डा.चालिसको ‘उमेरिंदाको कथा र व्यथा’:विशिष्ट कृति

सञ्जय साह मित्र २०८२ असोज १ गते २:४३ मा प्रकाशित

प्रा.डा. मुकेशकुमार चालिसे सामान्य लेखक होइनन ।जीवविज्ञानको क्षेत्रमा विशिष्टता हासिल गरेका उच्च कोटिका अनुसन्धानकर्ता हुन्।विज्ञानको क्षेत्रमा मात्र नभई स्वास्थ्यको क्षेत्रमा पनि गहन अनुसन्धानहरु गरेका छन्।मानवको स्वास्थ्यको लागि पनि प्रा.डा.चालिसेले निकै गम्भीर भएर खोजअनुसन्धान गरेका छन्। बहुमुखी प्रतिभाका सुसम्पन्न व्यक्तित्व प्रा.डा.मुकेशकुमार चालिसको जन्म वि.स. २०१३मा ललितपुरको गोदावरीमा भएको हो । पिएचडीसम्मको औपचारिक शिक्षा प्राप्त गरी कृषि मन्त्रालयअन्तर्गत घरेलु कृषिविज्ञका रुपमा काम गरिसकेका पिताका पुत्र डा. चालिसे लामो समय प्राध्यापनमा बिताएका व्यक्तित्व हुन्।पछिल्लो समयमा ज्येष्ठ नागरिकका लागि पाठ्यसामग्री लेखनमा विशिष्टता हासिल गरेका डा.चालिसेका मैले छिचोलेका कुइनेट(आत्मकथन),पाका मान्छेका कुरा (ज्येष्ठ नागरिक मनोविज्ञान), मानिला मान्छेका धामा (पाका नागरिकका लागि स्वस्थ प्रयास), डाँडाका उज्याला जून, पाकाको रमाइलो र पिरलो तथा पाकाको कथा र व्यथा (ज्येष्ठ नागरिक पाठ्यसामग्री) कृति बाहेक वन्यजन्तुसित सम्बन्धित कम्तीमा आधा दर्जन पुस्तक प्रकाशित छन् । अनेक शारीरिक समस्यामाथि विजय प्राप्त गर्दै डा. चालिसे आफूलाई पूर्णतः सक्रिय बनाइरहेका छन्।डा.चालिसेको पछिल्लो कृति ‘उमेरिंदाको कथा र व्यथा’ (ज्येष्ठ नागरिकसम्बन्धी सामग्री) २०८१ को अन्त्यतिर ज्ञानगुन प्रकाशनले बजारमा ल्याएको हो ।

‘बुढ्यौली स्वास्थ्य लेखनमा प्राध्यापक चालिसेको इतिहास’शीर्षकमा डा.सुमन के श्रेष्ठले बुढ्यौलीबारे सारा नेपालीको आँखा खोल्ने तथ्यगत विश्लेषण गरेका छन्। यसको एउटा तथ्य उल्लेख गर्छु–“नेपालीको जन्मँदाको औसत आयु वि.स. २००९ मा २७.५ वर्ष रहेको थियो जुन बढेर वि.स.२०७८ मा ७२ वर्ष पुगेको छ। अर्थात्, लगभग ७० वर्षमा नेपालीको आयु झन्डै ४४.५ वर्ष बढेको छ ।”

एउटा हातको मात्र एउटा औंलाले कम्प्युटर चलाउन सक्ने डा.चालिसेको विषयमा हितैषी कृष्णमुरारी गौतम (चट्याङ मास्टर)ले मर्मस्पर्शी शुभेच्छा प्रकट गरेका छन् ।‘मेरा तर्कना’मा डा.चालिसे भन्छन्–“उमेरिका पाकापाकी सबैलाई निरर्थक प्रशंसा तथा विशेष गरी शारीरिक अवस्थाको खिसीटिउरीले समाजमा विद्यमान असहज भेदभाव तथा शारीरिक एवं मानसिक पीडा र अमानवीय उत्पीडन कम गर्न चाहिने सामग्रीका अभाव देखिएका छन्।”र,यही अभावपूर्तिमा यो कृति अग्रणी सहायक बन्न पुग्ने सामग्रीहरु प्रस्तुत गरेको छ।

कृतिभित्रको पहिलो अनुसन्धान हो–उमेरिंदा पाकाले आफैँलाई दया गरौं।तथ्य र तर्कको सम्मिश्रणका साथै मनोविज्ञानका अनेक चाख लाग्दा र काम लाग्दा सामग्रीहरु रहेको यस रचनामा पाका मानिसले आफूलाई सबैभन्दा बढी आपूmले नै चिनेको हुनाले शरीरलाई आराम,आफैँसँग कुरा, स्वप्रोत्साहन, मनको चैनजस्ता सूत्रहरुमा आफूलाई स्वस्थ राख्न सकिन्छ भनिएको छ।अरुबाट दया पाउने आशा गर्नुभन्दा आफैँमाथि दया गर्ने हो भने धेरै हदसम्म सन्तुष्ट र स्वस्थ जीवन जिउन सकिन्छ ।

