“सुन्दर महानगरको कथा”

इनेप्लिज २०८२ असोज २० गते १:१९ मा प्रकाशित

म एक तराईको कुना गाउँबाट मनभरि सपना र चाहाना बोकेर काठमाडौं आएको मान्छे हुँ। मन भरि रहरै -रहर पलाएर, त्यो सुन्दर जन्मथलो छाडेर , मनलाईअसिम चाहानामा तिर मोडेर १०-१२ गठ्ठा जमिन बाझो राखेर ,जीविको पार्जननै गर्न गार्‍हो भएपछि, गाउँमै व्यवसाय गर्छु भन्दा बैंक र साहुले ऋण नपत्याएपछि भैतारिदै शहरमा ज्याला मजदुरी गर्छु भन्दै शहर आएको व्यक्ति हुँ।

शहर, गाउँ भन्दा वत्तीहरूले त झिलिमिलि भएका रहेछन तर खै ! के छैन ? खै के छैन? जस्तो हुदो रहेछ, शहरमा घरहरू नजिक -नजिक जोडिएका रहेछन तर सम्बन्धमा र मानवियता चाहिँ टाढा-टाढा भई तोडिएका हुदाँ रहेछन। मान्छे नै मान्छेहरू भीडै -भिड रहेछ तर भाव विनामान्छेहरू, मानवियता र शिष्टाचार विनाका मानव त डमि जस्तै लाग्दो रहेछ ।

यो मेरो मात्र अनुभुती हो कि अरूलाई पनि यस्तै हुन्छ ? यसो काठमाडौ आइयो, अब कतै त घुम्नुपर्छ अनि अनुभव बटुुुलनु पर्छ भन्ने लाग्यो अनि घुम्न भनेर निस्किए । शहरमा बाटो साना अनि सवारी साधनहरू चाहि कमिलाको ताती जस्तै थिए । म पनि त्यहि सडकको किनाराबाट अर्थात फुटपाथमा हिड्दै थिए, यत्रो ठुला सहरहरूको फुटपाथ पनि साना-सानाहुदाँ रहेछन। फुटपाथमा हिड्नेको मान्छेहरू भिड देख्दा मलाई लाग्थ्यो मान्छे हिड्ने फुटपाथ चाहिँ ठूलो बनाउनु पर्दैन र ?

मेरो बानी चाहिँ थोरै खराव थियो । म चाहिँ गुड्का खान्थे । मैले बोकेर आएका केही थान गुडका लहराहरू त सकिएकै थिएनन। म पनि बाटोमा हिड्दै थिए एक्कासि गोजीमा रहेको गुडकामा मेरो हात पुग्यो । मनले पनि खाउँ खाउँ भन्यो । मैले पनि जोसमा पकेटबाट गुड्का निकालेर चपाउन थाले अनि त्यसको खोल फाल्न भनेर वरिपरि डस्विन खोजे यत्रतत्र हेरे , तर काहि-कतै डस्विज भेटिएन अनि त्यहि मैले फुटपाथमा फालिदिए। म पनि के को कम थिए र ? नैतिकता पाठमा त ,म पनि निपुर्ण नै थिए नी किनकी म पनि त नेपाली हुँ। यहाँ मैले यस शहरमा ठाउँ- ठाउमै डस्विन राख्नु पर्ने देखेर त्यस्ता फोहोर फाल्ने ठाउँमा नोटिस टाँस्नुपर्ने देखियो , जताततै फालेमा कार्वाही गर्नुपर्यो। सम्भव हुन्छ भने उपत्यकामा गुड्का ,खैनी बेचविखन बन्द हुदाँ शहरको सुन्दरता झल्किन सक्ने देखियो। हिड्दै थिए मलाई गुड्काको रस अर्थात थुक्न खोज्दै थिए तर काहि-कतै थुक्ने ठाउँ नपाएर विना संकोच मैले पनि भित्ताको कुनामै थुकिदिए । आहा! कति राम्रो भिता, मेरो गुड्काको थुक्ले कति नराम्रो बनायो दियो । त्यस भित्ता कति नराम्रो देखियो शहरको सुन्दरताको लागि, ठाउँ – ठाउँमा थुक्ने ठाउँमा विन आवश्यकता देखे।

हिढदा हिड्दै अलि पर पुगेपछि मलाई पिसाव लाग्यो, दुई – तीन ओटा चोक पार गरि सके तर कहि-कतै सार्वजनिक शौचालय भेटिएन। अब मेरो बाध्यता थियो कुनै होटल छिर्नुपर्ने ,त्यहाँ केही अडर गरेर नखाइकन त पिसाब फेर्ने शौचालय कहाँ छ भनेर सोध्न पनि त मिलेन क्यारे। त्यहाँ पैसा तिरेर मात्रै पिसाब गर्न पाइने देखियो।पैसा नहुनेको लागि कि त कुनै महल , हस्पिटल वा कुनै कलेज भित्र छिर्नुपर्ने रहेछ तर सवै ठाउँ र चोकमा त ,महल,हस्पिटल र कलेज पनि त छैनन। नभए पिसाव गर्ने सार्वजनिक शौचालय नपाइने ठाउँ पो रहेछ यो शहरमा त, गाउँमा त निःशुल्क पाइन्थ्यो । यहाँ त सार्वजनिक शौचालय त्यति देखिएनन। एक- दुई ठाउँमा भएका पनि पैसा तिर्नु पर्ने रे यहाँ नहुनेले नि:शुल्क र हुनेले शुल्क तिरेर पिसाव दिसाब गर्न पाउने सार्वजनिक शौचालय ,चोकै पिछे बन्नु पर्ने देखियो।

