सुशील गौतमको मुक्तक–गजल–सङ्ग्रह “पुष्पाञ्जलि” मा नजर लगाउँदा

–खगराज बराल, पिएचडी २०८२ भदौ ३१ गते ११:०४ मा प्रकाशित

पुस्तक समीक्षा

कृष्णकमल अधिकारी मेरो छिमकी मात्र होइन, सहृदयी मित्र हुन् । हामी बिहानी हिँडाइ सँगै मात्र गर्दैनौँ, आआफूसँग भएका पढ्ने पुस्तकहरू पनि आदानप्रदान गर्छौँ, पुस्तक पढेपछि समीक्षा पनि गर्छौँ । म साहित्यिक गतिविधि र पुस्तकमा रुचि राख्ने भएकाले मलाई दाङका सुशील गौतमद्वारा लिखित “पुष्पाञ्जलि” नामको मुक्तक–गजल सङ्ग्रह प्राप्त भयो । पुस्तक मुक्तक र गजलसँग सम्बन्धित रहेछ ।

लेखक एक त ज्येष्ठ नागरिक (उमेर असी वर्ष), दोस्रो शारीरिक अपाङ्गताले पीडित, अनि जीवनमा सङ्घर्ष गर्दै बाइस वर्षको उमेरमा संस्कृत साहित्यमा शास्त्री र चौबिस वर्षको उमेरमा अर्थशास्त्रमा स्नातकोत्तर गरेका गौतमले बाह्रओटा आफ्नै साहित्यिक सिर्जना गरेको जानकारी पाएपछि सुशील गौतमको “पुष्पाञ्जलि” शीर्षकको पुस्तक नपढी मनै मानेनँ । मेरो रुचिको विषय भएकाले पुस्तक पढ्नतिर लागेँ ।

कविता साहित्यको मात्र होइन, समग्र बाङ्मयको महत्त्वपूर्ण र सबैभन्दा पुरानो विधा हो । वैदिक साहित्यका कृतिहरू सुक्तिमय छन्, कवितामय छन् । वेद, उपवेद, वेदाङ्ग, पुराण, उपनिषद्, संहिता, स्मृतिग्रन्थ, ब्राह्मण, नीति सबै कवितामा सिर्जना भएका थिए । संसारका सबैभन्दा ठुला महाकाव्य महाभारत र अन्य महाकाव्य पनि पद्य कवितामा नै लेखिएका हुन् । वैदिक साहित्यका प्रारम्भमा नाटक पनि कवितामा नै सिर्जना गरिन्थ्यो ।

प्रारम्भिक चरणमा पश्चिममा साहित्य पनि कविताबाट सुरु भएको थियो । पश्चिमा साहित्यका महाकाव्य होमरको ओडिसी र इलियट, मिल्टनको प्याराडाइज लस्ट र प्याराडाइज रिगेन र शेक्सपियरका कतिपय नाटकहरू पनि कवितामा नै लेखिएका थिए।कविताका विविधि रूप छन्ः बाछिटा, हाइकु, मुक्तक, गजल, छोटा कविता, लामा कविता, खण्डकाव्य तथा महाकाव्य । विभिन्न मुलुकमा कुण्डलिनी, ताङ्का जस्ता कविताका अन्य रूपको अभ्यास गरिएको पाइन्छ ।

थोरै शब्दमा धेरै भन्न सक्ने मुक्तक कविताको लघुतम् रूप हो । भावात्मक अभिव्यक्तिमा यो जति सङ्क्षिप्त छ, त्यति नै प्रभावकारी छ । मुक्तक छोटो हुनुको साथै हृदयलाई हल्लाउने चमत्कारी अभिव्यक्ति पनि हो । मुक्तक सूत्रात्मक हुन्छ, सङ्क्षिप्त हुन्छ, तर आफैँमा पूर्ण हुन्छ । शब्दमा मितव्ययी हुन्छ, तर यसको भाव भने बिस्तारित हुन्छ । मुक्तक पूर्व प्रसङ्गरहित हुन्छ, जतिओटा मुक्तक हुन्छन्, एक श्लोकमा आफैँ पूर्ण हुन्छन् । पहिलो मुक्तक र दोस्रो मुक्तकको कुनै नाता सम्बन्ध हुँदैन ।

मुक्तकको खास सम्बन्ध फारसीको रुवाईसँग रहेछ । रुवाई फारसीबाट उर्दूमा आएको रहेछ, त्यसपछि उर्दूबाट हिन्दीमा र हिन्दीबाट नेपालीमा । हिन्दीमा रुवाइलाई कसै कसैले मुक्तक र कसै कसैले चतुष्पदी भन्न थाले छन् । चतुष्पदी भनेको चार पद वा चार खुट्टे । मुक्तक चार पदको श्लोक हो, पहिलो पद, दोस्रो पद र चौथो पदमा अन्त्यानुप्रास अनिवार्य हुनै पर्छ, तेस्रोमा अनिवार्यता छैन । पहिलो, दोस्रो र चौथो पदको काम कविले भन्न खोजेको मुख्य कुरालाई सहयोग पु¥याउने हो ।

संरचनाका दृष्टिले हेर्दा मुक्तक एक श्लोकमा रचना गरिएको हुन्छ । यसलाई चतुष्पदी शैली पनि भन्ने गरिन्छ । मुक्तकमा पहिलो र दोस्रो हरफको अन्त्यको शब्द अनुप्रासमय हुनु, तेस्रो हरफ स्वतन्त्र हुनु र फेरि, चौथो हरफ पहिलो र दोस्रो हरफको जस्तै अन्त्यको शब्द अनप्रासमय हुनु मुक्तकको आधारभूत संरचना हो । कोही कोहीले त अनुप्रासलाई ख्याल नगरे पनि एक श्लोकमा लेखिएको र भावको सूत्रात्मक अभिव्यक्ति दिने भएकाले यस्तो अभिव्यक्तिलाई पनि मुक्तक मान्ने गरेको पाइन्छ ।

