
रौतहट
छठ पर्वको अवसर पारेर रौतहटमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । नवसर्जक साहित्य चौतारी नेपाल, जिला समिति रौतहटले बुधवार रौतहटको ग्रामीण क्षेत्रमा पहिलोपटक साहित्यिक–सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
रौतहटको यमुनामाई गाउँपालिका २ भेडियाहीस्थित विवाह मण्डपमा लोक महापर्व छठको अवसरमा जनप्रतिनिधि, साहित्यकार, संस्कृतिकर्मी, शिक्षक, बुद्धिजीवी, वकिल तथा युवा विद्यार्थीको सहभागितामा शुभकामना आदानप्रदान, रचना वाचन तथा नृत्य र गीत गायन प्रस्तुत गर्दै नवसर्जकले पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।
चौतारीका जिल्ला अध्यक्ष राजन साह बनियाँको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष अधिवक्ता सीताराम यादवले गाउँबाट नाटक खेल्ने संस्कृति हराएकोमा चिन्ता व्यक्त गर्दै संस्कृति बचाउन साहित्यले ठुलो भूमिका खेलेको स्पष्ट पारेका छन् । वडाध्यक्ष यादवले गाउँमा पहिलोपटक भएको साहित्यिक कार्यक्रमबाट आफूहरुले धेरै जानकारी पाएको र साहित्यिक जागरण ल्याउन ठुलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
साहित्यकार सञ्जय साह मित्रले छठ पबनीको उत्पत्तिको बारेमा बताउँदै साहित्य सिर्जनाले मानिसलाई अझ बढी ज्ञानवान बनाउन उत्प्रेरित गर्ने बताएका छन् । कार्यक्रममा बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुन दयाल श्रीकृष्ण, नवसर्जक साहित्य चौतारी नेपालको मधेश प्रदेश अध्यक्ष अभिजित राम, साहित्यकारहरु रेणु गुप्ता, रुपेश रोदन, सञ्जय महतो राजले समसामयिक विषयमा रचना प्रस्तुत गर्दै साहित्य र संस्कृतिको महत्वबारे प्रकाश पारेका छन् । यसै गरी अधिवक्ता राघो यादव, समाजसेवी सुनील शर्मा, प्रधानाध्यापक वीरेन्द्र यादवले पनि भाषा, साहित्य र संस्कृतिको महत्वबारे प्रकाश पार्दै रचना प्रस्तुत गरेका छन् ।
कार्यक्रममा बालबालिकाले विभिन्न भाषाका गीतमा सांस्कृतिक नृत्य प्रस्तुत गरेका छन् । डेढ सयभन्दा बढी मानिसको सहभागितामा भएको कार्यक्रमका सभापति बनियाँले आगामी दिनमा अझ व्यवस्थित रुपमा कार्यक्रम गर्ने हौसला प्राप्त भएको बताएका छन् । नवसर्जकले ग्रामीण क्षेत्रमा साहित्यिक जागरणको नयाँ अभियान आरम्भ गरेको बनियाँको प्रतिक्रिया रहेको छ ।
प्रतिक्रिया