(निबन्ध)

जीवन दिन र रात रहेछ । हरेक दिन बिहानबाट सुरु हुन्छ र रातमा अन्त्य हुन्छ तर त्यो दिन रात हिजोको होइन । म उस्तै
देख्छु । म आफूलाई ऐनामा वषौँदेखि उस्तै देख्छु । पत्नी छोराछोरी उस्तै लाग्छन् । म मेरी छोरीलाई सिकाउन खोज्छु तर आजभोलि उनले मलाई सिकाउँछिन् । मेरो पुरानो दिमाग, उनको जेनजी सोच । आज मैले उनीबाट सिक्ने विचार गरेँ र सोधेँ, “मेरी जेनजी छोरी ! तिमी आफ्नो व्यक्तिगत विकासका लागि के के गर्छ्यौ ?”
छोरीको विस्तारित उत्तर थियो : म दिनलाई सिकाइ ठान्छु । जीवन निरन्तर सिकाइको यात्रा हो । सिक्दा ज्ञान, सिप र आत्मविश्वास बढ्छ । विफलता मेरो शिक्षक हो । यो हार होइन । विफलता अन्त्य होइन । यो मेरो गल्ती सुधारको अवसर हो । यसलाई अनुभवको रूपमा लिएर अर्को पटक म राम्रो गर्छु । म समयको सदुपयोग गर्छु । समय बहुमूल्य सम्पत्ति हो । यसलाई योजनाबद्ध प्रयोग गर्दा म लक्ष्यमा पुग्न सक्छु । लक्ष्यमा पुग्न आत्मअनुशासन चाहिन्छ । प्रयास सफल पार्न आत्मनियन्त्रणले निरन्तरता दिन्छ । मेरो सकारात्मक सोचले सकारात्मक परिणाम ल्याउँछ र कठिनाइमा आशा जगाउँछ । म निरन्तर प्रयास गर्छु । मानिस भाग्यले नभई निरन्तर अभ्यासले सफल भएको हो ।अभ्यासले कमजोरी सुधार गर्छ । कमजोरीको स्वीकारले मलाई अझ बलियो र आत्मविश्वासी बनाउँछ । मेरो सोचमा जीवनभर सिकिरहनु जीवनको सार हो । म अनुभव, पुस्तक, मानव र परिस्थिति सिकिरहन्छु । अरुले गर्ने आलोचना मेरो अवसर र मेरो वास्तविकता देखाउने ऐना हो । यसले मलाई आत्ममूल्याङ्कन र समीक्षा गर्न सघाउँछ । यो मेरो व्यक्तिगत विकासको आधार हो बाबा ।
यो प्राध्यापकको व्याख्याभन्दा कम थिएन । मलाई शिक्षा र ज्ञानबारे पनि उनका कुरा सुन्न मन लाग्यो । उनी भन्न थालिन्, शिक्षा मेरो भविष्य हो । यसले मलाई सक्षम, जागरूक र जिम्मेवार बनाउँछ । असल शिक्षाबाट प्राप्त हुने सिप र ज्ञान मलाई आवश्यक छन् । शिक्षा पुस्तकमा सीमित छैन । व्यावहारिक सिप र प्रविधिले मलाई प्रयोगशील बनाउँछ । प्रविधि सिकाइ र कमाइ हो । म त्यसको उपयोग गर्छु । म भाषा र संस्कृतिको सिकाइलाई अन्तर्राष्ट्रिय अवसरमा परिणत गर्छु । पढाइले भन्दा सिकाइले वास्तविक जीवनको समस्या समाधान गर्छ । आजको युगमा कम्प्युटर, इन्टरनेट र डिजिटल साक्षरता मेरा साथी हुन् । नियमित पढाइ तथा सिकाइले सोचलाई गहिरो बनाउँछ । म त्यसैमा अनुसन्धान गर्छु । यसले मलाई समस्या देखेर भाग्ने होइन, समाधान खोज्ने बनाएको छ । मेरा लागि शिक्षा व्यवहार, आचरण, सोच र कर्म हो ।
छोरीको यो सोच सुन्दा सिकाइमा उनी माथिल्लो सिँढी चढिसकेको अनुभव भयो । मैले अपनाएको प्राध्यापन पेसा उनका अगाडि फिकाझैँ लाग्यो र सोधेँ, “मेरी जेनजी, श्रम, पेसा र जीवनको कस्तो सम्बन्ध हुन्छ त?”
