चिन्ता

डा. गणेशप्रसाद भट्टराई २०८२ कार्तिक ५ गते २२:०२ मा प्रकाशित

(निबन्ध)

मानिस इच्छापूर्ति नहुँदा चिन्तित हुन्छ । इच्छापूर्तिको चाहनाले पनि चिन्तित हुन्छ । चिन्ता सकारात्मक हुँदैन । यसले मानिसको मानसिक र शारीरिक स्वास्थ्य कमजोर बनाउँछ ।

चिन्ताले मानिसका सुख र शान्ति छिन्छ । यसले दिमागमा रहेका सोचाइलाई असामान्य बनाउँछ र सामान्य रूपले काम गर्न नसक्ने बनाउँछ । यसले मानिसलाई भित्रबाट कमजोर बनाउँछ । चिन्ताको कारण समस्या हो । समस्याको समाधान नहुँदा मानिस चिन्तित हुन्छ । समाधान हुने कुरामा समाधान ननिस्केला कि भनेर चिन्ता गर्नु व्यर्थ छ । समाधान नै नहुने भए किन चिन्ता गर्ने ? समाधानकेन्द्री लगातार सोच पनि चिन्ताकै कारण हो । चिन्ताले व्यक्तिको आत्मविश्वास तोड्छ र सोचको निरन्तरताले पनि समस्या समाधान गर्दैन।

चिताले शरीर जलाउँछ तर चिन्ताले व्यक्तिलाई थकाउँछ र शरीर र मन जलाउँछ । चिन्ताको असर मन र स्वास्थ्यमा पर्छ । चिन्ताका मुख्य कारण निद्रा, टाउको दुखाइ, उच्च रक्तचाप र थकान हुन् । चिन्ता आफ्नो बसमा छैन । आफूसँग नभएका कुरा आफ्नो नियन्त्रणमा पनि हुँदैनन् । मानिसले त आफ्नो बसमा भएका कुराको मात्र खोजी गर्नुपर्छ । वर्तमान हाम्रो बसमा छ यसैले वर्तमानमा ध्यान दिई भविष्यको सोच राखे चिन्ता कम हुन्छ । वर्तमान राम्रो भए भविष्य राम्रो हुन्छ । आज स्वस्थकर बानी, योग र ध्यान अपनाई स्वस्थ जीवन जिउन सके भविष्य स्वस्थ हुन्छ । मानिसले विचारको नियन्त्रण गर्नु आवश्यक छ । केही गर्न नसक्दा चिन्ता बढ्छ । व्यस्तता चिन्ता कम गर्ने उपाय हो । आफूलाई व्यस्त राख्न किताब पढ्न सकिन्छ । सामाजिक सञ्जालमा देखिने अरुको सफलतालेआफ्नो चिन्ता बढाउँछ । व्यक्तिको सफलताको समय अलग अलग हुन्छ । सफलताको डरले पनि चिन्ता बढाउँछ । असफल हुँदा के हुन्छ र ? संसारमा धेरै असफल भएका छन् । चिन्तामा डुबेर हार्नेले केही पाउँदैन, असफलता सफतलाको सिकाइ हो । सफलताको डर चाहिँ बिरामीको कारण हो । बरु कृतज्ञताले चिन्ता हटाउँछ । चिन्ता हटाउन आफूसँग भएकामा चित्त बुझाउनुपर्छ । क्षमताको याद गर्नुपर्छ । विश्वास हतियार हो । विश्वासले जीवन दिन्छ ।

मानिसको आधा जिन्दगी अरुका लागि हो तर हामी जसको परवाह गर्छौँ उसले हाम्रो परवाह गर्दैन । हाम्रो विश्वासमा उसले धोका दिन्छ । बरु सामनेवालालाई हेरेर, अन्तर्दष्टिलाई बुझेर आफ्नो चिन्ताउपर शान्तिको कारण खोज्न सकिन्छ । चिन्ताहीन हुन अरूको छायामा जिउने होइन, आफ्नो प्रकाशमा बाँच्नुपर्छ । फोहोरको बाटो पछ्याउने सोच चिन्ताको कारण हो । धोका दिनेलाई सम्झनु आवश्यक छैन । यसले त आफूलाई भित्रदेखि खोक्रो बनाउँछ ।

चोट दिनेलाई सम्झनुभन्दा चोटलाई कति बढाउने भन्ने सोच्नुपर्छ। चोट बढाउने वा निके पार्ने आफ्नै बसमा छ । धोकेवाझलाई सम्झनु ऊर्जा सकेर यात्रा रोक्नु हो । स्वस्थ शरीर मात्र गन्तव्यमा पुग्न सक्छ । बिरामी यात्राको जहर हो, गन्तव्यमा पुर्‍याउँदैन । स्वस्थ मनको जन्मका लागि अरुलाई गाली गर्नुभन्दा आफ्नो भलाइमा लाग्नुपर्छ । बोझमा होइन, हल्का भएर बाँच्नुपर्छ । छिमेकीले दैलामा फालेको फोहार सजाउने विषय होइन । पैसा, घर, नाता, गौरव बाहिरी वस्तु हुन्, नासिन्छन् । असली अस्तित्व मर्दैन । यसमा कोही सोच्दैनन्, सोच्नुपर्छ।

