वाङ्मय विमर्श तथा साहित्य संवादको पहिलो शृङ्खला

सुरेन उप्रेती पाँचथर हाल क्यानडा २०८२ कार्तिक १२ गते ८:३९ मा प्रकाशित

नेपाली भाषा साहित्य र संस्कृतिलाई जोगाउनु भनेको नेपालीहरूको पहिचान जोगाउनु हो। आफ्नो परिचय जोगाउनु हो अनुहारको प्रकृति देख्दा हामी नेपालीहरू अन्य देशहरूका मानिस जस्तै देखिन्छौँ । तपाईँहरूले पनि भोग्नु भएकै होला । तपाई मेक्सिकन हो ? साउथ अमेरिकन हो ? भारतीय, बङ्गाली, पाकिस्तानी, चाइनिज, जापानिज हो ? आदि आदि भनेर मानिसहरूले हामी नेपालीहरूलाई सोध्ने गर्दछन् । हुन पनि हो हामी र अन्य देशका मानिसहरूको अनुहारको स्वरूप उस्तै उस्तै देखिन्छ । मानिस मानिसकोबीचमा अलग्गै राख्ने भनेको उसले बोल्ने भाषाले हो । उसका पहिरनले हो । उसको संस्कृति र सम्पदाले हो । उसका परम्पराले हो । भाषा भनेको मानिसका मनका भावना विनिमय गर्ने माध्यम मात्र हैन । उसका कला संस्कृति भेषभूषा चाडपर्व रीतिरिवाज सम्पदा आदि सबै पर्दछन् । मानिसको भाषा हरायो भने उसको पहिचान पनि हराउने छ । उसका संस्कृति र संस्कारहरू पनि हराउने छन् । समग्रमा भन्ने हो भने उसको पहिचान हराउने छ । भाषा हरायो भने लटाइबाट छुटेको चँङ्गा जस्तै कतै पुगेर अल्झिने छौँ । समुद्रमा बहेको बेवारिसे डुँगा जस्तो । गन्तव्य हराएको यात्री जस्तो हुनेछौँ । यिनै कुराको गाम्भीर्यलाई आत्मसात गरी हाम्रो भाषा साहित्य र संस्कृतिलाई कसरी अझ फैलाउँदै लैजान सकिन्छ । हाम्रा प्रवासमा
छरिएका दोश्रो र तेश्रो पुस्तालाई कसरी नेपाल र नेपाली भाषासँग अक्षुण्ण बनाएर राख्न सकिन्छ होला भन्ने हुटहुटीले सुरुवात भएको हो यो वाङ्मय विमर्श तथा साहित्य सम्वाद कार्यक्रम ।

यस कार्यक्रमलाई फेसबुक र यूट्यूवबाट प्रत्यक्ष प्रसारण गरिन्छ । वाङ्मय विमर्श तथा साहित्य संवादको पहिलो कार्यक्रममा डायस्पोराका साहित्यका अभियन्ता स्रष्टा एवंम् द्रष्टा होमनाथ सुवेदीलाई आमन्त्रण गरिएको थियो । यसकोपहिलो कार्यक्रम अक्टोबर महिनाको २१ तारिख २०२५ त्यस्तै कार्तिक महिनाको चार गते मङ्गलबार २०८२ मा अमेरिकी समय बिहान नौ बजे शुरू भै एघार बजे सम्म चलेको थियो । अनेसास केन्द्रका बाल समिति संयोजक सुरेन उप्रेतीसँग भएको वाङ्मय विमर्श साहित्य संवाद कार्यक्रम हो । होमनाथ सुवेदी डायस्पोरामा मात्र नभएर जन्मभूमि नेपालमा पनि परिचित नाम हो । उहाँले २०२१ सालमा सत्र वर्षको उमेरमा नै म्याग्दी जिल्लामा कवि सम्मेलन गराउनु भएको थियो । सो सम्मेलनमा उहाँले कविता लेखेर वाचन पनि गर्नु भएको थियो । उहाँको अविवेक शीर्षकको पहिलो कथा बिसं २०२५मा र निबन्ध तृतिय विश्वयुद्ध २०२६ सालमा छापियो । यसरी शुरू भएको साहित्यिक यात्रा मधुपर्क, झङ्कार, रूपरेखा, धवलागिरी र श्रीसूर्य, आदि पत्रिकामा छापिए । नेपालको तात्कालिन राज्य व्यवस्थामा भएका बिकृति र विसंगतिमा औँला ठड्याउँदा श्रीसुवेदी सरकारी आँखाको कसिँगर बन्नु भएको थियो । अनेक असहज परिस्थितिको सामना गर्दै साहित्य सिर्जना गर्ने सुवेदी सन १९८१मा अमेरिका आउनु भयो । अमेरिकामा आउँदा दूर शिक्षा कसरी प्रदान गर्न सकिन्छ र किन आवाश्य छ भन्ने राम्रै जानकारी थियो । अमेरिकामा आए पश्चात नेपालीहरूलाई संगठित गर्दै बिभिन्न संघसँस्थाहरूसँग आवद्ध हुनुभयो । बिभिन्न संस्थाको नेतृत्व गर्दै नेपाली भाषा र साहित्यको लेखनलाई निरन्तरता दिन शुरू गर्नु भयो । यसै क्रममा उहाँको अध्यक्षतामा सन १९९१ मा शुरू भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) आज सन्सारभरी फैलिन सफल भएको छ ।