‘उमेरिंदा गर्नैपर्ने मुख्य तीन ओटा काम’मा डा. चालिसेले भोजन रोजौँ, जागरुक होऔँ र सक्रिय रहौँ लाई महत्वपूर्ण मानेका छन्।जैविक भोजनलाई यसमा प्राथमिकता दिइएको छ।सक्रियतामा मन लाग्ने असल कामका साथै हिँडाइलाई पनि महत्व दिइएको छ।

सगोलमा नबस्नुहोस् र बसेमा क्रियाकलामा हस्तक्षेप नगर्नुहोस्,नातिनातिनाको पढाइलेखाइमा बाधा नदिनुहोस्,बुहारी र ज्वाईँलाई माया गर्नुहोस् नसके सहनुहोस्, आफूलाई बुढेसकालको साबित नगर्नुहोस्, आफ्नो बेलाको झझल्कामा नटाँसिनुहोस्,आफ्नो रोगव्याध र कमाइबारे कुरा नगर्नुहोस्,ह्याकुलाले पेलेर सबै काम गर्न नखोज्नुहोस्,मरेपछि आफैँ टन्टा साफ नभन्नुहोस्, रमाउन सिक्नुहोस् जस्ता सूक्तिहरुमा अत्यन्त सार्थक विचार उल्लेख गरिएको छ ‘उमेरिंदा गर्नैपर्ने केही जुक्ति’मा।

‘उमेरिएकाहरूमा टाउको दुख्नाका कारणहरू’अति गहन अनुसन्धानमूलक आलेख हो।मस्तिष्क दुख्दैन,स्यानुको मुठो,पाकाको रिस आदि उपशीर्षकहरुमा धेरै खोज तथा अनुसन्धानका निष्कर्षहरुलाई प्रस्तुत गरिएको छ।“…मुख्य कुरा रिसले आफूलाई खाने गरेर नकारात्मक सोच राखेमा प्रत्युत्पादक हुन्छ भने डा.टाफ्राटले भनेझैँ रिसले अंगिकार गरेको क्रियाकलाप उपयुक्त नभएर छाड्ने वा फरक ढाँचामा गरिनुपर्ने पनि जनाउँछ।”

भारत र अमेरिकाको तथ्यसहित दृष्टान्त प्रस्तुत गरेर ‘उमेरिएका पाकाको पक्षमा गर्न सकिने कुरा’मा नेपालले पनि गर्न सक्ने धेरै उपाय तथा सुझाव प्रस्तुत गरिएका छन्।

‘पाकाका चार ओटा मुख्य आँखा समस्या’ शीर्षकमा आँखा स्वास्थ्यसम्बन्धी गम्भीर अनुसन्धान रहेको छ।उमेरसँगै आँखाको विकास तथा स्वास्थ्यबारे तथ्यपरक प्रस्तुति रहेको यस आलेखमा मोतीविन्दु, जलविन्दु,मधेमहजन्य न्यूनदृष्टि, रेटिना पिग्मन्टोसा, उमेरजन्य बादलु धब्बा,सुख्खा बादलु धब्बा,आद्र बादलु धब्बा आदिबारे सूक्ष्म विश्लेषणसहित नेपालको स्थितिलाई पनि तथ्यसहित प्रस्तुत गरिएको छ।आँखा जाँचका लागि सबैलाई हौस्याउनुपर्ने तर्क डा.चालिसेले दिएका छन् ।
‘उमेरिएकालाई मौसम परिवर्तनले सकस’मा हावहवाको प्रभाव,मुटुरोग बढ्ने, तातो लुदेखि ठुलो आँधीसम्म, हावाहुरीको मौसम आदि उपशीर्षकमा डा. चालिसेले तथ्य र विश्लेषण दिएका छन् । मौसम परिवर्तनले पाका मानिसमा शारीरिक,मानसिक विचल आउने गरेको तथ्यलाई उजागर गर्दै यसमा उमेरिएकाहरुले विशेष ध्यान दिनुपर्ने बताइएको छ ।

‘उमेरिएकालाई गोडाको सकस’मा स्वस्थ गोडाहरु उपशीर्षकअन्तर्गत विभिन्न पाँच बुँदामा गोडा स्वास्थ्यबारे प्रकाश पारिएको छ भने मांसपेशी बाउँडिने समस्यालाई गम्भीरतापूर्वक लिएर यसबारे विश्वमा भएको अध्ययन तथा समाधानबारे प्रकाश पारिएको छ ।

‘उमेरिएकाले चिन्तित भई रनभुल्लामा नपरौँ’मनोविज्ञानपरक आलेख हो । नकारात्मक नहोऔँ,ध्यान केन्द्रित गरौँ, व्यायाम गरौँ, सम्बन्धविच्छेद गरौँ, चिन्तारहित होऔँ उपशीर्षकहरुमा सटिक विश्लेषण प्रस्तुत गरिएको छ । यसैमा ‘दुःख र शोक’ उपशीर्षकले अति सम्वेदनशील भएर मनलाई स्पर्श गरेको छ । अन्त्यमा भनिएको छ–“उमेरिएका पाका मानिसले ज्ञान,सिप र अनुभवलाई आदरणीय मान्ने चलन स्थापित गराउन सकिए यस समस्याको हल धेरै मात्रामा सहजै हुने ठहर पाकाहरुबाटै आएको छ ।”