छोरीले वाणीको मूल खोलिन्, पसिना बगाएर सफलता पाइन्छ । उपलब्धि मिहिनेतको प्रतिफल हो । रुचिअनुसार काम गर्दा प्रेरणा र ऊर्जा प्राप्त हुन्छ । इमानदार श्रम मेरो जीविका हो । श्रम गर्व र उद्यमशीलता भविष्य हो । म रोजगारी पाउने होइन रोजगारी सिर्जना गरी स्वरोजगार र उद्यमले स्थायी विकास गर्न चाहन्छु । मेरा लागि काम तुच्छ छैन । कामको गुणस्तर व्यावसायिकता हो । म व्यावसायिक प्रतिस्पर्धा गरेर अवसर प्राप्त गर्छु । यो मेरो जीवनमार्ग पनि हो ।
मलाई म पुरानो हुँदै गएझैँ अनुभूति भयो र धेरै कुरा सोधेर सिक्न मन लाग्यो । मैले छोरीसँग स्वास्थ्य र जीवनशैलीका बारेमा जिज्ञासा राखेँ । उनको सोच स्वस्थ शरीरमा मात्र स्वस्थ मस्तिष्क हुन्छ भन्ने थियो । खानपानमा सन्तुलन, नियमित व्यायाम, मानसिक स्वास्थ्यको ख्याल,नशा र दुर्व्यसन त्याग, निद्रा, ध्यान र योग उनका प्राथमिकता थिए । आत्मसंयम, तनाव व्यवस्थापन र खुसीलाई उनी प्राथकितामा राख्न चाहन्थिन् ।
मैले सोधेँ, “तिम्रो विचारमा समाज र संस्कृति भनेको चाहिँ के हो?”
उनले एक वाक्यमा भनिन्, सामाजिक दायित्व, समानता, सहिष्णुता, संस्कृतिको सम्मान, समाजसेवा, सत्यनिष्ठा, पुरानो पुस्ताको अनुभवको ग्रहण मेरा लागि समाज र संस्कृतिबाट सिक्नुपर्ने कुरा हुन् । वातावरण संरक्षण, वृक्षरोपण, नवीकरणीय ऊर्जाको प्रयोग, प्रदूषण नियन्त्रण, वन्यजन्तुको संरक्षण, हरियाली प्रवर्धन वातावरण र प्रकृतिसम्बद्ध विषय हुन् । म यसका बारेमा पढिरहेकी छु र सिकेर व्यवहारमा उतारेर आफ्नो जीवन सफल बनाउने प्रयास गरिरहेको छु ।
मेरी छोरीमा यति धेरै कुराको विकास भएको छैन कि भन्ने मलाई लाग्थ्यो । उनी मैले पढेका पुस्तकभन्दा बढीको ज्ञानको बखान गर्न सक्ने भइछन् । मैले सोधेँ, “छोरी, यति धेरै कुरा यो सानै उमेरमातिमीले कसरी जान्यौ ?”
छोरीले प्रविधि र नवप्रवर्तनसँग जोड्दै भनिन्, “डिजिटल साक्षरता, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता, अनुसन्धान, प्रवर्तन मेरो पुस्ताका जीवनशैली हुन् । हामी रातदिन यसैमा खेलिरहन्छौँ । तपाईँहरू मोबाइल र ल्यापटपमा झुलेको देख्नुहुन्छ तर हामी त्यसैबाट विश्व पढिरहेका हुन्छौँ । यसले ज्ञान र सिप मात्र होइन, नेतृत्व र दृष्टि पनि दिन्छ । नेतृत्वको जिम्मेवारी, पारदर्शिता, समूहकार्य, नम्रता, साझा उद्देश्य, भविष्यदर्शी सोच, समाधानमुखी दृष्टिकोणजस्ता युवा आवाज विकासका लागि प्रविधि हाम्रो साथी हो । यसले हाम्रो आर्थिक सोचमा समेत परिवर्तन गरिदिन्छ । मैलेबचत, लगानी, ऋण, वित्तीय साक्षरता, उद्यमशीलता,इमानदारी, उत्पादनशीलता, सरल जीवनशैली, रोजगारी सिर्जनाआदि सिक्न यही प्रविधिको साथ लिएकी छु । यसले मलाईआत्मपहिचान र मूल्य पनि दिएको छ । मैले मेरै पुस्तासँग घुलमिलभएर आत्मविश्वास र सहिष्णुता सिकेकी हुँ । अहिले ममाजीवनलाई अर्थपूर्ण बनाउने सोच विकास भइसकेको छ । ममा भिन्नतालाई स्वीकार गर्ने क्षमता छ । म सत्य र इमानदारीमा आधारित जीवनशैली अपनाउने र समाजमा परिवर्तन ल्याउने सोचलाई प्राथमिकतामा राखेर संवाद गर्दै छु ।
मलाई अचम्म लाग्यो । वषौँ विश्वविद्यालयमा पढाएर कपाल फुलाएको म भन्दा अहिलेसम्म सानै देखिरहेकी मेरी छोरीको सोच मेरोभन्दा कैयौँ गुना अगाडि छ । बाबुआमाबाट छोराछोरीले सिक्नुपर्छ भन्ने मान्यतामा हुर्केका हामीभन्दा आफैँ सिकेर संसार जित्न सकिन्छ भन्ने उनको सोच उत्तरआधुनिक छ । विश्वकोशका शब्दार्थभन्दा उनका डिजिटल डिस्कोर्स प्रभावशाली छन् । म अब जेनजी छोरी त बन्न सक्दिनँ । जेनजीको ज्ञान र सिप सापटी लिन सक्छु । युवाको सम्मानीत अग्रता अबको विश्वको
सफलता बन्न सक्छ ।
प्रतिक्रिया