मुक्तकका चार पाउमा पहिलो, दोस्रो र चौथो पाउका अन्त्यानुप्रास हुनुपर्ने भनिए पनि तेस्रो पाउमा पनि अन्त्यानुप्रास मिल्दा मुक्तकको विधान भंग हुँदैन । कहिलेकाहीँ चारोटै पाउमा अन्त्यानुप्रास भए पनि मुक्तकको गरिमामा आँच आउँदैन भनेर चेतन कार्कीले भनेका छन् । उनले आफ्नै मुक्तकको उदाहरण यसरी दिएका छन्ः

“रूप होस् अभिमान नहोस् सम्भव नै छैन ।
बैंस होस् गुमान नहोस् सम्भव नै छैन ।।
क्रान्ति होस् बलिदान नहोस् सम्भव नै छैन ।
नेता होस् बेईमान नहोस् सम्भव नै छैन ।।” (चेतन कार्की) ।
मुक्तकको कथन प्रायः असामान्य हुने गर्छ, कहिलेकाहीँ कथन सामान्य भए पनि यसको भावमा
गहिरो चेतना हुन्छ, गम्भीर जीवनदर्शन हुन्छ ।

मुक्तक कुनै निश्चित लय वा छन्दमा लेखिँदैन । यसको लय मौलिक हुन्छ । अनि, यसमा सबै पंक्तिमा अक्षरगत वा मात्रागत समानता हुनु अनिवार्य छैन । मुक्तकमा सबैभन्दा महत्त्वपूर्ण विचार हो, भाव । पहिलो हरफदेखि विचार वा भावको प्रस्तुति उत्तरोत्तर गतिमा हुन्छ र अन्तिम हरफले लेखकको विचार वा मतको चोटिलो अभिव्यक्ति दिन्छ ।

प्रायः मुक्तकको शब्दशक्ति अभिधा तहमा नभएर लक्षण तथा व्यञ्जना तहमा हुन्छ । मुक्तकमा बिम्ब, प्रतीक, अलंकार, ध्वनि, वक्रोक्ति अत्याधिक उपयोग गरिएको हुन्छ । यस्ता प्रयोगले मुक्तकमा भावको अभिव्यक्तिलाई खँदिलो बनाउँछ, चोटिलो बनाउँछ ।

मुक्तक कविताको लघुतम् रूप, तर आफैँमा पूर्ण रचना हो । यो महाकाव्य तथा खण्डकाव्यकानियमहरूबाट मुक्त हुन्छ, त्यसैले त मुक्तक भनिएको होला । मुक्तकको पनि आफ्नै लय विधान हुन्छ,वार्णिय, मात्रिक वा लोक लय वा स्वतन्त्र । यो गद्य कविता जस्तो लय मुक्त भने हुँदैन, साथै यो गद्यकविता जस्तो निरस पनि हुँदैन ।

मुक्तकको निश्चित संरचना भने हुँदैन । मुक्तक कुनै कविताको अंश होइन, यो एक किसिमको कविता हो, कविताको लघुतम् रूप हो, आफैँमा पूर्ण हो । एउटा मुक्तकमा एउटा मात्र विचार वा भाव प्रवाह गरिएको हुन्छ । एउटै लयमा र एउटै तालमा हुन्छ । भाषा र शैली सरल हुन्छ तर प्रभावशाली हुन्छ ।

नेपाली साहित्यका मुक्तक शैलीका कविता लेखन पहिल्यैदेखि भए पनि मुक्तक नै भनेर आधिकारिक सुरुवात गर्ने कवि हुन् भीमदर्शन रोक्का । नेपाली साहित्यका आधुनिक मुक्तककारका रूपमा चिनिने रोक्काको एउटा मुक्तकलाई हेरौँः

“रात केवल एक प्रहर बाँकी छ
तीन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिम पुगेकी एक्ली चाँदनीलाई
केवल एउटा मेरै भर बाँकी छ ।” (भीमदर्शन रोक्का) ।

संवत् २०३० को दशकमा नेपालमा मुक्तक लेखनले अत्याधिक चर्चा पायो । त्यसपछि मुक्तकले नेपाली साहित्यमा लोकप्रिय विधाका रूपमा स्थापित भयो । साहित्यिक रचनामा यसको अत्यधिक प्रयोग भएको पाइन्छ ।

नेपाली साहित्यमा भूपि शेरचनका मुक्तकलाई निकै चोटिला मुक्तकका रूपमा लिने गरिन्छ ।
जस्तैः

“प्रत्येक पहेँलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ
प्रत्येक रंगिन चरालाई वनको मजुर भन्न मन लाग्छ
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब त
बाटामा कुनै गधा देखे पनि हजुर भन्न मन लाग्छ ।” (भूमि शेरचन) ।
नेपाली साहित्यको मुक्तक लेखनमा चेतन कार्कीको आफ्नै स्थान रहेको छ । उर्दू साहित्यका ज्ञाता
चेतन कार्कीको एउटा मुक्तकलाई हेरौँः

