
टोरोन्टो, क्यानेडियन नेवाः गुठिको आयोजनामा नेपालभाषामा लेखिएका दुईवटा पुस्तकको हालै टोरोन्टो स्थित नमस्ते पाभिलियन रेष्टुराँमा बिमोचन कार्यक्रम सम्पन्न भएको छ। साहित्यकार एबम नेपाल प्रज्ञा-प्रतिष्ठानका मातृभाषा, कोश तथा ब्याकरण बिभाग प्रमुख त्रैलोक्यमान बनेपालीद्वारा लिखित ” मुस्वां चिबाखंया सामाजिक यथार्थबाद व मनोबैज्ञानिकबादया अध्ययन” कृतिको क्यानेडियन नेवाःगुठिका अध्यक्ष उत्तम माकःजुले र कबियत्री, कथाकार तथा समालोचक सुमा श्रेष्ठद्वारा लिखित समिक्षात्मक टिप्पणीमूलक कृति “पाप परिमोचन” कृतिको हळिं नेवाः दबूका केन्द्रिय उपाध्यक्ष एबम गुठिका प्रथम उपाध्यक्ष बिमलमान श्रेष्ठले बिमोचन गर्नु भएको थियो।

बिमोचन पश्चात बोल्नुहुदै गुठिका अध्यक्ष उत्तम माकःजुले साहित्य समाजको ऐना भएको बताउनु हुदै बहुप्रतिभाशाली ब्यक्तित्व त्रैलोक्यमान बनेपालीले आफ्ना बिभिन्न कृतिहरुको माध्यमबाट सामाजिक चेतना ल्याउने क्रममा बिमोचित पुस्तकमा समाजमा बिद्यमान सामाजिक यथार्थ र मनोबैज्ञानिक पक्षलाई समालोचत्नात्मक रुपमा ब्याख्या गर्न सफल भएको बताउनु भयो। साथै उहाँले नेपालबाट आउनु भएर क्यानेडियन नेवाः गुठिलाई सम्झेर आफ्नो कृतिहरु बिमोचन गर्ने मौका दिनु भएकोमा श्रस्ठा दम्पतिप्रति हार्दिक आभार ब्यक्त गर्नुको साथै भबिष्यमा पनि नयाँ कृतिहरु पढन पाइनेअपेक्षा गर्नु भयो।

त्यस्तै गरि अर्का बिमोचन कर्ता हळिं नेवाः दबूका केन्द्रिय उपाध्यक्ष एबम गुठिका प्रथम उपाध्यक्ष बिमलमान श्रेष्ठले नेवाः सस्कृति, परम्परा भाषाको संबर्द्दनको साथै नेपालभाषामा लिखित यस पुस्तक बिमोचनको कार्यले सबैमा साहित्यप्रति अनुराग सीर्जना हुने आशा गर्नु हुदै अतिथि श्रस्ठाहरुको साहित्यिक निरन्तरताको कामना गर्नु भयो।

सो कार्यक्रममा बोल्नु हुदै कृतिकार तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका मातृभाषा, कोश तथा ब्याकरण बिभाग प्रमुख त्रैलोक्यमान बनेपालीले बिस्वमा प्रत्येक क्षण कुनै न कुनै मातृभाषा लोपहुने क्रम निरन्तर भैरहेको अबस्थामा सबैले आ आफ्नो मातृभाषाको संरक्षणकोलागि कदम चाल्नु पर्ने अबस्था आएको बताउदै आफ्नो यस कृतिमा अग्रज साहित्यकार धुस्वां सायमिका कथाहरुमा रहेका सामाजिक यथार्थता र मनोबैज्ञानिक पक्षलाई समालोचनात्मक रुपमा बिबेचना गर्ने जमर्को गरेको बताउनु भयो। साथै उहाँले आफ्नो कृति गुठि मार्फत क्यानडाको टोरोन्टो महानगरीमा बिमोचनगर्ने अबसरको लागि गुठि प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्नु भयो।

अर्का बक्ता “पापपरिमोचन” पुस्तकका लेखिका सुमा श्रेष्ठले आज बिमोचित यो कृतिमा आफूले बिभिन्न स्रोतबाट प्राप्त बिबरणको आधारमा काठमाण्डौ उपत्यका भित्रका तत्कालिन समाजमा रहेका सामाजिक, धार्मिक तथा सास्कृतिक पक्षबारे समिक्षात्मक टिप्पणी को रुपमा प्रस्तुत गरेको बताउदै नेपालबाट टाढा क्यानडामा आएर आफ्नो कृति बिमोचन गर्न पाएकोमा आफूलाई गौरब महशुस भएको बताउनु भयो। साथै उहाँले आफ्ना पुराना गुरुहरुको उपस्थितिमा आफ्नो पुस्तक बिमोचन गर्ने गौरबमय अबसरको लागि क्यानेडियन नेवाःगुठि प्रति हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो।

कार्यक्रममा अतिथि बक्ता प्रसिद्द नाट्यकर्मि डा. गोबिन्द सिंह रावतले समाजमा रहेका बिसंगति बारे प्रकाशपार्न साहित्यको अहम भूमिका रहेको र बिमोचित कृतिहरुमापनि श्रस्ठाहरुले समाजपयोगि शिक्षा संलग्न गरेको नाताले यस्तो कृति नेपालीभाषामा पनि प्रकाशन हुनुपर्ने कुरामा जोड दिनु भयो। साथै उहाँले क्यानडामा नेवाःसस्कृति, भाषाको प्रबर्द्दन र संबर्द्दनमा क्यानेडियन नेवाःगुठिको कार्य प्रशंसनिय रहेको बताउदै आफ्नो भाषा संरक्षणको लागि प्रत्यकले आफ्नो परिवारमा आफ्नै भाषाबाट कुराकानी गर्न अनुरोध गर्नु भयो। सोहि कार्यक्रममा गुठिका कार्यसमिति सदश्य नरेश ताम्राकारले अतिथिश्रस्ठा द्वयलाई नेपालभाषाको कृति बिमोचन भएकोमा बधाई दिदै भाषा, कला, संस्कृति लोपभएमा समुदायनै लोप हुनसक्ने बताउनु भयो।

कार्यक्रमको अन्त्यमा गुठिका महा सचिब डा. प्रज्वल प्रधानले नेपालबाट आउनु भएर आफ्नो कृतिहरुको बिमोचन गर्ने मौका गुठिलाई दिनु भएकोमा श्रस्ठा द्वयलाई हार्दिक धन्यबाद दिनुको साथै कार्यक्रम सफल पार्न सहयोगगर्नु हुने अन्य अतिथि बर्गलाई पनि हार्दिक धन्यबाद दिनु भयो। साथै उहाँले कार्यक्रमको शुरुमा बिमोचित कृतिका श्रस्ठाहरुको परिचय पनि दिनु भएको थियो।

सो कार्यक्रममा बिमोचित कृतिका स्रस्ताहरुले बिमोचन पश्चात आआफ्नो कृतिका केहि अंशहरु बाचन गर्नु भएको थियो भने उहाँहरुलाई नेपाली टोपि लगाएर तथा खास्टो ओढाएर स्वागत गर्नु साथै धन्यबाद पत्र पनि प्रदान गरिएको थियो।
प्रतिक्रिया