“प्रतिरूप”उपन्यास पढेपछि मेरो अनुभूति

–विष्णुबहादुर जी.सी., पिएचडी, कोटेश्वर २०८२ भदौ २१ गते १०:३८ मा प्रकाशित

पुस्तक समीक्षा

करिब २ महिनाअघि हात परेको डा.खगराज बरालद्वारा लिखित २३८ पृष्ठको “प्रतिरूप” उपन्यास दुई दिन लगाएर पढेर भ्याएँ । पढ्दै जाँदा प्रत्येक शब्द शब्दमा विचरण गर्ने आतुरी बढ्दै गयो । त्यसैले सोचेको समयभन्दा पहिले नै पढ्ने काम सम्पन्न भयो । उपन्यासको प्रारम्भमै नवीन, नेपालको गाउँले जनजीवन र कठिन अवस्थाको दरिलो चित्रण गरिएको छ, उपन्यासमा । आर्थिक अवस्थाको कारण भारतको मेघालयसम्म नेपालीहरूको आवतजावत विषयवस्तुले प्राथमिकतापाएको छ, यहाँ ।

नवीन सुरुदेखि नै सचेत, असल र मेहनती केटाको रूपमा प्रस्तुत भएका छन् । ओभर्सियर पढाइ सम्पन्न गरी नोकरीबाट पनि बिदाबारी भइसकेपछि बीइ पढ्न काठमाडौँ जानु अघि कालीको जीवन कथा सुन्ने पहिलो व्यक्ति बने, नवीन र साथमा अस्मिता र परमानन्दले पनि सुने यो कथा । पहिलोपटक भैरहवामा कालीलाई रिक्साले ठक्कर दिँदा नवीनले उद्धार गरेका थिए, एउटा असहाय बिरामीलाई । त्यही सम्बन्धको सुरुवात झाङ्गिन्छ काली र उनको छोरी अस्मितासँग; एउटा परिवारको रुपमा; काली अभिभावक र अस्मिता बहिनी । त्यही सम्बन्ध र विश्वासका कारण आफ्नो आत्मकथा सुनाउँदै छिन् कालीले, यहाँ । कालीको पहिलो विवाह प्रवीनसँग भयो । गहिरो मायाप्रेम बस्दै थियो । तर , प्रवीन विवाह लगत्तै मेघालय फर्के । मलेरियाको काम गर्ने व्यक्तिबाट अनायास अस्मिता जन्मिन्, कालीको । ड्राइभरसँग भएको तेस्रो विवाह पनि सफल नभएपछि कालीको विवाह शङ्करसँग भयो । शङ्करले छोरीको जन्मदर्ता, नागरिकता लगायत उनको रेखदेख गर्ने आश्वासन दिए तापनि व्यवहारमा आफ्नो वचन पूरा गर्न सकेनन् । त्यसैले अस्मिताको पढाइ अघि बढ्न सकेन । आमाको नाताले मात्र अस्मितालाई नागरिकता उपलब्ध गराउन सकिनन्, कालीले ।

उता मेघालयमा नवीनको आमाको पनि नेपालबाट आएका प्रवीनसँग प्रेम विवाह भएको रहेछ । उनी स्थानीय खासी परिवारकी महिला थिइन् । प्रवीनको कोइलाखानीमा मृत्यु भएसँगै नेपाली नागरिक शम्भु दाहालसँग पुनर्विवाह गरेकी रहिछन्, नवीनको आमाले । मेघालयको बसाई सुखद नभएकाले उनीहरू नेपाल फर्किए, नवीनलाई साथमा लिएर । शम्भुले नवीनलाई छोराको रुपमा स्वीकार गर्ने जिम्मेवारी लिएका छन् । नवीन आफूले जन्माएको छोरा नभएपनि उसको नागरिकता बनाउनेदेखि सम्पूर्ण रेखदेख गर्न शम्भुले कुनै कसुर बाँकी राखेका छैनन्

नवीनले कालीको आत्मकथा आफ्नो आमालाई सुनाउने क्रममा, आफ्नो आमाले सुनाएको आत्मकथा हो, यो पनि । नवीनले कालीलाई र कालीकी छोरी अस्मितालाई सहयोग र माया गर्न भ्याएका छन्, उनीहरूलाई भेटेदेखि नै । नजिकको नातेदार जस्तै गरी जीवन कथा सुन्न भ्याएका छन् कालीको, कालीकै मुखबाट । त्यसैगरी नवीनले आफ्नो आमाको मुखबाट आफू प्रवीनको जैविक छोरा भएको र शम्भु दाहालले छोरा स्वीकार गरी पढाउने लेखाउने, जीवनदान गर्ने बुबा
हेछन् भन्ने थाहा पाउँछन् ।

उपन्यासकारले प्रारम्भिक खण्डमा नेपालको जनजीवन सजीव उतार्नुभएको छ । त्यसैगरी, अन्तिम खण्डमा दुई परिवार बिचको मिलन हुने क्रम जारी रहेको छ । यद्यपि यो मिलन दुर्भाग्य हो, सौभाग्य हो, चाहेर हो, नचाहेर हो, संयोग हो वा पूर्व जन्मको परिणाम हो । उपन्यास सुरुदेखि अन्तसम्म उत्तिकै रुचिपूर्ण भएकाले एकै लर्कोमा सिध्याउन मन लाग्छ, पाठकलाई । उपन्यासकारले सुरुदेखि अन्त्यसम्म पुस्तकमा झुम्न सक्ने गरी प्रस्तुत गर्नुभएको कलाप्रति नतमस्तक बनेको छु, म ।

पुस्तकः “प्रतिरूप”
विधाः उपन्यास
लेखकः खगराज बराल
संस्करणः पहिलो (२०८१)

प्रकाशकः सांग्रिला मिडिया ग्रुप प्रा.लि
पृष्ठः २३८
मूल्यः रु. ४९५

प्रतिक्रिया