जादा जाँदै मैले जेब्रा क्रसिङ गरेर पारी जानुपर्ने भयो । जेब्रा क्रसिङ गर्ने ठाउँमा पुगे, त्यहाँ सार्वजनिक यातायातले तिव्र गतिमा गाडी ल्याएर मलाई नै ठोकुउला जस्तै गरे ! बाटो काट्दै थिए एउटा भाईले त कति मिठ्ठो स्वरले भन्नू भयो ओई! सुड्डा ,तेरो काल आयो कि क्याहो? ‘ मर्लास नि साले’ यता -उता हेर हिड, कान पनि सुन्दैन्स् कि क्याहो! रे अह ! हो भाई ,सुनिन्न,सुनेको भए त साइट लागेर हिडिहाल्थेनी भने मुस्कुराउदै बाटो क्रस गरेर पारी पुगे। सडकमा पैदल यात्रीलाई पहिलो प्राथमिकता हुन्छ भन्ने शिक्षा दिनुपर्ने देखियो । हर्न निषेध गरिएको क्षेत्रमा पनि कानै फुट्ने गरि चर्को हर्न बजाउदा रहेछन। यस्ता काम गर्ने सवारी चालकलाई कार्वाही गर्नुपर्यो, जेब्रा क्रसिङमा सवारी स्पिड कम गर्नु पर्यो। हरेक उपत्यका भित्रका सवारी चालक र सहचालकमा अनुशासन र बोलीमा शिष्टचार राख्नलाई सचेतना कार्यक्रम चलाउनुपर्यो।

दिन ढल्दै गयो , मैले पनि अब बासको तयारी गर्नुपर्यो भनेर म मन्दिर भएका ठाउँ जानको लागि सार्वजनिक गाडी चढे जहाँ गाडीले कुनै सामानलाई बोरामा काचाक्कुचुक खादे जस्तै गरि मान्छेहरूलाई पनि गाडीमा खादा -खादा गर्दा रहेछन ,त्यहि बेला पकेटमाराहरूले मौका छोप्दा रहेछन। म त्यहाँ पुग्न लाग्ने समय करिव १५-२९ मिनेटको थियो तर त्यहि बाटोमा १ घण्टामा पुगिदो रहेछ। मैले चढेको गाडीले मनपरि भाडा उठाउदै आएको थियो। सवै यात्रु दिक्क र हैरानमा थिए । झगडा नै गरेर झर्ने क्रम जारी थियो। त्यहा मैले पनि जुन पहिले ओर्लिएका यात्रुका झै, मैले पनि त्यो सहचालक भाईसँग झगडा गर्नु पर्यो , ४ किलो मिटर सम्मको भाडा २० रूपैयाँ नेपाल सरकार र यातायात विभागले तोकेको रहेछ । मैले ३० रूपैयाँ तिरे मैले भाडा लिस्ट देखाउ त भाइराजा भनेको त , उसले जवाफ दियो , पैसा नहुनेले किन गाडी चढनु ? हिडे भैहाल्छ नि रे! गाडी पानी हालेर गुड्छ र? भन्दै गाली व्यहिजेति गर्यो । मैले पनि १० को ठाउँ २० दिएर हिडे, दाई १० रूपैया फिर्ता लिनुस त। पर्दैन, भाइराजा तिम्रो मिठ्ठो शब्द वापतको वोनस पैसा भयो भने र अरू उसको प्रतिक्रिया नसुनिकन हिडे। यहाँ मैले सवारी जामको पनि समस्या देखे, सार्वजनिक यातयातमा चालक ,सहचालकको दुर्वाच्य शब्द ,र सार्वजनिक यातायात अनिवार्य भाडा लिस्ट टाँस्नको निमित्त ट्राफिक प्रहरी र सम्बन्धित स्थानीय तहको मातहतमा कार्वाहिको दायरामा पनि ल्याउनु पर्ने देखियो।