“रात गयो, बात गयो, साथै सुराको रङ्ग गयो ।
सुन्दरी प्रतिको मोह, बैंसकै सँग सँग गयो ।।
आँखा लोभी मन पापी, बाँकी तर तरङ्ग रह्यो ।
षोडशीले “बाबा” भन्दा, बल्ल मोह भङ्ग भयो ।।” (चेतन कार्की, हत्केलाले सधैँभरि सूर्य छेकिँदैन,
२०६८) ।

गजल नेपाली साहित्यको लोकप्रिय विधा हो । यो पनि कविताको लघु रूपमा पर्दछ । नेपाली साहित्यमा मुक्तकका तुलनामा गजलको साहित्यिक इतिहास पुरानो छ । हुनतः गजल नेपाली साहित्यको मौलिक विधा चाहिँ होइन, यसको विकास उर्दू, फारसी र अरबी साहित्यमा भएको हो । बिस्तारै गजललेनेपाली साहित्यमा पनि महत्त्वपूर्ण स्थान बनाउन सफल भएको छ ।

प्रारम्भमा गजल लेखन प्रेमको शिष्ट अभिव्यक्तिको रूपमा भएको थियो । गजल प्रेमी प्रेमिकाबिचको कुराकानीको विषयमा लेखिन्थ्यो । कालान्तरमा गजलको अर्थ नै प्रेम काव्य नै हुन गयो । समयक्रममा गजलमा प्रेम मात्र नभएर सामाजिक, राजनीतिक, दार्शनिक र दैनिक जनजीवनका विविध पक्षलाई समेटेर लेख्न थालियो ।

विशेषगरी, गजल पढ्नेभन्दा पनि सुन्ने विधाका रूपमा परिचित छ । गजलको सङ्गीतसँग ज्यादै नजिकको नाता छ । गजल सङ्गीतको अत्यन्त कोमल रूप भएकाले मानिसहरू गजललाई हेर्ने र पढ्नेभन्दा सुन्नलाई लालायित हुन्छन्, दत्तचित्त हुन्छन् ।

गजलमा कुनै दानवी, आसुरी, राक्षसी अभिव्यक्ति हुँदैन, अट्टहासको अभिव्यक्ति पनि हुँदैन, अश्लिल तथा उत्तेजक अभिव्यक्ति पनि हुँदैन । “अरुज विज्ञान” (२०७३) का लेखक आवाज शर्माले “गजललाई एउटै लय अनुशासन (छन्द÷बहर) मा आवद्ध भएको, समान रदीफ तथा फरक फरक काफिया लिएर लेखिएका लघु कविताहरूको समूह गजल हो । जहाँ शायर (शायरी प्रस्तुत गर्ने व्यक्ति) ले आफ्नो चिन्तन, विचार वा भावनालाई शालीनतापूर्वक विभिन्न बिम्ब, प्रतीक, उपमाहरूो प्रयोग गरी असामान्य रूपमा प्रस्तुत गर्ने गर्दछन्” भनेका छन् । गजललाई अझै स्पष्ट पार्न आवाज शर्मा भन्छन्, “एउटै लय र अनुप्रास विधानमा आवद्ध फरक फरक दुई हरफीय लघु कविताहरूको एकीकृत रूप गजल हो ।”

नेपाली साहित्यमा गजल लेखन मोतिराम भट्टभन्दा पहिला भए पनि सचेत रूपमा नेपाली भाषामा गजल लेखनको सुरुवात युवाकवि मोतिराम भट्टको समयदेखि भएको हो । मोतिराम भट्टकोएउटा गजलको टुक्रालाई हेरौँः

“ई सानै उमेर्देखि मन हर्न लागे
इनै सुन्दरीले जुलुम गर्न लागे
कहाँसम्मको आँट लौ हेर तिनको
रिसाएर आँखा पनी तर्न लागे” (मोतिराम भट्ट) ।

चेतन कार्की नेपाली गजलमा उर्दूका गजलको स्वाद दिने गजलकार हुन् । उनमा नेपाली, संस्कृत, हिन्दी, अङ्ग्रेजी र उर्दू भाषाको ज्ञान थियो र सो ज्ञानको प्रतिबिम्बन उनका रचनाहरूमा देखिन्थे । नेपाली गजलमा उर्दूका गजलको स्वाद कार्कीले चखाएका छन् । एउटा उदाहरण हेरौँः

‘कस्तो लाग्यो’ भन्छन्, चखाउनु अघि नै ।
‘बुझ्यौ ?’ भनी सोध्छन्, बुझाउनु अघि नै ।।
सुर ताल के हो, थाहा छ कि छैन ?
‘बजाऊ ताली’ भन्छन्, ती गाउनु अघि नै ।। (चेतन कार्की, हो देश मेरो पनि, २०६८) ।
आवाज शर्मा नेपाली गजल लेखनमा श्रुतिमाधुर्यतामा रमाउने गजलकार हुन् । थोरै शब्दमा गहन
भाव प्रकट गर्न सक्षम छन् उनी । एउटा उदाहरण हेरौँः
“न सासको कुरा भयो ।
न लासको कुरा भयो ।।
कथा उही छ भोकको ।
न गाँसको कुरा भयो ।।” (आवाज शर्मा, पोल्यो शीलले झन्, सन् २०१२) ।

यहाँ सुशील गौतमको “पुष्पाञ्जलि” मुक्तक–गजल–सङ्गहलाई केन्द्रबिन्दुमा राखेर कवितको लघुतम् रूप मुक्तक र गजलको चर्चा गर्ने प्रयास गरिएको छ । यहाँ सुशील गौतमको “पुष्पाञ्जलि” मुक्तक–गजल–सङ्ग्रहलाई केन्द्रबिन्दुमा राखेर कवितको लघुतम् रूप मुक्तक र गजलको चर्चा गर्ने प्रयास गरिएको छ ।

