
विष्णुबहादुर जी.सी. सँग मेरो चिनजान संवत् २०६६ सालको जेठतिर भएको थियो । तत्कालीन समयमा म क्षेत्रीय शिक्षा निर्देशनालयको निर्देशक पदमा पदस्थापन भई कार्याराम्भ गरेको थिएँ । निर्देशनालयको गाडी बिग्रेकाले मैले शिक्षा विभागमा वैकल्पिक व्यवस्थाका लागि अनुरोध गरेको थिएँ । त्यसबेला शिक्षा विभागका तर्फबाट विष्णु जी.सी. ले सम्पर्क गरी आवश्यक प्रबन्ध गरेका थिए । उनी र मैले एउटै गाडी प्रयोग गरेका थियौँ एकदुई दिन । त्यससमयदेखि म र उनको सामिप्यता बढेको थियो । पछि शिक्षा विभागको निर्देशक (तत्कालीन समयमा उपमहानिर्देशक भनिदैँनथ्यो) मा सरुवा भएपछि त एउटै कार्यालयका सहकर्मी भयौँ । दैनिक भेटघाट र कार्यालयीय काममा छलफल तथा परामर्श भइरहन्थ्यो ।
मेरो नयाँ उपन्यास ‘प्रतिरूप’ मा चर्चा परिचर्चा कार्यक्रममा मैले विष्णु जी.सी.. लाई आमन्त्रण गरेको थिएँ । उनले उपन्यास पढेर समीक्षा लेखे र अनलाइनमा प्रकाशित पनि भयो । त्यसबेला उनले आफूले पनि विगतमा गरेका यात्राको संस्मरण र जीवनका अनुभूतिलाई लेखे र प्रकाशन गर्न लागेकाले केही राय सल्लाह मागेका थिए । मैले आफूले जानेको र बुझेको कुरा बताएको थिएँ ।
यही कात्तिक १ गते उनको प्रथम कृति “यात्रा खुसीको” लोकार्पण कार्यक्रममा पुस्तकका सम्बन्धमा विचार व्यक्त गर्न आमन्त्रण गरे । म पनि उक्त कार्यक्रममा सहभागी भए । अहिले विष्णुबहादुर जी.सी. को पुस्तक “यात्रा खुसीको” बजारमा आएको छ । पाठकहरूले यस पुस्तकलाई रुचिपूर्वक हेरिरहेका छन् ।
लेखकले पुस्तकको नाम “खुसीको यात्रा” नराखिकन “यात्रा खुसीको” राखेका छन् । पुस्तकको नाम “यात्रा खुसीको” राख्नुमा लेखकको आफ्नै तर्क होला । लेखकका तर्कलाई यसभित्रका विषयवस्तुले समर्थन गरेका पनि होलान्।
“खुसीको यात्रा” यस वाक्यांशमा “खुसी” मुख्य विषय हो र “यात्रा” त्यसको विवरण हो । यसको अर्थ हुन्छ “खुसीको यात्रा” जहाँ यात्रा खुसीसँग सम्बन्धित छ । यहाँ खुसीले यात्रा गर्ने कारण वा भावना जनाउँछ । “खुसीको यात्रा” को अर्थ खुसी दिएको यात्रा वा खुसी पुगेको यात्रा भन्ने हुन्छ । यसले “यात्रा” आफैँमा खुसी हो भन्ने बुझाउँछ । साथै, “खुसीको यात्रा” ले यात्रा गर्ने क्रममा खुसी अनुभव गर्नुलाई जनाउँछ ।
“यात्रा खुसीको” यस वाक्यांशमा “यात्रा” मुख्य विषय हो र “खुसीको” त्यसको विवरण हो । यसको अर्थ हो यात्रा नै खुसी हो वा यात्रा खुसीको स्रोत हो । यहाँ यात्रा गर्नु नै खुसी दिने कुरा हो भन्ने जनाउँछ । “यात्रा खुसीको” अर्थ यात्रा खुसी दिने स्रोत हो भन्ने कुरा जनाउँछ । यसले यात्रा गर्दा खुसी मिल्छ भन्ने पनि बुझाउँछ । यात्रा गर्नु भनेको नयाँ ठाउँहरू हेर्नु हो, नयाँ अनुभव लिनु हो र आफ्नो नयाँ दृष्टिकोण विकास गर्नु हो । यात्राले हामीलाई नयाँ ठाउँको संस्कृति, परम्परा, रहनसहन, विकास, भूगोल, इतिहास, मानिसको स्वभाव, प्रकृति आदिसँग
परिचित गराउँछ । यात्राले हामीलाई दैनन्दिनी कार्यबाट मुक्त गराउँछ र नयाँ कुराहरूको अनुभव गर्ने अवसर उपलब्ध गराउँछ ।
खुसी हुनु भनेको हाम्रो मनमा हुने एक किसिमको आनन्द र सन्तुष्टिको भावना हो । खुसी हुनका लागि यात्रा गर्नैपर्छ भन्ने हुँदैन, खुसी हामी विभिन्न तरिकाले हुन सक्छौँ, जस्तैः प्रियजनसँग समय बिताएर, मन परेका काम गरेर, सिनेमा हेरेर, गीत सुनेर, सानातिना सुखको आनन्द लिएर ।