‘उमेरिएकालाई अनौठा लक्षणका चिन्ता’ शीर्षकमा जीवनशैली, पेट र मूत्राशयका व्यथा, वजन ठिक्क, धूम्रपान रोकौँ,सक्रिय रहौँ, बिगार्ने पेय घटाऔँ, घटाउने कुरा,चनाखो होऔँ, बल नगरौँ जस्ता उपशीर्षकहरुमा यथार्थपरक र तथ्यपरक वैज्ञानिक दृष्टिकोण प्रस्तुत गरिएको छ ।

‘पाका मानिसका निद्रा र जाँगरका कुरा’ पनि तथ्यपरक र मनोविश्लेषणात्मक आलेख हो।‘उमेरिएकालाई ढाड कम्मर दुखाइ’ अति गहन र समस्यालाई समाधान गर्ने दृष्टिकोण राखेर लेखिएको आलेख हो।केही चित्रसहित आसनहरुको पनि चर्चा गरिएको प्रस्तुत आलेखमा पाका मानिसको उचाइअनुसार हुनुपर्ने तौलबारे पनि बताइएको छ ।‘उमेरिएकालाई अनौठो लक्षण’ले पनि विभिन्न समस्या र समाधानबारे स्पष्ट विचार प्रस्तुत गरेको छ।

यसै गरी ‘पाका मानिसमा धङधङीका कारण’,‘उमेरिँदाका दुई ओटा काम ः भोज र व्यायाम’बारे जुटाइएका तथ्यहरु र गरिएको विश्लेषण घतलाग्दा रहेका छन्।‘साइटिका थामथुमका पाँच सूत्रीय उपाय’मा व्यायाम, बलियो भित्री अंगहरु, आसन फेरौँ,धूम्रपान नगरौँ, पर्याप्त निद्रा उपशीर्षक दिएर तद्विषयक तथ्य र विचार विश्लेषण प्रस्तुत गरिएको छ।

‘उमेरिँदाको अनौठो आन्द्रे रोग’, ‘उमेरिँदाको हबिगतमा केही ओखती’, ‘पाकाहरुमा उमेरिंदाको द्विधु्रवीय विकार’,‘उमेरिँदा भोग्ने निधनका पीडाहरू’, ‘पाकाका गोडा, जुत्ता र व्यायाम’,‘उमेरिँदा नातागतको पिर र सतर्कता’, ‘पाका मानिसमा पिनास समस्या’,‘पाका मानिसका ढुकढुकी समस्या’, ‘पाकाप्रति परिवार, समाज र राज्यको दायित्व’, ‘पाकाले हिँड्न नसक्नु नै सबथोक’, ‘पाकाले बेलैमा सावधान होऔँ’,‘उमेरिएका पाकाबारे सबैतिर चर्चा किन ?’आदि शीर्षकहरुमा अति खोज तथा अनुसन्धानमूलक, गहन, वैज्ञानिक र तथ्यपरक विश्लेषणहरू यस पुस्तकमा रहेका छन्।पाकाले नगर्ने उपशीर्षकमा विभिन्न २० बुँदामा दिइएको सुझाव निकै खोजमूलक,गहन र महत्वपूर्ण रहेका छन् ।

२८ ओटा शीर्षकमा लेखिएको प्रस्तुत ‘उमेरिँदाको कथा र व्यथा’ पुस्तक डिमाइ साइजमा करिब दुई सय पृष्ठको रहेको छ।मुख्य गरी ज्येष्ठ नागरिकलाई लक्ष्यित गरी लेखिएको भए पनि यसमा उल्लेख गरिएका तथ्य,भनाइ,अनुसन्धान तथा नतिजाहरु अध्येता,अनुसन्धानकर्मी र प्रबुद्ध पाठक सबैलाई काम लाग्ने किसिमका रहेका छन्।जुनसुकै उमेरका शिक्षित र आफ्नो स्वास्थ्यप्रति सचेत रहन चाहने हरेक व्यक्तिका लागि यो पुस्तक अत्यन्त पठनीय रहेको छ । यो कुनै साहित्यिक वा काल्पनिक विषयवस्तुमा रचिएको कलात्मक ग्रन्थ नभएर उमेर पुगेका हरेक व्यक्तिले आफूसित राख्नुपर्ने सुन्दर कृति हो।यो पाकाको स्वास्थ र क्रियाशीलताप्रति समर्पित कृति हो।उमेरिन लागेकाले पनि आफूसित राख्नै पर्ने प्रस्तुत पुस्तकमा प्रा.डा.चालिसेले गरेको परिश्रम तथा परिश्रम गर्ने क्षमतामात्र होइन तथ्यलाई विश्लेषण गरेर देखाउने गज्जबको दक्षता पनि प्रस्तुत गरेका छन्।डा. चालिसेको यो कार्य आफैँमा स्तुत्य रहेको देखिएको छ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया