
साहित्य किन पढ्नु पर्छ भन्ने समाजमा साहित्य पढ्ने लेख्नेहरुले पनि छोटा संरचना, आयतन र नयाँ विधा÷प्रविधाको खोजी गरिरहेको अवस्थामा हङ्गेरियन उपन्यासकार लास्ज्लो क्रान्स्ज्नाहोर्काइले यस बर्षको नोवेल साहित्य पुरस्कार पाउने घोषणा भएपछि एउटा छुट्टै सन्देश गएको छ । विषयको गहनता भएमा शास्त्रीय शैलीको लेखन, बोझिला बाक्यविन्यास र परम्परागत संरचना अनि क्लीष्ट प्रयोगले पनि महत्व पाउँछ भन्ने सन्देश यसले दिएको छ । पुरस्कारको घोषणा गर्दै स्वेडिस एकेडेमीले भनेको छ कि उनका जटील तर दृष्टिकोणयुक्त अनि कलात्मक आतङ्क सिर्जना गर्नसक्ने क्षमताका लागि सर्वोत्कृष्ठ नोवेल पुरस्कार प्राप्त भएको छ ।
नोवेल पुरस्कार चानचुने कुरा होइन, चानचुने व्यक्तिले प्राय प्राप्त गरेका पनि छैनन्, जसले पाए उनीहरु प्रयोगको मानक पनि बनेका छन् । प्रख्यातीले पुरस्कार पाउछ र पुरस्कारले झनै प्रख्याती बढाउछ । यो पुरस्कारको नियम पनि हो कि पुरस्कारले पुरस्कृत हुनेको र पुरस्कृत हुनेले पुरस्कारको गरिमा बढाउछन् । लास्ज्लो क्रान्स्ज्नाहोर्काइका सम्बन्धमा त्यस्तो भयो त ?
महाकाव्यिक स्रष्टा लास्ज्लो क्रान्स्ज्नाहोर्काइ शब्दले होइन, मौन र अन्तहीन बाक्यले संसारमा उथलपुथल ल्याउछ भन्ने अभिव्यक्ति दिन्छन् र आफ्नै उपन्यास र पटकथामार्फत त्यसलाई सिद्ध गर्दछन् । सभ्यताको अन्त कुनै विष्फोट वा विद्रोहले होइन, प्रतिक्रियाहीनता, थकान र आलस्यले गर्छ भन्ने जीवन दर्शन उनका उपन्यासहरुमा दिइन्छ । उनका चर्चित उपन्यासहरु सातान्टाङ्गो (१९८५), दी मेलानकोली अफ रेसिस्टान्स (१९८९), वार एण्ड वार (१९९९), सेइवो दिएर बिलो (२००८), हेख्र्त ०७७६९ (२०२१) हरु यही थकान र आलोचनाको यात्रामा छन् । उनका उपन्यासहरु एकै दर्शनको सिलसिलामा छन्, जसले मानिस अर्थ र अस्तित्व खोज्ने क्रममा आफै हराएको देखाइरहेको छ । उनका उपन्यासहरु उनका होइन, पूरै युरोपका मेलानकोली हुन् । उनका उपन्यासहरु विसौ शतव्दीमा युरोपमा व्याप्त अवसाद र उदासिनता अनि एक्काइसौ शताव्दीमा हुर्किएको एक्लोपनका सेतु बनेका छन् । उनका उपन्यासमा बाक्य गहिरो नदीझै विस्तारै, शालीन, शान्त र गहिरिदै बग्दछन्, ती सङ््क्षिप्त, सरल र सरस लाग्दैनन् । उत्तरआधुनिक कालको प्रयोगका हिसावमा लास्ज्लो क्रान्स्ज्नाहोर्काइ अलि बेगल, असजिला र अनौठा लाग्छन् । तर भुल्न हुन्न, उनी गहिरा छन् र अर्थ दिइरहन्छन्–शब्द स्थीर भए सभ्यता रोकिन्छ ।
