
कथाकार गुरुप्रसाद मैनालीलाई नेपाली कथा विधामा हेर्ने धेरै कोण छन् । मैनालीका कथा सम्पादन गरी प्रकाशन गर्ने बरिष्ठ समालोचक ताना शर्माका अनुसार मैनाली नेपाली ग्रामीण जीवनलाई नजिकैबाट चिनेका कथाकार हुन् । साहित्यकार नरेन्द्रराज प्रसाईका शव्दमा गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका प्रणेताको नाऊ हो । उनले नासो लेखेपछि नेपाली कथा साहित्यको मोडले नयाँ क्षितिज उघारेको छ । समालोचक ईश्वर बरालका शव्दमा सामाजिक जीवनसंग सम्बन्धित कथा परिवर्तन गर्नेमध्ये मैनाली प्रथम भए र उनकै परम्पराले दिग्विजय ग¥यो । बरिष्ठ लेखक रघु मैनालीका अनुसार विवेक, सम्वेदना, जिम्मेवारी र सत्यनिष्ठा एकैपटक निर्वाह गर्नुपर्ने मनोदशा गुरुप्रसाद मैनालीमा थियो । त्यही मनोदशा कथाकारितामा पनि देखिनु स्वाभाविक थियो । सर्जक समाज र आप्mनै मनोदशा निरपेक्ष रहोस पनि कसरी ?
सरल बुझाईमा कथा भन्ने वित्तिकै भोगाइका घटनाहरुको चित्रण गर्नु हो । त्यसो त इतिहासले पनि समाजका घटनालाई उतार्ने गर्दछ, तर इतिहासमा कलाकारिता हँुदैन । इतिहास राजनीति र शासकहरुको हुन्छ, सभ्यता र समाजको चित्र उतार्न साहित्य नै चाहिन्छ । पात्र चयन, घटना विधान, परिवेश चित्रण, उत्कर्ष सम्बन्ध जस्ता कुरामा कथाकारले पाउने स्वतन्त्रता इतिहासकारलाई हुदैन । इतिहास घटनाको इतिबृत्ति हो, तर कथा इतिहास नभै समाजको चित्रण गर्ने कलाकारिता हो । भनिन्छ, इतिहासमा पात्र मात्र सही हुन्छन्, घटनाको फेहरिस्त प्रस्तुती यथार्थ हुदैन, तर कथामा पात्र काल्पनिक बिम्ब हुन्छ, पात्र बाहेक अरु सवै यथार्थ हुन्छ । कथा समाजको यथार्थ चित्र हो भन्ने पुष्टि कथाकार गुरुप्रसाद मैनालीका कथाले दिन्छन् । ‘नासो’ मा समावेश कथाहरु तत्कालीन समाजको मुखर इतिहास हो । छोटो किस्सा (कथा) संसार च्याउने आँखी भ्mयाल हो, नासो मा संकलित कथाहरुले नेपाली समाज र यसको मनोदासलाई बेस्सरी च्याएको छ ।
नेपाली कथाका जानकार र समालोचकहरु कथाकार गुरुप्रसाद मैनालीलाई आधुनिक कथाका प्रणेताका रुपमा लिन्छन् । उनीभन्दा अघिका कथाहरु आधुनिक समाजको बिम्ब उतार्न सक्दैनथे, कि तिलस्मी हुन्थे वा परम्परागत भावभंगीका एकादेशका घटना र लोकबृत्तिहरु । त्यतिखेरको चेतना र समाजको बनावटले पनि त्यसखाले कथाकारितालाई प्रश्रय दिइरहेको हुनुपर्छ । कथाका माध्यमबाट समाजले पाउने उपयोगिता, शिक्षा, सन्देश र चुनौती हुदैनथ्यो । वि स १९८४ मा लेखिएको र १९९२ मा शारदा मासिकमा छापिएको ‘नासो’ कथाले नेपाली कथा जगतमा छुट्टै स्थान लियो । शायद कथाकार मैनाली मैनालीलाई पनि नासोका देवीरमण र सुभद्राको कथाले कथाकारिताको क्षेत्रमा छुट्टै प्रबृत्ति स्थापित गर्छ, सवै पाठकको मन जित्ने स्वाद दिन्छ र यसले आधुनिक नेपाल कथाको श्रेय पाउछ भन्ने थाहा थिएन । त्यसैले तानाशर्मा, ईश्वर बराल जस्ता बरिष्ठ समालोचकले भने झै गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका शीर्ष व्यक्ति बने । नासो कथा संग्रहमा संकलित कथाहरु नेपाली कथा यात्राका विशिष्ट रुप हुन्, जसमार्फत कथाकार मैनालीले प्रबृत्ति र कथाधारलाई नै बदल्ने सफलता पाए । उनका कथाहरु थोरै छन्, तर जति छन्, अलग पहिचान र धारका पहिला रुप हुन् । थोरै सिर्जनाबाट पनि विशिष्ठ स्थान प्राप्त हुन्छ भन्ने उदाहरण पनि हुन् कथाकार मैनाली ।
कथाकार मैनालीको कथाकारिताको चर्चा गर्नुअघि उनी जन्मे, हुर्केको परिवेश र अवलम्वन गरेको पेशाबृत्तिलाई चर्चा गर्नु सान्दर्भिक हुन्छ । किनकी सर्जक आप्mनो सामाजिक परिवेश, मूल्य संस्कार र बृत्तिको वरिपरि रहेर आफूलाई नै अभिव्यक्त गरिरहेको हुन्छ, आफूलाई, अनुभूतिलाई अभिव्यञ्जना गरिरहेको हुन्छ । काभ्रेपलाञ्चोकको कान्पुर कथाकारको पैतृक थलो हो । कान्पुरको परिवेश ग्रामीण प्रकृति हो । कान्पुरको ग्रामीण चरित्र मेलापात, घासदाउरा र सहयोग आपसिक्ताको जीवनशैलीले पूर्ण छ । प्राकृतिक रुपमा स्वच्छ छ, आजभोलि यस परिवेशलाई अर्गानिक जीवनशैली भनिएला । कथाकारको जन्म भने पूर्व धनकुटामा भएको थियो । धनकुटा पनि झण्डै कान्पुर तिमालजस्तै प्राकृतिक जीवनशैलीको स्थान हो । उनको बुवा काशिनाथ मैनाली राणा प्रशासनका जागिरे । वुवाको जागिरको अभिमुखीकरणले नै उनको जीवनले पनि जागिरे मोड लिएको छ । जागीर र बसाइका सिलसिलामा धनकुटा, बाग्लुङ, काठमार्डौ एवम् नुवाकोटले कथाकारको कथाकारिता, पात्र चयन, घटना रचना र प्रस्तुतीलाई प्रभाव पारिरहेको छ । उनी जन्मेको समय राणा शासन, हुर्केको समय प्रजातन्त्रकाल र जागीरको समय पञ्चायतकालले पनि कथा परिवेशलाई प्रभाव पारेको छ । केही कथाहरु २००७ अघि र केही त्यसपछि लेखिएका छन् । पेशाले न्यायाधिश, न्यायधिशको काम न्याय दिनु हो, जुन कुराबाट उनका पात्रहरु प्रभावित छन् । कथाकारको ग्रामीण जीवनशैली र पेशाबृत्ति कथा परिवेशको वरिपरि घुमिरहन्छ । उनको शिक्षा रुद्री, कौमदी, आदि धार्मिक शास्त्र र नीतिहरु हुन्, कथाका चरित्रहरु धर्म, नीति र आदर्शको वरिपरि छन् ।