“पुष्पाञ्जलि” पुस्तक प्राप्त भएपछि पहिला लेखकको परिचय खोजेँ । पुस्तकको पृष्ठ १६५ मा स्रष्टा परिचय रहेछ । सुशील गौतमको जन्म वि.सं. २००२ सालमा हापुर, दाङमा भएको रहेछ । हाल घोराही, दाङमा स्थायी बसोबास गरेका सुशील गौतमले वि.सं. २०२३ सालमा २१ वर्षको उमेरमै बनारसबाट संस्कृत साहित्यमा शास्त्री उपाधि हासिल गरे भने वि.सं. २०२५ सालमा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरे । जन्मनासाथ जननी गुमाएका गौतम जन्मजात शारीरिक अपाङ्गताबाट ग्रसित थिए । पुस्तकको पृष्ठ १६६ मा गौतमलाई जन्मजात विकालाङ्ग भनी लेखिएको छ।

प्रन्धभन्दा बढी विभिन्न साहित्यिक संघ संस्थाहरूबाट पुरस्कार र सम्मान पाएका गौतम पाँचओटा सामाजिक संघ संस्थाका आजीवन सदस्य एवम् सल्लाहकारका रूपमा रहेका छन् । सुशील गौतमका वि.सं. २०५६ देखि कृति प्रकाशन भएका छन्, यस्ता कृति १२ ओटा छन् । उनी विशेषतः कवि हुन् । उनले कविताअन्तर्गत कविता, गीत, मुक्तक तथा गजलका गरी १० ओटा साहित्यिक कृति सिर्जना गरेका छन् । ‘कविताञ्जली’ (२०५६), एक सय एक प्रेमगीतहरू (२०६०), चर्किएको जून
(२०६०), पिरतीका धुनहरू (२०६१), प्रेसर कुकर (२०६१), गजल रापती (२०६४), गजल गुञ्जन (२०६८), नीलमणि (२०७२), सयपत्री (२०७७), पुष्पाञ्जलि (२०७८) उनका नेपाली भाषामा लेखिएका कृति हुन् भने अश्क–ए–चिराग (२०७०) उनको हिन्दी–उर्दू गजल सङ्ग्रह हो । साथै, उनले अङ्ग्रेजी कविता पनि लेखेका छन्ः My Poems (२०५८) । सुशील गौतम सम्पादनमा पनि उत्तिकै पोख्त छन् । पं. शालिग्राम गौतम स्मृति ग्रन्थ (२०५९) र छन्द रापती (२०६१) उनले सम्पादन गरेका पुस्तक हुन् । अनुवाद साहित्यमा गौतमको रुचि पनि रहेको छ । उनले पं. टेकनाथ गौतमद्वारा लिखित ‘हिन्दु धर्म र बौद्ध धर्म एउटै आर्य धर्म हुन्’ पुस्तकको अङ्ग्रेजी अनुवाद पनि गरेका छन् । नेपाली, हिन्दी, उर्दू तथा अङ्ग्रेजी भाषामा गौतमको पकड भएको कुरा उनका साहित्यिक सिर्जना र अनुवाद कार्यबाट बुझ्न सकिन्छ ।

सुशील गौतमका साहित्यिक सिर्जना उत्कृष्ट छन् भन्ने कुरा त उनको जीवनी, व्यक्तित्व र कृतित्व शीर्षकमा विभिन्न महाविद्यालयहरूमा अध्ययनरत् ६ जना विद्यार्थीहरूले विभिन्न समयमा स्नातकोत्तर उपाधिको आवश्यकताको आंशिक पूर्तिका लागि शोधपत्रहरू पेस गरेको सन्दर्भबाट पुष्टि हुन्छ।जन्मजात शारीरिक अपाङ्ग भएका सुशील गौतम विगत १९ वर्षदेखि नै बिच्छौनामा नै छन्, बिच्छौनामा बसेर पनि साहित्यिक सिर्जनामा तल्लिन भइरहेका छन् । संवत् २०७७ मा प्रकाशित सचित्र गजल “सयपत्री” लाई सुशील गौतमले आखिरी कृति भने पनि वि.सं. २०७८ मा “पुष्पाञ्जलि” नामको मुक्तक गजल सङ्ग्रह प्रकाशित गर्न सफल भएका छन् ।

