(निबन्ध)

मानिसलाई आफू जस्तो भए पनि हुन्छ तर आफ्ना सन्तान आफूभन्दा राम्रा हुनुपर्छ । राम्रो आकृतिसँग सम्बन्धित छैन, गुणसँग सम्बन्धित छ । फूलको सुगन्ध हुँदा र सुगन्ध सकिएपछिको अवस्था जीवनको गुण हो । मानिसले आफ्ना सन्तानमा फूलको सुगन्ध खोज्छ, शिरको सजावट खोज्छ । सायद म पनि यही खोज्छु । म पनि आफूभन्दा सन्तान अगाडि पुग्दा रमाउँछु ।
मलाई थाहा छ सत्य तोरीमा लुकेको तेल हो । म तेल देख्छु, अरु तोरी देख्छन् । मेरो सत्य अरुका आँखामा असत्य देखिन्छ । म चाहन्छु मेरा सन्तान सधैँ सत्यको प्रकाशमा हिँडुन् । असत्यको छायाले उनीहरूको पैतालालाई कहिल्यै नछोओस् । उनीहरूको निधारमा बादलको छाया नपरोस् । उज्यालो पारदर्शी छायाले जीवनको बाटो देखाओस् । श्रमको रेखा उनीहरूको निधारमा गौरवको चिह्न बनोस् । मेरा सन्तानले मेहनतलाई कहिल्यै भार नठानुन्, सौभाग्य ठानुन् । उनीहरू उषा र निशामा उत्तिकै रमाउन् र आफ्नो कमाइले पेट भरुन् ।
जीवनमा समय र अनुशासनको विशेष महत्व छ । सन्तानले समयको मूल्य र अनुशासनको मिठासलाई सगरको उचाइ र सागरको गहिराइ ठानुन् । सत्यको कन्दराबाट निस्केको श्रुतिवचन र आफूले बोलेको वाचा पत्थरमा लेखेजस्तो दृढ रहोस् । सन्तानले आफ्नो धर्म, संस्कार र संस्कृतिको सामीप्य नछाडुन् । बाबुआमाका वचन र सोही श्रुतिसामीप्य व्यवहार मैले मेरा सन्तानमा देख्ने सपना हो । सन्तानले अग्रजका लौकिक सपना साकार पारुन् । संस्कारलाई सधैँ गर्वका साथ अँगालुन् । देशविदेश डुलेर, पढेर र अनुभव गरेर विज्ञान र ज्ञानको नयाँ क्षितिज खोजिरहुन् र खोजमा रमाउन प्रेरित होउन् । उनीहरूको शब्दकोशमा अहङ्कार नहोस् र विनम्रता उनीहरूको शक्ति बनोन् । मसँग उनीहरू जोरी खोजुन् तर समाजमा सात्विक उचाइका उदाहरण बनुन् । तिनले दयालु मनले अरूको पीडा बोक्न सकुन् । इमानदारी जीवनको मेरुदण्ड होस् । तिनले इमान बेचेर स्वार्थ नकिनुन्
।
मानिसको एउटा परिचय अनुशासन हो । अनुशासन बाहिरी होइन अन्तर्मनको शृङ्गार हो । अनुशासन उनीहरूको जीवनको सुन्दर गहना बनोन् । आत्मनिर्भरता अर्को पहिचान होस् उनीहरूले परदेशी पङ्खामा भन्दा वरको छहारीमा शैत्य खोजुन् । विलासी बिच्छ्यौनाको सट्टा आमाको छातीमा टाँसिन सिकुन् । बाबुको काँधमा चढेर रमाउन् । जिम्मेवारी लिन नडराउन् र जिम्मेवारी लिँदा गर्व गर्ने बनुन् । तिनमा गल्तीलाई स्विकारेर नयाँ बाटो रोज्ने साहस होस् । सुन्न सक्ने कान र बुझ्ने मन सधैँ जागृत होस् । तिनको जागृति परिवर्तनको कारक बनोस् ।