यात्राले हामीलाई खुसी दिन्छ, कहिलेकाहीँ दुःख पीडा दिन पनि सक्छ । नयाँ ठाउँको अनुभवले हामीलाई खुसी नै दिन्छ । नयाँ ठाउँ हेर्नु, नयाँ मानिसहरू भेट हुनु, नयाँ भूगोलको जानकारी हुनु, नयाँ संस्कृतिसँग भेट हुनु, नयाँ परिकार खान पाउनु जस्ता कार्यले यात्रामा खुसी थपेको हुन्छ । तर, यात्रा गर्दा चुनौती पनि त्यत्तिकै हुने गर्छन् । यात्राका चुनौतीलाई अवसरका रूपमा उपयोग गरी थप खुसी हुन पनि सकिन्छ, यात्रामा समस्याका पहाड थुप्रेर खुसी अनुभव नगर्न पनि सकिन्छ ।
“यात्रा खुसीको” वाक्यांशमा खुसीको शब्दले यात्राको विशेषता बताउँछ । यात्रा खुसीपूर्ण भयो भन्ने सन्देश दिन्छ । यसको शीर्षक कवितात्मक वा शैलीगत प्रयोग जस्तो देखिन्छ, जस्तैः “नेपाली गीत गाउँछ” लाई “गाउँछ गीत नेपाली” भने झै ।
वास्तवमा जिन्दगी नै यात्रा हो, कहिले खुसी, कहिले दुःख । मानिस आफ्नो जीवनलाई खुसीसाथ बिताउन चाहन्छ, अर्थपूर्ण र आनन्दमय बनाउन चाहन्छ । साँचो खुसी कुनै वस्तु वा धनमा वा यात्रामा हुँदैन, मनको शान्ति र सन्तोषमा लुकेको हुन्छ । यही शान्ति र सन्तोष खोज्ने काम नै यात्रा खुसीको हो ।
यात्रा गर्ने हो भने यात्राको गन्तव्य लक्षित हुनुपर्छ, गति हुनुपर्छ, लय पनि हुनुपर्छ । व्यस्त हुनका लागि यात्रा गर्नु हो भने; लक्षित यात्रा गर्नु छैन भने; कुनै गन्तव्य पनि छैन भने; किन यात्रा गर्नु ? बरु कवाज खेल्दा भइहाल्छ । कवाज खेल्दा गति पनि हुन्छ, लय पनि देखिन्छ, व्यस्त पनि भइन्छ । तर, कवाजको गन्तव्य हुँदैन ।
विष्णुबहादुर जी.सी. को पुस्तक यात्रा खुसीको यात्रा संस्मरण हो । यसलाई निबन्ध विधाअन्तर्गत राखिएको छ । विधागत रूपमा हेर्दा यसमा निबन्ध विधाभित्रका प्रबन्ध पनि छन्, यात्रा वर्णन पनि छन्, यात्रा संस्मरण पनि छन् । यस पुस्तकलाई नियात्रा भन्न सक्ने प्रशस्त स्थान हुँदाहुँदै पनि केही शीर्षकहरू आत्मकथा जस्ता देखिन्छन् । व्यक्तिले आफूले गरेका यात्राको अनुभव, देखिएका दृश्य, भेटिएका मानिस, सांस्कृतिक परम्परा, र अनुभूतिलाई साहित्यिक रूपमा प्रस्तुत गरिने आत्मानुभूतिक गद्य रचनालाई नियात्रा भन्ने गरिन्छ । यस्तो रचना यात्राको भूगोलमा मात्र केन्द्रित हुँदैन, लेखकको मनको यात्रामा पनि केन्द्रित हुन्छ । यस्तो रचना सामान्य वर्णनभन्दा पृथक हुने गर्छ, यसमा लेखकका भावनात्मक अभिव्यक्ति पनि मिसिएका हुन्छन् । यात्रा निबन्धमा लेखक यात्राका क्रममा अनुभूति गरेका भावना तथा अनुभूतिमा केन्द्रित हुन्छन् । लेखनमा सुन्दर भाषा, रूपक, बिम्ब, प्रतीक, उपमा, दृष्टान्त आदि प्रयोग गरिएको हुन्छ । यात्रा गरिएका ठाउँहरूको सामाजिक, सांस्कृतिक, पर्यावरणीय, प्राकृतिक अवस्थाको जीवन्त प्रस्तुति गरिएको हुन्छ । भूगोलको मात्र होइन, मानिसको जनजीवन तथा विकासको अवस्थाको पनि वर्णन गरिएको हुन्छ ।
यात्रा निबन्ध वास्तवमा व्यक्तिको अनुभूति, दृष्टि तथा विचार झल्किएको हुन्छ, आत्मपरक हुन्छ, आत्मपरकता हुँदाहुँदै पनि यर्थाथताबाट टाढा हुनु हुँदैन । यस्ता निबन्धले मनोरन्जनका साथसाथै ज्ञान तथा प्रेरणा प्रदान गरेका हुन्छन् । यात्रा निबन्धमा बाह्य दृश्यका साथसाथै आन्तरिक विचार दुवैको सन्तुलन कामय गरिएको
हुन्छ, गरिनु पनि पर्छ ।