बाहिरी संसार आफ्नो बसमा छैन । आफूलाई सुरक्षित राख्न गाली आफूभित्र पसाउनुहुन्न । आगाले काठलाई जलाउँछ पपत्थरलाई जलाउँदैन । गालीको अगि पत्थर बन्न सक्नु असली जीवन चालक बन्नु हो । आफ्नो ऊर्जा अरुमा खर्च गर्नु व्यर्थ छ, आफूभित्रको प्रकाशको याद गर्नुपर्छ । अमृतलाई विषले जित्छ । आफूले इमान बचाउन सक्नुपर्छ । यसो भए गालीले छुँदैन । प्रकाशमा ताप हुन्छ । ताप एकतृत भए प्रकाशले आगो लगाउँछ । थकान केन्द्रित भए पहाड झुक्छ तर दिमाग अरुको
छायामा पर्नु हुँदैन । ध्यान फूलमा भए बास्ना देखिन्छ, प्रकाशमा भए एज्यालो देखिन्छ, आफूमा भए भित्र देखिन्छ, अरुमा भए चिन्ता बढ्छ । हिलोमा गन्ध हुन्छ तर त्यहीँ फुल्ने फूलमा बास्ना हर्हराउँछ । जीवनमा उज्यालो, अँध्यारो, प्यार, घृणा आइरहन्छन् । यसैले चोटमा होइन भलाइमा ध्यान दिनुपर्छ । अरुको आलोचना फजुल भोगाइ हो । असल सोच सम्पदा हो । अरुको कुभलो सोच पशुत्वको विकास हो ।

संसारको किमती चिज समय हो । सस्तो चिज अरुलाई हेला गर्नु हो, बेमतलबको बात हो । कसैको रिस र घृणा गर्नु, अरुको कुरा काट्नु आफ्नो समय नाश गर्नु हो । आफूले राम्रो ठानेको र सोचेको व्यक्तिले आफ्नो मन चिनेको पनि हुँदैन । ऊर्जाको सदुपयोग गर्ने समयको मालिक हो । सम न्यायाधीश हो, कसैको पक्ष लिँदैन । सही ठाउँमा सफलता प्राप्त हुन्छ । सफल सपनामा समय खर्चने महान् हुन्छन् । समयको सदुपयोग शत्रुसँग बदला लिने तरिका हो । अरुको गाली हावामा रहोस्, मनमा होइन । गाली भित्र पेस हानि हुन्छ । तिर छातीमा लागे चोट लाग्छ तर भुइँमा भाँचिए त्यसको नाश हुन्छ ।

दुनियाले चोट दिँदैन । व्यक्तिले दिने प्रतिक्रिया चोटको कारक हो । अपमानलाई बाहिर फाल्न सक्नुपर्छ । अपमानको अर्थ खोजे चिन्ता बढ्छ । गाली दिने थाक्छ, धोका दिने फस्छ, आफू शान्त रहन सक्नुपर्छ । शत्रुले विष दिन्छ, पिउने वा नपिउने आफ्नो बसमा छ । मनले भन्छ अपमानको प्रतिक्रिया नदेऊ । अपमान प्रवेश गर्ने ढोका बन्द गर । जिन्दगी बदल्न प्रतिक्रियालाई बसमा राख । षड्यन्त्रलाई शान्तिले जित्छ । धोका दिने र अपमान गर्ने भन्दा भलाइको सोच महान् छ । आफूभित्र प्रकाश र अँध्यारो दुवै छ । जीवन छोटो छ, प्रकाशले आफूलाई बचाएर उचाइमा लान्छ । अन्धकारले चिन्ताको गर्तमा डुबाउँछ । आफूलाई असल बनाउने कार्यमा ऊर्जाको खर्च गर्नु बुद्धिमानी हो । चाहेजस्तो बन्न चेतनाको बिज रोप्नुपर्छ । आत्मीय प्रेम इच्छाको प्रतिविम्ब हो । गहिरो सोच मानव अस्तित्व हो । । महान् बन्न असल चाहनालाई धड्कन बनाउनुपर्छ । विचार वास्तविकताको बीज हो । सफलता संयोग हो । विचार रोगी भए भविष्य रोगी बन्छ । कठिनता चुनौती र ऊर्जा हो, बुझ्न सक्नुपर्छ । यसले यात्राको आकार दिन्छ । हीन विचारले जीवनलाई गति दिँदैन, साहसले गतिलाई दुगुना बनाउँछ ।

प्रकाशको जन्म अँध्यारोको अन्त्य हो । विचार कर्म र भाग्य निर्माता हो । । नकारात्मक विचार छोडेर सकारात्मक विचारको पोषण गर्नु शरीर र मनबाट चिन्ता हटाउनु हो । विचारको उचाइ र गहिराइ सफलता र शान्तिको कारक हो । चाहना जीवन हो, सोच मात्र होइन । मरुभूमिका हिँड्नेलाई\ रुखको छहारी होइन पानी चाहिन्छ । चिन्ताहीन मानिसले समयको आवश्यकताको खोज गर्नुपर्छ । चिन्ता मन र शरीरको शत्रु हो । चिन्ताको स्वागत शान्तिको बहिर्गमन हो । म चिन्ताको दुरी बढाउन चाहन्छु ।

प्रतिक्रिया