त्यहि यात्राको क्रममा कति अशक्त ले हात दिए गाडी रोक्नको लागि तर सहचालकले चालकलाई भन्यो त्यो तीन खुट्टेलाई गाडी नरोक्नु है गुरूजी। यसले पैसा पनि आधा मात्र दिन्छ र ठाउँ पनि अरू भन्दा दोब्बर ओगट्छ। यहाँका सार्वजनिक यातायातमा अपांग मैत्री बस भेटिएन, चालक र सहचालकको व्यवहार पनि पशुलाई जस्तै गरेको देखेर मलाई यहाँ अपाङ्ग मैत्री सवारीसाधन चाहिने देखे, अर्को कुरा शहरमा घरहरू अग्ला-अग्ला रहेछ ।जहाँ सिडीयुक्त घरमा सरकारी अफिस राखेको पाए र अपांग तथा अशक्तलाई सेवावाट बञ्चित नै बनाएको पाए सडक पनि अपांगमैत्री थिएनन, के यो शहर ,सरकारी अफिस, सार्वजनिक यातायात अपांग मैत्री बनाउन मिल्दैन र? यसको पहल हुनु पर्ने देखियो।

म साधारण मान्छे भएकोले भएकोले रातक‍ो बासको लागि प्रसिद्ध मन्दिरको धर्मशालामा गए । त्यो धर्मशाला विकास कोषले भाडामा दिएर त गेष्टहाउस जस्तो पो बनाई सकेका रहेछन। खोइ त त्यो असहाय ,योगी -जोगी र सनातन धर्ममा आस्थावान भक्तजनहरू बस्ने ठाउँ ? अर्को कुरा त्यहाँ त मादक पदार्थ र मासुजन्य खानेकुरा विक्रिवितरण भएको पाइदो रहेछ त्यतिमात्र नभएर वेश्यावृति पनि चलेको देखे। हैट यस्तो प्रवित्र स्थानमा पनि पुँजीवाद चलेछ , हरे शिव! हुन त यो कलियुग हो , भनेर मनलाई सम्झाए। के मन्दिरका धर्मशाला गेष्टहाउस बनाउनको निमित्त हो र? यो त भक्तजनको लागि वा आर्थिक हैसियत न्यून भएका अथवा शुल्क तिर्न नसकनेको लागि नि:शुल्क र तिर्न सक्नेको लागि सहयोग स्वरूप हुनु पर्ने देखियो। कोषको पैसा दुरुपयोग जस्तै भयो अर्को गम्भीर घटना पवित्र स्थानमा शाहाकारी भोजन युक्त हुनु पर्ने र वेश्यावृति धन्दा नचल्नु पर्ने होइन र? त्यो रात म पनि धर्मशालामा पनि गेष्टहाउस जस्तै पैसा तिरेर बसे।


विहान सवेरै उठेर। गाउँमा यता-उता गरेको जस्तै शहरमा यसलाई मर्निङवाक भन्दा रहेछन । मलाई पनि मर्निङवाकमा जान मन लाग्यो तर यत्रो नेपालको राजधानी शहरमा खुल्ला ठाउँ खासै रहेनछन । करिव ५०-५५ लाख जनता बस्ने शहर अनुसारको खुल्ला ठाउँ भेटिएन। के शहर वासीहरू स्वस्थ्य रहन , व्यायाम गर्ने ठाउँ बनाए, स्वस्थ्य जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने देखियो ।खोलाको किनारालाई हरितगृह सहित पार्कको रूपमा विकास गर्नुपर्यो।

म मर्निङवाकमा ४:३० कुदिरहेको थिए भुसिया कुकुरहरूको म माथि खनिएर आए । म हत न पत भुईमा हेर्दा सानो इट्टाको टुक्रा देखे, धन्न त्यहि ईट्टाको टुक्राले कुकुरलाई हिर्काए र त कुकुरको टोकाई बाट त बचे , त्यसपछि कुकुरले टोक्ने डरले विस्तारै हिडे त्यहि पनि डराउदै । व्यायाममा हिडेको मान्छे डराउनु पर्ने कस्तो शहर हो यो? यहाँको समस्या भुसिया कुकुरको नियन्त्रण गर्नु पर्ने देखियो ।

नेपालको प्रसिद्ध मन्दिर जहाँ म दर्शन गर्न गएको थिए , म सगैँ एकजना बाटोको सहयात्री नर्वेको नागरिक थिए, उनले मलाई सोधे हेल्लो बर्रदर …. excuse me brother! Where is ticket counter ? Can you help me? टिकट काउन्टर कता छ? के मलाई सहयोग गर्नुसक्नुहुन्छ? मैले पनि हुन्छ, okay म सहयोग गर्छु भने सँगै लिएर गए , उनी मलाई भन्दै थिए world heritage site मा पनि कस्तो अनलाइन टिकट बुकिङ सिस्टम रहेनछ भनेर भने , मैले पनि लाज लागेर उसलाई भने, नेपाल पुरै डिजिटल भएको छैन ।समय लाग्छ नि भने, त्यतिकै मा टिकट काट्ने काउन्टर कहाँ कुनामा रहेछ बल्लबल्ल पत्ता लाग्यो, विज्ञान -प्रविधियुगमा अनलाइन टिकट काट्नेर वेवसाइट मार्फत त्यहाँ रहेका मन्दिर र वस्तुस्थिति र जानकारी पाउनुपर्ने ठाउँमा लेखेरै टिकट काटनु पर्ने कुन जमनामा छौ हामी? काउन्टर जादा , शुल्कको नोटिसवोर्ड हुनुपर्ने थियो तर त्यहाँ थिएन , ताकि विदेशीलाई ठगौं भन्नेले विकास कोषलाई चाहिँ ठग्दैनन र? कि स्थानीय सरकारको यो काम हैन र? त्यस खैरेले १ हजार पर्ने टिकट २००० तिरेर ल्यायो , अनि हामी घुम्यौ बिच-बिच केटा गाइडले उसलाई गाइड चाहिन्छ कि भन्दै थिए तर खैरे स्माट थियो । सवै गुगल लेन्स प्रयोग गरि अध्ययन गरेको पाए। यहाँ समस्या २१ अौ शताव्दीमा पनि सवै सिस्टम अनलाइन नगरिनु जस्तै टिकट ,गाइड र जानकारी सम्बन्धित विवरण नराखिनु कतिसम्मको लाचारपना होला। यसलाई प्रविधि मैत्री स्वच्छ सफा राख्नु पर्ने देखियो।