‘जब म काफ्का पढिरहेको छैन, म काफ्का विषयमा सोचिरहेको हुन्छु, जब काफ्काका विषयमा सोचिरहको हुन्न, मैले काफ्कालाई गुमाइरहेको हुन्छु’ भन्ने क्रान्स्ज्नाहोर्काइ काफ्काको दर्शनबाट धेरै प्रभावित पाइन्छ । फ्रेन्ज काफ्का जीवनलाई निराशा र अर्थहीनताका सापेक्षमा हेर्दछन् । जीवन निराशामा छ, एक्लिएको छ, त्यसैमाथि राज्यव्यवस्थाका नाममा ब्यूरोक्रेसीले थिचेको छ र यस अवस्थामा जीवनको अर्थ र ओजन खोज्न संघर्षरत छ, सफल असफल जे भएपनि । काफ्का यसलाई ‘काफ्कास्क्यू’ नाम दिन्छन् । समाज व्यवस्था कर्मचारीतन्त्रीय पूँजीवाद, कानून र सरकारको जटिल जालोमा जेलिएको हुन्छ र वैयक्तिक स्वतन्त्रता र अस्तित्वलाई त्यसैले ङ्याक्छ । निसाफ र न्याय नपाएपछि स्वतन्त्रता साँघुरिन्छ । त्यसैले जीवन अँध्यारो सुरुङ्ग सरह छ । निरर्थक, अपहेलित र निस्सार हुन्छ तर हार नखाइ स्थितिलाई स्वीकार्छ । वास्तवमा यो फ्रेन्ज काफ्काको आफ्नै जीवनको प्रतिवर्तित अनुभूति पनि थियो । यसैबाट क्रान्स्ज्नाहोर्काइ प्रभावित थिए । अरु प्रभाव ईश्वरको मृत्युको घोषणा गर्ने फ्रडरिक नित्जे र मनका ज्वारभाटालाई मिहीन विश्लेषण गर्ने फ्योदोर दास्तोभ्स्कीको पनि देखिन्छ ।
उनको औपन्यासिक प्रवृत्ति र प्रयोगतर्फ विचार गरौं । उनका सबैजसो कृति शोभियत संघको गठन र त्यसले युरोपीय जनजीवनमा ल्याएको निराशाका सेरोफेरोमा लेखिएका छन् । साम्यवादी समाजमा हुने निजी स्वतन्त्रताको अपहरण, शोषण र हैकमका पीडाहरु नै उनका विषय, घटना र औपन्यासिक वृत्तिमा देखिएका छन् ।
चर्चित उपन्यास सातान्टाङ्गो हङ्गेरीमा साम्यवाद पतन हुनुभन्दा अघि ग्रामीण इलाका परित्याग गरेका सामूहिक फर्ममा बस्ने बासिन्दाको एक गरिब समूहको कथा हो । त्यतिखेरको मौनता र प्रत्याशामा रहेका जनता र दाश नैतिकताका धूर्त पदाधिकारीको जवर्दस्त चित्रण उपन्यासले गरको छ । सतानटाङ्गो शून्यवादी दर्शन याने कि घोर उदासिनता, अस्तित्वहीनता र निराशाको दृष्टान्त हो । यहाँ लिइएका उपमा र कथनहरुले जीवनको उदासिता र अवसादलाई बताइरहेका छन् । उपन्यासको परिवेशमा वर्षातले भिजेको एक उजाड बासिन्दाहरु निराशाको चक्रमा जीवन विताइरहेको अवस्थालाई लिइएको छ । इरिमियास केन्द्रीय चरित्र, जो अद्भूत धुर्त, पीडक र शंकास्पाद व्यक्तित्वको धनी छ । गाउलेलाई शोषण गर्नु, धन सम्पत्ति कव्जा गर्नु उसको काम हो । बासिन्दाहरु जडता र दाशताबाट मुक्ति खोज्छन् तर सिसिफसको कथाजस्तो एक कदम अघि बढेपछि अर्को कदम पछि हट्ने नाँच जस्तो नियति छ ।