कथाकार मैनालकिो कथाकारिता विश्लेषण गर्दा भनिएजस्तै उनी यथार्थवादी कथाकार हुन् । कथाकार स्वयम्ले भनेका छन् ‘धेरैजसो कथाहरु मैले स्वयम् देखेका अथवा निकटबाट सुनेका दृश्यहरु लिएर लेखेको छु’ । यथार्थवादले जीवन र समाजको सँग्लो र सोलोडोलो चित्र प्रस्तुतीको आग्रह गर्दछ । त्यहा कृतिमता र कल्पना रहदैन । व्यक्तिले दैनिकी गर्दछ, सजिला असजिला घटना भोग्छ, अनुभूति संगाल्छ, त्यसैको प्रतिविम्वन (रिप्mलेक्सन) कथामा पाइन्छ । कथाकार मैनालीका कथाहरुमा यी कुराहरु ठ्याक्कै मिल्ने गर्दछन् । नासो कि सुभद्रा, देवीरमण, नौली र लक्ष्मी नेपाली समाजका अनुहार हुन् । चामे, जुठे, प्रभा, नरेन्द्र, गौरी, शशी, धनजिते, गुमाने सवै नेपाली समाजका बिम्ब हुन् । ती पात्रहरु सिंगारिएका, जलप लगाइएका वा रेमिक्स गरिएका छैनन् । उनीहरुका सम्वाद, कथाबृत्ति, दैनिकी र भोगाईका यथार्थ टिपोट कथामा छ । ‘छिमेकी’ का धनजिते र गुमाने कान्पुर वेसी (रोशी) को छिमेकी घटना हो । छिमेकीमा एकआपसमा गरिने व्यवहार, ससानो कुरामा हुने झगडा, दुखपर्दा व्यक्तिगत ईष्र्या नलिई सहयोग गर्ने संस्कृतिको यथार्थ चित्र हो । छिमेकी पढ्दा कान्पुरको त्यो घटना परिवेश पाठकको दिमागमा आउँछ । ‘प्रायश्चित’ की बालविधुवा गौरी र उनको उत्पीडन, आफूले राखेको भावनाप्रतिको प्रायश्चित र शिक्षित भैकन सामाजिक लोकलाजका कारण उनलाई अपनाउन नसक्ने गोविन्दको प्रायश्चित गौरीको अवसानमा टुङ्गिन्छ, दमित नारी भावना र नारीसत्ताको विवशताको यो यथार्थ चित्र हो । ‘पापको परिणाम’ को कान्ते र जुठेको कथा ‘विदा’ मा प्रभा र नरेन्द्रको कथा ‘चिताको ज्वयाला’ को अनिच्छित सम्बन्ध र कत्र्तव्यको पालना, ‘परालको आगो’ को पतिपत्नीको झगडाको क्षणिकता, अभागी, सहिद, प्रत्यागमन सवैले समाजको यथार्थ परिवेशलाई जस्ताको त्यस्तै टिपेका छन् । कथाकार विश्वेश्वर कोइराला, भवानी भिक्षु, मल्ल बन्धु, पुस्कर शमशेर, इन्द्र राईका कथा पनि आआप्mनै मौलिकतामा बेजोड छन्, तर गुरुप्रसाद मैनाली कथाबृत्तिलाई यथार्थको सीमाभन्दा अलिकति पनि विषयान्तर हुन दिदैनन् । कथाहरु सँग्ला छन्, सरल संरचना छ र प्रस्तुती विन्यास पनि ग्रामीण जीवनजस्तै सरल छ ।