मेरा सन्तानमा अरूको आँसु देखेर मुटु पग्लने स्वभाव विकास होस् । कठिनाइमा धैर्यको बल कहिल्यै कम नहोस् । तिनले सधैँ सजिलो नखोजुन्, सही बाटो रोज्ने दृढता रहोस् । अप्ठ्यारोलाई सजिलो बनाउने शिल्प मिलोस् । यसैलाई प्रयोग गरेर आँधीमा मनको शान्ति बचाउन सिकुन् । अँध्यारामा उज्यालो देख्ने आँखा प्राप्त गरुन् । ज्ञानको क्षेत्र समुद्र र आकाश झैँ विशाल छ । सन्तानमा ज्ञानको समुद्रमा डुबेर मोती बटुल्ने साहस होस् । मानव साथी त अनेकौँ हुन्छन्, पुस्तक उनीहरूको जीवनसाथी होस् । ती शिक्षित र बुद्धिमान् बन्न सकुन् । आफ्नो र सबैको भलाइ सोच्न सकुन् ।
स्वार्थ बुद्धिमा किरा पार्ने विषादी हो । मेरा सन्तानले स्वार्थको पर्खाल तोडेर सेवाभाव फैलाउन सकुन् । साना काममा पनि ठुलो अर्थ देख्ने दृष्टि विस्तारित होस् । बाटो हिँड्दा मित्र र शत्रु दायाँबायाँ हुन्छन् । तिनले मित्र छनोटमा विवेक प्रयोग गर्न सकुन् । तिनको मन लोभ र लालचको जालमा नपर्ने र दृढ होस् । तिनले आत्मसम्मान कहिल्यै बिक्री नगरुन् । भौतिक लोभभन्दा नैतिक मूल्यलाई रोजुन् र जीवनभर पालन गरुन् । हातको काम कर्म र सहयोग हो । मेरा सन्तानका हात सहयोगी बनेर फैलिरहुन् । कठिनाइले हिम्मत चोर्न नसकोस् ।आमालाई त माया गरेकै छन्, अब सिकाउनु पनि पर्दैन, प्रकृतिलाई आमा जस्तै माया गर्न सिकुन् । जीवनमा कृतज्ञताको फूल फुलिरहोस् । तिनले राम्रो बोल्ने र राम्रो गर्ने जीवनशैली बसालुन् । धोका नदिने मानव बनुन् ।
भेदभावले समाज मैलो हुन्छ । मेरा सन्तानलाई भेदभावको हावाले कहिल्यै नछोओस् । तिनले समानताको छाया सबैमा फैलाउन सकुन् ।
मातृभूमिप्रति अटुट प्रेम रहोस् र परिवारका बारेमा गर्वले बोल्न सकुन् । सहनशीलता जीवनधन र जीवनलक्ष्य बनोस् । तिनमा लक्ष्य प्राप्तिका लागि योजना बनाउने सिप भरियोस् ।
जीवनको अर्को पाटो बानी विकास हो । मेरा सन्तानले दैनिकी व्यवस्थापनमा व्यवस्थित र नियमित बानी बसालुन् र स्वास्थ्यलाई प्राथमिकता दिन सिकुन् । तिनले सादा जीवन, उच्च विचारको बाटो रोजुन् । खर्चमा सावधानी अपनाएर बचतबुद्धि बढाउन् । फजुल खर्चलाई अस्वीकार गर्न सिकुन् । नशा र खराब बानीबाट टाढा रहुन् । हरेक सन्दर्भमा सोचविचार गरेर निर्णय लिन सकुन् र समस्या समाधानमा निसानी बनुन् । रिस र खुसी विपरीत ध्रुवमा हुन्छन् । मेरा सन्तानले रिसलाई नियन्त्रण गर्न र खुसी बाँड्न सिकुन् । तिनमा अरूलाई उठाउन सक्ने प्रेरणा होस्, नेतृत्वमा नम्रता मिसिएको होस् । साहसले अन्यायको विरोध गर्न सकुन् र गलत देख्दा मौन नबस्ने आत्मबल होस् । तिनले चुनौती सामना गरेर अवसरको सही उपयोग गर्न सकुन् । विफलताबाट पाठ सिकुन् र आत्मालोचना गर्ने आदत बसोस् ।