वि.सं. १९१० मा जङ्गबहादुर राणाले गरेको बेलायत यात्राको वर्णन “जङ्गबहादुर राणाको बेलायत यात्रा” नै नेपाली साहित्यको यात्रा निबन्धको ऐतिहासिक मोड मानिन्छ । तारानाथ शर्मा (ताना शर्मा) को “बेलायततिर बरालिँदा” (२०२६) यात्रा साहित्यको उत्कृष्ट कृति मानिन्छ र यसलाई प्रा. बालकृष्ण पोखरेलले यस कृतिलाई यात्रा विवरण वा यात्रा संस्मरण मात्र नमानेर साहित्यिकता, आत्मपरकता र अनुभवको गहिराइयुक्त लेख मानेका छन् । नेपाली यात्रा साहित्यको धरातलमा विष्णुबहादुर जी.सी. को कृति “यात्रा खुसीको” ले प्रवेश पाएको छ, सार्वजनिकीकरण भएको छ, लोकापर्ण भएको छ । यात्रा साहित्यको अनुभूति गर्ने जिम्मा अब पुस्तकका पाठक र भावकले पाएका छन् ।
दुःखपछिको सुख, पीडापछिको हाँसो, रोदनपछिको हाँसो प्रिय हुन्छ । दुःख त मानिसले जन्मसँगै लिएर आएको हुन्छ । बुद्ध दर्शनमा चार आर्यसत्य छन् । यी चार आर्यसत्यमा दुःख छ, दुःखको कारण छ, दुःख अन्त्य गर्न सकिन्छ र दुःख अन्त्य गर्ने मार्ग छन् । ती मार्ग भनेको अष्टाङ मार्ग हुन् ।
यस पुस्तकमा २५ ओटा लेखहरू छन् । लेखकको भनाइअनुसार नै यस पुस्तकमा विविधता छन्; भाषिक रूपमा, शैलीगत रूपमा र विषयवस्तुगत रूपमा । यस पुस्तकमा २१ ओटा नेपाली भाषामा लेखिएका लेखहरू छन् भने चारओटा अङ्ग्रेजी भाषामा लेखिएका लेखहरू छन् ।
कहाँ छ खुसी शीर्षकबाट सुरु भएको यस पुस्तकमा अक्षरभित्रको खुसी, सम्बन्ध खुसीको, सानिध्यता प्रकृतिसँग, मेरो डायरीबाट किमाथान्का यात्रा, पहिलो पटक हिमाल टेक्दा, सगरमाथा र जुरेको अवसर, परदेश, प्रशान्त महासागरमा क्रुजयात्रा, राराको निलो क्यान्भास, सहयात्रा, जीवनसार्थकता, यात्रा मोह, असल बानी सुखी जीवन, मेरा बच्चाबच्ची मेरा प्रेरणा, कोभिडअघि र पछिका अवसर, जीवन सङ्घर्ष कि सहज, मनः एक अन्त्यहीन यात्रा, चुनौतीबिच शिक्षाको अग्रगमन यात्रा, पर्यटन विकासका सम्भावना, स्वतन्त्र नागरिक र यात्रा जस्ता नेपाली भाषामा लेखिएका निबन्धहरू सङ्ग्रहित छन् । साथै, Remembering March 28, Nostalgia for My Stay in Australia, An Unforgettable Journey in Tasmanial, China through My Eyes जस्ता अङ्ग्रेजी भाषामा लेखिएका निबन्धहरू छन् ।
पुस्तकको अन्त्यतिर सिकिएका पाठ, सन्दर्भ सामग्री र References रहेका छन् । यस पुस्तकमा उल्लिखित शीर्षकका पाठहरूले पाठकलाई पाठकहरूलाई र स्वयम् लेखकलाई पनि पाठ सिकाएको पाइन्छ । सुन्दर स्वदेश पब्लिकेसन, काठमाडौंले बजारमा ल्याएको यस पुस्तकमा १७० पृष्ठ छन् भने मूल्य चार सय पचास रूपैयाँ राखिएको छ ।
लेखकले यो पुस्तक लेखनको सुरुवात कसरी गरे भन्ने कुरा ‘यात्रा खुसीको’ शीर्षक (सायद लेखकीय भनाइ हुनुपर्छ) मा उल्लेख गरेका छन् । नेपालनाम्चा डट कम अनलाइनमा लेखक प्रकाशनपश्चात प्राप्त प्रतिक्रियाले आफूमा सुषुप्त लेखकीय चाहनालाई प्रकटीकरण गरेको लेखकको स्वीकारोक्ति छ । ‘खुसी कहाँ छ ?’ भन्ने प्रश्न गर्दै आफूले पढेका र पाएका प्रतिक्रियालाई लेखकले उल्लेख गरेका छन् । ‘यात्रा खुसीको’ मेरो जीवनयात्राको प्रतिबिम्ब हो यो लेखकको स्वीकारोक्ति हो ।
लेखकका जेठा छोरालाई पनि पिताजीले अनुभव बाँड्नु होला भन्नेमा शंका नै रहेछ । प्राज्ञिक लेखन गरे पनि विष्णु जी.सी. ले यस्ता किसिमका साहित्यिक लेखनमा हात नहालेरै होला, उनको लेखन प्रवृत्तिसँग परिचित नभएरै होला, पुस्तक नै लेख्लान् कि नलेख्लान् भन्नेमा अन्यको पनि शङ्का भएको जस्तो लाग्छ । कथाले चिनाएको मेरा बुबा शीर्षकको शुभकामनामा जेठा छोरा विविधविक्रम जी.सी. लेख्छन्, ‘मेरा बुबालाई आफ्नो कथा र अनुभव सबैसँग बाँड्ने मान्छेको रूपमा लिएको थिइनँ मैले ।’ यसको मतलब जी.सी.. अन्तमुर्खी व्यक्तित्व रहेछन् भन्ने पुष्टि हुन्छ । हुनतः सरकारी कामकाजमा पनि कम बोल्ने, धेरै नबोल्ने, आवश्यतानुसार बोल्ने भएकाले उनको व्यक्तित्व बहिर्मुखी थिएन भन्ने लाथ्यो पनि ।