त्यस पछि म खाना खाएर हस्पिटल गए। मैले बिमा मार्फत उपचार गर्नको लागि बिमा बोडले तोकेको हस्पिटल गएको थिए । त्यहाँ बिमाको विरामी भन्ने वितिकै त्यो काउन्टरमा जानू भने तर त्यहाँ कर्मचारी १० बजे मात्र आउने रे अनि टिकट पनि दिन्छन रे के विरामी मरेपछि त्यो बिमाको के काम ? अर्को कुरा जब टिकट काटियो डाक्टरलाई देखाइयो बिमा भन्ने वितिकै डाक्टर पनि कमिसन नआउने भएर होला अनुहार फुस्रो थियो, बिरामी राम्रोसँग हेर्न मान्दा रहेनन्छन। फार्मेसीले उनीहरू सँग भएकै अौषधी पनि छैन भनेर भन्दा रहेछन। यहाँ नेपाल सरकारको बिमा कार्यक्रम अौचित्य देखिएन। फार्मेसीका स्टाफहरूमा मानवियताको भाव देखिएन के जनताको ३५०० पैसा चाहिँ रूखको पात जस्तै हो र? यहाँ डाक्टरहरू पनि बफादार छैन। अस्पतालहरू पनि बफादार छैन। के जनताको स्वास्थ्यमा खेलभाड गर्न नेपालको संविधानको कुन धाराले छुटदिदो रहेछ? डाक्टरहरूले अौषधी लेख्दा पनि कमिसन आउने मात्र रिफर गर्छन। अनि अौषधीको नाम पनि प्रष्ट बुझिने गरि लेख्दैनन। के डाक्टरले लेखेको अौषधी नाम विरामीका आफन्तले पढनै र बुझ्न नस्क्ने फार्मेसीहरूले मात्रै बुझ्ने कस्तो पिडादायीक्षण। त्यस्तै कर्मचारी सञ्चयकोष पनि हालत त्यस्तै देखियो। यहाँ स्थानिय तहले नियमित अनुगमन गरेर जनसेवा गर्नु पर्ने देखियो ।किन मौन छ स्थानिय तह?

उपचार र बेड पाउन पनि पावर लगाउनुपर्ने रे , पावर नभएकोले मर्नु पर्ने कस्तो कस्तो शहर अनि देश हो य‍ो? यसको लागि जुनसुकै प्राइभेट हस्पिटल कम्पनी रजिस्ट्रारको कार्यलयमा दर्ता गर्दा विधानमा १०% गरिब ,असाहेलाई निशुल्क उपचार गर्छौ भनेर उल्लेख गरिएको हुन्छन । त्यो कार्यनयनमा ल्याउदा हजारौंलाई नि:शुल्क उपचार गन सकिन्छ र जनसेवा गर्न सकिन्छ त्यसैले स्थानिय तहको ध्यानाकर्षण त्यता हुनुपर्यो।

मलाई पनि भोक लागेर वरिपरिको चमेनागृहमा पुगे त्यहाँ पनि विरामीलाई नै ठग्ने मात्रै भेटिन्छन। मूल्य पनि धेरै महङ्गो पर्छ तर खान बाध्य छन। स्वस्थ्यकर पनि छैन त्यसमा स्थानिय सरकार किन ध्यानाकर्षण हुदैन कि स्थानिय तहले नियम बनाउन मिल्दैन र ? स्थानीय सरकारको चासो र अनुगमन हुनु पर्ने देखियो। त्यति बेला मलाई लाग्छ देश भन्ने त टाठा-बाठाको मात्रै हो, हे भगवान! मेरो भोटले मलाई नै कति चोट दिन्छ? के यस देशमा धनी र पावरवाला मात्रै बाच्नुपाउनु पर्छ भन्ने छ र? के गरिब चाहिँ मान्छे होइन र? मान्छे भएर जन्म लिएपछि कमसेकम मान्छे त बन्नुस न है। यो मन आफै भित्र क्रान्ति शुरू गर्छ तर फेरि त्यही रोक्छु त्यो मनोक्रान्तिलाई मन थमाउछु।

