जर्जिया च्याप्टरमा लक्ष्मीजयन्ती मनाइयो

इनेप्लिज २०८२ कार्तिक १२ गते ८:३० मा प्रकाशित

अमेरिकाको जर्जिया एटलान्टामा अक्टोबर पच्चीस तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरले विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा लक्ष्मीजयन्ती मनाएको छ। जर्जिया च्याप्टरका संस्थापक अध्यक्ष चेतोनाथ घिमिरेको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व जर्जिया च्याप्टरकी अध्यक्ष मीरा कोइरालाले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि श्री चेतोनाथ घिमिरेले पानसमा दीप प्रज्वलन गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा साना नेपाली नानीबाबुहरूले राष्ट्रिय तथा अमेरिकाको राष्ट्रिय गान गाएका थिए भने जर्जिया च्याप्टरकी उपाध्यक्ष नमिता घिमिरेले विभिन्न संघसंस्थाबाट पाल्नुभएका संस्थाका पदाधिकारीहरू तथा अतिथिवर्गहरूको स्वागत गर्नु भएको थियो।

कार्यक्रममा जर्जिया च्याप्टरका सचिव डा. तीर्थ तिम्सिनाले महाकवि देवकोटाको स्मरण गर्दै देवकोटाको कविता वाचन गर्नुभएको थियो।

उक्त कार्यक्रममा विशेष अतिथि कवियत्री तथा लघुकथाकार सुशीला देउजाले कार्यक्रमको सफलताको शुभकामना दिँदै आफ्नो लघुकथा प्रस्तुत गर्नुभएको थियो भने अर्की विशेष अतिथि कवियत्री तथा गीतकार सपना लामिछानेले आफ्नो कविता प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा सानी नानी कृति तिमिल्सिना र एटलान्टा नेपाली स्कूलका छात्राहरू कृषा डंगोल र काव्या सिग्देलले नृत्य प्रस्तुत गरेर वातावरणलाई उल्लासमय बनाएका थिए।

कार्यक्रममा डा. माधव सिग्देलले संस्कृतका श्लोकहरू वाचन गर्नुभएको थियो भने सि.के पराजुली, मधुसुदन सिग्देल, मीरा कोइराला, प्रेम बानियाँ, सीता अधिकारी, विष्णु पगेनी, डा. राम सिग्देल, डा. तीर्थ तिम्सिना तथा साना नानीबाबु अंशल तिमिल्सिना, कृषा डंगोल र काव्या सिग्देलले कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा मुना आचार्य ,अनिता भण्डारी तिमिल्सिना र विष्णु पगेनीले देवकोटाको “कुन मन्दिरमा जान्छौ यात्री” गीत गाउनुभएको थियो।

यसैगरी प्रमुख अतिथि चेतोनाथ घिमिरेले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी तथा उहाँले नेपाली साहित्यमा पुर्‍याउनु भएको योगदानका विषयमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा जर्जिया च्याप्टरका कोषाध्यक्ष अभिनाश फुयाँलले देवकोटाको जीवनी र उहाँका कृतिहरूमा आधारित भइ हाजिरी जवाफ प्रतियोगिता खेलाउनु भएको थियो। जसले कार्यक्रमलाई अत्यन्त रोचक बनाएको थियो। जसमा विजेताहरूलाई पुरस्कारको पनि व्यवस्था गरिएको थियो। विजेताहरूलाई क्रमश प्रथम द्वितीय र तृतीयलाई पचास तीस र बीस अमेरिकी डलर प्रदान गरिएको थियो।


उक्त हाजिरी जवाफ प्रतियोगिता तिलोत्तमा फुयाँल, चेतोनाथ घिमिरे र सुलभ सिग्देल क्रमश प्रथम द्वितीय र तृतीय हुनुभएको थियो।


कार्यक्रमको अन्त्यमा जर्जिया च्याप्टरका अध्यक्ष तथा कार्यक्रमकी सभापति मीरा कोइरालाले जर्जिया भित्र भर्खरै बन्नु भएका अनेसासका नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। यसका साथै उहाँले सम्पूर्ण उपस्थित पाहुनाहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो। कार्यक्रमको संचालन जर्जिया च्याप्टरकी महासचिव विष्णु पगेनी सिग्देलले गर्नुभएको थियो।

प्रतिक्रिया