बाटो हिँड्दा मित्र र शत्रु दायाँबायाँ हुन्छन् । तिनले मित्र छनोटमा विवेक प्रयोग गर्न सकुन् । तिनको मन लोभ र लालचको जालमा नपर्ने र दृढ होस् । तिनले आत्मसम्मान कहिल्यै बिक्री नगरुन् । भौतिक लोभभन्दा नैतिक मूल्यलाई रोजुन् र जीवनभर पालन गरुन् ।
मेरा सन्तानमा शत्रुलाई माफी दिन सक्ने विशाल हृदय होस्, सत्यको बाटो रोज्ने आँट होस् । संस्कार र मूल्यको सिकाइ र पालनामा अटलता होस्, लोभको विपरीत भलोले जीवन सजाओस् । तिनले वातावरणलाई स्वच्छ राखुन् र इमानले बुद्धिको व्यापार गरुन् । तिनमा साथीलाई सही बाटो देखाउने साहस र समयमै काम पूरा गर्ने दक्षता होस् ।
मानिसले अरुसँग गरेको वाचा तोड्नु हुँदैन । मेरा सन्तानमा वाचा पूरा गर्ने बानी होस् र तनावमा मन स्थिर रहोस् । आत्मविश्वास उनीहरूको चिनारी होस् । विफलतालाई कुल्चेर उठ्ने हिम्मत होस् । काममा शुद्ध मन मिसियोस् र जीवनलाई रमाइलो र अर्थपूर्ण बनाउन सकुन् ।
मेरा सन्तानको बाहिरी र भित्री इमान उस्तै होस् । मौलिक विचारले जीवन सजियोस् । तिनले कमजोरी सुधार्ने प्रयास गरुन् र स्वाभिमानको झन्डा उचालिरहुन् । तिनको हृदयले ज्ञान बाँढ्न कन्जुस्याइँ नगरोस् । जीवनभर सिकिरहने जिज्ञासा होस् । तिनले विनम्र भएर युगको नेतृत्व गर्न सकुन् । समाज सुधार तिनको कर्म बनोस् ।
आत्मसंयमले मानव गुण विकास गर्छ, अभिमानले गौरवलाई स्वाहा पार्छ । मेरा सन्तानमा आत्मसंयम जीवन उर्जा बनोस् । अभिमानले ढाक्न नसक्ने विनम्रता होस्, कठिन निर्णय लिन सक्ने स्थिरता होस् अनि जीवन सन्तुलन राख्ने कला होस् । तिनका आँखामा प्रेम र करुणा फैलाउने दृष्टि होस् । हात र मस्तिष्कमा श्रमको मूल्य जीवनभर सम्झने ताकत होस् । तिनले सिकेको कुरा व्यवहारमा उतारुन् र भविष्यका लागि तयारी गरुन् ।
मानिसका लागि पुर्खाको योगदान प्राणका लागि हावा र पानी सरह हो । मेरा सन्तानमा पुराना पुस्तालाई सम्मान गर्ने परम्परा र संस्कार होस् । तिनले अग्रज चिनुन् र बालबालिकालार्ई हृदय दिउन् । पहिचानमा सचेत नागरिक गुण होस् । राष्ट्रको सम्मान बढाउने हो होस होस् । विभेद हटाउने चेतना र नयाँ सोच अँगाल्ने खुला मन होस् ।
म चाहन्छु मेरा सन्तानमा असल र आदर्श बन्ने जीवनसोच होस् । ती आफ्नो मौलिक पहिचान बचाएर जीवनको अन्त्यसम्म असल मानव बनेर बाँचिरहुन् । मेरो आँसु दोषी हुन सक्छ, तिनको मुस्कान अमर रहोस् ।
डा. गणेशप्रसाद भट्टराई
प्रतिक्रिया