
नेपाली लोकसंगीतको क्षेत्रमा झण्डै चार दशकदेखि क्रियाशील, १२०० भन्दा बढी मौलिक गीतहरूमा स्वर, शब्द र संगीत दिईसकेका अग्रज लोक दोहोरी गायक रामप्रसाद खनालले यस वर्षको तीज पर्वलाई विशेष बनाउँदै एकै पटक चारवटा मौलिक तीज गीत सार्वजनिक गरेका छन्। करिब १ घण्टा १८ मिनेटको तीज गायन भिडियो Ram Prasad Khanal Official युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
खनाल न केवल वरिष्ठ लोकगायक हुन्, उनी रेडियो नेपाल र नेपाल टेलिभिजन मा लामो समयसम्म कार्यरत रहेर नेपाली लोक संगीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याएका एक प्रतिष्ठित सञ्चारकर्मी पनि हुन्। उनले अन्तर्राष्ट्रिय स्तरमा International Artists Forum (IAF) को स्थापना गरी नेपाली कलाकारहरूलाई विश्वसामु चिनाउने कार्य गर्दै आएका छन्। साथै, उनी अहिले Federation of International Journalists (FIJA) का अध्यक्ष समेत हुन्।
गाउँका प्रतिभालाई राष्ट्रिय पहिचान दिलाउने अभियन्ता
खनालले देशका विकट गाउँबाट प्रतिभाशाली गायक–गायिकाहरूलाई पहिचान दिलाउँदै राष्ट्रिय स्तरसम्म पुर्याउने महत्त्वपूर्ण भूमिका खेलेका छन्। आज नेपालमा स्थापित थुप्रै लोकप्रिय गायकगायिकाहरू खनालकै प्रेरणा र सहकार्यबाट अगाडि आएका हुन्।
तीज गीतको श्रृंखलामा समावेश कलाकारहरू
यसपटक खनालले शब्द, संगीत, एरेन्ज र निर्देशन आफैं गरेर तयार पारेका तीज गीतहरूमा राजु परियार, रामचन्द्र काफ्ले, जुनु रिजाल, पूर्णकला बीसी, नविन पौडेल, कमला पोखरेल, सुमन थापा मगर, सीमा थापा, मिना लामा, सुनितमी परियार, मनु बीके, दिपिका बायम्बु, प्रतिमा विश्वकर्मा, रूपी सिजाली, कमल कुमार बीके, यान प्रसाद न्यौपाने लगायत चर्चित तथा उदाउँदा कलाकारहरूको साथ रहेको छ।
लोक आत्मा झल्किने प्रस्तुति
“म लोकगायक हुँ, त्यसैले लोक जीवनसँग जोडिएका मौलिक भाकालाई तीजमार्फत प्रस्तुत गरेको छु। केही टुक्का मात्र होइन, पूरा गीत हेर्नुहोस्, सुन्नुहोस्, बुझ्नुहोस्। मौलिकता र सन्देश बोकेको यो हाम्रो चाडको आत्मा झल्काउने प्रयास हो,” खनालले सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन्।
सारङ्गी संसार स्टुडियोमा रेकर्ड, IAF को सहकार्य
गीतको रेकर्डिङ काठमाडौंस्थित सारङ्गी संसार स्टुडियोमा गरिएको हो भने अडियो–भिडियो उत्पादन International Artists Forum USA को सहकार्यमा सम्पन्न गरिएको हो। गीतको सम्पादन तथा रंग संयोजन टाराकान्त बीकेले गरेका हुन्।
सांस्कृतिक सम्पदाको जगेर्ना र सम्मान
खनालले प्रस्तुत गीतहरूमा पुराना मौलिक भाकाहरूलाई नयाँ ढंगमा प्रस्तुत गर्दै महिलाहरूको आवाज, पीडा, संघर्ष र चेतनालाई गीतमार्फत उजागर गर्न खोजेका छन्। उनी भन्छन्, “यी भाका पुराना हुन्, संकलित पनि हुन्। तर, हाम्रो बाल्यकालदेखि गाइँदै आएका ती मौलिक धुनलाई आज पनि प्रयोग गर्नु, संरक्षण गर्नु हाम्रो कर्तव्य हो। यो कुनै कपीराइट उल्लङ्घन होइन, सांस्कृतिक जगेर्ना हो।”
श्रोताहरुलाई आग्रह
खनालले आफ्नो अफिसियल युट्युब च्यानल Ram Prasad Khanal लाई सब्स्क्राइब गर्न र नेपाली मौलिक तीज गीतहरूलाई समर्थन गर्न सबैलाई आग्रह गरेका छन्।
नेपालको मौलिक लोकसंगीतको प्रवर्द्धनमा जीवन अर्पण गरेका लोकगायक खनालको यस विशेष तीज प्रस्तुति नेपाली सांगीतिक समाजका लागि प्रेरणादायी प्रयासको रूपमा स्वागत गरिएको छ।
रामप्रसाद खनालको Youtube Channel : https://www.youtube.com/@RamPrasadKhanal
प्रतिक्रिया