तत्कालीन समाज धर्मभिरु छ, महिलाका भूमिकाहरु गर्भैदेखि सीमाङ्कित छन्, त्यो सीमाले आकाङ्क्षा र उम्मेदहरुलाई पनि कैद गरिदिएको छ । महिलाहरुलाई हिन्दू नारी संस्कारमा व्यवहार गरिने चरम अवस्था छ । विपन्न र गरिबहरु, बञ्चितीमा रहेकाहरुलाई सामाजिक थिचोमिचो छ । ससाना कुरामा परिवार, पति–पत्नी, छरछिमेकी र ठूला सानाबीच विवाद र झगडा छ । केही दिनमै प्रायश्चित, माफी, सहयोग, मित्रता र सौहाद्र्रता तत्कालीन नेपाली समाजमा भेटिन्छ, कथाबस्तु अरु नभएर त्यही छ । त्यै घटनाबृत्ति र अनुभूतिलाई कथाकारले सरल रुपमा उठाएका छन् र समाज सुधारको मौन सन्देश दिएका छन् । त्यसैले कथाकार गुरुप्रसाद मैनाली यथार्थवादी निख्खर कथाकार भए ।
यथार्थवादी कथाकार आफ्नै परिवेशमा लुटपुटिन्छ, परको समाज र थाहा नभएको परिवेश उठाउदैन । कथाकार मैनाली आफू हुर्के बढेको, खेले पढेको ग्रामीण परिवेशलाई उठाउन निपुण छन् । गाउले समाजमा हुने घटना, व्यवहार, दैनिकी, सम्बन्ध र व्यवहार कथाका विषयवस्तु हुन् । ग्रामीण समाजलाई मिहिन रुपमा अवलोकन गरेर कलात्मक रुपमा प्रस्तुती गर्न, प्रस्तुतीलाई सास्वत बनाउन रैथाने बिम्ब प्रयोग गर्न कथाकार औधी सिपालु छन् । ‘परालको आगो’ का चामे र गौथलीको दिनचर्या होस वा छिमेकीको गुमाने र धनजितेको झगडा वा नासोका देवीरमण र सुभद्राको दिनचर्या होस, सवैनै सामान्य ग्रामीण दैनिकी बोक्दछन् । कथाले यसरी जीवन बोकेपछि जीवन्तता प्राप्त गर्छ, कथा कथाजस्तो नभै जीवनजस्तो बन्छ र कथा कालजयी हुन्छ । कथाका पाठकहरु समननुभूतिमा पुग्छन् । कथाका घटना आफ्नै जस्तो लाग्छ, कथाको मुख्य चरित्र आफूजस्तो लाग्छ र सहायक चरित्र आफैवरिपरिका जस्तो लाग्छ । कथा परिवेश पनि आप्mनै गाउठाऊ जस्तो लाग्छ । कथाका सम्वाद हाम्रै बोलिवचन जस्ता लाग्छन्, टोलछिमेकका कुराकानी जस्ता लाग्छन् । ग्रामीण परिवेशको यति राम्रो चित्रण अन्य कथाकारले गर्न सकेका थिएनन् । ताना शर्माले भने झै कथाकार मैनालीले ग्रामीण परिवेशलाई नजिकैबाट चिनेका छन् । त्यसैले कथा बास्तविक लाग्छन्, स्वच्छ र सरल लाग्छन् । मनौ अनुभूति भरिएका चलचित्र जस्तै ।
कथाकार मैनालीका कथा पात्रहरु आदर्श छन् । चरित्रको आदर्शीकरण कथाकारको प्रबृत्ति हो । नासको कि सुभद्रा हिन्दू नारीको उच्चतम आदर्श प्रस्तुत गर्दछे । सुभद्रामा सामाजिक दायित्वबोध, जसका कारण व्यक्तिगत सुख सयललाई सामाजिक दायित्वमा समर्पण गरिदिन्छे । छिमेकीका दुवै छिमेकी धनजिते र गुमानेमा क्षणिक रिस पनि छ, असल छिमेकीपन पनि छ । परालको आगोका चामे र गौथलीमा परिवारको दायित्वबोध छ । प्रभा, शशी, मुरलीधर, बीरबहादुर लगायत पात्रहरुले समाजमा आदर्श आचरण र शिक्षाको सन्देश दिन्छन् । समाजको रितथिति आदर्श बनाउन सवै कथाहरु केन्द्रीत छन् । शायद उनको पेशाबृत्तिले पनि कथामार्फत सामाजिक सन्देश दिन आग्रह गरेको छ ।