लेखकले आफ्नो भनाइमा महत्त्वपूर्ण विश्वास व्यक्त गरेका छन्ः ‘खुसी भाषा होइन, अनुभूतिको विषय हो ।’ लेखकले ‘कहाँ छ खुसी ?’ शीर्षकमा लेख्छन्ः मेरो जीवनमा पनि धेरै खुसी आए । दुःख पनि आए । स्कुल पढ्दाको खुसी, पुरस्कार बोकेर घरमा आउँदाको खुसी, दसैं तिहार मेलापर्वको खुसी (पृ. ५) । यस्तै विविध प्रसङ्गका खुसीको उल्लेख गरेका छन् ।
लेखकले ‘यात्रा खुसीको’ मा प्रा. लीलाबहादुर के.सी. को भनाइ ‘सबैले खोजेको खुसी निरपेक्ष हुँदो रहेनछ’ लाई उल्लेख गरेका छन् । वास्तवमा खुसी सापेक्षित नै हुन्छ । कुनै सन्दर्भविशेष कसैका लागि खुसीको क्षण हुने गर्छ, कसैका लागि दुःखद् क्षण । उदाहरणका लागि दुई जना मित्रले एउटा पदका लागि अन्तर्वार्ता दिँदा एकजना सफल हुन्छ, अर्को असफल । एकजनाका लागि खुसीको क्षण, अर्काेका लागि दुःखद क्षण । कसैलाई सानो सानो उपलब्धिमा पनि खुसी हुने बानी हुन्छ, कसै कसैलाई महान् उपलब्धिले पनि खुसी दिन सक्दैन । खुसी बाहिरी होइन, आन्तरिक चेतनाको अनुभूति हो ।
खुसी क्षणिक हाँसो वा रमाइलोपन होइन । लेखकले पनि खुसीलाई भाषा होइन, अनुभूतिको विषय बनाएका छन् । खुसी एउटा आन्तरिक तत्त्व हो, यसलाई मनले अनुभूति गर्छ । मन खुसी भए पो खुसीको अनुभूति हुन्छ । मनको तरङ्ग यति छिटो परिवर्तन हुन्छ कि यसको अनुमान नै गर्न सकिँदैन । मन क्षणमा खुसी हुन्छ, क्षणमा नै दुःखी पनि ।
‘सहयात्रा जीवन सार्थकता’ शीर्षकमा लेखकले आफ्नो दाम्पत्य जीवनका कुरा गर्छन् । संयोग नै भन्नुपर्छ, ‘वि’ बाट नाम सुरु भएका विष्णुबहादुर जी.सी. ले जीवनसाथी पनि ‘वि’ बाट सुरु भएको नै पाए ‘विमला’ । आफ्ना दुईजना सन्तानको नाम पनि ‘वि’ बाट नै सुरु गरे; ’‘विविध’ र ‘विशेष’ । यी सबै उनका निजी विषय भए । ‘पहिलोपटक हिमाल टेक्दा’ शीर्षकमा एकजना भरिया ओर्लिने क्रममा चिप्लिएर भिरबाट लडेको कुरा पढ्दा आङ नै सिरिङ हुन्छ । ‘बेसक्यामबाट फर्केका भरियामध्ये एकजना ठुलोबुगिनबाट ओर्लने क्रममा चिप्लिएर लड्छन्’ पृ. ३३) । यसरी चिप्लिएर लडेका भरिया सकुशल फर्किन्छन् कि फर्किँदैनन् भन्ने कुरा थाहा पाउन पूरै लेख पढ्नुपर्ने हुन्छ ।

‘सगरमाथा यात्रा र जुरेको अवसर’ शीर्षकमा लेखकले पासाङ ल्हामु शेर्पाले नेतृत्व गर्नुभएको सगरमाथा आरोहणको लिएजन अफिसर हुने अवसर पाएको र उहाँ र उहाँको टोलीलाई शुभकामना दिएको कुरा उल्लेख गरेका छन् । ‘कुराकानी चलिरहेकै अवस्थामा पासाङ ल्हामुले मेरा लागि खानाको प्रबन्ध गर्नु भएछ’ (पृ. ३९) । पासाङ ल्हामु शेर्पाको फर्किने क्रममा हिमपातका कारण मृत्यु भएपछि उहाँको शरीरलाई आधार शिविर ल्याउने र काठमाडौं पठाउने प्रबन्ध गर्नुपरेको कुरा यो शीर्षकको निबन्धमा पढ्दा भाव विह्वल हुन पुगिन्छ । लेखकले लेखेका छन्ः ‘जीवनको यथार्थता स्वीकार गर्दै दुःखका साथ पार्थिव शरीरलाई बिदा गर्नु हाम्रो नियति बन्यो’ (पृ. ४१) । यही शीर्षकमा लेखक आफू सगरमाथा आरोहणको लिएजन अफिसर भएको र ब्रिटिस महिला रिवेका स्टेफेन (सगरमाथा आरोही पहिलो ब्रिटिस महिला) को आरोहणलाई सहजीकरण गरेकाले रिवेका स्टेफेनले लेखक र दुईजना शेर्पालाई ब्रिटेन लैजाने घोषणा गरेको कुरा उल्लेख छ । त्यहीअनुसार लेखकले बेलायत भ्रमण गर्ने अवसर पाएका रहेछन् । आधार शिविरबाट काठमाडौँ फर्केको दुई महिना भइनसक्दै युके भ्रमणका लागि टिममार्फत निमन्त्रणापत्र प्राप्त भयो (पृ. ४२) ।