चौवालिस वर्षको अमेरिका बसेका श्री सुवेदीका आठ वटा उपन्यास, दुईवटा महाकाव्य, चारवटा खण्डकाव्य, छवटा कविता संग्रह, तीनवटा मुक्तक र गजल संग्रह, तीन वटा लोक साहित्य पुस्तक, तीनवटा कथा संग्रह गरी झण्डै तीन दर्जन पुस्तकहरू प्रकाशित छन् । वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रमा बिबिध बिषयहरूमा आफ्ना धारणा व्यक्त छन् । क्वान्टम साहित्यको एक सताव्दी पुगेको अवस्थामा सबै नेपाली साहित्यकारहरूले क्वान्टम सिद्धान्तको अध्ययन र यसमा सिर्जनाहरू गर्नु पर्ने कुरामा जोड दिनु भयो । पुरू सुवेदीको २००३मा प्रकाशित कविता संग्रहमा क्वान्टम कविताहरूको सुरुवात भएको समेत जानकारी दिनु भयो । सो संग्रहमा क्वान्टम साहित्यका बारेमा पुरू सुवेदीले क्वान्टम शिदान्तका बारेमा लेखेका कुराहरू प्रस्तुत गर्नु भयो । डाक्टर मधुमाधुर्य श्रेष्ठले क्वान्टम थेवरीको शिदान्त र कवान्टम साहित्यमा २०१० देखि कलम चलाउँदै आउनु भएको कुरा जानकारी गराउनु भयो । मधुमाधुर्यका लेखहरू साहित्य पोस्टमा पनि. प्रकाशित भएका छन् भन्नु भयो । त्यस्तै मोहन सिटौलाले पनि क्वान्टम कविता लेख्नु भएको कुरा जानकारी गराउँनु भयो । साहित्य कस्तो हुनु पर्दछ भन्ने सवालमा
समाजको मंगल हुने साहित्यहरू सिर्जना हुनु पर्दछ भन्नु भयो । साहित्यले समाजका बेथितीहरूलाई प्रहार गर्न सक्नु पर्दछ र थितिको मार्ग देखाउनु पर्दछ । एउटा दृष्ट्रीकोण बनाएर लेख्ने अनि त्यसलाई कार्यान्वयन गर्न निरन्तर लाग्नु पर्दछ भन्दै उदाहरण पनि प्रस्तुत गर्नु भयो । साहित्यमा मात्र नभएर हरेक कार्यमा निरन्तर लागि पर्नाले मात्र सफलता प्राप्त हुनेकुरा बताउनु भयो । हामीले हाम्रो भाषा साहित्य र संस्कृतिलाई जोगाउन सकेमात्र हाम्रो परिचय जोगिने कुरामा जोड दिनु भयो । श्री सुवेदीका छोरा छोरी र नातिनी समेतले साहित्य सिर्जना गरेर एक साहित्यिक परिवार भनेर परिचित छ सुवेदी परिवार । हामीले घरमा भाषा साहित्यका गतिविधीहरू गर्ने हो भने क्रमश अरू परिवारजनहरूले पनि सिक्दै र गर्दै लैजानु हुन्छ । यसको प्रभाव बढ्दै जान्छ भन्नु भयो।

यो विमर्श निम्न लिङकमा सुन्न सकिन्छ ।

प्रतिक्रिया