
नेपालको लगभग ९५ प्रतिशत जनताले कुलमान घिसिङलाई देशका इमानदार, कर्तव्यनिष्ठ र दूरदर्शी इन्जिनियरका रूपमा चिन्छन्। बाँकी केही प्रतिशत मानिसहरूले भने उनलाई आलोचनाको निशानामा पार्ने प्रयास गर्दै आएका छन्। यिनै इमानदार र निष्ठावान अभियन्तालाई जेन–जी नेतृत्वको अन्तरिम सरकारले मन्त्रीका रूपमा नियुक्त गरेपछि, केही स्वार्थी वर्गहरू असहज बनेका देखिन्छन्। मानौँ, उनीहरूको लागि यो निर्णय “डाडूमा पानी तताएर आत्महत्या गर्नुभन्दा पनि पीडादायी” भएको छ।
अघिल्ला सरकारले आफ्नो स्वार्थअनुसार चल्न दबाब दिए पनि कुलमान घिसिङले कहिल्यै सिद्धान्त र नैतिकताको सीमा पार गरेनन्। त्यसैको परिणामस्वरूप, उनलाई चार महिनाअघि पदबाट हटाएर अर्का व्यक्ति नियुक्त गरिएको घटना नेपाली जनताले अझै बिर्सेका छैनन्।
गत साउन महिनामा “उज्यालो नेपाल”को अभियान लिएर कुलमानज्यू अमेरिकाको भ्रमणमा गए। उनी न त कुनै व्यक्तिगत स्वार्थका लागि विदेश पुगेका थिए, न त कुनै राष्ट्रघाती सम्झौता गर्न। तर हाल केही व्यक्तिहरूले असत्य प्रचार गर्दै, कुलमानले MCC नेपालमा ल्याएको र अरबौँ डलर उनको खातामा रहेको जस्ता निराधार आरोप लगाइरहेका छन्। उनीहरूले त यहाँसम्म पनि भन्छन्— उनले अमेरिकामा गुम्बा बनाएर फर्किएछन्।
यस्ता दाबीहरू सुन्दा दया र अचम्म दुवै लाग्छ। नेपालमा भ्रष्टाचारका अनेक उदाहरण छन् भन्ने कुरा कसैलाई नयाँ होइन, तर प्रमाणबिना कसैको इमानदारीमाथि प्रश्न उठाउनु स्वतन्त्र नागरिकको जिम्मेवारी होइन, अपराध हो। कुलमानज्यूले कुन अमेरिकी राज्यमा, कुन बैंकमा रकम राखेका छन् भन्ने ठोस प्रमाण नहुँदा, यस्ता कुरा केवल भ्रम फैलाउने प्रयास हुन्।
आजको समयमा सत्य र असत्य छुट्याउने चेतना विकास गर्नु सबै नागरिकको साझा जिम्मेवारी हो। जसले देशलाई अँध्यारोबाट उज्यालोतर्फ डोर्याउने साहस देखाएको छ, उसको इमानदारीमाथि प्रश्न उठाउनु केवल अन्याय होइन, नैतिक पतन पनि हो।
हामीले प्रमाणबिना कसैको चरित्रहत्या गर्ने गलत परम्परालाई अन्त्य गर्नुपर्छ। आलोचना गर्नेलाई अधिकार छ, तर त्यो सत्य र तथ्यमा आधारित हुनुपर्छ। बिना प्रमाण अरूको निष्ठामाथि आँच पुर्याउनु समाज र राष्ट्र दुबैका लागि घातक हुन्छ।
अब समय आएको छ — हामीले असत्यभन्दा सत्य रोज्न सिकौँ, स्वार्थभन्दा देशप्रेमलाई अगाडि राखौँ।
इमानदार, कर्मनिष्ठ र देशभक्त व्यक्तिहरूको सम्मान गरौँ; किनभने यिनै हातहरूले उज्यालो नेपालको भविष्य निर्माण गर्न सक्छन्।
डिग बहादुर तामांग, भेडापू,दोलखा।
प्रतिक्रिया