘विचारहरुस मा ‘स अधिक छ; परिवतर्न हुनुपर्नेमा ‘परिवर्तनत जस्ता शब्दहरू पनि संशोधन गर्नुपर्ने देखिन्छ । केही ठाउँमा यस्ता साना शुद्धा–अशुद्धिका त्रुटिहरू भए पनि सम्पूर्ण वृत्तान्तले दिन खोजेको विषयवस्तु भने स्पष्ट, सरल र प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।
निष्कर्ष
अन्ततः, “पुम्दीभुम्दीदेखि देजन सहरसम्म” केवल एक यात्राको कथा होइन । यो एउटा जीवनपथको खोज हो, जसमा शिक्षित चेतनाको दृष्टिले विदेश र मातृभूमि दुवैको अर्थ फेरेको छा। यो पुस्तक पढेपछि पाठकले केवल कोरियाको यात्रा होइन, शिक्षक शोभाकर बरालको अनुभूति र अनुभवहरूको यात्रासँगै आफ्नो चेतनाको नयाँ पाना पल्टाउने अवसर पाउँछन् । विशेषतः गण्डकी प्रदेशमा जन्मेर हुर्केका वा केही समय त्यहाँ जीवन बिताएका व्यक्तिहरूका लागि यो कृति भाषिक आत्मीयताले भरिएको लाग्छ । यो कृति नेपाली यात्रा साहित्यको क्षेत्रका लागि ज्येष्ठ नागरिकको प्रेरणादायी प्रयासका रूपमा सदैव स्मरणीय रहन्छ । लेखकका आगामी रचनाहरू पनि पढ्ने अवसर मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
पुस्तक विवरण:
कृति: ‘पुम्दीभुम्दीदेखि देजन सहरसम्म’
विधा: यात्रा संस्मरण
लेखक: शोभाकर बराल
प्रकाशक: शब्द मिडिया प्रा.लि. (साहित्यपोस्ट)
संस्करण : प्रथम (२०८२)
पृष्ठ संख्या: १७६
मूल्य: रु ४५०/-
प्रतिक्रिया