अझै मलाई पनि अब यहि पापी शहरमा बस्ने रहर जागेर आउँछ । जागिरको लागि दुनियाँ तिर धाउछु ,अनुभव कति वर्ष छ? भनेर सोध्छन, कहिले त, भन्दिम कि जस्तो लाग्छ । काम दिनुस् न ,अनि पो हुन्छु त अनुभवी ! जब सेन्टर जान्छु । पहिले महिना आधा तलब काट्ने हिसाब महिनाको १२ हजारमा काम पाउछु । त्यो पनि पहिलो महिनाको त ६ हजार मात्रै जसले मैले कसरी घर भाडा तिरौं ? खाउँ के ले? सार्है गार्‍हो र भारीदायक हुदोरहेछ ‘शहरमा रहरको जीन्दगी’, मेरो जिन्दगी मेरै लागि भारी बन्यो। स्थानिय सरकारले सिपमुलक तालिम खुलाउछ। म पनि सिक्छु ,कमाउछु भन्ने हिसाबले तालिम लिन्छु, व्यवसाय गर्न पैसा छैन किनकी गरिबको कोखमा जन्मलियो ,त्यसमाथि अपराधी बैकहरूले पनि पत्याउदैन धनीलाई मात्रै कमिसनमा ऋण दिन्छन। बरू सिपमात्र सिकाउनु भन्दा स्थानिय तहले रोजगार बैक नै खोलिदिएको भए कति राम्रो हुन्थ्यो जहाँ स्थानिय तहमा माग भएको जनशक्ति र काम खोज्ने कामदाता विचमा मध्यस्तकर्ता बनिदिएर र वार्षिक शुल्क लिदा त्यो मध्यस्तकर्ताको अफिस चलाउने पैसा पनि आउने थियो। यहि बैंकबाट केही रकम शिक्षा र स्वास्थ्यमा बचत गराएर शिक्षा र स्वास्थ्य उपचार निःशुल्क गर्न पनि सकिन्छ। अर्को लामो समय काम गर्नेको हकमा निजि कम्पनीबाट पनि पेन्सन दिन पनि सकिन्थ्यो।

अर्को हप्ता बुढि र छोरा पनि आउदैछन , बुढिलाई पनि काम खोज्नु पर्ने छ । छोराको पढाई पनि एस.ई. ई सकियो। छोरो आएर राम्रो कलेज पढ्छु भन्छ। सारा कलेज बुझदै जान्छौं शुल्क कति महङ्गो रहेछ। एक मनले भन्छ,गरिबले पढने ठाउँनै रहेनछ कि क्याहो यो नेपालमा? काठमाडौ महानगरले चाहिँ छात्रवृत्ति कोटा ल्याएको छ। प्राईभेटले स्कुलले पनि जम्मा भर्ना गरेको विद्यार्थीको संख्याको १०% लाई निशुल्क पढाउनु पर्छ भन्ने निमावलीमा छ । त्यो कार्यनयन आउने भने खबर छ तर प्राइभेटको लाई प्राथमिकता छैन रे। दुनियाँ कलेज बुझदा बुझदा शुल्क सुन्दा-सुन्दा कान पाकिसक्यो, मन थाकिसक्यो। हुदाँखाने वर्गको लागि त गार्‍हो रहेछ भन्ने सोच्छु। शुल्कको शिर्षक पनि के के हो, के के,वार्षिक शुल्क ,लाईब्रेरी,भर्ना,ल्याब,सेकुरेरी डिपोजिट,परीक्षा इत्यादि गरेर वार्षिक शुल्कको दोब्बर पुर्याउदा रहेछन। वार्षिक शुल्क १.५ लाख छ भने अरू शुल्क जोडदा ३ लाख पुग्दोरहेछ। १.५ लाखको कोर्ष किन ३ लाख पुर्याइयो छानविन गरि कानुनी दायरामा ल्याउनु पर्यो। विद्यालयको शिक्षण सिकाई पनि खासै गतिलो छैन। का.म .न.पा कै कुरा गर्दा पनि यति शुल्क तिर्नु पर्ने ,कति जना सम्म विद्यार्थी भर्ना गर्न पाउने, शुल्क कति लियो ?खासै कुनै मापदण्ड र डाटा भेटिएन विडम्बना उपलब्धि मुलक चाहिँ भएन तर अरू स्थानितहको तुलनामा चाहि उत्कृष्ट छ। अरूले त्यहि पनि गर्न सकेका छैन। यहाँ शुल्कको पनि यति सम्म मात्रै लिन पाउछस भनेर स्थानीय तहले तोकिदिनुपर्यो।