सातान्टाङ्गो सामान्य घटनाको आख्यानीकरण मात्र होइन, यसले दिने सन्देशहरु अर्थपूर्ण छन् । पहिलो, शून्यवाद र निराशामार्फत मानव अस्तित्वको अँध्यारो दृश्य यसले देखाएको छ । दोस्रो, गलत आस्वासन, झुठा सपनाको वितरण र विश्वासघातमा रुमलिएको साम्यवादी समाज चित्र देखाइएको छ । तेस्रो, उपन्यासले मानवीय असफलताका कारण लोभ, दाशत्व, निराशा हो भन्ने देखाएको छ । इरिमियासलाई प्रतिनिधि मात्र हो । चौथो, संस्थाहरु पतनका कारण समाज व्यग्र निराशामा पुगेको हो । अख्तियारको कमजोरी, राजनीतिक बाचाहरुको झुठोपन जस्ता कारणले गाउलेहरु दुर्दिन भोग्न बाध्य भएका हुन् । लास्ज्लो क्रान्स्ज्नाहोर्काइले ठम्याएका यी कुराहरु अहिलेको समाजमा पनि सान्दर्भिक छ । यसको कथामा हङ्गेरियन चलचित्र निर्माता बेला टारले एपिक ड्रामा (चलचित्र) समेत निर्माण गरेका थिए जसले कैयन पुरस्कार पाएको थियो ।
क्रान्स्ज्नाहोर्काइको अर्को बुहचर्चित उपन्यास ‘प्रतिशोधको उदासिनता’ (मेलानकोली अफ रेसिष्ट्यान्स) हो । यो पनि सातान्टाङ्गोको शैली र भावमा छ । यसले पनि शासकीय, सामाजिक र राजनीतिक चेतनालाई आत्मसाथ गर्दछ । यो १९८० को दशकको हङ्गेरीको राजनीतिक–सामाजिक परिदृश्यको चित्र हो जहा जनतामा निराशा छ भने राजनीतिमा अराजकता, नैतिक पतन र शासनमा अव्यवस्था छ । नाजीहरुको प्रतिरोध गर्न यहुदीको कव्जामा रहेको पोल्याण्डमा यहुदी किशोरी चाया लिण्डरसंग मात्र दुई विकल्प छ, मर्ने वा शिविरको खतरामा यातना स्वीकार्ने । यही साहसी कथामा उपन्यास गतिशील छ । प्रतिशोधको उदासिनताका अनुवादक जर्ज स्जीर्टेज यसलाई लाभाहरुको सुस्त प्रवाह भएको कथा जो एक विशाल कालो नदी हो भन्दछन् । यसमा व्यग्र निराशाबीच क्रान्तिको संभावना छ, व्यङ्ग्यका बाणहरु छन् । चेतनाको ढिलो प्रवाह, असाधारण अभिव्यक्ति र आत्मजागरणको उर्जा भएकाले यसलाई लाभाहरुको सुस्त प्रवाह भनिएको होला ।
‘युद्ध अनि युद्ध’ (वार एण्ड वार) युद्ध चिरस्थायी र अपरिहार्य छ, स्थायीत्व खोज्ने कुनै प्रयास चाहे त कला, प्रविधि वा आत्मा अन्ततः व्यर्थ छ भन्ने निष्कर्षमा छ । यसले आत्महत्यको योजनामा रहेको कोरिनले पुरानो पाण्डुलिपि पाएकोले त्यसलाई इन्टरनेट टाइप गरी अर्काइभमा राख्न न्यूयोर्कको यात्रा गर्छ । तर उपन्यासकार भन्छन् इनटरनेटको अमरत्व भ्रम हो । मानिस भ्रम र द्वन्द्वको चक्रीय पद्धतिमा छन् र अन्ततः आफ्नै विनास निम्त्याउछन् । ‘सेइवो दियर विलो’ले बुद्धको शुन्ुयवादी दर्शन (आनन्द ?) लाई प्राधनभावमा राख्दछ । ‘हख्र्त ०७७६९’ अँध्यारो संसारको अर्को अद्भूत यात्रा हो, जसले समाजको विखण्डन र चरमपन्थी विचारलाई अभिव्यक्त गर्दछ ।