कथाकार मैनालीले टिपेका पात्रहरु स्वच्छ, सरल, निष्पकपट, निस्वार्थ र प्राकृतिक छन् । लाग्छ, कान्पुरदेखि धनकुटा हुदै बाग्लुङसम्मको जीवनशैली त्यस्तै थियो । कथाकारहरु पात्र चयनको केन्द्रीय भूमिकामा आफै खेल्छन् । कथाकार मैनाली पनि त्यही प्रबृत्तिमा रहेको सहज अनुमान गर्न सकिन्छ । पात्रको नाम, बृत्ति, सम्वाद र अनुभूति योजनमा पनि कथाकार निकै सावधान छन् । छिमेकी काभ्रेपलाञ्चोकको ग्रामीण परिवेश कान्पुरको कथा हो, पात्रहरु धनजिते र गुमाने ससानो कुरामा मनमुटाव गर्छन्, धर्मानन्द छिमेकी झगडा चर्काएर रमाउछन्, गाउमा यस्तै छुल्याहा सामन्ती संसकारको पनि बोलवोला हुन्थ्यो । तर गुमने र धनजिते छिमेकीको प्राकृतिकपनमा फर्किन्छन् । केही कथाहरु शहर बजार र गाउलाई जोड्छन् तर त्यहा पनि शहरी जटिलता र रागद्वेष भेटिदैन ।
तत्कालीन (केही हदमा अहिले पनि) समाजमा एक प्रकारको असजिलो व्यवहार देखिन्छ । गाउका धनीमानी र उच्च तहसोपानका व्यक्तिका नाम पछि आदरार्थी, सम्भ्रान्त खालको विशेषण जोड्ने र तहगत सोपानमा तल परेका, गरिब, सामान्य मानिसका लागि नामको पछि एकार जोडेर बोल्ने बोलाउने, नामकरण गर्ने चलन छ । कथाकारले यो सामाजिक विकृतिलाई पनि कथाका पात्रमार्फत उठाएका छन् । चामे, गुमाने, धनजिते, जुठे, कान्ते, चाउरे, काले, जिउने, सन्ते, नौली तल्लो समाजिक तहसोपानका पात्रहरु हुन् । सामाजिक सोचबृत्तिको परिणाम हो यो । त्यस्तै माथिल्ला वर्ग र तहसोपानमा रहेकाहरुको सँग्लो र आदरार्थी नाम देखिन्छ, जस्तो कि गङ्गाधर, श्रीधर, देवीरमण, धर्मानन्द, रामु आदि । समाज जात, वर्ग र लिङ्गीय रुपमा कसरी विभाजित र हेलित रहेछ भन्ने यथार्थ चित्र पनि हो यो । यी नामले सामाजिक हैसियत र भूमिका निर्वाह मात्र होइन, अवसर उपयोगमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । कथाकार मैनालीलाई यसकोणबाट प्रगतिवादी धारमा पनि ल्याउन सकिन्छ । तर मूलतः उनको कथाकारिता यथार्थवादी धारा नै हो ।
राणा शासन र पञ्चयतकाल एवम् यी दुईबीचको संक्रमणको सरेफेरो पनि कथाको पृष्ठाभूमिमा देखिन्छ । राष्ट्रप्रेम, सहादत र स्वतन्त्रताका भावनालाई सहिदजस्ता कथाले पछ्याएको छ । ‘इन्क्लाव जिन्दावाद, बीर सहिद जिन्दावाद र बीरबहादुर जिन्दावाद’ का नाराहरु पनि समेटिएका छन् । यथार्थपरक कथाकारलाई सामाजिक परिवर्तन र लोकतन्त्रका भावनाहरु नलेखी किन चित्त बुझाउथे र ?