‘प्रशान्त महासागरमा क्रुज यात्रामा’ शीर्षकमा पौडी खेल्दा विष्णु जी.सी.ं जीवनसाथी विमला पौडी खेल्ने कुशल सिपको अभावमा झन्डै डुबेको कुरा उल्लेख गरेका छन् । ‘उनी त्यतिबेला पनि पानीमा डुब्दै उत्रदै ‘बाबु बाबु’ भनिरहेकी थिइन्’ (पृ. ५७) ।
लेखकले ‘असल बानी सुखी जीवन’ शीर्षकमा असल बानीले जीवन सुखी बनाउँछ भनिरहेका छन् । असल बानीको बखान गरेका लेखकले आफूभित्र नभएको असल बानीलाई पनि नढाटिकन उल्लेख गरेका छन् । उदाहरणका लागिः ‘मदिरापान राम्रो बानी होइन तर पनि समाजमा मदिरापान गर्नेहरूको सङ्ख्या अनगिन्ती रहेको छ । र, त्यो समूहभित्र म पनि पर्दछु (पृ. ७९) । विद्यालय तहदेखि नै धुमपान गर्ने, मद्यपान गर्ने, जुवा तास खेल्ने जस्ता कार्यलाई कुलत भनिएको सन्दर्भमा लेखकलाई पनि मदिरापान गर्ने आफ्नो बानी राम्रो बानी नभएको जानकारी हुँदाहुँदै पनि किन त्यस समूहभित्र आफूलाई पार्नु भएको रहेछ, रहस्यमय नै छ ।
बुद्ध दर्शनमा मानिसलाई सदाचारी, नैतिकवान् र खुसी बनाउन पाँचवटा आधारभूत नैतिक नियमहरू पालना गर्नुपर्छ । यी पाँचवटा नियमले मानिसमा खुसी सिर्जना गराउँछन् । पञ्चशीलमा प्राणी हत्या नगर्ने, चोरी नगर्ने, दुराचार नगर्ने, झुटो नबोल्ने र मदिरा सेवन नगर्ने । यात्रा खुसीका लेखक ‘असल बानी सुखी जीवन’ शीर्षकमा पञ्चशीलका पाँच शीलप्रति संवेदनशील नभएको महसुस हुन्छ ।
‘मेरा बच्चाबच्ची मेरा प्रेरणा’ शीर्षकमा जेठा छोराको न्वारनको रोचक प्रसङ्ग पढ्न पाइन्छ । दक्षिणा कम भएर गुरुले छोराको नामाकरण गर्न आनाकानी गरेको कुरा लेखकले उल्लेख गर्दा पाठकहरूको मनलाई छुन्छ । ‘गुरुले यो रकमले पुग्दैन, म बच्चाको नाम खिचेर लैजान्छु आदि इत्यादि भन्नुभयो’ (पृ. ८६) । गुरुको यस भनाइले जी.सी. दम्पत्तिलाई तनाव त बनायो नै, चिन्ता र पीडा पनि थप्यो । वैकल्पिक व्यवस्था गरेर छोराको न्वारन कार्य सम्पादन गरेका कुरा लेखकले नहिच्किचाएर भनेका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ ले जी.सी. दम्पत्तिलाई पनि आक्रमण गरी हायलकायल बनाएको कुरा ‘कोभिडअघि र पछिका अवसर’ शीर्षकमा पढ्न पाइन्छ । विष्णु जी.सी. लाई भन्दा विमला जी.सी. लाई कोभिडले बढी गम्भीर बनाएको रहेछ । ‘२०७८ जेठ ८ गते विमलालाई अकस्मात १०४ डिग्री ज्वरो आयो । शरीर दुख्नेलगायत अन्य कोभिडका लक्षण पनि देखिए’ (पृ.९५) । घरमा भएका दुवै जनालाई काभिड–१९ ले ग्रस्त बनाएपछि जेठ १३ गते एम्बुलेन्समार्फत सशस्त्र प्रहरी अस्पताल बलम्बु जाँदाका अवस्था निकै मर्मस्पर्शी छ । लेखकले ‘मन एक अन्त्यहीन यात्रा’ शीर्षकमा मनका सम्बन्धमा दार्शनिक चिन्तन गरेका छन् । उनी भन्छन्ः ‘दुई अक्षरले बनेको मन शब्दको अर्थ गहन र व्यापक छ’ (पृ. १०६) ।
मनका सम्बन्धमा विचार मन्थन गर्दै यही शीर्षकमा लेखक भन्छन्ः ‘मन सामान्यतया मानिसको आन्तरिक चेतना, सोचाइ, भावना र आत्मबोधको केन्द्रविन्दु हो । मन मानिसको जीवनको केन्द्रविन्दु हो जहाँबाट व्यक्तिमा विचार, निर्णय, व्यवहार र भावनाको जन्म हुन्छ’ (पृ. १०६) ।