आजभोलि छोटा कविता, लघुकथा, लघु निबन्ध, विभिन्न नामका कविताबाट सूत्र अभिव्यक्ति दिने प्रचलन विपरीत लास्ज्लो क्रान्स्ज्नाहोर्काइ शास्त्रीय संरचनामा पनि जटिलता थपेर चर्चित भए र नोवेल साहित्यबाट समेत सम्मानित भए । उनको बाक्य विन्यास यति लामा छन् कि त्यस बाक्यभित्रका कुराहरु पढ्दा पाठकीय अन्वीति मिलाउन पनि हम्मे पर्छ, अघिल्ला हरफहरुका अर्थ समाउन पछिल्ला हरफ हराउने डर हुन्छ । उत्तरआधुनिक काल, त्यसमा पनि एक्काइसौ शताव्दीको प्रविधिसूत्रको समयमा पनि क्रान्स्ज्नाहोर्काइ लामो अनुच्छेदभरिको बाक्य, फराकिलो अनुच्छेद, उदासी परिवेशको चित्रण, सम्मोहक विसर्जन (डिजलिच इफेक्ट) मा उत्तरआधुनिकताको प्रयोग गरिरहेका छन् । उनी महाकाव्यिक दायराका स्रष्टा हुन्, यानेकी युगले उनलाई ‘इपिक राइटर’ मानेको छ ।
साहित्यले निराशा र व्यर्थता प्रकट गर्दा समाज झनै अलमलिन सक्छ भनेर नै व्यग्र निराशा बोक्ने कलाकृतिलाई राज्य नै खेद्न पछि परेको छैन । सिर्जनाले त आशा निर्माण र उत्साहको प्यास जगाउनु पर्छ, सिर्जना र शक्ति उमार्नु पर्छ । यसो नगर्ला भनी दार्शनिक प्लेटोले कविहरुलाई देशबाट घोक्रेठ्याक लगाउनुपर्छ भनी आक्रोस पोखेका थिए । उनले साहित्यलाई महामिथ्याको सज्ञा दिन भ्याएका थिए । तर सिर्जना शक्तिको महानताको कदर गर्दे उनका शिष्य आचार्य आरस्तुले मेशोडोनियका युवराज अलेक्जेण्डरलाई होमरका ओडिसी र इलिएडबाट राज्यकला प्रशिक्षणको शुरु गरेका थिए । यस्तै उदाहरण उत्तरवैदिक कालका वशिष्ठ, विश्वामित्र, अगस्त्यका गुरुकुलमा पनि पाइन्छ । साहित्यले आशा, उत्साह र आविस्कारको भोक जगाउछ, सवैले बुझेको त्यही हो ।
सङ्गीतमा निराशा आलप्ने एलेन ग्रिन्सवर्ग लगायतका विटल्स र व्यग्र विन्दासी हिप्पीहरुलाई आलोचना गरिएको थियो । कतिपय हिप्पीहरु त वेपर्वाह जीवन रमाउन बुद्धत्वका खोजी भनी नेपाल समेत आएका थिए, उनीहरु आफ्नो देशमा अटाएनन्, पछि नेपालबाट पनि खेदिए । निराश पे्रमालापको ग्लुमी सन्डे प्रसारण प्रतिबन्ध लगाइयो । आखिर ती सबै निराशा र भग्नाशाले खोजेको कुरा मुक्ति वा अस्तित्व हो, मृत्यु होइन मोक्ष हो । उनीहरु त केवल संस्थापित आचरणबाट वाक्क मात्र भएका हुन् ।
तर लास्ज्लो क्रान्स्ज्नाहोर्काइ एक्काइसौ शताव्दीका ती व्यग्र निराशावादी भएर पनि विचारको गहिराई र यथार्थको अभिव्यक्तिका कारण मागिएका स्रष्टा हुन् । विचारमा स्पष्टता सहित निख्खर समयचेत भएका स्रष्टाहरु प्रस्तुति र संरचनामा शास्त्रीय भएपनि पाठकको मनजित्न सक्छन् भन्ने पुष्टि लास्ज्लो क्रान्स्ज्नाहोर्काइले गरेका छन् । यसबाट लेख्ने रहरमा रुमलिएका धेरै नेपाली स्रष्टाहरुले पनि शिक्षा लिन सक्छन् । हो, शब्द स्थीर भए सभ्यता रोकिन्छ, शब्द सारान गतिशील भए सभ्यता तङ्ग्रिन्छ । (२mबष्लबष्नियउष्)
मैनाली निवास, क्षितिज मार्ग,
शङ्खमूल ।
प्रतिक्रिया