कथाकारितामा द्वन्द्व संयोजन र उत्कर्ष (क्लाइमेक्स) योजनलाई यथार्थपरक रुपबाट प्रस्तुत गरिएको छ । चामे र गौथलीबीचको द्वन्द्व होस वा सुभद्रा, लक्ष्मी र देवीरमणबीचको त्रीपक्षीय मनोद्वन्द्व वा गुमाने र धनजितेबीचको सामाजिक द्वन्द्व वा पापको परिणाम, प्रत्यागमन, विदा, कत्र्तव्य कथाका द्वन्द्व हुन्, त्यसले सरलरेखीय बृत्ति अवलम्वन (क्लाइमेक्स लिङ्क) गर्दछ र कथा उत्कर्षमा पुग्छ । उत्कर्षले समाधान खोज्छ र कथा अन्त हुन्छ । तर उत्कर्षपछि कतिपय केन्द्रीय पात्रहरु पलायन पनि छन् । गौरी, प्रभा, शशी जित्ने पात्रहरु होइनन्, आदर्शताका लागि पनि, सामाजिक रितिथितिका कारण पनि पात्रहरु हारेका छन्, पलायन भएका छन् । सुभद्रा र गौथली पलायनपछि उत्कर्षमा विजेता हुन् । कथाका चरित्रले घटना जित्नु पर्छ भन्ने आग्रह होइन, तर सामाजिक बस्तुस्थिति उतारेर नै कथाकार यथार्थवादी बन्न पुगेका हुन् भन्न खोजिएको मात्र हो । पलायन हुने क्रममा वा हार्ने क्रममा कथाकार मैनाली न्यायाधिश मैनालीको न्यायिक मन प्रयोग गर्न पछि परेका हुन् कि भन्ने स्वाभाविक अनुभूति हुन्छ । उनी न्यायाधिशका हैसियतमा समाजमा अन्यायमा परकोलाई न्याय दिन्थे, त्यसैले उनका कथाका पात्रहरुले न्याय पाए कि पाएनन् भन्ने प्रश्न उठ्न सक्छ । तर कतिपय साहित्यकार पेशाबृत्ति र साहित्य कार्यलाई नितान्त फरक रुपमा हेर्छन् । जस्तो कि महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षा तथा स्वायत्त शासन मन्त्री भएपनि सिर्जनामा स्वेरकल्पनाको अथाह उडानलाई प्रभाव पारेन, लेखनीलाई मन्त्रालयको काम र बृत्तिले रङ्गाएन, कथाकार विश्वेश्वर कोइराला राजनीतिबाट आख्यानमा नितान्त निस्प्रभावी छन्, राजनीतिले साहित्यलाई र साहित्यले राजनीतिलाई प्रभाव पारेका छैनन् । तर यथार्थवादीहरु दुई बृत्तिलाई पेथकधारमा कत्ति राख्न सकछन् ? भन्न खोजिएको हो ।
कथाकार मैनाली कथाशिल्पका पक्षहरु, जस्तो कि संरचना निर्माण, चरित्र चयन, कथानक विन्यास, द्वन्द्व संयोजन, उत्कर्ष एवम् समाधान (कथान्त) सवै पक्षमा सरल, सरस तथा यथार्थपरक छन् । कथाका घटनाक्रम फुक्कमफुक्कामा छैनन्, संरचित साँगोपाँगोमा छन्, पात्रका मनोविवादमा विरह र पीडा रहदा पनि सामाजिक संस्कार र नैतिक आचरणका सीमामा बाधिएका छन् । घटनाक्रमहरु फूलका थुङ्गा जोडिएर माला बनेसरी उत्कर्षसम्म आरोहमा रहेका छन् । ग्रामीण आञ्चलिकता र निश्छल प्रकृति पृष्ठभूमिमा छ । कृतिमता कही पनि छैन । लाग्छ कथाहरु कान्पुर–धनकुटा–बाग्लु–नुवाकोट हुदै कताकती काठमार्डौ डेराघरसम्म आउजाउ गर्दछन् । त्यसैले कथाकार गुरुप्रसाद मैनाली नेपाली कथाका यथार्थवादी प्रणेता बन्न पुगे । र, पछि जोड्न थालियो आदर्शोन्मुख सामाजिक यथार्थवादी कथाकार भनेर । कतिपयले कथाशिरोमणिको उपमा पनि दिएका छन् । जेहोस यत्तिचाहि भन्न सकिन्छ, उनले कथामा मैनाली युगको आरम्भ गरे, यथार्थवादी कथाकारहरु मैनाली युगलाई समृद्ध बनाउन लागिपरेका छन् ।@mainaligopi
प्रतिक्रिया