लेखकले ‘मन विचारको स्रोत हो’ भन्छन् (पृ. ८७) । ‘मन के हो ?’ ‘मन कहाँ हुन्छ त ?’ यस्ता प्रश्नको जवाफ वैज्ञानिक हिसाबले मात्र खोज्न सकिँदैन । विज्ञानले त सोच, भावना आदिलाई मन भनिदिन्छ, मस्तिष्कका न्युरोनहरूमार्फत सञ्चालन हुन्छ भनिदिन्छ । तर, मनको स्थान शरीरभित्र कहाँ छ भनेर भन्न सक्दैन । मन मस्तिष्कमा छ भन्दा शरीर विज्ञानले विभिन्न उपकरण तथा यन्त्र प्रयोग गरेर मस्तिष्कको यहीँनेर छ भनेर भन्न सक्दैन । मन छुट्टै शरीरको भाग हैन, मस्तिष्कमा कार्यरत चेतन शक्ति हो भन्छ ।
दार्शनिक दृष्टिले हेर्दा मन आत्मा र शरीरबिचको सेतु हो भनिन्छ । यो मानिसको आत्मिक चेतनाको हिस्सा हो भन्ने गरिन्छ । मनलाई देख्न सकिँदैन, तर अनुभव गर्न सकिन्छ । मन चलयामान छ, कहिले खुसी हुन्छ, कहिले दुःखी । मन शक्तिशाली छ, तर नियन्त्रण गर्न सकिने अवस्थामा पनि छ । दार्शनिक तथा आध्यात्मिक दृष्टिकोणबाट हेर्दा मनलाई साधना, ध्यान, योग, सकारात्मक सोचबाट नियन्त्रण गर्न र शान्त बनाउन सकिन्छ । मनले जसरी सोचिन्छ, मानिसको जीवन पनि त्यस्तै बन्छ । मन सोच्ने, महसुस गर्ने, देख्न नसकिने तर महसुस गर्न सकिने विषय हो ।
लेखक भन्छन्, ‘जहाँसम्म मनको कुरा छ यो सोचाइ (मस्तिष्क) र संवेदन (मुटु) को संयोजनबाट क्रियाशील हुन पुग्दछ’ (पृ. १०८) । लेखकको यस भनाइमा लेखकीय दृष्टिकोण होला । यसमा लेखकका दृष्टिकोणसँग असहमत हुन पनि सकिएला । यो दार्शनिक र आत्मिक किसिमको प्रश्न पनि हुन पुग्ला । मानिसहरू मन कहाँ छ भन्दा स्वाभाविक रूपमा मुटु रहने छातीतिर देखाउँछन् । वैज्ञानिक हिसाबले यो सत्य होइन, मन त मस्तिष्कको चेतन शक्ति हो । मस्तिष्क शरीरको जैविक अङ्ग हो, मन मानसिक तथा आत्मिक शक्ति हो । मस्तिष्कले सूचना पाएपछि मनको चेतन शक्तिले महसुस गर्छ, त्यसको प्रतिक्रिया देखाउँछ मुटुलगायत शरीरका अङ्ग प्रत्यङ्गले । मन र मस्तिष्क एकअर्काका पूरक हुन् । मस्तिष्क नहुँदो हो त सोच्न सकिँदैनथ्यो, मन नहुँदो हो त भावना र चेतनाका कुरा आउँदैनथे । मनका संकेतहरूलाई मस्तिष्कले जैविक रूपमा काम कार्यान्वयन गर्ने हो । नराम्रो कुरा सुनेपछि मन डराउँछ वा रिसाउँछ, मस्तिष्कले तुरुन्तै शरीरमा रगतको गति बढाउँछ, शरीरलाई सतर्क बनाउँछ । मन विचार उत्पन्न गर्ने शक्ति हो, मस्तिष्क त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने शक्ति हो । जब मन आत्तिन्छ, मस्तिष्कले आदेशमा रक्तप्रवाह बढ्छ, मुटुको धड्कनको गति बढ्छ, स्वासप्रस्वास बढ्छ । यसको अनुभूति मुटुले गर्छ । त्यसैले मानिसले मन मुटुमा छ भन्ने सोच्ने गर्छन् ।
यस पुस्तकमा लेखक पर्यटन मन्त्रालय र विभागमा काम गर्ने सरकारी कर्मचारी भएका हुनाले ‘पर्यटन विकासका सम्भावना’ शीर्षकमा निबन्ध लेखेका छन् । आफू लामो समयसम्म काम गरेको क्षेत्र भएकाले लेखकको मनले नलेखिरहन मानेन । नेपालमा पर्यटन विकासको इतिहासदेखि वर्तमानसम्मको अवस्थालाई यस निबन्धमा केलाइएको छ ।
‘यात्रा खुसीको’ कुनै गन्तव्य पुग्ने यात्रा होइन । न त यात्रा आफैँले खुसी दिन्छ । जीवन आफैँ यात्रा हो । यात्रा त निरन्तर चलिरहने प्रक्रिया हो । खुसी त वर्षाद्को बेला आकाशबाट झर्ने असिना जस्तै हो, धर्ती र आकाशबिचमा ठोस हुन्छ, धर्तीमा झरेपछि आफैँ बिलाएर जान्छ । तर, धर्तीलाई शीतलता दिन्छ, चिसोपना बनाएर छाड्छ । वास्तविक खुसी त बिहानीको शीतको थोपा जस्तो हो जुन घामको बिहानी किरणसँगै बिलाएर जान्छ । खुसी लामो समयसम्म रहन पनि सक्दैन । जुन मानिस आफ्नो मनलाई सन्तुलन राख्न सक्छ, उसले नै वास्तवमा साँचो खुसी प्राप्त गर्छ । मानिसका जीवनमा सुख र दुःख आउँछन्, सुखमा पनि दुःखमा पनि जुन मानिस मात्तिदैँन, आत्तिदैँन, उसले मात्र खुसीको यात्रामा सफलतासाथ अगाडि बढ्छ ।