“पुष्पाञ्जलि” मुक्तक गजल सङ्ग्रहमा कवि सुशील गौतमले “सङ्क्षेपमा….” लेखेका छन्, “शारीरिक असक्तताजन्य असह्य पीडाले गर्दा निरन्तर लेखिरहने मेरा चाहना बाधित हुन गएको छ । त्यसैले कविताञ्लीबाट सुरु भएको मेरो साहित्यिक अनुष्ठान यो पुष्पाञ्जलिद्वारा समापन गर्दैछु ।” गौतमले अन्त्यमा लेखेका छन्, “योभन्दा धेरै लेख्नै नसक्ने अवस्था भएकाले मेरा सबै प्रिय एवम् आदरणीय भावकहरूसँग अन्तिम बिदा माग्दछु ।” यसमा लेखिएको “अन्तिम बिदा” शब्दावलीले पुस्तक पढ्न सुरु गर्दा नै ऐँठन हुन्छ, उकुसमुकुस हुन्छ । कवि गौतमको ‘कविताञ्जली’ (२०५६) देखि प्रारम्भ भएको साहित्य लेखन लेखककै शब्दमा ‘पुष्पाञ्जलि’ (२०७८) बाट समापन गरेको घोषणा लेखकीय मन्तव्यबाट जानकारी मिल्दछ । “पुष्पाञ्जलि” मुक्तक गजल सङ्ग्रहमा “आँसुका अक्षरहरू” शीर्षकमा सम्पादकीय लेखेका नारायण नेपाल भन्छन्, “सुशीलजीको लेखनको धरातल मूलतः पीडा नै हो; त्यो अलिकति आफ्नो हो र अधिकांश राष्ट्रको हो ।” गौतमका व्यक्तिगत तथा राष्ट्रसँग सम्बन्धित पीडा बुझ्नका लागि उनको यो मुक्तक–गजल सङ्ग्रह पढ्नैपर्ने हुन्छ । यस सङ्ग्रहमा ४७८ ओटा मुक्तक छन्, ४३ ओटा गजल छन् । प्रत्येक मुक्तक चार पङ्क्तिका छन् । गजलहरूमा भने ८ देखि १६ पङ्क्ति छन् । कुल १६६ पृष्ठमा मुक्तक तथा गजल सङ्ग्रहित रहेका छन् । यस पुस्तकको मूल्य अन्य पुस्तकको भन्दा भिन्न छ; मूल्य “हार्दिक भावग्रहण” ।

सर्जक गौतमका यस संग्रहमा पृष्ठ १ देखि १२० सम्म ४७८ ओटा मुक्तक रहेका छन् (सम्पादकले ४८० भनिए पनि) । पहिलो र अन्तिम पृष्ठमा मुक्तक तीन तीन मुक्तक छन् भने बाँकी ११८ पृष्ठमा चारचार मुक्तक रहेका छन् । प्रत्येक मुक्तक मुक्तकीय संरचनाअनुसार चार हरफ लेखिएका छन् । यसरी हिसाब गर्दा ४७८ मा १,९१२ ओटा हरफ रहेका छन् । मुक्तक लेखनमा सर्जक गौतमका अविरल साधनाको उपज हुन् यी मुक्तकहरू । मुक्तकमा प्रयुक्त शब्द, अर्थ, भाव, बिम्ब, प्रतीक, वक्राक्ति आदिको रसस्वादन गर्न मुक्तक नै पढ्नुपर्ने हुन्छ । सर्जक गौतमका परिष्कृत शब्द र शैली र मुक्तकमा व्यक्त भावका कारण पाठक मुक्तक पढ्न सुरु गरेपछि नसकिन्जेल पुस्तकलाई छोड्न सक्दैन । यस संग्रहमा उल्लिखित सबै मुक्तकहरू उति नै चर्चायोग्य छन् । तैपनि, पाठकहरूलाई यस संग्रह पढ्नका लागि उत्प्रेरित गर्न केही प्रतिनिधि मुक्तकहरूलाई उल्लेख गरेको छु । मुक्तककार गौतम वर्तमान समयमा सन्तानले आफ्ना आमाबाबुप्रति गर्ने गलत व्यवहारप्रति कडा व्यङ्ग्य प्रहार गर्छन् । कुकुरलाई प्यार गर्ने वर्तमान पुस्ताले जन्म र कर्म दिने आमाबाबुप्रति देखाएको बेवास्तालाई यसरी प्रहार गर्छन्ः

“पाल्छन् कुक्कर छोराले आमाबाबु निकाल्दछन् रिसले चूर आँखाले उनैलाई नियाल्दछन् अशक्त वृद्धवृद्धा ती कहाँ जाऊन् र के गरुन् ? ‘मर्न गाह्रो’ भनी रुन्छन्, आफ्ना पीडा पगाल्दछन्” (पृ. ३) । आमाबाबालाई वृद्ध अवस्थामा बेवास्ता गर्ने, हेप्ने, उचित हेरचाह नगर्ने सन्तानलाई तुच्छ र निकृष्ट हुन् भन्दै मुक्तककार गौतम भन्छन्ः “आमाजस्तो सधैं मीठो कविता हुन्न लोकमा बाबाजस्तो निकै टाठो सविता हुन्न लोकमा यिनै वृद्ध हुँदा हेप्छन् कुनै सन्तानले भने तुच्छ–निकृष्ट योभन्दा रमिता हुन्न लोकमा” (पृ. ५) । मुलुकमा विद्यमान लोकतन्त्रको प्रवृत्तिप्रति मुक्तककार घृणा व्यक्त गर्छन् । लोकतन्त्र भनेको माफियातन्त्र होइन, दानवीतन्त्र होइन, धूर्तता होइन, षड्यन्त्र होइन भन्दै वर्तमान लोकतन्त्रमा माफियातन्त्र, दानवीतन्त्र, धूर्तता र षड्यन्त्र व्याप्त भएको भनी आक्रोश व्यक्त गर्नै मुक्तककार भन्छन्ः

“लोकतन्त्र छ मूच्र्छामा माफियातन्त्र व्याप्त छ
मानवी बुद्धिमा पूरै दानवी मन्त्र व्याप्त छ
लुटी एक्लै सबै खाने थुप्रै दुष्ट गिरोह छन्
हो, ऐले देशमा ठूलै धूर्त षड्यन्त्र व्याप्त छ” (पृ. ३) ।
सभ्यता हराउँदै गएको यस धर्तीमा पुनः सभ्यता रोप्न, शिलामा नयाँ सिर्जना खोप्न देऊ भन्दै
आह्वान यसरी गर्छन् मुक्तककार गौतमः

