(कथा)

“नेताज्यू ! हाम्रो गाउँको बरबोटेदेखि सिरिसेसम्म जाने बाटो साह्रै बिग्रियो । यस्ता खाल्टाखुल्टी छन् । यसलाई राम्रो बनाउन पाए कति राम्रो हुन्थ्यो । हजुर त नेता, पहल गरे हुन्न ?” कक्षा माध्यमिक तहमा पढ्ने एक युवकले नेतालाई अनुरोध गर्यो ।
“हँ ! को हो मलाई सिकाउने ? ए भवनाथको छोरो हैनस् तँ । बडो जान्ने हुँदो रहेछ । तैँले मलाई सिकाउनुपर्छ । अहिले चुनाव आएको छ र बाटोघाटो बनाउनलाई ?”
युवकको जिउ सिरिङ्ग भयो र नसानसामा रगत उम्लियो तर उसले केही बोलेन । नेता धनी थिए । उनले जे पनि गर्न सक्थे । नेतासँग जोरी खोज्नु आफ्नो पढाइलाई अन्त्य गर्नु हुन सक्थ्यो । आफ्नो परिवारले अपमान र प्रताडना सहनुपर्ने हुन सक्थ्यो । युवकलाई यो राम्ररी थाहा थियो । यति हुँदा हुँदै पनि उसले यति त बोलिहाल्यो, “चुनावआउने बेलामा चाहिँ यो बाटो राम्रो बनाइदिनुहोस् है । हामीलाई सकुल जान कति गारो छ ।”
“कहिले बाटो बनाउने, कहिले तँलाई बाटो कटाउने भन्ने मलाई राम्ररी थाहा छ । तैँले सिकाउनुपर्दैन । तेरो बाबुले कति खर्च गरेर पढ्न पठाएको छ, अहिले खुरुक्क स्कुल जा ।”
नेता कानमा मोबाइल राखेर गफ गर्दै हिँडे । युवक काँधमा झोला बोकेर स्कुल हिँड्यो ।
बाटामा जाँदा जाँदै युवक सोच्न थाल्यो,“ कक्षामा पस्यो, गुरुले राजनीतिज्ञले देश बनाउँछन् भनेर देशविदेशका नेताको नाम सुनाउँछन् । परीक्षामा त्यही लेख्नुपर्छ । बाहिर निस्कनासाथ यस्ता नेता भेटिन्छन् । खै के बन्छ देश ? कसरी बन्छ देश ? किताबले देश युवाले बनाउँछन् भन्छ, हाम्रो देशमा हजुरबा समेत युवा हुँ भनेर फुर्ती लडाउँछन् । काम गर्दैनन्, गर्नेलाई पनि गर्न दिँदैनन् । अरुले कमाएको पैसामा मोज गर्न पल्केका छन् । किताबमा यो कुरा छैन । त्यसै युवा पुस्ता बाहिरिएका हैनन् नि।” सोच्दा सोच्दै ऊ स्कुल पुग्यो ।
आज स्कुलमा एक युवा उत्प्रेरक आएका रहेछन् । बिहानी प्रार्थना सभामा उनले सम्बोधन गर्दै भने,“अब देश परिवर्तन गर्न युवा जाग्नुपर्छ । जब संसार जेन जी पुस्ताको हातमा आउँछ तब संसार परिवर्तन हुन्छ । हामी परिवर्तन हुन्छौँ । आजैदेखि हामी जाग्नुपर्छ र देशको नेतृत्व लिनुपर्छ ।” युवकलाई ताली बजाउन त मन थियो तर गाउँको नेता देखेर जोडिन लागेका हात पनि जोडिएनन् । उसलाई गुरुहरूले राष्ट्रवाद पढाए । स्वरोजगारी पढाए । उद्यमशील समाजको योजना सुनाए । उसले त्यही घोक्यो र घोकेरै विद्यालय शिक्षा पूरा गर्यो । परीक्षामा ऊ सर्वोत्कृष्ट श्रेणीमा वर्गीकृत भयो तर जीवनको परीक्षामा अवर्गीकृत ठहरियो ।
यसै वर्ष गाउँमा चुनाव भयो । उनै चिरपरिचित नेता स्थानीय प्रमुख बने । गाउँलेले उनलाई अबिर लाइदिए, आफ्नै वजनबराबरको माला भिराइदिए । उनी गर्विलो जोसमा सरकार प्रमुखको कुर्सीमा बसे र आफ्नो पहिलो निर्णयमा श्रीमतीलाई सल्लाहकार नियुक्त गरे । केही विपक्षीले विरोध त गरेका थिए तर उनले सत्ताविरोधीको काउछो भिराइदिएर तह लगाइहाले । पहिलो भाषणमा उनले भने,“ अब यो स्थानीय तहको स्वरूप बदलिन्छ । हाम्रो अर्को
नाम नै विकास हुने छ । हाम्रो क्षेत्र शिक्षा, स्वास्थ्य, यातायातमा अब्बल हुने छ किनकि अब मैले चुनाव जितेको छु । तपाईँ गाउँलेले विकासका कुनै पनि कुरा गर्नुप¥यो भने मलाई भेट्नै पर्दैैन । म अलिक व्यस्त हुन्छु, मेरो छोरालाई भेटे भइहाल्छ ।” यसो भन्दा बाबुको छेउमै बसेको विकास मुसुक्क मुस्कायो । धेरैले ताली बजाए । उही परिचित युवक र केही जेन जी युवाले चाहिँ ताली बजाएनन्, कानेखुसी गरे ।
भाषण सकिएपछि घरतिर जान लाग्दा युवकले नेतालाई भेट्यो र भन्यो, “नेताज्यू ! थाहा छ नि हजुरलाई, चुनाव जितेपछि बाटो बनाउँछु भनेको कुरा ! अब बनाउनुभएन भने त म सार्वजनिक गर्छु नि !”