खुसी हुनु र खुसी बन्नु फरक फरक कुरा हुन् जस्तो देख्नु र हेर्नुबिच हुने गर्छ । खुसी हुन्छु भनेर बनावटी खुसी हुन सकिँदैन । खुसी बन्नका लागि कारण पनि चाहिन्छ नि । भित्तामा टाँसिएको सुन्दर तस्बिरले सबैलाई खुसी दिन सक्छ, तस्बिरले सबैको प्रशंसा पाउन सक्त । तर, भित्तामा झुण्डिएको तस्बिरको बोझ त किलालाई हुन्छ नि । किला बिना तस्बिर झुण्डिन सक्दैन । त्यस्तै, खुसी हुनका लागि वा बन्नका लागि केही न केही कारण र आधार चाहिन्छ । कसैले खुसी कोसेलीको रूपमा पठाउन पनि सकिँदैन । कसैले खुसी बन भनेर पनि बन्न सकिँदैन । खुसी हुनका लागि केही वैज्ञानिक आधार छ, त्यो हो हर्मोनको खेल ।
खुसी त्यत्तिकै आउँदैन । “खुसी हुन्छु” भनेर हाँस्दैमा खुसी हुन सकिँदैन । “खुसी हुन्छु, आनन्दित हुन्छु, योग गर्छु, ध्यान गर्छु” भनेर खुसी प्राप्त हुँदैन । यात्रामा निस्कदैमा खुसी प्राप्त हुँदैन । खुसीका आफ्नै अवयव हुन्छन् । खुसी शरीर विज्ञानसँग सम्बन्धित कुरा पनि हो । जबसम्म शरीरभित्र खुसीका हर्मोन निस्किदैन, तबसम्म खुसी हुन सकिँदैन ।
मनलाई खुसी राख्ने हर्मोनहरूलाई खुसी (हाप्पी) हर्मोन भनिन्छ । सफलता, प्रशंसा वा केही राम्रो पाउँदा उन्पन्न हुने हर्मन डोपामाइन हो । यसले खुसी भएको अनुभूति दिन्छ । सेरोटोनिक अर्को खुसी हर्मोन हो जसले राम्रो निद्रा, आत्मसन्तुष्टि र मनको स्थिति (मुड) सकारात्मक बनाउँछ । अक्सोटोनिक हर्मोन जसलाई प्रेम (लभ) हर्मोन पनि भनिन्छ, यसले माया, विश्वास र सम्बन्धमा निकटता बढाउँछ । अर्को खुसी हर्मोन हो इन्डोर्फिन्स् । यस हर्मोनलाई आनन्दायक र सुखदायक हर्मोन पनि भनिन्छ । यसले मानिसलाई सुखद र सन्तोषको अनुभूति गराउँछ । शरीरमा हर्मोनको निष्काशन र सन्तुलन भएन भने खुसी प्राप्त हुँदैन । त्यसैले यस्ता हर्मोनहरू व्यायाम, ध्यान, आफन्तसँगको निकटता, अँगालो हाल्दा, माया गर्दा, हाँस्दा, नाँच्दा प्राप्त हुन्छ । यस्तै, आफ्ना नजिकका मानिससँग यात्रा गर्दा, पुराना साथीसंगी भेट्दा, खेल खेल्दा, सिनेमा हेर्दा प्राप्त हुन्छ । हर्मोन शरीर विज्ञानसँग सम्बन्धित भए पनि मानिसको व्यवहारले यसलाई सन्तुलन र थप निष्काशन गर्न भने सकिन्छ । यसबाट हामी खुसी हुन सक्छौँ ।
स्वाभाविक रूपमा कपाल फुल्नु प्रौढताको सङ्केत हो, परिपक्वताको सङ्केत हो । अहिले त किशोवयमा नै कपाल फुल्न थालेको छ, यसमा परिपक्वता देखिँदैन । बाँस फुलेको राम्रो मानिँदैन, मानिसहरू पनि आफ्नो कपाल फुलेको राम्रो मान्दैनन् । त्यसैले त कृतिम रङ्ग लगाउँछन् । बाँस फुल्नु र मखमली, सयपत्री फुल फुल्नु समान होइन । हुनतः बाँस फुलेपछि मर्दै जान्छ, सयमत्री, मखमली फूल फुलेपछि बिस्तारै मर्दै जान्छन् । विचारणीय कुरा बाँस बहुवर्षीय वनस्पति हो, मखमली, सयपत्री फूल एक मौसमका लागि मात्र हो । मानिसको कपाल फुलेपछि खुसीका क्षणहरू कम हुँदै जान्छन् विविध कारणहरूले ।
