विश्वभरका नेपाली बालबालिकाहरू एउटै मञ्चमा जोडिँदै

इनेप्लिज २०८२ असोज २५ गते १९:५७ मा प्रकाशित

भाषा नै मानिसको पहिचान हो । भाषा मानिसको भावना र विचार विनिमय गर्ने साधनमात्र हैन । भाषा भित्र साहित्य, संस्कृति र संस्कार रहेको हुन्छ । भाषा भित्र देशको सम्पदा लुकेको हुन्छ । भाषा लोप भयो भने मानिसको पहिचान लोप भएर जानेछ । कुनै जातिको पहिचान मेटाउने हो भने उसको भाषामाथ प्रतिबन्ध लगाउनु पर्छ भन्दै अमेरिका क्यानडा र कतिपय युरोपीय मुलुकमा पनि त्यहाँका जनजातिहरूको भाषामा आक्रमण गरिएको थियो । कति भाषाहरू आज हराएर गए । एक पटक लोप भएको भाषा पुन त्यही अवस्थामा आउन कहिलै पनि सक्दैन ।भाषा भनेको सम्पत्तिको भण्डार हो । भाषा लोप हुनु भनेको सबै संस्कृति संस्कार, सम्पदा र सभ्यता नै लोप हुनु हो । हाम्रै छिमेकी मुलुकको पश्चिम बङ्गालमा रहेका लाखौँ नेपाली भाषीहरूको पहिचान मेटाइ दिन अनेक प्रयासहरू भए ।

अन्तिम अस्त्रका रूपमा नेपाली भाषामाथि आक्रमण भयो । त्यहाँ अङ्ग्रेजी र हिन्दी भाषा पहिला नै थियो । बङ्गाली भाषालाई पनि अनिवार्य गरेर नेपाली भाषालाई ऐक्षिक भाषाका रूपमा पठनपाठन गर्न थालियो । यसरीमात्र नेपाली भाषा लोप हुनेछ भन्ने ममता बेनर्जी सरकारको निर्क्योल थियो । भाषा लोप गराउन सकियो भने मानिसको पहिचान मेटाउन सकिन्छ भन्ने सोचले नै ती कदम चालिएका थिए । यिनै कुराहरूलाई हृदयमा राखेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय बाल समितिले सन्सारभरि छरिएर रहेका दोश्रो र तेश्रो पुस्ताका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सिकाउन जरूरी छ । नत्र भने हाम्रो पहिचान गुमेर जानेछ भन्ने निर्क्योलका साथ केही अभियानहरू थालनी गरेको छ । यसै क्रममा नयाँ वर्ष २०८२ मा बिभिन्न देशहरूमा नेपाली कविता क्यालेण्डर प्रकाशन गरेको थियो । अष्ट्रेलिया, अमेरिका, क्यानडा, अफ्रिका, मध्यपूर्व मिडिल इष्ट फ्रान्स, जर्मनी, पोर्चुगल, डेनमार्क र बेल्जियमका बालबालिका कविताहरूको क्यालेण्डर प्रकाशन गरी ती देशका नेपाली घरघरमा पुर्याएको थियो । जुमको माध्यमबाट जोडिएर बालबालिकाहरूले आआफ्नो कविता वाचन गरेका थिए ।

अब क्यालेण्डरमा प्रकाशित कविताहरू र अन्य छुटेका बालबालिका कविताहरूको सङ्कलन गरी कम्तिमा तीन सय जना बालबालिकाहरूको कविता संग्रह प्रकाशन हुन लागेको छ । यो कविता सङ्ग्रहमा नेपाल र भारत भन्दा बाहिर रहेका अठार वर्ष सम्मका बालबालिकाहरूका कविताहरू संलग्न गरिने छ । हाल सम्म अष्ट्रेलिया, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, पोर्चुगल, बेल्जियम, डेनमार्क, अफ्रिका, कतार, बर्मा, थाइलेण्ड, जापान, बेलायत, दक्षिण कोरिया, रशिया, निदरलेण्ड, स्पेन आदि देशका बालबालिकाहरूका कविताहरू प्राप्त हुँने क्रम छ । यो कोटीहोम जस्तो कार्यमा आआफ्ना देशमा रहेका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सिकाउने, नेपाली संस्कृति र सभ्यता प्रति आकर्षित गराउने, नेपाली बालकविता सङ्ग्रहमा जुटाउने कदम भयो भने चरू हवन गरे जस्तै हुनेछ भन्ने ठानेका छौँ । यो आउने नोभेम्बर महिनाको पन्ध्र तारिक सम्ममा कविता पठाएर यस अभियानमा जोडिनु हुन हार्दिक अनुरोध गर्दछौ । बालबालिकाको कविता र एकप्रति फोटो निम्न ईमेलमा पठाउन सकिनेछ ।

Email : [email protected]

सुरेन उप्रेती

प्रतिक्रिया