यो मेरो देशको फोहोरमा पनि बार्गेनिङ हुन्छ। यहाँ घाँडो भएको छ , फोहोरलाई मोहोरमा परिणत गरेर शहरलाई सुन्दर बनाउन सकिन्छ। त्यसमा पहल कदमी अघि बढाइनु पर्यो सदैव बञ्चरे डाडा र सिपाडोलको समाचार बन्ने माध्यम बन्दगरिनु पर्ने देखियो। जसको लागि एक जग्गा लिजमा लिएर वा सरकारी जग्गामा एक रिसाईकिलिङ कम्पनी सञ्चालनमा ल्याउन सकिन्छ जसबाट बेरोजगार रोजगार बनाउन सकिन्छ।कुहिने कुुुरा कम्पोस्ट मल र नकुहिने कुुुरा प्रशोधन गरि सम्बन्धित कम्पनीलाई बेचेर करोडौं कमाउन सक्छ यो नै दिर्धकालिन समाधान हो।

शहरमा पाटीका भोटर बैकहरू करिडोर भरि त्रिपाल लगाएर बसेका छन। यो शहरको कुरूपता हो । साच्चिकै सुकुम्बासी हुन भने वासस्थान दिएर अन्यत्र सारिनुपर्यो र करिडोर लाई फुटपाथ सहित हरितयुक्त पार्क बनाउनु पर्ने देखिन्छ। अनि खोला अधिकरण गरि बनाएका संरचना भत्काई खोलालाई खोलाकै रूपमा विकास गर्नु पर्ने देखियो नत्र भविष्य खोलाले आफ्नो स्थान लियो भने ठूलो मानविय क्षति हुने सम्भावना र खोलाको सौन्दर्यता मै संकट हुने अबस्थामा आउँछ। साथै बाग्मती ,विष्णुमती यी दुई नदिलाई सफाई गरि सुन्दर पानी बग्ने बनाउनुपर्यो जसले शहरको सुन्दरतालाई निखार्ने छ। जसको लागि नदि सफाईको लागि विज्ञ र वैज्ञानिकहरूलाई फ्लोसिपमा अध्ययन गराएर ,विभिन्न विधि र प्रविधिमार्फत शुुुद्द पानी बहने बनाउन सकिन्छ कुनै बेला बेलायतको थेम्स नदि यस्तै थियो अहिले शुद्ध छ जसमा हजारौं प्रकारका जलचर छन भने लाखौं पर्यटक घुम्न आउछन र लाखौं कमाउछ।


काठमाडौंका अधिकांश खोलामा ढलको कारण हो या लाहाप्रवाहीको कारण हो सवैले नाक थुनेर हिड्नुपर्ने अबस्थामा छ यसको सुधारको लागि कि कृतिम रूपमा खोलामा पानीको फ्लो बढाउनु पर्यो कि त फोहोरलाई खाने ब्याक्टेरिया फर्मेसन गरि नदि सरसफाई गर्नुपर्यो त्यति हुदाँ काठमाडौ बस्न लायक शहर बन्छ।

पुरै डिजिलमय काठमाडौं बनाउनु पर्यो, सिस्टम बनाउदा कतै परनिर्भर नहोस , आत्मनिर्भर होस जहाँ जनताले जुनसुकै सेवा घरबाटै लिन सकुन सम्भव हुन्छ भने पेपर लेस कार्यलय बनाईयोस ,आफ्नै डाटा सेन्टर होस,सेटलाईट होस, जन्म दर्ता गरेपछि सबै डकुमेन्ट अटोमेटिक बन्ने सिस्टम बनोस मात्रै १६ वर्षको हुदा बायोमेट्रिक लिने त्यसपछि सम्पुर्ण कार्ड घरमा बसेर कुनै फारम नभरिकन एप्लाई नाउ गरेको भरमा बन्ने र पैसा तिर्नु पर्नेको हकमा शुल्क तिरेपछि लिखित र प्रयोगात्मक परीक्षा दिनुपर्नेको हकमा भने परीक्षा प्रश्चात तुरुन्तै सेवा पाउने सुबिधा होस। सम्पुर्ण कुरा डिजिटल बनाईयोस ताकि कुनै आपत विपत परेको बेला सजिलै सुचना प्रसारण गर्न सकियो , सवै डाटा होस ,जनसंख्या ,शिक्षा, पेशा ,रोजगारी ,गरिबी सबै डाटा एउटा केन्द्रीय सर्भरमा स्टोर होस। यो प्रोजेक्ट पछि नेपालभर गरेर भष्टचार मुक्त देश,पेपरलेस देश,घरबाटै हरेक सुविधा जनसेवा, विश्वको चौथो जेललेस राष्ट्र , विश्वको पहिले अपराधीलाई श्रम शिविर पठाउने राष्ट्र बनाउने बेला काम लाग्छ।

सांस्कृतिक जगेर्ना गर्ने अभियान शुरूहोस कैयौं लुकेर तथा जिण अबस्थामा रहेका सांस्कृतिक सम्पदाको पहिचान गरि पुननिमाण गरियोस् , विश्व सम्पदा सुचिमा रहेका क्षेत्रलाई डिजिटल मार्फत विश्वमा जानकारी प्लेटफर्म बनाइनुपर्छ । गुठी संस्थाको संख्या त्यहाँ रहेको संस्थाको सम्पत्ति जस्ता कुराको जगेर्ना गरिनुपर्छ । सम्भव हुन्छ भने कङ्क्रिटको शहरलाई थोरै भएपनि हरित शहर बनाईनु पर्छ। एक घर दुई बोटविरूवा लगाउने रणनीति ल्याउदा थोरै भए पनि वातावरणमा सुन्दरता आउथ्थो कि काठमाडौं महानगरको।