खेतीपाती गर्न खनजोत गर्नुपर्छ, झारपात उम्रन खनजोत गर्नु पर्दैन । खेतीपाती नगरेपछि आफैँ उम्रन्छ झारपात । त्यस्तै, दुःखका लागि थप प्रयत्न गर्नु पर्दैन । खुसी हुनका लागि भने थप प्रयत्न आवश्यक छ, व्यक्तिका अन्तःस्करणबाट नै प्रयत्न हुनुपर्छ । साना साना कुरामा खुसी हुन सक्ने परिस्थिति बनाएर मनस्थिति परिवर्तन गर्न सके खुसी टाढाको विषय हुँदैन । खुसी महङ्गो पनि छैन । पाउजुभन्दा निधारमा लगाउने टीका सस्तो हुन्छ । महङ्गो हुँदैमा पाउजुले निधारमा स्थान त पाउँदैननि ! सस्तो हुँदैमा टीकालाई गोडामा त लगाइदैन नि ! पश्चिमाभन्दा पूर्वीयाहरू बढी खुसी छन् भन्ने गरिन्थ्यो । पश्चिमाहरूले ज्ञान बाँडे । सुकरात, प्लेटो, अरिस्टोटल आदिले ज्ञान बाँडे, ज्ञान भएपछि सबै थोक हुन्छ भने । उनीहरूमा हृदयका कुरालाई स्थान दिएनन्, करुणालाई वास्ता नै गरेनन्, चरित्रमा जोड दिएनन् । त्यसैले खुसी हुन सकेनन् । पूर्वीयाहरूले हृदय कुरा बाँडे, अर्थात करुणा बाँडे, चरित्र बाँडे, त्यसपछि मात्र ज्ञान बाँडे । त्यसैले खुसी हुन सिके । तर, वर्तमान समयमा हामी ज्ञानको पछि मात्र लाग्यौँ, करुणा, चरित्र र हृदयको पछि लागेनौँ, अनि खुसी हुन सकेनौँ । खुसी हुनका लागि ज्ञानका साथसाथै करुणा, चरित्र र हृदयका कुरालाई स्थान दिनुपर्छ ।

वास्तवमा लेखकले आफ्ना पाठक पहिचान गर्नुपर्ने हुन्छ । सर्वप्रथम लेखकका पूर्वसर्त पाठक को हुन् ? भावक को हुन् ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने हुन्छ । जब स्रष्टा हृदयका कुरा भोक्ता हृदयसँग मेल खान पुग्छ, तब पुस्तकको गहनता बढ्न जान्छ । पाठक लेखकसँग सँगसँगै हिड्न पुग्छ । पाठकलाई लेखकका नितान्त निजी र वैयक्तिक कुरामा खासै चासो हुँदैन, पाठकलाई त लेखकले कसरी सानाभन्दा साना विषयवस्तुलाई कसरी प्रस्तुत गरेको छ भन्ने कुराको चासो हुन्छ, यसको मतलब विषयवस्तुको प्रस्तुतीकरणसँगै पाठक हिँडिरहेको हुन्छ । जब लेखकका अनुभूतिसँग पाठकको अनुभूति मेल खान पुग्छ, तब पाठक एकपछि अर्को विषय पढ्न आतुर हुन पुग्छ । यसप्रति लेखक चनाखो हुनैपर्छ ।
कृति यात्रासंस्मरण/निबन्ध भनिए पनि यात्रा संस्मरणको लेखन कालक्रमिक छैन । समयक्रममा उल्लेख हुनुपर्नेमा कुनै अगाडि समयका पछाडि र पछाडि समयमा अगाडि राखिएका छन् । यसमा लेखकको चयनमुखी प्रवृत्ति देखिन्छ । एउटै पुस्तकमा नेपाली भाषा र अङ्ग्रेजी भाषाका लेख राख्न लेखकलाई किन आवश्यक भएको होला भनेर पाठकले पटकपटक सोच्न बाध्य हुन्छ । फेरि, नेपाली पाठक सबैलाई अङ्ग्रेजी भाषाका लेख बोधगम्य हुन सक्छन् भन्ने पनि हुँदैन ।
यो यात्रा संस्मरण/निबन्ध सङ्ग्रह हो । यो कृति कुनै शोध प्रबन्ध होइन, न त विश्वविद्यालयमा बुझाउने टम पेपर नै हो, न त सेमिनार पेपर नै हो । त्यसैले, यस पुस्तकमा सिकिएका पाठदेखि, सन्दर्भ सामग्री र References आवश्यक देखिँदैन र हुँदैन पनि ।
यस पुस्तकमा चारओटा अङ्ग्रेजी भाषाका निबन्ध किन राखिए भन्ने प्रश्न अनुत्तरित नै छ । अङ्ग्रेजी भाषाका निबन्ध आम पाठकका लागि होइनन् जस्तो लाग्छ ।
पुस्तकको भाषा सरल छ, बोधगम्य छ । अनुभूतिजन्य विषयवस्तुको प्रस्तुतीकरणमा लेखक सफल छन् । लेखकका आगामी कृतिहरू पढ्न पाउने अपेक्षासहित लेखकलाई बधाई तथा शुभकामना ।
कृतिः यात्रा खुसीको
लेखकः डा. विष्णुबहादुर जी.सी.
विधाः यात्रासंस्मरण/निबन्ध
प्रकाशकः सुन्दर स्वदेश पब्लिकेसन
संस्करणः पहिलो (२०८२)
पृष्ठः १७०
मूल्यः रु. ४५०/-
प्रतिक्रिया