नेता परक्क बटारिए र भने, “यस बेलामा त्यस्तो कुरा गर्नु हुन्छ ! विजय उत्सव त सकियोस् । जा विकाससँग कुरा गर् ।” आठ कक्षा पढ्दापढ्दै पढ्न नसकेर स्कुल छाडेको विकाससँग युवकले कुरा गर्न चाहेन । उसलाई नेताले थप एक योग्यता विकास गरिसकेझैँ लाग्यो ।
केही दिनपछि युवककी सँगै पढ्ने साथी आइन् र भनिन्, “साथी, हाम्रो स्थानीय तहमा त अब रेडियो, टिभी, नेट चलाउन दर्ता गनुपर्छ रे । दर्ता गर्ने किताबमा प्रमुखका विरुद्धमा कुनै कुरा गरेको थाहा पाएमा दर्ता खारेज हुने छ भन्ने लेखिएको छ रे । हिजो केही जेन जीले यसको विरोध गरेछन्, विकासको आदेशमा प्रहरीले कुट्यो रे । प्रगति, उन्नति र परिवर्तनलाई त थुनेछन् । अब खै के गर्ने, म त निराश भएँ । विदेश जाने सोच पो बनाएँ मैले त ।” “हैन हो, हामी जस्ता युवाले त यहीँ केही काम गर्नुपर्छ । आफ्नो ठाउँको विकास गर्नुपर्छ । विदेशमा पनि सजिलो छैन । काम गर्नै पर्छ । युवा शक्ति हुन् भनेर पढेको होइन हामीले । यी नेतालाई हामीले परिवर्तन गर्न सक्छौँ । हाम्रो योजना यिनले कार्यान्वयन गर्नुपर्छ । बरु यता लागौँ न ।”
“धेर कुरा नगर । उ त्यो मान्छे त्यही प्रमुखको मान्छे हो । हाम्रा कुरा सुन्यो । उता पोल लगायो भने तिम्रो विकास टाउको फुटाउन आइपुग्ला । बरु मेरो कुरा मान । तिमी र म दुवै जाऔँ विदेश । माया लाग्दैन मेरो ?”
आफूसँगै पढेकी र आफूलाई धेरै माया गर्ने साथीका कुराले युवकलाई छोयो । उसले म विचार गर्छु भन्ने जवाफ दियो, अरु केही भनेन ।
भोलिपल्ट स्थानीय सरकारबाट युवकको नाममा एक पत्र आयो । युवकले पत्र पढ्नासाथ उसको अनुहार र शरीरमा रक्तिमा बढ्यो । ऊ जुरुक्क उठ्यो र कसैलाई केही नभनी कार्यालय पुग्यो । उसलाई देख्नासाथ स्थानीय प्रमुख खुब जङ्गिए । के के गाली गरे र भने, “विकास बाबु ! जे भए पनि यो भवनाथको छोरो हो । भवनाथ हाम्रै मान्छे हो । यसलाई कागज गराएर छाडिदेऊ ।”
प्रहरीले विकासका अगि लगे । विकासले एउटा कागज दिएर सही गर्न लगायो । युवकलाई सहिनसक्नु त भएको थियो तर शक्तिका अघि जेन जीको जोस दबियो । ऊ सही गरेर फर्कियो ।
केही समयपछि युवककी साथीले युवकसँग भनिन्,“हेर, तिमी त देशमै बस्ने भन्छौ । मैले त हारेँ । देश र आमालाई नमन गर्दै म त यही महिनाको तेस्रो समुद्रपार जाने भएँ । सक्छौ भने मेरो माया नलत्याऊ ल । मिल्यो भने एयरपोर्टसम्म सँगै जाऔँ । म पछि फर्केर आउँछु, तिमीले बिर्सेनौ भने ….। उसले तरक्क आँसु झारी केही बोल्न सकिनँ ।”
निर्धारित दिन युवककी साथी घरलाई सम्झँदै एयरपोर्टतिर लागिन् । युवक उनलाई बिदा गर्न आएन । बाटामा नारा जुलुस भइरहेका थिए । प्रहरी पनि देखिन्थे । कोही आज कर्फ्यु लाग्दै छ रे भन्थे । जुलुसमा धेरै जसो जेन जी पुस्ताका मानिस देखिन्थे । गाडीमा एक जनालो सुनाए, केही युवालाई प्रहरीले गोली हान्यो रे । युवककी साथीले देश छोड्नलाई खुट्टा उचालिसकेकी थिइन्, त्यति चासो दिइनन् । उनी एयरपोर्ट पुगिन् र मायालु आँखाले चारैतिर आफ्नो साथी खोजिन् । युवक देखिएन । उनी सबैसँग बिदा मागेर जाँच गर्ने लाइनतिर लागिन् । दुई पाइला बढ्नासाथ उनले देखिन्, एक खाइलाग्दो युवक पनि झोला भिरेर हतारहतार आइरहेको थियो । उनले नियालेर हेरिन्, ऊ कोही नभएर आफ्नै जेन जी मित्र थियो । उनले युवकको हातितर हिरन् । उसले पनि दाहिने हातमा पासपोर्ट बोकेको थियो ।
प्रतिक्रिया