“म नाङ्गै छु, यो नग्नता छोप्न देऊ
धरामा पुनः सभ्यता रोप्न देऊ
सबै यत्नका लक्ष्य बेकार हुन्नन्
शिलामा नयाँ सिर्जना खोप्न देऊ” (पृ. ९) ।

“धर्म भनेको अफिस हो” भन्दै हिँड्ने आफूलाई वामपन्थी भनाउने कालमाक्र्सका चेलाहरूले नाग पञ्चमीमा नागको तस्बिर घरघरमा टाँस्ने, जनै पूर्णिमा मनाउँदै रक्षाबन्धन बाँध्ने, घर बनाउँदा पूजा गर्नका लागि पूजाकोठा बनाउने, ईश्वरको दर्शनका लागि मन्दिर धाउने, महायज्ञ तथा महापुराण लगाएका स्थानमा गएर प्रमुख अतिथि तथा अतिथि बनेर रामनामी ओड्ने गरेको कुरालाई कवि गौतमले यसरी व्यङ्ग्य गरेका छन्ः

“नाग टाँस्छन्, कथा बाँच्छन्, जनै पूर्णे मनाउँछन्
पूजा–आजा सधैँ गर्न पूजा–कोठा बनाउँछन्
धर्मका नाममा दान थाप्छन् आशिष छर्दछन्
वामपन्थी यिनै बन्छन् झिँगाझैँ भुन्भुनाउँछन्” (पृ. ९) ।

पण्डापण्डितले समेत भक्तलाई ठग्ने गरेको र दुनियामा पापाचार बढेकाले दुष्टहरूको विनाश गर्न र साधुजन तथा भक्तको रक्षाका लागि अवतार लिने बेला भएन र भनी कृष्णमोहनलाई मुक्तककारले यसरी सोधेका छन्ः

“पण्डापण्डितले गर्छन् भक्तको द्रव्यदोहन ।
पापाचार बढेका छन् कहाँ छौँ कृष्णमोहन ?
अवतार लिने बेला के भएन र लोकमा ?
आऊ यो दुनियालाई गर कर्तव्य–शोभन” (पृ. १०) ।
भगवद्गीताको चतुर्थ अध्याय (ज्ञान योगको श्लोक ७ र ८ समतुल्य यो मुक्तकले गीताको
भावलाई स्मरण गराउँछ । यी श्लोकमा भनिएको छः
“यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदाऽअत्मानं सृजाम्यहम्” ।।४ । ७ ।।्

“परित्राणय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।” ४ । ८ ।।
गीतामा श्रीकृष्णले अर्जुनलाई भन्छन्ः “हे भारत (अर्जुन) ! जब जब धर्ममा अवनति हुन्छ र
अधर्मको प्राबल्य बढ्छ, त्यतिबेला म आफ्नै स्वरूपमा प्रकट हुन्छु । साधुजनहरूको रक्षा गर्न, दुष्टहरूको
विनाश गर्न र धर्मलाई स्थापन गर्न म युग युगमा प्रकट हुने गर्दछु ।”

विशेषगरी संवत् २०४७ पछि र अझ बढी २०६३ पछि नेपालमा धर्मान्तरण बढ्दै गएको प्रति कविको क्षोभ छ । बहुसङ्ख्यक हिन्दु र सनातनी भएको विश्वको एक मात्र हिन्दु राष्ट्रलाई धन्र्मान्तरणको मात लागेकाले धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नमा विदेशीबाट प्राप्त मेवा र विदेशीप्रतिको सेवा हो भन्दै यस्तै धर्मघातीले नै स्वदेशको स्वत्व नै फिरङ्गीलाई हस्तान्तरण गर्दैछन् भन्ने कुरा कविले यसरी व्यक्त गरेका छन्ः

“मीठा चिल्ला कुरा सुन्छन् धर्मान्तरण गर्दछन्
यहाँका सभ्यतालाई रूपान्तरण गर्दछन्
कूट सेवा र मेवाका लोभमा चिप्लिँदै गई
सबै स्वत्व उनैलाई हस्तान्तरण गर्दछन्” (पृ. १०) ।

कवि स्वयम् पनि जनयुद्धबाट पीडित हुन् । दाङको हापुरमा नै रमाइरहेका गौतम सरकार माओवादीबिचको द्वन्द्वका कारण गाउँको जीवन असुक्षित भई घोराहीको काठेकोहलमा बसाइ सरेका रहेछन् कवि गौतम । माओवादीबाट भनिने गरिएको जनयुद्धले नेपाली नेपालीबिच लडाएर देश नै खोक्रो बनेको, स्वदेशको माया गर्नेलाई प्रतिगामीको बिल्ला लगाइएको र युद्धमा थुप्रै धन र जनको क्षति भए पनि खासै जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन नभएको सन्दर्भलाई लिएर कविले यस मुक्तकमा यसरी उल्लेख गरेका छन्ः

“जनयुद्ध लडाएर देशै खोक्रो बनाइयो
हाम्रा स्वत्व सबैलाई प्रतिगामी भनाइयो
दिगामी रिक्तताभित्र भुस भर्ने क्रिया बढे
जसको निम्ति सर्वत्र धनराशि खनाइयो” (पृ. ११) ।

विगतको जनयुद्धमा युवाहरूको जवानी खेर गएको, उनीहरूलाई ठुला ठुला सपना देखाइएको भए पनि विगतको द्वन्द्व नेपालीको चाहना नभई विदेशीको स्वार्थ थियो भन्ने भावना गौतमले यस मुक्तकमा यसरी व्यक्त गरेका छन्ः

