(निबन्ध)

म सधैँ बिहान उठ्छु र आफूलाई संसारको सबैभन्दा दुःखी महसुस गर्छु । दिनभर काम गरेर बेलुका सुत्ने बेलामा फेरि आफूलाई हेर्छु र कल्पना गर्छु मभन्दा दुःखी अरु कोही छैनन् । राति अकस्मात सपनामा दुःखीलाई सुख दिने कार्यक्रम हुन्छ र म लाइन बस्न जान्छु तर मेराअघि सयौँ मानिस लाइनमा देखिन्छन् अनि मनले खोज्न थाल्छ के अरु पनि मजस्तै दुःखी छन् ?
मलाई दुःखको परिभाषा खोज्न मन लाग्छ । मैले पुस्तकमा त दुःख पढेको छु, आज जीवन पुस्तकमा दुःख पढ्न मन लाग्छ । बिहानी हिँडाइमा घुम्दै जाँदा एक वृद्धा देख्छु । चार कोरी उमेर छेउछाउकी उनी मकै पोलेर बेच्छिन् । उनका सबै सन्तान विदेशमा छन् रे तर घरमा कोही नभएकाले जीवन निर्वाहका अन्य आधार छैनन् । मैले पनि धेरै पटक उनले पोलेको मकै किनेर खाएको छु । कतिपयले मकै किन्दा दलाल गरेको पनि देखेको छु तर तिनले मन अमिलो पारेको देखेको छैन । उनी कहाँबाट मकै ल्याएर कतिको बेच्छिन्, मकै पाल्ने दाउरा लगायत सामान कसरी व्यवस्था गर्छिन्, मैले सोधेको छैन । उनकै मकै पोल्ने ठाउँमा सधैँ जसो एक जना भाइ फालिएका फलाम र प्लास्टिकका सामान बटुल्दै आइपुग्छन् । कहिलेकाहीँ सस्तो दाममा अलिक सानो घोगो मकै किनेर खान्छन् । उनका अभिभावक रहेनछन् । सडकमा फलाम र प्लास्टिक सङ्कलन गरेर पेट भर्नु उनको जीवन निर्वाहको आधार रेहछ । तिनले पनि साँझ बिहान छाक टारेकै छन् । हेर्दा उनी हँसमुख नै देखिन्छन् । के ती आमा र भाइका मनमा पिर छैन ? के मानिसले उपचार खर्च नभएकै कारण सामान्य रोगले पनि ज्यान गुमाउनुपरेको छैन ? मनमा त्यसै भुइँचालो आयो । मलाई दुःखीको संसार अनुभूतिमा हुने रहेछ जस्तो लाग्यो । ममा किन दुःखी भएँ भन्ने एकोहोरो सोच आइरह्यो भन्ने छटपटी पनि देखियो ।
सोचेँ, धेरै मानिस बाढी वा पहिरोले घर बगाउँदा रातभर चिसो आकाशमुनि बस्न बाध्य छन् । तिनका प्रति सहानुभूति जनाउने पनि कमै हुन्छन् । घरवारविहीन हुँदाको पीडा त मैले बेहोरेको छैन । चिसो रातको एक्लो मनभित्रको पीडा कस्तो होला ? के मेरो दुःखले तिनको दुःखसँग प्रतिस्पर्धा गर्न सक्ला ? नजिकमा देख्छु सेतै कपाल फुलेका बाआमा आफ्ना परदेसिएका छोराछोरी फर्केलान् भन्ने आशामा चौतारामा बसेर दुःख पोख्दै छन् । कोही एक्लै छन् र सन्तान आएका दिन मिठो खाने र ओठमा मुस्कान फलाउने कल्पना गर्छन् । कसैका सन्तान श्रम बेच्न सात समुद्रपार पुगेका छन् । कोही कामदार मृत अवस्थामा बाकसमा फर्किएका छन् । यो पीडा कसरी सहने होला ? आफ्नो आशालाई आफ्नै हातले दागबत्ती दिनुपर्ने दिनको कल्पना मेरो दुःखमा मिसिएको छ र ? ऋण तिर्न नसक्दा खेतीयोग्य जमिन बैङ्कको नाममा जाँदाको पीडा मेरो दुःखमा छ र ? मलाई त कामको पो चिन्ता छ, खान लाउन त कुनै चिन्ता छैन नि ? के तिनको दुःख र मेरो दुःखको तुलना गरेर साहित्य सिर्जना गरिदिने कोही जन्मेनन् ? के साहित्यकारमा आलोचनात्मक विवेक छ ?