जुन हप्ताको एक दिन किताब , झोल फ्रि गरेकोछ त्यो अत्यन्तै राम्रो हो अब एक साधारण सीप सिकाउदा वर्षभरिमा ५२ ओटा सीप सिक्ने थिए बालवालिकाहरूले। जुन सिपले व्यक्तित्व निर्माण भई कोहि बेरोजगार नहुन भन्नको लागि हो। विद्यार्थीको वौदिकता विकासमा खानपिनले पनि फरक पार्दछ त्यसैले विद्यालय वरिपरिका चमेना गृह वा विद्यालयकै चमेना गृहमा स्वादिष्ट खाजा भन्दा पौष्टिक खाजा खुवाउन प्रोत्साहन गरि जङ्फुड प्रतिबन्ध गरिदा राम्रो हुन्छ। जसले विद्यार्थीको जनस्वास्थ्यमा सुधार आउँछ र स्वस्थ्य महानगरवासी भएर बाच्न पाउँछन्।

यहाँ शिष्टचारको बोली बोल्न सिकाउनुपर्छ। स्वस्थ्यकर खानेकुरा खान सिकाउनुपर्छ। आजका बालबालिका भोलिको समाजका देशका अगुवा हुन। त्यसैले हामीले उनीहरूको दिमाखमा सकारात्मक भर्नुपर्छ। सामाजिक सञ्जालका फाइदा /बेफाइदा सम्बन्धित जनतेतना जगाउन बिद्यालय बाटै अभ्यास गराउनुपर्छ । आजभोलिका बालबालिका हरूले अभिभावले भनेको टे्दैन त्यसैले स्कुलमा नै यस्तो व्यवहारी ज्ञान दिनुपर्छ।

काठमाडौ निजि विद्यालयहरूले कपि, किताब, नोटबुक र पोशाकको नाममा ठूलो आर्थिक भार लगाएका छन । जसलाई सुधारनुपर्छ, सम्भव छ भने सरकारी वा निजि दुवैको विद्यार्थीको पोशाक र पुस्तक एउटै बनाइनुपर्छ । कपि र नोटबुक जुनसुकै ठाउँ पाउने बनाइनुपर्छ ताकी विद्यार्थीका अभिभावहरूलाई स्थानीय सरकार त यस्तो होस भन्ने महशुल होस।

महानगर बासीहरूले स्वस्थ्यकर तरकारी र फलफुल खान पाउन भन्नको निमित विषादी लेबल मापन गरि अधिकतम विषादी प्रयोग गरि उत्पादन भएको फलफुल,तरकारी र खाद्यान्नलाई नष्टगरिनुपर्छ। कालो बजारी तथा गुणस्तरको लागि वर्षभरिनै अनुगमन गरिनुपर्छ।कृषि फार्महरूलाई बिषादी भन्दा जैविक अौषधी प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ। भने युरियाको सट्टामा ब्याक्टेरियल मलको प्रयोग गर्नुपर्छ जसले माटोको उर्वरतामा बृद्धि गरोस र माटो कहिल्यै नमरोस। जसले प्राणी र वनस्पति दुवै लोकको कल्याण गर्नेछ।

काठमाडौंमा बसोवास गर्ने जनतामा ८०% गरिब र गाउँबाट आएका छन जसको क्षमता भाटभटेनि र मार्ट सम्म पुग्दैन त्यसलाई मध्यनजर गर्दै कुनै खुल्ला ठाउँमा एक हाटबजार बनाईदिनुपर्छ ताकी गरिब ज्याला मजदुरी गरि जीविकोपार्जन गर्छु भनेर काठमाडौं छिरेकाले नि लगाउन सक्ने र फलफुल खानसक्ने हैसियत पुगोस् । फुटपाथ हटाउदा मजदुर वर्गले फलफुल किनेर खानै नसकिने गरेर मूल्य वृद्धि भएको छ। जस्तै पहिले १२० केजीमा पाउने स्याउ ३५०-४५० पुग्यो , उनीहरूको दैनिक कमाई ५०० छ अब उसलाई फलफुल खाउकी विहान/ वेलुका भात खाउ भन्नेमै विचार गर्नुपर्छ ।मार्सिक १०-१५०००० तलब दिन्छन शुरूवातीमा काठमाडौका रोजगारदाताले अनि त्यो १ किलो स्याउ खानलाई ३५० तिर्नुपर्छ अब आफै भन्नुस उसले कसरी स्वस्थ्य भए बाच्न सक्छ ? अरू फलफुल पनि त्यस्तै महङ्गो छ, अनि कसरी घरभाडा तिर्न सक्छन। उनीहरू महानगरवासी नभए उनीहरू पनि देशबासी त हुन नि। अर्थात नेपाली त हुन नी होइन र? सटर वा मार्टमा एउटा पेन्ट मार्टमा किन्दा रू २०००-५००० सम्म पर्नजान्छ तर त्यहि पेन्ट फुटपाथ किन्दा रू ७००-२००० पर्थ्यो , फुटपाथ हटाइयो स्वागतयोग्य छ तर त्यसको ठाउँमा कुनै खुल्ला स्थानलाई निश्चित समय र बार तोकेर एउटा त्यस्तो बजार बनाउनु पर्यो जहाँ ८०% गरिबहरूले पनि लगाउन सक्ने वातावरण बनोस र ज्याला मजदुरी गरेर खानेले पनि फलफूल खान सकुन। जनता अस्वस्थ र समस्यामा पारेर गरेको विकासले खासै अर्थ राख्दैन। जनता बचाउनु ठुलो धर्म हुन्छ। यो देशमा अहिले जनसेवकको खाचो हो नेताको होइन । यसमा महानगरको पनि बेलैमा ध्यानाकर्षण होस्। सम्भव हुन्छ भने सबै व्यवसाय गर्नलाई एक एक निश्चित क्षेत्र तोकेर त्यो होटल,कन्सल्टेन्सी,मेनपावर, हाडवेयर,टाइलस मार्वल र कबाडी त्यसो गर्दा व्यवस्थित शहर बन्छ।

काठमाडौंमा घरवहालमा बस्नेको संख्या ७०% माथि छ जसलाई महानगरले एउटा सिस्टम बनाएर कर उठाउन सक्छ कानुनमा घरवहाल कर जनताले तिरे पनि महानगर घरबेटीले नै लिएको पाइन्छ त्यो रकम राज्यको ढुकुटी आउनुपर्ने हो किन आएन ? अपेक्षित रकम किन आउन सकेन यो पनि अनुसन्धान गरि दायरामा ल्याउनुपर्यो। अनि घरवहालमा लगाउदा घर धनी र बहालवालाको समस्याको सावधानीमा पनि स्थानिय तहको समन्वय हुनुपर्यो। सरकारी र विकास कोषको जमिन सत्ता र शक्तिको आडमा दोहन भएको पाइन्छ जसको अध्ययन गरि तुरुन्तै सरकारीकरण गर्नुपर्यो। काठमाडौ धेरै, शहरमा धनीहरू बस्ने गाउँबाट गरिबका छोराछोरी पढाईदिन्छु स्याहार गर्छु भन्दै ल्याउने बाल शोषण भएको पाइन्छ त्यसको निश्चित मापदण्ड बनाई रोक्नुपर्यो।

महानगरले एक विश्वविद्यालय सँग समन्वय गरि हरेक विविध शिर्षक जस्तै : फोहोर व्यवस्थापन , Traffic म्यानेजमेन्ट,AI, नदि सफाई… विविध शिर्षक तोकि प्रत्येक वर्ष महानगरको आवश्यकता अनुसारको अनुसन्धार गराउनुपर्छ, जसबाट उनीहरूले पनि phd पाउने र महानगरले पनि दिर्धकालि विकासको अध्ययन र प्रतिवेदन पाउनेछ । जसलाई कार्यनयन ल्याउदा कुनै प्रोजेक्ट असफल हुने सम्भावना हुदैन। सुन्दर शहर निर्माण होस भन्ने हेतुले यो २ वर्ष अघिनै लेखेको हु र महानगर प्रमुखलाई विविध माधयम ह्वाटसप र मेलमा पठाएको थिए ।

अन्तिममा : लेखकको काम लेख्दिए कार्यनयन गर्नुस या नगर्नुस तपाईको जिम्मा र अधिकार हो यदि माथिका कुनै पनि घटनाको कसरी साबधानी दिन सकिन्छ भनेर सल्लाह आवश्यकता परे सल्लाह गरौंला ।

आजका महानगर प्रमुख भोलि नेपालको प्रमुख हुन सक्ने प्रबल सम्भावना छ, जनताले आशा र भरोसा गरेका छन तपाईमा। तपाईं नेपाली मनजनमा पुजा गर्ने पुज्य स्थानमा पुग्न सक्नुपर्छ। त्यो तपाईको कर्मले निधारण गर्ने नै छ। सिजर्जनात्मक ढङ्गले देश चलाउनुपर्छ। विश्वमा नै Social Re-Engineering को खाचो परेको छ,देश जतासुकै परनिर्भरता मा जादैछ कतै पनि आत्मनिर्भरता छैन। समाज विकास चिनको जस्तो Constructive Model मा हुनुपर्छ अमेरिकाको जस्तै Distructive Model मा होइन। Global politics बुझ्दै Geo Politics गरेको दिन नेपाल विश्वको उत्कृष्ट हुनेछ साथै त्यो नेता नै नेपालको महान नेता बन्नेछन यसमा तपाईं नै बन्न सक्नुहोस ।

यस कथामा म भन्नाले सवै नेपाली र शहर भन्नाले काठमाडौं बुझनुपर्छ।

रूपेश कार्की ( बद्री प्रयास )
साहित्यकार तथा लेखक

प्रतिक्रिया