“जवानी खेर गो व्यर्थै पाएनन् पढ्न यी युवा
ठूल्ठूला सपना देखी थालेछन् लड्न यी युवा
विदेशी स्वार्थ भो पूरा जनयुद्ध समाप्त भो
नेताको टाउकामाथि पाएनन् चढ्न यी युवा” (पृ. ११) ।

“पुष्पाञ्जलि” मुक्तक गजल संग्रहको १६४ पृष्ठमा १२० पृष्ठ मुक्तकहरूले ओगटेका छन् भने ४४ पृष्ठ गजलले । यसरी हेर्दा यस संग्रहको २७ प्रतिशत भाग मात्र गजलले ओगटेको छ । थोरै प्रतिशत ओगटे पनि यस सङ्ग्रहमा सङ्ग्रहीत गजलहरू श्रुतिमय छन्, चमत्कारी छन्, आह्लादीय छन् । गजलकार गौतमका ४३ ओटा गजलमध्ये केही गजलका केही सन्दर्भलाई यहाँ उल्लेख गरेको छुः

गजलकार गौतम स्वर्ग जाने बेला अझै नभएको र यस धरामा अझै कर्म गर्न बाँकी छ भन्ने सन्देश दिँदै यसरी भन्छन्ः

“सबैले भने ‘माथि जाने नसोच्नू
अझै स्वर्गको राहदानी छ बाँकी’
‘गरुँ के म ?’ भन्दै यसो गम्न थाल्दा
बुझेँ, ‘कर्मको राजधानी छ बाँकी’ (पृ. १२२) ।
गजल विशेषतः प्रेमको शिष्ट अभिव्यक्ति भनिने गर्छ । गजलकार गौतमले आफ्नो प्रेमलाई कति
शिष्ट र हृदय छुने गरी यसरी व्यक्त गरेका छन्ः
“तिमी आउँदा आँसु सुक्दा रहेछन्
सबै घाउका कष्ट लुक्दा रहेछन्” (पृ. १२४) ।


यस गजल सङ्ग्रहमा अनुप्रासको छेलोखेलो प्रयोग भएको छ । गजलमा प्रयुक्त शब्दहरू अवर्णनीय व्यङ्ग्य पस्केका छन्ः

“नयाँ आसका भेल उस्तै पुराना
नयाँ तासका खेल उस्तै पुराना
सकेसम्म चोर्छन् निचोर्छन् मजाले
नयाँ खासका झेल उस्तै पुराना
सधैं व्यस्त छन् दम्भकै चाकडीमा
नयाँ दासका जेल उस्तै पुराना
लथालिङ्ग हुन्छन् पुनः मिल्न खोज्छन्
नयाँ लासका मेल उस्तै पुराना” (पृ. १२५) ।

संरचनामा हेर्दा यी सुरुका पङ्क्तिमा पहिलामा ‘अ’ र ‘भ’, दोस्रोमा ‘त’ र ‘ख’ मात्र फरक देखिन्छ, तर सन्देश साह्रै चोटिलो छ । नेपाली राजनीतिमा चलिरहेको “नयाँ बोतलमा पुरानो रक्सी” भन्ने भनाइको चरितार्थ यी दुई पङ्क्तिमा पाइन्छ ।

माथिका गजलमा शब्द विन्यास ज्यादै चमत्कारिक देखिन्छ । एउटै पङ्क्तिमा थुप्रै अनुप्रास भेटिन्छन्ः “चोर्छन् निचोर्छन्” । गजलको सुरुको पङ्क्तिको ‘अ’ र ‘भ’, दोस्रोमा ‘त’ र ‘ख’, चौथोमा ‘ख’ र ‘झ’, छैटौँमा ‘द’ र ‘ज’, आठौँमा ‘ल’ र ‘म’ मात्र फरक छन्, अरू उही संरचनामा दरिलो, जोशिलो र चमत्कारिक व्यङ्ग्य पस्किएको छ । पढ्दा निकै आनन्द आउँछ ।

राष्ट्रिय स्वत्व हराएकामा गजलकार गौतम निकै क्रुद छन् । देशको कानुन निर्माणमा विदेशीको हातप्रति सङ्केत गर्दै नेपाली नेतृत्वको गुलामी प्रवृत्तिप्रति असन्तोषको ज्वाला यसरी व्यक्त गरेका छन्ः

“हाम्रा कानुन निर्माता विदेशी नै हुने भए
जण्ड उद्दण्ड नेता यी मुर्दाजस्तै हुने भए
राष्ट्रको स्वत्व बेचेर निकै फुर्ति लगाउँछन्
गुलामीको पराकाष्ठा यिनले छुने भए” (पृ. १२६) ।

काँडा पनि जलाउन नसक्ने आगो, पाइला चलाउनै नसकिने उज्यालो, जलेको मन, बाँझो धर्ती जस्ता बिम्ब तथा प्रतीक प्रयोग गर्दै गजलकार गौतम जर्जर मुढाको थुप्रोमुनिका आगाका फिलिङ्गालाई आँधी सरी आएको बतासले पनि बनाउन नसकेको व्यङ्ग्य गर्दै लेख्छन्ः

“आगो त बलेकै हो, काँडा कुनै जलाउन सकेन
उज्यालोतर्फ पाइला यौटा पनि चलाउन सकेन
जलाएको खरबारी पानी पर्दा हरियो भयो
खरानी भएको कसैको मन भने पलाउन सकेन !
यो धर्ती पनि कति बाँझो ! कस्तो उराठलाग्दो ?
रगतैले भिजाउँदा पनि एक छाक फलाउन सकेन
जर्जर मुढाहरूको थुप्रोमुनि क्यै फिलिङ्गा राखी
फुके पनि आँधीले तिनलाई बलाउन सकेन” (पृ. १२९) !