मैले देखेको छु, धेरैले जन्मदर्ता, नागरिकता वा कागजपत्र नहुँदा पढ्न र सेवा लिनबाट वञ्चित भएका छन् । आर्थिक अभावले किताब किन्न नसक्दा धेरै बालबालिकाले पढ्ने इच्छालाई तिलाञ्जली दिएका छन् । तिनका मस्तिष्कमा दुःख सङ्ग्रह गर्ने अवयव हुन्नन् ? दिनभर अरुका घरमा गई भाँडा माझेर पनि बेलुका छाक टार्न नसक्ने एकल महिलाको सङ्घर्षमा कुनै महाकाव्य लेखिँदैन ? अस्पतालको बेड नपाएर अस्पतालको आँगनमा वा डेरामा अन्तिम सास फेर्नुपर्नेहरूको मुटु हुँदैन ? विद्यालयको पोसाक किन्न नसकेर साथीहरूबिच अपमान सहनुपर्नेको इज्जतहुँदैन ? मलाई मेरो दुःख बिस्तारै सुखमा परिणत हुँदै गएझैँ लाग्न थाल्यो ।
मेरै समुदायमा जङ्गलमा दाउरा काट्न जाँदा ज्यान जाने जोखिम बोकेर बाँच्न बाध्य परिवार छन् । अपाङ्गता भएको सदस्यलाई बोकेर कैयौँ किलोमिटर उपचार खोज्दै हिँड्नुपर्ने बाध्यता बोकेर बाँचेका परिवार छन् । दिनभर नशामा डुब्ने अभिभावकका कारण दिनभर भोकै रहने ससाना बालबालिका छन् । प्राकृतिक विपत्तिपछि राहत आउँदा नेताले बाटैमा लगिदिएकाले आफूले नपाएर आँसुमा डुबेका कमजोर परिवार छन् । महिनौँ ज्याला नपाएर श्रमिकले घरभाडा तिर्न नसक्दा घरधनीको दबाब र गाली ओढेर सुत्न नसक्ने अवस्थाका पीडित पनि छन् । सडक दुर्घटनामा परी परिवारको एक मात्र अन्नदाता गुमाउनुपर्दाको पीडा सहेर बाँचेका टुहुरा पनि छन् । मानसिक रोगको उपचार नपाएर बिरामीलाई बाँधेर वा कोठामा थुनेर राख्न बाध्य परिवार पनि छन् । के ती दुःखी छैनन् होला ? के ती कुनै कथाका पात्र बन्न सक्दैनन् ?
सुन्छु कसैले महिनाभर भारी बोकेर जीवन बिताएका हुन्छन् तर बुढेसकालमा आधार बन्ने कोही हुँदैनन् । तिनको पनि त शरीर र मन दुख्दो हो । उपचार अभावका कारण प्रसूति समस्यामा आमा र नवजात दुवै जोखिममा पर्ने परिस्थितिमा रहेकाहरूको पनि त चित्त हुँदो हो । बिहानैदेखि पहाड, खोँच, भिरपाखा हिँडेर थकित शरीरमा विद्यालय पुग्ने बालबालिकाको पनि पैताला दुख्दा हुन् । छोरीको बिहेमा दाइजो दिन घरखेत बन्धकी राखेर ऋणमा डुबेका परिवारको पनि त सिनेमा हेर्ने रहर होला । बाँच्नैका लागि आफ्ना गहना वा जग्गा एक एक गरेर बेच्नुपर्ने बाध्यताभित्र पनि त भोजभतेर गर्ने सोच होला । क्यान्सरजस्ता दीर्घरोग भए पनि परीक्षण खर्च नजुटेर घरमै दुःख सहनुपर्ने अवस्थाभित्र पनि त धनको मोह होला । के तिनले आफ्नो छाक र बासको पक्का सुरक्षा गर्न सकेका होलान् ? यस विषयमा कसैले निबन्ध लेख्न सक्दैन ?
छिमेकमा मदिराका कारण झगडा हुँदा बालबालिकामा हिंसा र कलह बढेको छ । गम्भीर मानसिक तनावका कारण घरपरिवारबाट छुट्टिएर एकान्तमा बाँच्नुपर्दा मानसिक तनाव थपिएको छ । चुनावी रौनकमा राजनीतिक स्वतन्त्रता कुल्चँदै घरानियाँले घर जलाइदिएका दलितले घरको क्षतिपूर्ति र न्यायका लागि वर्षौँ धाउनुपरेको छ । बाबुको किरियाका लागि लिएको ऋण तिर्न नसक्दा वर्षौँ साहुको खेत जोत्नुपरेको छ । गाउँकै जान्नेबुझ्ने भनाउँदाको भरमा परी काम गर्न सहर पुगेको युवकले ठगीमा परेर कागजात र पैसा दुवै गुमाउनुपरेको छ । सवारी साधनको व्यवस्थित पार्किङ नहुँदा सडकछेउको घर सधैँ दुर्घटनाको जोखिममा रहेको छ । गाउँबाट सहजरूपमा एम्बुलेन्स नपाएर डाँडाकाँडा पार गर्दै अस्पताल नपुग्दै बिरामी ढलिसकेको अवस्था छ । तिनले पनि त जीवन सङ्घर्ष गरेकै छन् । के मैले मेरो दुःखको पुस्तकमा तिनको दुःखको पाना पढेरै पल्टाएँ ? मलाई विश्वास छैन ।
म अखबार हेर्छु, अनलाइन ठगीमा परेर गरिब परिवारको सपना चकनाचुर भएको छ । बुबाआमाको असमझदारीका कारण घरमा नै बालबालिकाले असुरक्षित महसुस गरेका छन् र विद्यालयबाट ढिलो घर पुग्न पाए हुन्थ्यो भन्ने चाहन्छन् । सन्तुतिल भोजनाको अभावका कारण कुपोषणले बालबालिकाको भविष्य कमजोर बनेको छ । बालविवाहका कारण किशोरीले बाल्यकाल, शिक्षा र स्वतन्त्रता गुमाउनुपरेको छ । कतिपयले बेचविखनमा परेर परिवार र समाजमा पीडाको मूल्य गुमाएका छन् । कुष्ठरोगी वा दीर्घरोगी समाजकै भेदभावका कारण एक्लिएका छन् । के सामाजिक न्याय पढाउने प्राध्यापकले यो विषय पढाउन सक्दैनन् ?
दुःख एक सुन्दर पुस्तक हो । यसका पानापानामा गम्भीर जीवन दृष्टि हुन्छ । म योग्य पाठक बनेर दुःखको वृहत्तर काव्य पढ्न चाहन्छु ।
प्रतिक्रिया