
दसैंको टीकाको साइत आज बिहिबार बिहान शुरू भए पछि अमेरिकामा अधिकांशले दसैं टिका लगाउँदै हर्षोल्लास पूर्वक दसैं मनाइदै छ। आफ्टर स्कूल र बेलुकी अबेर राति अझ टीकाको उत्तम साइत भएकाले बेलुकी टीका लगाउन पर्खिरहेकाको संख्या पनि उल्लेख्य रहेको छ । विभिन्न राज्यहरूमा आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी दसैं मनाईरहेका खबरहरू इनेप्लिजलाई प्राप्त भैरहेकाछन्।

कतिपयले हिन्दु मन्दिरहरूमा दसैंको टीका ग्रहण गरेका छन् । केहि स्थानीय हिन्दू मन्दिरहरूमा टीका लाउनेको भीड बढेको छ ।

टीका लगाएका तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमार्फत् आदानप्रदान गरिएको छ।

नेपालीहरूको बाक्लो उपस्थिति रहेका टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, ओहायो, नर्थ क्यारोलाइना, जर्जिया, क्यालिफोर्निया, नेब्रास्का, भर्जिनियालगायतका क्षेत्रमा दसैं पर्वको विशेष चहलपहल देखिदै आएको छ । दसैंका आवश्यक सामानहरू समेत केहि वर्ष देखि अमेरिकामा सर्वसुलभ रूपमा पाइन थालेको छ । घरघरमा जमरा राख्ने चलनअनुसार नौरथादेखि नै पूजापाठ हुँदै आएको थियो। त्यही जमरासहित टीका लगाउँदै नेपालीहरूले आआफ्ना परम्परा र संस्कृतिप्रति आस्था प्रकट गरेका छन्।

यसरी अमेरिकामा रहेका नेपाली समुदायले सामूहिक भेटघाट, आशीर्वाद आदानप्रदान र आपसी मेलमिलापमार्फत् दशैंलाई आफ्नो मूल संस्कृतिसँग गाँसिएको उत्सवका रूपमा मनाइदै आइएको छ।













प्रतिक्रिया