छली, ढाँली गरेर नामसारी गर्ने कार्यलाई वैधता दिन नसकिने, लुटेराको मेललाई एकता भन्न नसकिने र गुलामी कलालाई सभ्यता भन्न नसकिने भाव व्यक्त गर्दै गजलकार गौतमले नेपालको वर्तमान राजनीति, अव्यवस्था र लुटतन्त्रमाथि हमला यसरी गरेका छन्ः

“छली, ढाँटी फकाएर नामसारी गराइयो
छ यस्तो धनमा पूरै वैधता कसरी भनूँ ?
हाँगा भाँचे, जरा ताने, फलफूल सबै लुछे
लुटेरा–मेललाई म एकता कसरी भनूँ ?
गुलामीको कलालाई सभ्यता कसरी भनूँ ?
यसकै शृङ्खलालाई भव्यता कसरी भनूँ ?” (पृ. १३५) ।

नेपालीहरूको महान् चाड दशैंमा विदेशिएका घर फर्कने पनि चाड हो । दशैँमा विदेशिएका छोराछोरी गाउँघर फर्कने र आमाबाबुलगायत मान्यजनबाट टिकाजमरा लगाएर आशिष थाप्ने हाम्रो परम्परा हो । तर, केही वर्ष यता यो परम्परा र संस्कृति उल्टिएको छ । आमाबाबुको हातको टिका लगाउन विदेशिएका छोराछोरी घर फर्कदैँनन्, बुढा भएका आमाबाबु नै टिका लगाइदिन विदेश जानुपर्ने अवस्था सिर्जना भएको देखिन्छ । यसलाई गजलकारले दशैँमा घर जुट्ने धारणा समाप्त भएको र सभ्यता बेची खाएको धारणा

यसरी प्रकट गरेका छन्ः

“संवेदना मरेकामले वेदना नै समाप्त भो
‘हामी मानिस हौँ’ भन्ने चेतना नै समाप्त भो
आर्यको सभ्यतालाई बेची खाए गुलामले्
दशैँमा घरमा जुट्ने धारणा नै समाप्त भो” (पृ. १३६) ।

कवि हुन चाहने, तर छन्दमा कविता लेख्ने ढंग नहुने वर्तमान पुस्ताप्रति गजलकारको असहमति छ । कविताको नाममा भाषणबाजी गर्ने र विचारका नाममा आगो ओकल्ने वर्तमान पुस्ता कविताप्रति गजलकार सहमत छैनन् । अङ्ग्रेजी भाषाको भाषिक साम्राज्य फैलिँदा आफ्नो भाषिक स्वत्व हराएकामा गुनासो व्यक्त गर्दै गजलकारले वर्तमान कविमा छन्दमा कविता लेख्ने क्षमतामा ह्रास आएको उल्लेख गर्दै भन्छन्ः

“असंस्कृत भए भाषा आङ्ग्ल साम्राज्य फैलिँदा
छन्दमा कविता लेख्ने साधना नै समाप्त भो” (पृ. १३६) ।

हाल सुन्न मात्र सक्ने बोल्न नसक्ने अवस्थामा पुगेका मुक्तक तथा गजल लेखक सुशील गौतमलाई यस उमेरसम्म बचाउने नै उनको साहित्यप्रतिको अनुराग नै हो, साहित्य सिर्जना नै हो । शारीरिक रूपमा अपाङ्ग भए पनि शैक्षिक तथा बौद्धिक अवस्था औसतभन्दा धेरै माथि रहेको थियो । शारीरिक अस्वस्थताको बाबजुद उनले संस्कृत साहित्यमा शास्त्री, अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरी बाह्रओटा साहित्य सिर्जना, अनुवाद तथा सम्पादन कार्यमा देखिएको सक्रियताले विश्वका सबै अपाङ्ग भएका व्यक्तिका लागि सुशील गौतम प्रेरणाको स्रोत हुन् । कवि तथा लेखक झमक घिमिरे अपाङ्ग शरीरका बाबजुद निरन्तर साहित्य सिर्जनामा लागिरहेको सन्दर्भमा सुशील गौतमका व्यक्तित्व तथा कृतित्वको देशव्यापी प्रचारप्रसारको खाँचो देखिएको छ ।

“पुष्पाञ्जलि” मा समावेश गरिएका मुक्तक तथा गजलहरू पठनीय, मननीय र विचारणीय छन् । पुस्तक सङ्ग्रहणीय छ । तर, पुस्तक पढ्न चाहने पाठकका लागि, सङ्ग्रह गर्न चाहने व्यक्तिका लागि पुस्तकको उपलब्ध कहाँ र कसरी हुन्छ भन्ने विषयमा प्रकाशकले ध्यान दिनुपर्ने देखिन्छ । यस्तै, सुशील गौतमका अन्य सिर्जना पनि पाठकका लागि उपलब्ध हुन सके पाठकहरू थप लाभान्वित हुन पुग्नेछन् ।

कृतिः पुष्पाञ्जलि
विधाः मुक्तक–गजल
लेखकः सुशील गौतम
सम्पादकः नारायण नेपाल
संस्करणः पहिलो (२०७८)
प्रकाशकः किशोरचन्द्र गौतम
पृष्ठः १६६
मूल्यः हार्दिक भावग्रहण

प्रतिक्रिया